भक्तदेखि सरुभक्त
किशोरवयमा पुर्ख्यौली पेशा व्यापार छोडेर कला, साहित्यतिर लहसिएका सरुभक्तको लेखनको भोक उमेरले सात दशक नजिक पुग्नै लाग्दा पनि मेटिएको छैन।
पोखराको पुरानो बजार बागबजार, हालको बगर। नेवार समुदायको बाक्लो बसोबास रहेको बागबजार सात दशकअघि नै व्यापारिक केन्द्रका रूपमा स्थापित भइसकेको थियो। पोखरा र आसपासका गाउँबाट दैनिक उपभोग्य सरसामान लिन दिनभरि हिंडेर बजार झर्नेहरू त्यहीं पुगेर किनमेल गर्थे।
बागबजारमा चल्तीको पसलका चर्चित व्यापारी थिए, गणेशबहादुर श्रेष्ठ अर्थात् ‘गणेश साहु’। बागबजारका गणेश साहुलाई नचिन्ने कोही थिएन। उनको पसल विश्वासमा चल्थ्यो। गाउँ गाउँबाट आउने उपभोक्ता उधारोमा सामान लिएर जान्थे र अर्को पटक आउँदा पैसा तिर्थे।
गणेश साहु र उनकी श्रीमती लक्ष्मी श्रेष्ठका सात सन्तान थिए, पाँच छोरा र दुई छोरी। छोराछोरी पनि व्यापारमा आमाबुबालाई सघाउँथे। जेठो सन्तान भएकाले पारिवारिक व्यवसाय सम्हाल्नुपर्ने जिम्मेवारी थियो, भक्त श्रेष्ठको। तर व्यापार छोडेर लेखनमा लागेका उनै भक्त श्रेष्ठ पछि नेपाली साहित्यमा सरुभक्तका नामले प्रख्यात भए।
सरुभक्तलाई व्यापारमा रुचि थिएन, बुबा पनि छोरा व्यापारी नै बनोस् भन्ने चाहँदैनथे। अझ बुबाको जोड त पढाउनुमा थियो, सके डाक्टर नभए इन्जिनीयर बनाउनु थियो। जसले गर्दा स्कूलका कक्षाकोठा नदेख्दै बुबाबाटै घरमैै क, ख लेख्न, पढ्न शुरू गरिसकेका थिए। घरबाट शुरू भएको भक्त श्रेष्ठको लेखन सरुभक्तका रूपमा लोकप्रिय बन्यो।
‘परी’ बनेका बुबाको प्रभाव
त्यति वेला पोखरा बजार सानो थियो। नेवार समुदायको बाहुल्य रहेको पोखरामा बर्सेनि गाईजात्रा, भैरवजात्रा, बाघजात्राहरू निकालिन्थे। जात्रा हेर्न टाढा टाढाबाट मान्छे अघिल्लो दिन नै पोखरा झर्थे। घरआँगनमै रातभर जाग्राम बस्थे। भोलिपल्ट जात्रा हेरेर फर्कन्थे। जात्रा र जात्रामय परिवेश हेरेरै हुर्किएका थिए, सरुभक्त।
गाईजात्रामा चार परी र एक जोकर बनेर नाच्ने गर्छन्। तिनै चार परीमध्ये जेठी परी बनेर नाच्थे, सरुभक्तका बुबा गणेश। बुबालाई परी बनेर हिंडेको देख्दा उनी पनि रमाउँथे। सँगसँगै जात्रामा हिंड्थे। बुबाको नाच र नेवार समुदायका संस्कारले कलाप्रतिको झुकावलाई अझ बलियो बनायो।
परी बनेर राम्रो नाचेका कारण टोलभरिका सबैले मन पराउँथे। सबैले बुबाको तारीफ गरेको अझै सम्झिन्छन्। “मेरा बुबा मान्छे पनि राम्रो हुनुहुन्थ्यो। नाच पनि राम्रो गर्नुहुन्थ्यो। बुबाले भैरव नाच पनि नाच्नुहुन्थ्यो रे! त्यो मैले देख्न पाइनँ तर गाईजात्रामा परी बनेर नाचेको देखेको छु,” ६८ वर्षीय सरुभक्त भन्छन्, “बुबाको कलाको प्रशंसा र त्यसले पारेको प्रभाव अनुभूत गरेको छु।”
बुबा परी बनेको प्रभावले नै होला, उनी पनि नाटकतिर लागे। नाटक लेख्न र मञ्चन गर्न थाले। परीको प्रभावले नै आफू कला क्षेत्रतिर मोडिएको सरुभक्तको ठम्याइ छ।
आदर्श स्कूल र साहित्यिक यात्रा
