‘टिकट टु हलिउडमा मुद्दाभन्दा कला पक्ष केन्द्रमा छ’
‘कलाकार भनेको राजनीतिकर्मी वा अभियन्ता होइन, भलै कलाले पनि समाज रूपान्तरणका लागि भूमिका खेल्छ। कलामा चर्का नारा र मुद्दाहरू मात्र राख्ने हो भने यसको स्तर खस्कँदै जान्छ।’
नाटकघर मण्डला थिएटरमा अहिले सागर खाती कामीको लेखन, परिकल्पना र निर्देशनमा टिकट टु हलिउड मञ्चन भइरहेको छ। एक दर्जनभन्दा बढी नाटकमा अभिनय र संगीतको काम गरिसकेका खातीले यसअघि तिम्रो आँखामा फसेको साँझ, खोपडीभित्रको मान्छे, अबुई लगायत नाटकको निर्देशन गरिसकेका छन्। निर्देशकका रूपमा टिकट टु हलिउड उनको छैटौं नाटक हो। प्रस्तुत छ, निर्देशक खातीसँग हिमालखबरका लागि सागर बुढाथोकीले गरेको कुराकानीको सम्पादित अंश :
नाटक टिकट टु हलिउड मार्फत तपाईंले कस्तो कथा भन्न खोज्नुभएको छ?
कोभिड-१९ महामारीका वेला म गाउँ फर्किएको थिएँ। त्यति वेला म लगायत गाउँ फर्किएका साथीहरू सक्रिय भएर धेरै सामाजिक काम गरेका थियौं। विभिन्न संस्था बनाएर गाउँमै केही गर्नुपर्छ भनेर जुटेका थियौं। तर अहिले अधिकांश साथी विदेशतिर लागे। नेपालमै भएकाहरूमा समाजका लागि केही गरौं भन्ने ऊर्जा छैन।
समाज अहिले ‘डिस्टोपियन सोसाइटी’ (अन्याय र अत्याचारव्याप्त एक काल्पनिक समाज) बनिरहेको हो कि भन्ने लागेको छ। केही घटनाक्रमहरू हेर्दा सामाजिक पागलपन झन् झन् बढेको महसूस भएको छ। यस नाटकमा मैले त्यस्तै खालको समाज सिर्जना गरेर यहाँका मानिसका सपना, महत्त्वाकांक्षा, सोच र व्यवहार कतिसम्म अरूबाट प्रभावित छ भनेर देखाउन खोजेको छु। मानिसले कुन हदसम्म देखासिकी गर्छन् भनी यो नाटकले रोचक किसिमले प्रस्तुत गर्छ।
संक्षेपमा भन्दा मानिसको ढोंग नै नाटकको प्रमुख विषयवस्तु हो। तथापि नाटकमा कुनै मुद्दा वा विषयभन्दा कला पक्ष केन्द्रमा छ।
तपाईंले मुद्दाभन्दा कला पक्ष केन्द्रमा छ भनिरहँदा यसअघिका नाटकले कलात्मकता पस्कन सकेका थिएनन् भन्न खोज्नुभएको हो?
सबै त होइन, तर धेरै नाटक हेर्दा मलाई त्यस्तो महसूस हुन्थ्यो। अधिकांश नाटकमा कुनै मुद्दा वा विचार लादिएको हुन्छ। दर्शकलाई नै ‘यो समाजका तिमी मानिसहरू यस्ता’ भनेर पाठ पढाइरहेको देखिन्छ। पहिले त झन् दर्शकलाई नै ‘यो समाजलाई बर्बादीतिर लाने तिमीहरू नै हौ’ भनिन्थ्यो।
एक समय यसरी कथा भन्नु ठीक पनि थियो होला, अब समय धेरै परिवर्तन भइसक्यो। अरू देशमा नयाँ नयाँ विधाका नाटक मञ्चन भइसके, हाम्रामा भने वर्षौंदेखि त्यही कथा र शैलीको पुनरावृत्ति भएको हुँदा दर्शक पनि दिक्क भइसकेका हुन् कि भन्ने लागेर कुनै पाठ नपढाई, विचार नलादी र दर्शकलाई गाली नगरी कला पक्षलाई केन्द्रमा राखेर विशुद्ध मनोरञ्जन दिने उद्देश्यले यो नाटक तयार गरेको हुँ।
यति गर्दागर्दै पनि केही विषयमा व्यंग्य भने अवश्य छ। तर दर्शकले बोझ महसूस गर्ने गरी पाठ पढाएको छैन।
मेरो विचारमा कलाकार भनेको राजनीतिकर्मी वा अभियन्ता होइन, भलै कलाले पनि समाज रूपान्तरणका लागि भूमिका खेल्छ। कलामा चर्का नारा र मुद्दाहरू मात्र राख्दा यसको स्तर खस्कँदै जान्छ।
मेरा अग्रज र गुरुहरूले बनाएको नाटकमै पनि कलाभन्दा मुद्दा केन्द्रमा हुन्थ्यो। तर उहाँहरूको मन राख्न राम्रो छ भनेर ढाँट्न पर्थ्यो। त्यसैले उहाँहरूका नाटकमा खट्किएका पाटो देखाउने प्रयासस्वरूप केही नयाँ गरौं भन्ने हुटहुटीले यो नाटक जन्मिएको हो।
नाटकको नाम र मुख्य पात्रको चरित्रचित्रण कलाकार र कलाकारिता क्षेत्रको विकृतिप्रति अलि बढी आलोचनात्मक देखिन्छ, आफ्नै कर्मक्षेत्र र आफ्नै अग्रजहरूलाई किन व्यंग्य गर्नुभएको?
