मीनबहादुर, रामकुमार र शोभाकान्तको परिवारबाट मात्रै ३० अर्ब असुल्नुपर्ने
ललिता निवास जग्गा प्रकरणमा मीनबहादुर गुरुङ, रामकुमार सुवेदी र शोभाकान्त ढकालको परिवारबाट मात्रै ३० अर्ब रुपैयाँ असुल्नुपर्ने सीआईबीको अनुसन्धान प्रतिवेदनमा देखिएको छ।
ललिता निवासको सरकारी जग्गा कीर्ते गरी व्यक्तिका नाममा ल्याएर किनबेचमा संलग्न भएको आरोपमा सबैभन्दा बढी बिगो माग गरिएका पात्र हुन्, रामकुमार सुवेदी र शोभाकान्त ढकाल। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सरकारी वकीलको कार्यालय, काठमाडौंमा पेश गरेको अनुसन्धान प्रतिवेदन अनुसार सुवेदीबाट ६ अर्ब ८४ करोड २६ लाख रुपैयाँ बिगो माग गरिएको छ।
सुवेदीले सरकारी जग्गा व्यक्तिको नाममा फिर्ता गर्दा चार अर्ब ७९ करोड, छूट दर्ता व्यक्तिका नाममा ल्याउँदा पाँच करोड र टिकिन्छा गुठीका नाममा लैजाँदा ३७ करोड ३६ लाख रुपैयाँ अपचलन गरेको प्रतिवेदनमा उल्लेख छ। उनकी श्रीमती माधवी सुवेदीबाट दुई अर्ब ८८ करोड ४० लाख ८६ हजार ४७४ रुपैयाँ बिगो भराउन माग गरिएको छ।
सुवेदीका आफन्त र सन्तानको नाममा पनि जग्गा भेटिएको छ। जस अनुसार विवेककुमार सुवेदीबाट २४ करोड ६६ लाख ८९ हजार ३०१ र रूपेशकुमार सुवेदीबाट ३२ करोड ३४ लाख २८ हजार ९२१ बिगो माग गरिएको छ। यस हिसाबले सुवेदी परिवारबाट मात्रै १० अर्ब २९ करोड ६२ लाख चार हजार ६९६ रुपैयाँ असुल्नुपर्ने अनुसन्धान प्रतिवेदेनमा छ। सुवेदी यो जग्गा प्रकरणमा शुरूदेखि नै जोडिएका व्यक्ति हुन्। उनी लेखापढी व्यवसायी हुन्।
शोभाकान्त ढकालबाट पनि ६ अर्ब ८४ करोड २६ लाख रुपैयाँ बिगो माग दाबी गरिएको छ। उनकी श्रीमती उमाकुमारी ढकालबाट दुई अर्ब ९२ करोड ११ लाख २५ हजार ४६७ रुपैयाँ भराउन पनि माग दाबी गरिएको छ। ढकाल दम्पतीका नातेदार सरोज ढकालबाट ३२ करोड ३४ लाख २८ हजार ९२१ रुपैयाँ र लक्ष्मी ढकालबाट ३३ करोड १६ लाख ७१ हजार ३६ रुपैयाँ माग दाबी गरिएको छ। ढकाल परिवारबाट १० अर्ब ४१ करोड ८८ लाख २५ हजार ४२४ रुपैयाँ असुल्नुपर्ने पनि प्रतिवेदनमा छ।
यो परिवारसँग ललिता निवास जग्गा प्रकरणमा सबैभन्दा बढी बिगो माग दाबी गरिएको छ। सुवेदीले नै ढकाललाई यो प्रकरणमा ल्याएका हुन्। सीआईबीले यो घटनाका मूल योजनाकार, बिचौलिया र लगानीकर्ताको भूमिकामा सुवेदी-ढकालको जोडी रहेको प्रतिवेदनमा उल्लेख गरेको छ।
भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ जग्गा अपचलनमा सबैभन्दा बढी बिगो माग दाबी गरिएका तेस्रो व्यक्ति हुन् । मीनबहादुरबाट चार अर्ब ९१ करोड ८१ लाख २४ हजार ६४६ रुपैयाँ असुल्नुपर्ने पनि अनुसन्धान प्रतिवेदनमा उल्लेख छ। उनका छोरा कल्याण गुरुङबाट ७८ करोड ४४ लाख एक हजार ३५७ रुपैयाँ, श्रीमती सावित्री घलेबाट ३८ करोड ८० लाख ९१ हजार ९३४ रुपैयाँ असुल्नुपर्ने अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।
