‘भैरव अर्यालको छुटेको जीवनी भग्न भैरवमा छ’
![‘भैरव अर्यालको छुटेको जीवनी भग्न भैरवमा छ’](https://himal.softnep.website/uploads/posts/800X600/prollash_sindhuliya_main_1688131680.jpg)
“राम्रो सम्भावना बोकेका र प्रतिभा भएका धेरै लेखक-साहित्यकारलाई अहिलेको वातावरणले ‘मिसगाइड’ गरेको छ। गम्भीर साहित्य सिर्जना गर्नेहरू क्षणिक र तत्काल हिट हुने ‘कन्टेन्ट’ मात्र लेख्न थालेका छन्।”
लेखक प्रोल्लास सिन्धुलीय पछिल्लो चोटि भग्न भैरव उपन्यास लिएर पाठकमाझ आएका छन्। नेपाली साहित्यका प्रसिद्ध हास्यव्यङ्ग्य शिल्पी भैरव अर्यालको जीवनमा आधारित यो आख्यान आत्मपरक शैलीमा छ। यसका लागि लेखकले अर्यालकै हितैषी मित्र रोचक घिमिरेलाई ‘म’ पात्रका रूपमा प्रस्तुत गरेका छन्।
यसअघि शून्य डिग्री आख्यान प्रकाशन गरेका सिन्धुलीयका समग्रमा १७ वटा कृति प्रकाशित छन्। जन्मजात बाहुनको विज्ञप्ति र झन्डालाई डीभी पर्यो भने के हुन्छ? कवितासङ्ग्रह उनका चर्चित कृति हुन्। हिमालखबरको साप्ताहिक शृङ्खला किताबका कुरामा समकालीन साहित्य, लेखनकर्म र चुनौतीबारे सिन्धुलीयसँग सागर बुढाथोकीले गरेको कुराकानीको सम्पादित अंशः
भैरव अर्यालमा आधारित उपन्यास लेख्नु पछाडिको प्रेरणा के हो?
मेरो छापाखाना पनि छ। त्यहीं रोचक घिमिरेसँग एउटा किताबको काम हुँदै थियो। उहाँले प्रसङ्गवश सुनाउनुभएको भैरव अर्यालको एउटा किस्साले मेरा आँखा रसाए। उहाँलाई यस्तै प्रसङ्गहरू समेटेर किताब लेख्न सुझाएँ। उहाँले संस्मरणमै लेखिसकेको र अब जाँगर नभएको भन्दै टार्नुभयो। तर, संस्मरणमा समेटिएका घटना विवरण त्यति हृदयविदारक लाग्दैनथे जति उहाँले प्रत्यक्ष सुनाउँदा लाग्यो।
मैले ‘यो त लेख्नैपर्ने विषय हो’ भनेर जोड गरेपछि उहाँले भन्नुभयो, ‘म आफूले थाहा पाएका भैरवका सबै किस्सा भन्छु, तपाईंकै नाममा लेख्नुस्।’ तब मैले रोचकजीलाई नै ‘म’ पात्र बनाएर लेख्ने प्रस्ताव गरेँ। पहिले एक च्याप्टर लेखेर दिएपछि उहाँले भन्नुभयो, ‘ल ठीक छ, अघि बढ्नुस्।’ तर, अन्य व्यस्तताले केही समय थप लेख्नै पाइनँ। रोचकजी लेखन कहाँ पुग्यो भनेर सोधिरहनुहुन्थ्यो। मलाई जिम्मेवारी पूरा नगरेको अनुभूति हुन थाल्यो। अनि ३५ दिन भूमिगत भएर पहिलो ड्राफ्ट लेखिभ्याएँ। पुनर्लेखन र सम्पादन गर्न साढे चार वर्ष लाग्यो।
भावविह्वल बनाउने त्यो प्रसङ्ग चाहिं के थियो?
