लगानी सम्मेलन शुरू, यस्तो छ कार्यतालिका
काठमाडौंमा तेस्रो नेपाल लगानी सम्मेलन आइतबार शुरू भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले विशेष समारोहबीच सम्मेलनको उद्घाटन गरेका छन्। सम्मेलनमा लगानीका लागि १५१ परियोजना प्रस्तुत गरिएका छन् भने त्यसमा ५५ भन्दा बढी देशका एक हजार ६०० लगानीकर्ता सहभागी छन्।
लगानीका निम्ति प्रस्तुत गरिने परियोजना सम्बन्धी विस्तृत विवरण सहितका २३ वटा प्रदर्शनीकक्ष सम्मेलनस्थलमा राखिएका छन्। साथै, १९ वटा परियोजनाका लागि आशयपत्र आह्वान गरिने कार्यक्रम छ।
यसअघि २०७३ फागुन १९ र २० गते पहिलो तथा २०७५ चैत १५ र १६ गते दोस्रो लगानी सम्मेलन आयोजना गरिएको थियो।
उद्घाटन समारोहमा अर्थमन्त्री वर्षमान पुनले स्वागत मन्तव्य राखेका छन् भने सम्मेलनको प्रतीक चिह्न (लोगो) प्रदर्शनी गरिएको छ। लगानी सम्मेलन सम्बन्धी भिडिओ सन्देश सहितका सामग्री प्रदर्शनीमा राखिएको छ।
उद्घाटन सत्रमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र निजी क्षेत्रका प्रतिनिधिले पनि मन्तव्य राखेका छन्। उद्घाटन सत्रकै क्रममा केही महत्त्वपूर्ण परियोजनाको सहमतिपत्रमा हस्ताक्षर र लगानी घोषणा हुने कार्यक्रम छ।
सम्मेलनको विषयगत छलफल सत्रका क्रममा ‘नेपालमा लगानीका अवसरहरू’, ‘नेपालमा लगानीका सफलताका कथा’ तथा आशयपत्रका लागि परियोजनाहरूको प्रस्तुति गर्ने कार्यक्रम छ। ‘नेपालमा लगानीका अवसरहरू’ विषयक सत्रमा अर्थमन्त्री वर्षमान पुन, पूर्व अर्थमन्त्री प्रकाशशरण महत, युवराज खतिवडा, पूर्व अर्थसचिव रामेश्वर खनाल, नेपालका लागि संयुक्त राष्ट्रसंघीय कार्यालयका प्रतिनिधि हाना सिंगर लगायत वक्ता छन्।
‘नेपालमा लगानीका सफलताका कथा’ विषयक सत्रमा मुख्यसचिव वैकुण्ठ अर्याल, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष भवानी राणा, लगानी बोर्डका पूर्व कार्यकारी प्रमुख राधेश पन्त लगायत वक्ताले विचार व्यक्त गर्नेछन्।
सम्मेलनस्थलमा प्रधानमन्त्री दाहालसँग आमन्त्रित अतिथिले भेटवार्ता गर्न सक्नेछन्। यसैगरी, आजको सत्रको अन्त्यमा प्रत्यक्ष वैदेशिक लगानी र सरकार-निजी साझेदारी परियोजनाको प्रदर्शनी रहनेछ।
सम्मेलनको दोस्रो दिन अर्थमन्त्री पुनले विकास साझेदारका प्रतिनिधिसँग छलफल गर्नेछन् भने ‘नेपालमा नवीकरणीय ऊर्जाको सम्भावना’ विषयक पहिलो सत्रमा छलफल हुनेछ। यस सत्रमा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेत, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)का अध्यक्ष गणेश कार्की लगायत वक्ता छन्।
‘नवप्रवर्तनीय आर्थिक परिदृश्य’ विषयक सत्रमा नेपाल राष्ट्र ब्यांकका गभर्नर महाप्रसाद अधिकारी, ‘नेपालमा हरित र जलवायु अनुकूलन व्यवसायमा लगानीका अवसर’ विषयक सत्रमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, ‘यातायात पूर्वाधार सुधार’ विषयक सत्रमा उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा. संगीता सिंह, काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापा र प्रा.डा. सुरेशराज आचार्य लगायत वक्ता छन्।
सम्मेलनमा समानान्तर बहस सत्र पनि सञ्चालन हुनेछन्।
समापन सत्रमा सत्तारूढ नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् भने समापन मन्तव्य अर्थमन्त्री पुनले दिने कार्यक्रम छ।