न्यायाधीश गौतम बालुवाटार जग्गाको कीर्ते प्रमाण खडा गर्ने भूमिकामा रहेको सीआईबीको निचोड
ललिता निवास जग्गा हिनामिना प्रकरणमा न्यायाधीश विनोदकुमार गौतमको संलग्नता देखिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।
भौतिक योजना तथा निर्माण मन्त्रालयको कानून शाखामा छँदा गौतमले मोही र भूमि सम्बन्धी विषय मन्त्रालयको कार्यक्षेत्रमा नपर्ने भए पनि मिल्ने राय दिएको सीआईबीको अनुसन्धान प्रतिवेदनमा छ। सरकारी, सार्वजनिक जग्गामा मोही नलाग्ने कानूनी व्यवस्थाको अनदेखा गरेको, निजी जग्गा सरकारले लिने र सरकारी जग्गा व्यक्तिलाई दिने कार्य कुन कानूनको अधीनमा हुने भन्ने आधार उल्लेख नगरी हचुवामा राय दिएको देखिएको प्रतिवेदनमा छ।
२०६६ चैत १९ गते तत्कालीन सचिव दीप बस्न्यातले गौतमलाई कानूनी रायका लागि पठाएको फाइलमा उनले कानून बाहिर गएर राय दिएको भेटिएको हो।
मन्त्रिपरिषद्ले स्वीकृत गरिसकेको अनुसूची संशोधनमा समेत गौतमले कानूनी राय नदिएको सीआईबीको निचोड छ। २०६७ असार २८ गते अनुसूची संशोधन प्रस्तावको टिप्पणी उठेको थियो।
गौतम यो प्रकरणमा कानूनी परामर्श दिनुको सट्टा कीर्ते प्रमाण जुटाउने प्रपञ्च र योजनामा संलग्न भएको भन्दै सीआईबीले अभियुक्त बनाउनुपर्ने निचोड निकालेको छ। तर, पदमा बहाल न्यायाधीशलाई कारबाही गर्ने अधिकार प्रहरीलाई हुँदैन। त्यसैले न्याय परिषद्मा कारबाहीका लागि लेखी पठाउनुपर्ने राय सीआईबीले दिएको छ।
यही प्रकरणमा २०७६ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गौतम विरुद्ध मुद्दा चलाएको थियो। तर, गौतमले न्यायाधीशको अनुसन्धान, छानबिन र कारबाही न्याय परिषद्ले मात्र गर्न पाउने भन्दै अख्तियारको विरुद्ध सर्वोच्च अदालतमा रिट हालेका थिए।
सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र बमकुमार श्रेष्ठको इजलासले माग अनुसारको आदेश दिएपछि निलम्बित गौतम पदमा बहाल भएका थिए। उनीमाथि न्यायाधीश नहुँदै कसूर गरेको आरोपमा मुद्दा चलाएको थियो।