रोचकजीले भैरवसँगको अन्तिम भेटको प्रसङ्ग सुनाउनुभएको थियो। उहाँहरूले पोखरा जाने योजना बनाएर टिकट समेत काटिसक्नुभएको रहेछ। तर, भैरव नआएपछि उहाँ एक्लै जानुभएछ। पोखराबाट फर्किएपछि बल्ल उहाँले कारण थाहा पाउनुभएछ- भैरवले आत्महत्या गरिसक्नुभएछ। भैरवको एकदम निकट मित्र हुनुुहुँदो रहेछ रोचकजी।
भैरवका यसअघिका संस्मरण र जीवनीमा नभएका कस्ता पाटा तपाईंको आख्यानमा छन्?
यसमा भैरव अर्यालले बाँचेको जिन्दगी समेटेको छु। संस्मरणहरूमा पनि केही पाटा मात्र आएका छन्। किताब लेख्दा मैले ती सबै पढें। उनीसँग सङ्गत गरेका धेरै मानिसको कुरा सुनें। त्यस हिसाबले भैरवका बारेमा धेरै कुरा एउटै किताबमा समेटिएको यो नै पहिलो होला। अर्यालको जीवन यति मात्रै भने होइन। त्यसको सानो झलक मात्र देखाउन प्रयास गरेको हुँ।
तपाईंको किताबले भैरवका भोगाइ निकै भयानक देखाउँछ नि?
किताब लेखिरहँदा मेरो मनमा दुई कुरा थिए। एउटा- आममानिसले भैरवलाई हास्यव्यङ्ग्य लेखकका रूपमा मात्र हेरिरहेकामा उनको जीवनको गम्भीर पक्ष पनि बुझून् भन्ने थियो। अर्को- एउटा लेखकको समाजसँगको सम्बन्ध देखाउनु थियो।
भैरवको जीवनका धेरै भयानक पाटा उहाँको संस्मरण र जीवनीमा आएका थिएनन्। ती कुरा उहाँका रचना पढ्ने पाठकले थाहा पाऊन् भनेर पनि उपन्यास लेखेको हुँ।
![](https://www.himalkhabar.com/uploads/editor/himal_saptahant/prollash%20sindhuliya/prollash%20sindhuliya%20%283%29.jpg)
ती भोगाइ समकालीन लेखकका भोगाइसँग कत्तिको मिल्दाजुल्दा छन्?
यो किताब भैरवको जीवनीसँगै म र मेरो समयका लेखकको कथा पनि हो। अहिलेका लेखकको जीवनशैली फरक होला, परिवार र समाजले गर्ने व्यवहार फरक होला, तर नियति खासै फेरिएको छैन। भैरवको वेलाकै जस्तो प्रकाशक र लेखकको द्वन्द्व अहिले पनि छ। जसरी भैरव श्रमशोषणमा परेका थिए, त्यसरी नै प्रोल्लास सिन्धुलीय परिरहेको छ। प्रूफ-सम्पादन गरेको पैसा माग्न धाउनुपरिरहेकै छ। हिजो भैरवहरू पारिश्रमिकका लागि धाउँदा चप्पल फटाउनुहुन्थ्यो, हामी जुत्ता फटाइरहेछौं। हिजो भैरवहरूलाई ‘पैसा छैन’ भन्दै ढोकाबाट फर्काइन्थ्यो, आज हामीले गरेको फोन उठाइँदैन। फरक यत्ति हो।
प्रकाशकका दृष्टिले हेर्दा पनि २० वटा किताब छाप्दा असाध्यै बिक्री हुने बढीमा दुई वटा न होलान्। तिनै दुई किताब लेखकलाई हजार प्रति मात्र छापेको देखाउने प्रकाशकले भित्रभित्रै १० हजार प्रति छापेर नाफा खाएछ भने पनि बाँकी १८ वटामा उसलाई लगानी उठाउनै धौधौ परिरहेको हुन्छ। सबै किताबको माग उस्तै त हुन्न नि। तर, दुइटा किताबमा गरेको त्यही बदमासीका कारण बाँकी लेखकले उसलाई आफ्ना किताबमा पनि त्यस्तै गर्यो कि भन्दै संशय गरिदिन्छन्। लेखक र प्रकाशक दुवैको कथा हिजो र आज उस्तै छ।
तपाईं आफैं पनि प्रकाशन व्यवसायमा हुनुहुन्छ। किताबमा काम गर्नेले पारिश्रमिक नै नपाउने अवस्था किन छ?