बुबाले घर नजिकै पुरानो टुँडिखेलमा रहेको विद्यालय (अहिले राष्ट्रिय उच्च माध्यमिक विद्यालय)मा लगेर भर्ना गरिदिए। तर उनको ध्यान पढ्न कम, साथीसँग खेल्नतिर बढी थियो। पौडी खेल्न जाने, बरालिएर हिंड्ने गर्थे। त्यसैले सानो छँदा बुबाको पिटाइ पनि खाएको उनी सम्झिन्छन्।
छोराले नपढेको देखेर चिन्तित गणेश साहुले कक्षा ५ मा पोखराको पहिलो बोर्डिङ स्कूलमा होस्टलमा भर्ना गराए। उनी नेपाल आदर्श विद्यालय (हालको गण्डकी बोर्डिङ स्कूल) मा भर्ना भए।
२०२३ सालमा खुलेको बोर्डिङ स्कूलमा ठूला घरानाका बच्चा मात्रै पढ्थे। सामान्य परिवारका बालबालिका पढ्न सक्दैनथे। “स्कूलमा शुल्क बुझाउन ढिलो हुँदा विद्यार्थीसँगै बिल पठाउँथे,” सरुभक्त भन्छन्, “तीन सय रुपैयाँ लेखेको बिल बुबालाई दिएको सम्झना छ।”
नेपाल आदर्श विद्यालयमा भारतको दार्जीलिङसँगै विदेशबाट आएका गुरुआमा, गुरुबा थिए। स्कूलमा शिक्षकलाई गुरुआमा र गुरुबा भन्ने गरिन्थ्यो। त्यति वेलाकी हेडमिस अर्थात् प्रधानाध्यापक थिइन्, मार्था मुखिया। उनै मार्था नाम र पात्र सरुभक्तको मदन पुरस्कारप्राप्त उपन्यास पागल बस्तीमा पनि भेटिन्छिन्। मार्था गुरुआमा सरुभक्तलाई असाध्यै माया गर्थिन्। त्यहींबाट शुरू भयो, साहित्यको जग।
घरछिमेकमा नेवारी भाषा मात्र बोल्ने र सुन्ने गरेका सरुभक्तलाई बोर्डिङमा भर्ना भएपछि भने गाह्रो हुन थाल्यो। शुद्ध नेपाली बोल्न र लेख्न आउँदैनथ्यो। नेपाली बोल्न खोज्दा नेवारी लवज निस्किन्थ्यो। अनि साथीहरूसँगै शिक्षक पनि जिस्काउँदै हाँस्थे। यसले उनलाई झन् नेपाली बोल्न संकोच बनाइदियो।
कक्षा ६ मा पढ्दा शान्ति सुब्बा गुरुबाले पढाउन थालेका थिए। नेपाली शुद्ध बनाउनुमा सुब्बा गुरुबाको ठूलो हात रहेको उनको सम्झना छ। “एक पटक नेपाली विषयको टेस्टमा मलाई १० मा ८ नम्बर दिनुभयो। नेपाली शुद्ध बोल्न र लेख्न नआउने मैले ८ नम्बर पाउँदा भने ‘गर्न सक्छु’ भन्ने लाग्यो,” सरुभक्त भन्छन्, “नेपालीमा लेख्न सक्छु भन्ने प्रेरणा र आत्मबल मिल्यो।”
स्कूलको माहोल नै साहित्यिक थियो। शान्ति सुब्बा गुरुबा कविता लेख्थे र कक्षामा सुनाउँथे। त्यसैबाट हौसिएर सरुभक्त र उनका मिल्ने साथी विक्रम गुरुङ कविता कोर्थे। उनै विक्रम गुरुङ पछि गीतकार तथा गायकका रूपमा स्थापित भए।
त्यस्तै, स्कूलको छात्रावासका वार्डेन कथा सुनाउँथे। ध्यान दिएर कथा सुन्ने सरुभक्तले स्कूलमा कथा लेख्ने प्रयास पनि गरे। “साहित्यमा अभिरुचि जगाउन नेपाल आदर्श विद्यालय मेरा लागि उपयुक्त परिवेश भयो,” सरुभक्त स्कूले जीवन सम्झिन्छन्, “तैपनि त्यति वेला नै म नेपालीमा लेख्छु अथवा पछि गएर साहित्यकार नै बन्छु भन्ने थिएन।”
त्यो प्रेम
सरुभक्त बन्नुअघि उनी भक्त श्रेष्ठको नामबाट लेखरचना छपाउँथे। यही बीचमा उनी प्रेममा परे। आफूले मन पराएको व्यक्ति प्राप्त गर्न नसकेपछि उनै भक्त सरुभक्त बने। यसबारे उनी धेरै खुल्दैनन्। यसलाई ‘विशेष परिस्थिति’ भन्छन्।
त्यही ‘विशेष परिस्थिति’ उनका लागि साहित्यिक ऊर्जा बनिदियो। भक्त श्रेष्ठ सरुभक्त नबनेका भए पागल बस्ती उपन्यास नै आउँदैनथ्यो वा पागल बस्ती जसरी लेखिंदैनथ्यो कि!
सरुभक्तले कुनै एक विधामा मात्र लेखेनन्। उनको रुचि कविताबाट शुरू भएर मुक्तक हुँदै कथा, नाटक, उपन्याससम्म पुग्यो। पहिलो कृति मुक्तक संग्रह थियो। १०० वटा मुक्तक संगृहीत बन्द खाम भित्र पुस्तक २०३५ सालमा प्रकाशित भएको थियो। यो पुस्तक पोखराको पहिलो मुक्तक संग्रह पनि हो।
२०४८ सालमा पागल बस्ती उपन्यासले मदन पुरस्कार प्राप्त गरेपछि भने उनको सफलतासँगै चर्चा पनि चुलियो। पोखरामा मात्रै सीमित रहेनन्, देश र विदेशका नेपालीभाषीमाझ लोकप्रिय बने। नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तका हालसम्म दुई दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन्।
खासमा सरुभक्तले पनि कला-साहित्यतिर लाग्छु भनेर सोचेकै थिएनन्। बुबाले देखाएको गोरेटोमा हिंड्दै गर्दा ‘डाक्टर वा इन्जिनीयर नै बन्छु’ भनेर विज्ञान विषय लिएर पढेका थिए। डाक्टर, इन्जिनीयर नबने पनि विज्ञानले उनलाई विज्ञानका कथा लेख्न भने हौस्यायो।
पोखराको साहित्यको जग
२०३४ साल। सरुभक्त श्रेष्ठ, विक्रम गुरुङ, नवराज कार्की, अरुण थापा, सरोज गोपाल, बाबा राणा लगायत स्रष्टा आआफ्नै क्षेत्रमा अघि बढिरहेका थिए। तर पोखरामा सबै साहित्यकार र साहित्यिक कार्यक्रमलाई एकसूत्रमा बाँध्ने संस्थाको भने स्थापना भइसकेको थियो।
सरुभक्तकै कथनमा त्यति वेलाका ठिटाहरू मिलेर के गर्ने भन्ने सन्दर्भमा स्थापना भएको थियो, पोखरेली युवा सांस्कृतिक परिवार। उदीयमान् गायक अरुण थापा भर्खर पोखरा आएका थिए। बुबाको जागीरको सिलसिलामा पोखरा आएका थापा बस्ने क्वार्टरमै प्राय: युवा जमघट हुन्थ्यो।
त्यही सरकारी क्वार्टरमा गठन भएको थियो, पोखरेली युवा सांस्कृतिक परिवार। अग्रजका रूपमा अध्यक्षमा गायक सरोज गोपाललाई राखियो। यस्तै, उपाध्यक्ष नवराज कार्की, सचिवमा सरुभक्त, सहसचिवमा विक्रम गुरुङ तथा सदस्यमा अरुण थापा र उनका भाइ किरण थापा बसे। “हामी पनि बूढा हुन्छौं भन्ने दिमागमै आएन। सबै युवा थियौं, युवा सांस्कृतिक परिवार नाम राख्यौं,” बुढ्यौलीले छोप्दै गएका सरुभक्त विगत सम्झेर हाँस्छन्।
टोलीले पहिलो सांस्कृतिक कार्यक्रम पञ्चायत विकास प्रशिक्षण केन्द्र (हालको प्रदेश सभा भवन)मा गरेको थियो। तीन दिनसम्म चलेको कार्यक्रममा सरुभक्तले आफ्नो नाटक डढेलोले खाएको वन मञ्चन गरेका थिए। त्यसपछि बल्ल पोखरामा अन्य साहित्यिक संस्थाको स्थापना र विविध साहित्यिक-सांस्कृतिक कार्यक्रम हुन थाले।
‘राजधानीवाद’ चिडियाखानाको बाघ
मोफसलमा बसेर कलम चलाउनेलाई साहित्यकार सरुभक्त ‘राजधानीवाद’ सँग नडराउन सुझाउँछन्। आफू युवा अवस्थामा हुँदा राजधानीवाद झन् बढी हावी रहेको सुनाउँछन्। ठूल्ठूला लेखक काठमाडौंमा बस्ने, पत्रपत्रिका त्यहींबाट मात्र प्रकाशन हुँदा मोफसलका साहित्य र साहित्यकार उपेक्षामा पर्ने गरेको उनको अनुभव छ।
यही राजधानीवादलाई उनी चिडियाखानाको बाघ भन्छन्। “जति नै भयानक भए पनि चिडियाखानाको बाघसँग किन डराउनू,” सरुभक्त प्रश्न गर्छन्, “मोफसलका मान्छेले पनि कुण्ठा पालेर बस्नु हुँदैन।”
देशको राजधानी काठमाडौंभन्दा मोफसलमा बस्ने व्यक्ति कम महत्त्वपूर्ण नहुने उनको भनाइ छ। “आफ्नो ठाउँमा बसेर साहित्यमा योगदान दिने सक्ने अवसर छ,” उनी थप्छन्, “अर्को, प्रतिभा भन्ने कुरा छेकिंदैन, गाउँमा बसोस् कि शहरमा।”
पहिले आवश्यकताले बाध्यात्मक अवस्थामा राजधानी जानुपर्ने भए पनि अब त्यस्तो नरहेको उनको अनुभव छ। अहिले ‘ग्लोबल भिलेज’ को अवधारणा रहेको अवस्थामा आफ्नै ठाउँमा बसेर राम्रो काम गर्न सकिने उनी बताउँछन्।
अजन्मा छोरी सरु
साहित्यकार सरुभक्तले विवाह गरेनन्। विवाह भन्ने संस्थाप्रति उनको प्रश्न त छ तर विरोध होइन। अविवाहित सरुभक्तका एक छोरी र नाति छन्।
२०३८/३९ सालतिर उनी इतिहास भित्रको इतिहास पुस्तक लेख्दै थिए। यो पुस्तकमा उनले लेखेका थिए, ‘अजन्मा छोरी सरु’लाई समर्पित।
छोरी भनेपछि उनी हुरुक्कै हुन्थे। आफ्ना भाइबहिनीका छोरीहरूसँग खेल्थे। समय बिताउँथे। पुस्तक लेखनकै दौरानमा उनलाई आफ्नी नजन्मिएकी छोरीको कल्पना र सम्झना आइरहेको थियो। त्यसैले पुस्तक समर्पित गरे। कल्पनाकी छोरी सरु वास्तविकतामै भेटिएलिन्, त्यो उनले सोचेकै थिएनन्।
२०५५ सालमा लेखिका सरस्वती प्रतीक्षासँग पहिलो पटक भेट भयो। त्यति वेला उनी सरुभक्तलाई आफूले लेखेका कविता सुनाउन बगरस्थित घरमै पुगेकी थिइन्। सरुभक्त सम्झन्छन्, “ठ्याक्कै मिति २०५५ वैशाख २० गते हो। घर आउँदा लेखिका भएर आइन् र फर्किंदा छोरी भएर गइन्। यो मेरो नियति र सौभाग्य हो।”
सरस्वती प्रतीक्षालाई भेट्दा आफ्नै छोरी जस्तो लागेको उनी सुनाउँछन्। निरन्तर भेटेपछि दुवै जना बुबा र छोरीका रूपमा चिनिन थाले। लेखन र अध्ययन बाहेक उनको जीवन नै छोरी र नाति हुन्। उनी भन्छन्, “उनीहरू सूर्य र म चन्द्रमा तथा पृथ्वी जस्तो घुमिरहेका छौं।”
उसो त उनी भाइहरूका छोराछोरीलाई पनि कम्ता माया गर्दैनन्। उनीहरूसँगै पुर्ख्यौली घरमा बस्छन्। नातिनातिनासँग खेल्छन्।
पूरा गर्न नसकेको आमाबुबाको इच्छा
सरुभक्त आफू विवाह गर्ने मानसिक अवस्थामा कहिल्यै नरहेको सुनाउँछन्। विवाह गर्ने विचार कहिल्यै नआए पनि आमाबुबा जिउँदा हुँदासम्म कुराकानी टार्न गाह्रो पर्ने गर्थ्यो। आमाबुबा दुवैको चाहना र प्रस्ताव घरको जेठो छोराले बिहे गरिदिए हुन्थ्यो भन्ने थियो। यसले गर्दा आज पनि उनी जीवनभर आमाबुबालाई दुःख दिएको जस्तो अनुभूति गर्छन्।
भनेको एक वचन नकाट्ने छोराले बिहेको कुरा नमान्दा भने आमाबुबा चिन्तित हुन्थे। “म आज्ञाकारी छोरा हुँ। आमाबुबाले भनेको हरेक कुरा मान्थें। आमाको उदास अनुहार हेर्न सक्दिनथें,” सरुभक्त भन्छन्, “तर आमाबुबाको बिहे गरोस् भन्ने इच्छा पूरा गर्न सकिनँ भन्ने दुःख जिन्दगीभरलाई नै छ।”
उनी आमाले भनेको हरेक कुरा मान्थे। एउटा उदाहरण दिन्छन्, नौ दिनको। एक पटक उनी अन्नपूर्ण आधारशिविर गएका थिए। फर्केर आउँदा पोखरा पुग्नुअघि घरमा फोन गरे।
आमाले नै फोन उठाएर सोधिन्, “कहिले घर पुग्छौ?”
जवाफ दिए, “आजै पुग्दै छु।”
आमाले आदेश दिइन्, “आज नौ दिन भयो, घर नआऊ। त्यतै कतै बस।’
कतैबाट नौ दिनमा घर आउँदा अशुभ हुन्छ भन्ने मान्यता थियो। त्यसैले छोरालाई केही गाह्रोसाह्रो नहोस् भनेर आमा लक्ष्मीले उतै बस्न भनेकी थिइन्।
सरुभक्तलाई घर पुग्न हतार थियो। अन्नपूर्ण आधारशिविरको यात्रा सकेर थकित भइसकेका थिए। नौ दिन भएको भन्दै आमाले घर नआउन आदेश दिएपछि उनलाई रिस पनि उठ्यो। “विज्ञान पढेको थिएँ, विज्ञानका कथा लेख्थें तर आमाका अगाडि कुनै विज्ञानले काम नगर्ने रहेछ,” सरुभक्त सम्झिन्छन्, “कति वेला घर पुगौं भन्ने त लागेको थियो तर आमाको अनुहार सम्झेर उतै बसें।”
४५ वर्षका हजार मुक्तक
अहिले उनका आमाबुबा पनि छैनन्। यो गर, यो नगर पनि कसैले भन्दैनन्। बरु आफैं आमाबुबा, बाजेबज्यैको भूमिकामा छन्। बरु नातिनातिनासँग खेल्दै के गर्ने, के नगर्ने भनेर सम्झाउँछन्।
उमेरसँगै दैनिकी फेरिएको छ। तर लेखपढ गर्ने बानी फेरिएको छैन। भर्खर उनको अर्को पुस्तक बजारमा आएको छ, सरुभक्तका मुक्तक। अन्तर्राष्ट्रिय नेपाली साहित्य प्रतिष्ठान बेलायतले उक्त मुक्तक संग्रह प्रकाशन गरेको हो। यसअघि २०७६ सालमा प्रतिगन्ध उपन्यास प्रकाशन भएको थियो।
यस पुस्तकमा पुराना र नयाँ गरेर पाँच वटा पुस्तकका मुक्तक संगृहीत छन् जसमा एक हजारभन्दा बढी मुक्तक समाविष्ट छन्। यसलाई उनले आफ्नो मुक्तकहरूको अभिलेखका रूपमा पनि लिएका छन्। “२०३५ सालदेखि विभिन्न खण्ड र शैलीमा लेखिएका मुक्तकहरू छन्,” सरुभक्त भन्छन्, “त्यो समय र यो समयका मुक्तकको अध्ययन पनि हुन्छ भन्ने हिसाबले प्रकाशन गरिएको हो।”