यस्तै, मीनबहादुरका नातेदारहरू सरस्वती घले गुरुङबाट एक अर्ब ३८ करोड २८ लाख ५० हजार २७५ रुपैयाँ, सरला घले गुरुङबाट एक अर्ब आठ करोड ६९ लाख ५४ हजार ८०७ रुपैयाँ र कामना गुरुङबाट ६१ करोड ५५ लाख पाँच हजार ७६८ रुपैयाँ बिगो भराउनुपर्ने माग अनुसन्धान प्रतिवेदनमा छ। गुरुङ परिवारबाट कुल नौ अर्ब १७ करोड ५९ लाख २८ हजार ८०५ रुपैयाँ माग दाबी गरिएको छ।
उनले २०५९ सालदेखि सुवेदी-ढकाल समूहमा जोडिएर बालुवाटारको जग्गामा लगानी गरेका हुन्। जानीबुझीकन नै गुरुङले सरकारी जग्गा हत्याउन यो समूहसँग नाता गाँसेको पनि सीआईबीको अनुसन्धानमा उल्लेख छ। सुवेदी, ढकाल र गुरुङ परिवारबाट मात्रै २९ अर्ब ८९ करोड नौ लाख ५८ हजार ९२५ रुपैयाँ असुल्नुपर्ने प्रहरी प्रतिवेदनमा उल्लेख छ।
पूर्व निर्वाचन आयुक्त समेत रहेका सुधीरकुमार शाहबाट २९ करोड ३२ लाख ६५ हजार ३०६ रुपैयाँ र उनकी श्रीमती उर्मिला शाहबाट १९ करोड ३० लाख ६६ हजार ६६७ रुपैयाँ भराउन पनि माग गरिएको छ। शाहले घूस बापतको रकम श्रीमतीको नाममा लुकाएको भेटिएको थियो।
ललिता निवासको हकवाला भनिएका हाटकशमशेर जबराबाट दुई अर्ब ८९ करोड ९० लाख असुल्न माग गरिएको छ। यो प्रकरणमा अभियुक्त बनाइएको सबैभन्दा ‘हाई प्रोफाइल’ पात्र विजयकुमार गच्छदार हुन्। पूर्व उपप्रधानमन्त्री गच्छदारले बालुवाटारको सरकारी आवास विस्तारको योजना विभागीय मन्त्रीका हैसियतमा मन्त्रिपरिषद्मा प्रस्ताव लगेका थिए। उनी त्यति वेला भौतिक योजना तथा निर्माण मन्त्री थिए। गच्छदारबाट १० करोड ५१ लाख १२ हजार ९०३ रुपैयाँ असुल्न माग गरिएको छ।
पूर्व सचिवहरू नारायणगोपाल मलेगोबाट ११ करोड ५९ लाख ९२ हजार २१३ रुपैयाँ, दिनेशहरि अधिकारी र युवराज भुसालबाट जनही एक करोड आठ लाख ७९ हजार ३१० रुपैयाँ, छविराज पन्त र दीप बस्न्यातबाट १० करोड ५१ लाख १२ हजार ९०३ रुपैयाँ असुल्न माग गरिएको छ। पन्तपछि खिलराज रेग्मी सरकारमा मन्त्री समेत बनेका थिए भने बस्न्यात अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त समेत बनेका थिए।
इन्जिनीयर रवीन्द्रमान जोशी, सुरोराज राजकर्णिकारबाट जनही एक करोड आठ लाख ७९ हजार ३१० रुपैयाँ बिगो भराउन माग गरिएको छ। तत्कालीन मन्त्री डम्बर श्रेष्ठबाट १० करोड ५१ लाख १२ हजार ९०३ रुपैयाँ, चन्द्रदेव जोशीबाट ६३ करोड १० लाख रुपैयाँ र राज्यमन्त्री सञ्जयकुमार साहबाट १० करोड ५१ लाख १२ हजार ९०३ रुपैयाँ असुल्नुपर्ने अनुसन्धान प्रतिवेदनमा माग गरिएको छ।