किताब छापेर सित्तैमा बाँड्ने प्रवृत्तिले यस्तो भइरहेछ। मानौं, मैले एक हजार प्रति किताब छापेर उपहार भन्दै बाँड्छु भने अर्को लेखकले किताब निकाल्दा पनि उपहारकै आश गर्छु नि। भग्न भैरव आएपछि पनि धेरै साथीहरू ‘खै त मलाई’ भन्दै माग्न आएका छन्। तर, म दिन सक्ने अवस्थामा छैन। अझै समालोचकहरू ‘किताब किनेर समालोचना लेख्दिनुपर्ने?’ भन्छन्। उनीहरू पनि किनेर पढ्दैनन्।
साहित्यवृत्तमा अरूले लेखेका किताबमा आफ्नो नाम हालेर स्वघोषित लेखक बन्ने प्रवृत्तिबारे पनि सुनिन्छ। यस्तो किन भइरहेछ?
आफूलाई चिनून् भन्ने इच्छा सबैको मनमा हुन्छ। आफन्तको विवाहको कार्डमा प्रार्थीमा आफ्नो नाम नआउँदा खल्लो मान्नेहरू समेत हुन्छन्। मतलब, नामको रहर सबैलाई हुन्छ। त्यसका लागि को कसरी प्रस्तुत हुन्छ भन्ने मात्र फरक हो। त्यस्तै, मानिसलाई आफूले जानेको, बुझेको कुरा भन्ने रहर पनि हुन्छ। त्यो सीप आफूसँग नहुनेले अरूलाई लेख्न लगाउँछ। आफ्नो अनुभव, ज्ञान अरूलाई बाँड्न किताब लेखाउने काम नराम्रो होइन। तर, त्यसका लेखक-सम्पादकलाई पारिश्रमिकमा शोषण गर्नुभएन।
![](https://www.himalkhabar.com/uploads/editor/himal_saptahant/prollash%20sindhuliya/prollash%20sindhuliya%20(6).jpg)
साहित्यको एउटा विधामा स्थापित भइसकेको लेखकले फरक विधामा परीक्षण गर्नु कत्तिको जोखिमपूर्ण कदम हो? तपाईं पनि कविताबाट चर्चा कमाउँदै गरेको मान्छे उपन्यासतिर लाग्नुभयो नि?
म जुन बाटोमा छु, त्यो सफल नहुने लक्षण हो। यत्तिको मेहनत एउटै विधामा गर्दा राम्रो हुन्थ्यो होला। तर, यो मात्रै यथार्थ होइन। जस्तो- हामी स्कूलमा सबै विषय पढ्छौं, तर अलिक माथि पुगेपछि एउटा मात्र विषय छान्छौं। त्यसले शिक्षाको आधार बनाउँछ। लेखनमा मैले गरेको पनि त्यही हो। अहिले अभ्यासको चरणमै छु। कुनै एउटा विधामा राम्रो गर्न सक्छु भन्ने प्रस्ट नहुन्जेल सबै विधामा लेख्छु। पछिल्लो समय अरू विधा छाडेर कविता र आख्यान मात्रै लेख्न थालेको छु।
कविताको बजार नरहेको र प्रकाशकले पनि छाप्न मन नगर्ने भएकाले कविहरू आख्यान लेखनमा लागेको चर्चा कति सत्य हो?
