एनसेल शेयर खरीदबिक्रीमा कैफियत छ : प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहालले एनसेलको शेयर खरीदबिक्रीमा कैफियत देखिएकाले छानबिन समिति गठन गरेको बताएका छन्।
सोमबार प्रेस सेन्टर नेपालका पदाधिकारीको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले पछिल्लो समय संघीय लोकतान्त्रिक गणतन्त्र नरुचाउने तत्त्वले सरकार र त्यसको नेतृत्व विरुद्ध अनर्गल, कपोलकल्पित र झूटो प्रचार गरिरहेको जिकिर गरे। आफूले राष्ट्र, जनता, संविधान र लोकतन्त्रका पक्षमा दृढतापूर्वक काम गरिरहेको उल्लेख गर्दै उनले सरकारले थालेका जनपक्षीय कामबाट आत्तिएका शक्तिले अनावश्यक भ्रम फैलाएको बताए।
निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलको शेयर खरीदबिक्री सम्बन्धमा आफूले संयुक्त अरब इमिरेट्स (यूएई)मा आयोजित जलवायु सम्मेलनका क्रममा थाहा पाएको र त्यस सम्बन्धमा तत्कालै अध्ययन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको दाहालको भनाइ थियो।
“म यूएईमा हुँदा एनसेल खरीदबिक्री भएको सुनें, यसमा सतर्कतापूर्वक अध्ययन गर्न निर्देशन दिएँ,” उनले भने, “स्वदेश फर्केको भोलिपल्ट मुख्यसचिव लगायत पदाधिकारीलाई यसबाट नेपालको कर प्रणाली, वैदेशिक लगानी तथा केही वर्षपछि सो कम्पनी नेपाल सरकारले प्राप्त गर्ने प्रावधानमा केकस्तो असर पर्छ भनेर अध्ययन गर्न निर्देशन दिएँ।”
अस्वाभाविक देखिएको एनसेल खरीदबिक्रीको संवेदनशीलता र गम्भीरतालाई हेरेर आफूले गठबन्धनभित्र पनि छलफल गरेको उनको भनाइ थियो।
“एनसेलको शेयर खरीदबिक्रीमा कैफियत छ, छानबिन गरेर सत्यतथ्य पत्ता लगाउनुपर्छ,” गठबन्धनको बैठकमा भएको छलफलबारे उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भने, “राष्ट्र, जनता र मुलुकको अर्थतन्त्रका पक्षमा दृढतापूर्वक अगाडि बढ्नुपर्ने प्रस्ताव राखें।” एनसेल शेयर खरीदबिक्री सम्बन्धमा सरकारले अनुसन्धान गर्नुपर्छ भन्नेमा सबैको सहमति भएको उनले बताए।