नाटकको मुख्य पात्र कलाकार भएकाले ‘हलिउड’ लाई एउटा विम्बका रूपमा प्रस्तुत गरिएको मात्रै हो। हरेक पेशा व्यवसायमा आबद्ध मान्छेको आआफ्नै सपना हुन्छ, कलाकारका यस्तै सपनालाई सांकेतिक रूपमा ‘हलिउड’ भनेको हुँ।
नाटकको कलाकार पात्र त एउटा माध्यम मात्र हो, खासमा सपना पूरा गर्न मान्छेले गर्ने देखासिकी र ढोंग देखाउन खोजिएको हो।
यद्यपि कलाकारिता क्षेत्रमा हुने गरेका अभ्यासलाई समेत व्यंग्य गरेको छु। यत्तिका वर्ष यस क्षेत्रमा काम गर्दा भोगेका उकुसमुकुस पनि अलि अलि प्रस्फुटन भएको छ। निर्देशकले आफूले महसूस गरेका कथा भन्नुपर्छ भन्ने लागेर नाटक तयार गरेको हुँ।
अधिकांश नाटक भव्य सेटमा मञ्चन गरिन्छ, तर यसमा सेट नै नबनाई ‘प्रप्स’, प्रकाश, पेन्टिङ र संगीत मार्फत मात्रै कथा भन्नुको कारण के हो?
यो ‘मिनिमलिज्म’ (मितव्ययिता)मा जन्मिएको सिर्जना हो। यो कथा भन्न भव्य सेटको जरूरी थिएन। आफूले भन्न खोजेको कथा जसरी प्रभावकारी ढंगले भन्न सकिन्छ त्यसरी नै भन्नुपर्छ भन्ने लागेर भव्य सेट बनाउनतिर लागिनँ।
नाटकमा कलाकारको संख्या पनि कमै छ। एउटै कलाकार सात वटासम्म भूमिकामा देखिएका छन्, यो पनि ‘मिनिमलिस्टिक’ सोचकै कारण हो?
नाटकको विषयवस्तु सोच्दा नै मैले दुई जना कलाकार राखेर सांकेतिक रूपमा कथा भन्ने ठानेको थिएँ। भव्य सेट र धेरै कलाकार जम्मा गर्ने सोच थिएन। त्यसैले धेरै चरित्रमा काम गर्न सक्ने कलाकार खोजेको हुँ। यसो गर्दा कलाकारको अभिनय क्षमता पनि देखिन्छ, दर्शकलाई पनि फरक महसूस हुन्छ। थप दुई जना सहायक कलाकार चाहिं चाहिने नै भएकाले राखेको हुँ। एउटै कलाकारले फरक फरक चरित्रलाई न्याय गरेको पनि छ।
नाटकको सांगीतिक पाटोमा पनि तपाईंले नौलो प्रयोग गर्नुभएको पाइन्छ नि!
हामीकहाँ धेरै नाटकमा संगीत, पेन्टिङ, प्रप्स लगायत पक्षमा आवश्यक प्रयोग गरिंदैन। केही नाटकका संगीत त अति प्रयोगले कर्कश नै सुनिन्छ।
मैले यसअघि धेरै नाटकमा संगीतको काम गरिसकेको थिएँ। त्यसैले संगीतको उचित प्रयोगले पात्रको भावना र कथाले अभिव्यक्त गर्न खोजेको विषयवस्तुलाई थप बेजोड बनाइदिन्छ भनेर यस नाटकमा पृथक् किसिमले संगीतको प्रयोग गरेको हुँ। मलाई संगीतमा अझ धेरै प्रयोग गर्न मन छ। विदेशी नाटकमा थरीथरीका बाजाहरू र संगीतकार राखेर बेजोड संगीत सिर्जना गरिएको हुन्छ। हाम्रोमा त्यो स्तरमा प्रयोग अझै भएको छैन।
यो नाटक फरक फरक विधाको समष्टि जस्तो पनि छ। एउटै नाटकमा अनेक विधाको संयोजन किन गर्नुभएको?
नाटकमा दुई/तीन वटा विधालाई संयोजन गरेको छु। यसअघि मैले ‘सर्रियल कमेडी’ विधामा काम गरेको थिएँ। पछि ‘स्ल्यापस्टिक कमेडी’ को अभ्यास गरें। यस नाटकमा चाहिं पहिले अभ्यास गरेका यी र थप नयाँ विधालाई फरक फरक सिनमा प्रयोग गरेको छु। कहीं कहीं ‘सटायर’ र कुनै सिन ‘एबस्ट्र्याक्ट’ पनि देखाएको छु। फरक फरक विधाबाट कथा भन्दा दर्शकले नयाँपन पनि महसूस गर्छन्।
त्यसमाथि एउटै कथा फरक फरक विधाको संयोजन गरेर भनिएका उदाहरण विश्व रंगमञ्चमा पनि धेरै छन्।
धेरै विधाको संयोजन गर्दा तालमेल नमिल्ने खतरा पनि हुन्छ नि?
हो, उचित संयोजन गर्न सकिएन भने नाटक बिग्रन्छ। त्यसो नहोस् भनेर नै हामीले धेरै रिहर्सल गर्यौं। मण्डलाकै कलाकार र निर्देशक साथीहरूलाई देखाएर उहाँहरूबाट सकारात्मक प्रतिक्रिया आएपछि मात्रै मञ्चन गर्यौं। रिहर्सलका दौरानमा हामीले धेरै परिमार्जन गरेर यतिको नाटक बनेको हो।
नयाँ विधामा अभ्यस्त नभएकाले हाम्रो रंगमञ्चमा पुरानै कथा भनिन्छ। तर अरूले पहिल्यै भनेका शैलीमा कथा भन्दा पुनरावृत्ति हुने सम्भावना हुन्छ। त्यसैले म यहाँ कमै मात्र प्रयोग भएका विधामा कथा भन्न रुचाउँछु। अब हामीले नयाँ विधा सिक्नुपर्छ, नयाँ शैलीबाट कथा भन्नुपर्छ।
म हलिउड चलचित्र निर्देशक स्ट्यानली कुब्रिकको काम मन पराउँछु। उनले पनि १३ वटा सिनेमा फरक फरक विधामा बनाएका छन्।
आफूले एक दशक काम गरेको क्षेत्र र यहाँको काम गर्ने तरीकासँग तपाईं असन्तुष्ट सुनिनुहुन्छ नि, किन?
पछिल्लो समय यस क्षेत्रले लय गुमाएको जस्तो लागेको छ। जुन स्तरमा काम हुनुपर्थ्यो, त्यो भएको छैन। यही कारण हामीसँगै रंगमञ्चमा प्रवेश गर्ने अधिकांश कलाकार र राम्रो काम गरिरहेका अग्रज दाइहरू धेरै पलायन भइसके।
पहिला रंगमञ्चमा देखिने कलाकार अहिले चलचित्रमा देखिन थालेका छन्, नाटक अहिले धेरैका लागि दोस्रो रोजाइ भएको छ। धेरै मानिस चलचित्र खेल्ने पूर्व तयारीका लागि नाटकमा आइरहेका छन्, कतिपय फिल्ममा काम नपाउँदा मात्रै नाटक गरिरहेका छन्। कता के नमिलेको, गुजुल्टो परेको जस्तो अवस्था छ। सिनेमा र नाटक छुट्टै विधा हो भनेर सोचिएको छैन। यसो हुनुको कारण रंगमञ्चमा काम गरेर बाँच्न सक्ने अवस्था नभएर पनि हो।