होइन होला किनभने साँच्चिकै साहित्यिक उपन्यास पनि खासै बिक्दैन। बरु कविता बिक्छ। सामान्यतया लेखन पैसाका लागि गरिन्न। कोही पनि लेखक पैसा कमाइन्छ भनेर उपन्यास लेखनमा लागे जस्तो लाग्दैन। फेरि विधा छनोटमा आफ्नो विचार केबाट राम्ररी व्यक्त गर्न सकिन्छ भन्ने पनि हुन्छ। म कुनै कुरा कवितामै गज्जबले भन्न सक्छु भने आख्यान लेख्दिनँ। कुनै विषय कथामै सकिन्छ भने लम्ब्याएर आख्यानको रूप दिन्नँ।
बिक्रीको कुरा गर्दा साहित्यिकभन्दा फूटपाथे उपन्यास बढी बिकिरहेको हुन्छ। साहित्यिक उपन्यास पढ्ने कति छन् र! म त कविता पनि एकदम सरल भाषामा लेख्नुपर्छ भन्छु। क्लिष्ट शब्द पर्ला कि भनेर सचेत हुन्छु। विचार क्लिष्ट भएर पनि बुझ्न गाह्रो पर्ला, तर कम्तीमा शब्द त सरल हुनैपर्छ। ‘साहित्य क्लिष्ट हुनुपर्छ, साधारण रूपमा लेखिएको साहित्य हुन्न’ भन्ने मान्छेको साहित्य कसले पढ्छ ! माधवी (उपन्यास)कै कुरा गर्दा मलाई छिचोल्न मुश्किल पर्यो। इन्द्रबहादुर राईको आज रमिता छ पढ्न समस्या भयो। तर, पढिसक्दा आनन्द आयो। यस्ता उच्च कोटिका साहित्य थोरैले मात्र पढ्छन्। अहिले साहित्यिक होइन, गैरसाहित्यिक उपन्यास र कथा बिक्छन्।
मतलब, उच्च कोटिको साहित्य पाठकको प्राथमिकतामा छैन?
प्रशंसा त व्यापक भएको छ। तर, हाम्रो समालोचकीय दृष्टि कस्तो छ भने एउटाले राम्रो भनिदिए बाँकी सबैले त्यसकै आधारमा राम्रो भन्छौं। लक्ष्मीप्रसाद देवकोटालाई हामीले राम्रो कवि किन भनेका छौं भने अरूले राम्रो भनेको सुनेर। जबकि धेरैले उनका कृतिको समग्र अध्ययन गरेकै छैनौं। अहिले पनि कुनै किताब या लेखकका बारेमा समीक्षकले नराम्रो भनिदिए अरूको प्रतिक्रिया पनि नराम्रै आउँछ।
![](https://www.himalkhabar.com/uploads/editor/himal_saptahant/prollash%20sindhuliya/prollash%20sindhuliya%20(5).jpg)
राम्रो लेखन कस्तो हो? कुनै कृति विषयवस्तुकै कारणले मात्र उत्कृष्ट हुन सक्छ?
यो निर्धारण गर्न नसकिने कुरा हो। लेखन भनेको नयाँ कुरा सिर्जना गर्नु हो। साहित्यकार अमर न्यौपानेले कतै ‘पहिलो पटक साइकल बनाउने आविष्कारक हो, बाँकी मिस्त्री’ भनेका थिए। लेखन भनेको पनि आविष्कार हो। अर्थात् त्यसअघि यो संसारमै नभएको कुरा दिनु हो। लेखन यस्तो या त्यस्तो हुनुपर्छ भनिए त त्यो सिर्जना नै होइन। त्यसैले राम्रो लेखन यस्तै हुनुपर्छ भन्ने छैन।
मेरो बुझाइमा कुनै एउटा विषय दिएर एक हजार जनालाई कविता लेख्न लगाउँदा ९९० जनाले जे लेख्छन्, त्यो सामान्य लेखन हो। १० जनाले जे लेख्छन्, त्यो चाहिं उत्कृष्ट रचना हो। लेख्दै नलेखेको मान्छेले हेर्दा पनि यस्तो त मै लेख्न सक्छु भन्ने भयो भने त्यो लेखन साधारण नै हो। अर्को कुरा हामीलाई विषयवस्तुको पनि खाँचो हुँदो रहेछ। भग्न भैरव लेख्ने क्रममा राम्रो विषयवस्तु पाए गज्जब लेख्न सकिंदो रहेछ भन्ने महसूस भयो।
‘फूटपाथे’ भनेर कस्तो साहित्यलाई इङ्गित गर्न खोज्नुभएको?
त्यो चाहिं मिस्त्री पाराको साहित्य हो। तिनीहरूले क्षणिक मनोरञ्जन दिन्छन्। पढ्नेले पनि गम्भीरतापूर्वक पढ्दैनन्।
अहिलेको लेखनमा समकालीन विषयहरू कत्तिको समेटिएको वा छुटेको पाउनुहुन्छ?
अधिकांशले बाँचेको परिवेश लेखेकै छन्। आफ्नो परिवेश महसूस गरिएकाले लेख्न सजिलो पनि हुन्छ। लेखकले समकालीन कुरा लेख्नैपर्छ।
समीक्षकहरू नेपाली साहित्यमा नयाँ विम्ब सिर्जना गरिएन भन्छन्। तपाईंलाई के लाग्छ?
विम्ब-प्रतीक भनेको जटिल कुरा हो। तर, हामी थोत्रा विम्ब मात्र प्रयोग गरिरहेका छौं जस्तो लाग्दैन। समयले दिने विम्ब आइरहेकै छन्।
समकालीन लेखकहरू तपाईंलाई कस्ता लाग्छन्?
राम्रो सम्भावना बोकेका र प्रतिभा भएका धेरै लेखक-साहित्यकारलाई अहिलेको वातावरणले ‘मिसगाइड’ गरेको छ। गम्भीर साहित्य सिर्जना गर्नेहरू क्षणिक र तत्काल हिट हुने ‘कन्टेन्ट’ मात्र लेख्न थालेका छन्। ताली र वाहवाहीलाई मात्रै आधार मानेर लेख्ने प्रवृत्ति झाँगिएकाले धेरै लेखकले गलत ठाउँमा शक्ति र समय लगाइरहेका छन्। लेख्नासाथ वाहवाही नपाए निराश हुने र ताली आए मैले त गज्जबै लेखें भनेर हौसिने प्रवृत्तिले लेखकलाई हानि गर्छ। राम्रो सिर्जनाको मूल्याङ्कन हुन समय लाग्छ, कुर्न सक्नुपर्छ।
समीक्षकहरू अहिलेका सर्जकमा सिर्जना संशोधनको धैर्य नरहेकाले अपरिपक्व सामग्री प्रकाशन भइरहेको गुनासो गर्छन्। खासमा समस्या लेखकमा हो कि प्रकाशकमा?
लेखककै समस्या हो। प्रकाशकहरू त किताब बेचेर लगानी उठाउनुपर्ने भएकाले सचेत छन्। लेखकसँग पैसा लिएर छाप्नेहरूको कुरा अर्कै हो। व्यावसायिक रूपमा काम गर्नेले हतारमा किताब छाप्दैनन्। कहिलेकाहीं पढिरहेको किताबको विषय राम्रो हुन्छ, तर त्यसको भाषाले पढ्न मन लाग्दैन। किनकि भाषा र व्याकरणमा लापरवाही गरिएको हुन्छ। त्यस्ता किताब म नपढी फाल्दिन्छु। लेखक आफैंले लेखनलाई गम्भीरतापूर्वक लिएको छैन भने उसको किताबलाई मैले किन गम्भीरतापूर्वक पढ्ने?
आफ्नै लेखनप्रतिको तपाईंको समीक्षा चाहिं कस्तो छ?
एकदमै केही गर्न खोज्ने तर गर्न नसकिरहे जस्तो लाग्छ। बुबा उमानाथ शास्त्री सिन्धुलीय पनि कवि हुनुहुन्थ्यो। म सानै छँदा बित्नुभएकाले उहाँको सान्निध्य पाइनँ। तर, उहाँका रचना पढेर हुर्किएँ। बुबाले धेरै वर्ष अगाडि लेखेका, खारिएका कविता आफ्नो कवितासँग दाँज्दा अहिले पनि राम्रो लेख्न नसकेको महसूस हुन्छ।
आगामी लेखन योजना केकस्ता छन्?
सिन्धुलीगढीमा गोर्खाली फौजले ब्रिटिशसँग गरेको लडाइँका बारेमा ऐतिहासिक उपन्यास लेख्दै छु। यसलाई ‘फिरिङ्गी’ नाम दिएको छु। अनुसन्धानको काम भइरहेको छ।
किताबका कुराका थप सामग्री: