‘द्वन्द्वका दागबारे लेख्न र बोल्न छाड्नु हुन्न’
![‘द्वन्द्वका दागबारे लेख्न र बोल्न छाड्नु हुन्न’](https://himal.softnep.website/uploads/posts/800X600/bibek_ojha_1680268548.jpg)
‘द्वन्द्वका घाउ अझै बाँकी छन्। पीडितले न्याय पाएका छैनन्। त्यसैले यो विषयमा अझै साहित्य लेखिनुपर्छ, सिनेमा बन्नुपर्छ र नाटक मञ्चन हुनुपर्छ।’
१० वर्षे सशस्त्र द्वन्द्वमा सर्वस्व गुमाएका नागरिकको पीडा, आक्रोश र घृणालाई लेखक विवेक ओझाले आख्यान मार्फत ‘ऐंठनमा उतारेका छन्। यसअघि २०७४ सालमा प्रकाशन भएको ऐलानी पुस्तकको विषयवस्तुलाई लिएर मुद्दा समेत खेपेका थिए। त्यसअघि उनको एक पाइला आकाशमा गजल संग्रह प्रकाशित भएको थियो।
भर्खरै बजारमा आएको तेस्रो पुस्तक ऐंठनसँगै लेखन संघर्षमा केन्द्रित भएर हिमालखबरको साप्ताहिक प्रस्तुति किताबका कुरामा उनै लेखक ओझासँग सागर बुढाथोकीले कुराकानी:
पहिलो उपन्यास ऐलानी थियो। दोस्रो ऐंठन। दुइटै किताबको नामको पहिलो अक्षर ‘ऐ’ हुनुमा केही अर्थ छ कि संयोग मात्र हो?
मेरो एउटा गजल संग्रह पनि प्रकाशित भएको थियो। त्यसको नाम एक पाइला आकाशमा थियो। शुरूमा ‘ए’ त्यसपछि ‘ऐ’ र अहिलेको पुस्तकमा ‘ऐ’ मा चन्द्रबिन्दु थपिएको छ। यो संयोग बाहेक अरू केही होइन।
ऐंठनको नाम शुरूमा उप्रान्त राखेको थिएँ। तर, प्रकाशक मणि शर्माले ऐंठन जुराउनुभयो। शुरूमा त खास लागेको थिएन, किताबको पाण्डुलिपि पढ्ने साथीहरूलाई यो नाम सुनाएँ। उनीहरूले गजब भनेपछि म पनि ‘कन्भिन्स्ड’ भएँ। अहिले किताबको नामलाई पनि धेरैले रुचाउनुभएको छ।
ऐँठनअघि ऐलानीको प्रसङ्गमा जाऔं। किताब लेखे बापत अदालत पनि धाउनुभयो, के भएको थियो त्यस वेला?
म हुर्किएको पश्चिम नेपालका विभिन्न स्थानमा बादी समुदायको बस्ती छ। कानूनतः देह व्यापार अन्त्य भएको भनिए पनि रोकिएको थिएन। राज्यले उनीहरूको व्यवस्थापन गर्ने जिम्मा लिए पनि कार्यान्वयन भएको थिएन।
सोही कारण त्यस्ता मुद्दालाई सम्बोधन गर्नुपर्छ भनेर मैले किताब लेखेको थिएँ। तर, दाङका त्यही समुदायका केही साथीले आपत्ति जनाउँदै सर्वोच्चमा रिट दायर गर्नुभयो। केही समय घर र अदालत गइरहनुपर्यो। अन्ततः लेखककै पक्षमा फैसला आयो।
दुवै उपन्यास सामाजिक मुद्दा केन्द्रित छन्। यो सोचेर चाल्नुभएको कदम हो वा लेख्दै जाँदा यस्तो हुन गयो?
विषयवस्तु छनोटमा म सचेत भएकाले नै यस्तो भएको हो। एउटा लेखकले समाजका समस्यालाई मुद्दा बनाउनुपर्छ र कलाको माध्यमबाट प्रस्तुत गर्नुपर्छ। म त्यही प्रयास गरिरहेको छु।
मुद्दाकेन्द्रित विषयमा लेखे पनि कला पक्ष कमजोर नहोस् भनेर कथा भन्ने शैली र प्रस्तुतिमा मेहनत गरेको छु।
समाजमा धेरै मुद्दाहरू छन्, लेखनका विषयवस्तु अरू पनि हुन सक्छन्। सशस्त्र द्वन्द्व नै छान्नुको कारण के हो?
२०७० सालतिर म एउटा कथा संग्रह निकाल्ने तरखरमा थिएँ। तर, प्रकाशित भएन। त्यो बीचमा आफैंसँग असन्तुष्ट थिएँ। लेखनमा ऊर्जा दिने हो भने एक किसिमको ‘सिरियसनेस’ चाहिन्छ भन्ने महसूस भएपछि मैले त्यो पाण्डुलिपि हापें र २०७४ सालमा पहिलो उपन्यास ऐलानी निकालें।
त्यसपछि कथा संग्रह निकाल्ने सोच बनाएर पहिला हापेको पाण्डुलिपि सम्पादन र पुनर्लेखन गर्न थालें। सम्पादनको क्रममा एउटा युद्ध कथामा पुगियो। कथाको ‘क्यानभास’ विराट थियो।
त्यही समय द्वन्द्वपीडितको आन्दोलन चर्किरहेको थियो। छापामारहरू अपाङ्ग शरीर लिएर माइतीघर मण्डलमा घस्रिरहेका थिए। उनीहरूको शरीरबाट गोली झिकिएको थिएन। त्यो देखेपछि मेरो लेखक मन बिथोलियो।
उता पाण्डुलिपिको युद्धकथाको सम्पादन भइरहनु र यता युद्धका लडाकू उपचार तथा रोजगारको माग गर्दै सडकमा आउनुले मलाई यो कथालाई कथाका रूपमा मात्र सीमित गर्नु हुन्न भन्ने महसूस गरायो। त्यसपछि मैले द्वन्द्वको कथालाई उपन्यास बनाउने सोचें।
![](https://www.himalkhabar.com/uploads/editor/himal_saptahant/bibek%20ojha/bibek%20ojha_1.JPG)
एउटा कथालाई उपन्यासको रूप दिन केकस्ता पूर्व तयारी गर्नुभयो?
पूर्व तयारीका दुई वटा स्रोत हुन्छन्, प्राथमिक र द्वितीय। प्राथमिक स्रोतका लागि म विभिन्न ठाउँ पुगेर पात्रहरू भेटें। उनीहरूका गुनासो र आक्रोश सुनें। ती पात्रले यातना भोगेका भूगोलमा गएर विभिन्न जानकारी सङ्कलन गरें। ती समयका म्यागेजिन, पत्रपत्रिका र किताबहरूमा लडाकूका भोगाइ, उनीहरूका तयारी र विभिन्न घटनाबारे अध्ययन गरें।
कथा बुन्ने वेला पनि कथाको माग अनुसार स्रोतहरू सङ्कलन गर्दै लगभग दुई वर्षमा ‘फर्स्ट ड्राफ्ट’ तयार गरें। दुई वर्ष त्यसलाई पुनर्लेखन गरें। कसरी मानिसलाई तान्ने गरी कथालाई प्रस्तुत गर्ने भनेर धेरै समय व्यतीत गरें।
पाँच वर्ष त लेख्ने बाहेक अरू काम नै गरिनँ। हरेक दिन ल्यापटपमा घोरिन्थें।
उपन्यासका पात्रलाई मानसिक अस्पतालमा भेला पारेर उनीहरूको कथा भन्नुभएको छ। अस्पतालको सेटिङ मार्फत कथा भनेर दिन खोजेको सन्देश के हो?
कुन एंगलबाट कथा भन्ने भनेर मैले थुप्रै ‘प्लट’ निर्माण गरें। कथाका सबै पात्र युद्धबाट प्रभावित छन्। युद्धबाट प्रभावित मानिस मानसिक रूपमा कुनै न कुनै किसिमले क्षतविक्षत हुन्छ।
मानौं, युद्धको कारण कसैको श्रीमान् गुमेको छ भने उसले पाइला पाइलामा श्रीमान्लाई सम्झिरहेकी हुन्छे। कसैको श्रीमान्-श्रीमती हात समाएर हिंडेको देख्दा पनि बिथोल्दो रहेछ।
अस्पतालको सेटिङबाट कथा भन्नुको उद्देश्य पात्रहरूलाई एक ठाउँमा भेला पार्नु मात्रै हो। अस्पतालमा जति पात्र छन्, सबै मानसिक रूपमा अस्वस्थ छन्। किनभने त्यसको पृष्ठभूमिमा सशस्त्र द्वन्द्व छ। यसको मतलब कथा सशस्त्र द्वन्द्वको मात्र हो भन्न खोजेको होइन।
मानसिक अस्पतालको सेटिङमा पात्रहरू भेला गराएर मैले भन्न खोजेको के पनि हो भने- युद्ध जहाँसुकै होस्, त्यो निर्मम हुन्छ। त्यहाँ गला रेटिन्छ र मानिस विस्थापित हुन्छ। युद्धबाट टाढा भएर शान्तिपूर्ण जीवन बाँच्न पाउनुपर्छ भन्ने ध्येयले जीवनवादी दृष्टिकोणबाट यो किताब लेखेको हुँ।
किताबका कतिपय पात्रको संवाद कविता जस्ता छन्। यस्ता संवाद लेखकले फूलबुट्टा भरेर सिर्जना गर्ने हो कि आफैं आउँछन्?
पात्रले भनेको कुरालाई कसरी पठनीय बनाउने भन्ने लेखकको दायित्व हो। ढुङ्गा बोक्ने मजदूरले भन्न सक्छ- ढुङ्गा बोक्दा बोक्दा यो जीवन पनि ढुङ्गा जस्तो लागिसक्यो। माझीले भन्न सक्छ- जीवन भनेको के हो र? एउटा ढुङ्गा न हो, वारि गर्यो, पारि गर्यो।
यसरी आम मानिसका कुरालाई कसरी आकर्षक किसिमले भन्ने लेखन शिल्पमा भर पर्छ। मान्छेले जे भन्यो, त्यही लेख्ने हो भने साहित्य पठनीय नहुन सक्छ।
उपन्यासका पात्रका संवाद हृदय छुने बनाउन कवि पृष्ठभूमिले पनि साथ दियो कि!
त्यसको प्रभाव पर्यो नै। लामो समयसम्म जेमा अभ्यास छ, त्यसको लय लेखनमा देखिन्छ। मैले लामो समय कविता र गजल लेखिरहेकाले त्यसको लय मेरो उपन्यासको ‘न्यारेशन’ मा झल्कन्छ। यो कला नगुमोस् भनेर म अहिले पनि कविता लेख्ने अभ्यास गरिरहन्छु।
![](https://www.himalkhabar.com/uploads/editor/himal_saptahant/bibek%20ojha/bibek%20ojha_2.jpg)
कविहरू उपन्यास प्रकाशित भएपछि कविता लेख्न किन चटक्कै छाड्छन्? कविभन्दा उपन्यासकारको परिचय ठूलो लागेर हो वा बजारको प्रभावले हो?
बजारको कारण पनि हुन सक्छ। किनकि बिक्रीका हिसाबले उपन्यासको बजार ठूलो छ। शुरूमै उपन्यास जस्तो लामो र थुप्रै सिद्धान्त जानेर लेख्नुपर्ने विधाको किताब प्रकाशन गर्ने जोखिम लिन अधिकांश लेखक चाहँदैनन्। तर, कविता छोटो विधा भएकाले यो लेख्ने अभ्यास गर्न र सिक्न लामो समय लाग्दैन।
प्रायः लेखकहरू शुरूमा कविता लेख्नमै अभ्यास गर्छन्। अनि राम्रा कविताहरू छानेर कविता संग्रह पनि निकाल्छन्। त्यतिन्जेल लेखकले उपन्यास लेख्न पनि अभ्यास गर्दा रहेछन्।
कक्षा २ को किताबमा ‘मेरो सानो खरायो’ भन्ने कविता थियो। मैले त्यसैलाई नक्कल गरेर घरमा भएको बाच्छीबारे ‘मेरो सानो बाच्छी’ भनेर लेखें।
मैले पनि २०६६ र २०६७ सालतिर आख्यानका लागि अभ्यास शुरू गरिसकेको थिएँ। तर, प्रकाशन गर्न आँट आएनँ।
आफ्नो लेखनलाई कसरी समीक्षा गर्नुहुन्छ?
म आफैंलाई समीक्षा गरेर अघि बढ्ने मान्छे हो। गल्ती महसूस नगर्ने हो भने आफ्नो लेखनको स्तरवृद्धि नै रोकिन्छ। नेपाली तथा विश्व साहित्यका उत्कृष्ट किताबको स्तर कायम गरेर लेख्नुपर्छ भन्नेमा सधैं सचेत हुन्छु। अझै सच्चिन जरुरी छ भन्नेमा सचेत छु। सकेको मेहनत पनि गरिरहेको छु। बाँकी पाठकले भन्ने हो।
पछिल्लो समय सशस्त्र द्वन्द्वको विषयमा विभिन्न कोणबाट चलचित्र बन्ने, साहित्य लेखिने, नाटकहरू मञ्चन हुने क्रम बढेको छ। तपाईंको विचारमा द्वन्द्वकालको कथा किन भनिनुपर्छ?
द्वन्द्वका घाउ अझै बाँकी छन्। पीडितले न्याय पाएका छैनन्। त्यसैले यो विषयमा अझै साहित्य लेखिनुपर्छ, सिनेमा बन्नुपर्छ र नाटक मञ्चन हुनुपर्छ।
द्वन्द्व कुरूप अनुहार बोकेर बाँचेको हुन्छ। त्यसले समयरेखामा एउटा दाग छाडेर गएको हुन्छ। त्यो दागबारे हामीले लेख्न र बोल्न छाड्नु हुँदैन।
भोलिको पुस्ताले आफू जन्मिएको देशमा के भएको थियो भन्ने थाहा पाउनुपर्छ। यस्तो विषयमा लेख्न छाड्यौं भने पछि फर्केर हेर्दा समाजको इतिहास रित्तो हुन्छ। त्यसको दस्तावेजीकरण गर्न पनि द्वन्द्वका विषयमा लेख्नुपर्छ। विश्वयुद्धका घटनामा अझै पनि निर्मम समीक्षा भइरहेको छ।
द्वन्द्वकालमा दुईथरी विचार बोक्ने पात्रहरूलाई औपन्यासिक सेटिङमा भेट गराएर उनीहरूको अन्तर्द्वन्द्व र भावनालाई चित्रण गर्नुभएको छ। यसरी लेख्दै गर्दा तपाईंको व्यक्तित्व र विचार हावी हुने खतरा कत्तिको थियो?
लेख्ने वेला ‘बायस्ड’ हुनु हुँदैन भन्नेमा म सचेत थिएँ। मेरो किताबको मुख्य पात्र बबन कुमार आम नागरिक थियो। विना गल्ती उसले राज्य र विद्रोही दुवै पक्षबाट यातना भोग्नुपर्यो।
त्यो पात्रको भोगाइ ‘न्यारेटर’ मार्फत लेखिरहँदा माओवादी युद्ध वा राज्यमाथि मात्र निर्मम हुनु हुँदैन भन्ने कुरामा सचेत थिएँ। तर, कसैले द्वन्द्वका कारण श्रीमती र छोरा गुमाएको छ, सेना र माओवादी दुवैबाट यातना पाएको छ भने उसले जुनसुकै पक्षको हतियारधारीलाई राक्षस नै देख्छ।
त्यसैले पीडितको आखाँबाट अगाडि जे आउँछ, त्यसलाई निर्मम भएर वर्णन गर्नुपर्छ भन्ने कुरामा सचेत थिएँ। त्यो वेला म लेखक नभएर पात्रको जीवनमा बाँचेको थिएँ। हतियार चलाएर जसले आम नागरिकलाई पीडित बनायो, म उनीहरूप्रति निर्मम थिएँ।
त्यसैले कसको विरुद्ध कति शब्द खर्च गरियो भन्ने लेखाजोखा नै राखिनँ। द्वन्द्वकालका पीडितले व्यक्त गरेको भावनालाई ‘सेल्प सेन्सरशिप’ गर्न आवश्यक ठानिनँ। पीडितले जे बोल्छ, बोल्न दिएँ। किनकि, उसले यातना पाएको थियो।
यो वेला मैले सिद्धान्त, वाद र मुद्दा केही सोचिनँ। ऐंठन द्वन्द्वकालका पीडितको आक्रोश र घृणाको कथा हो।
किताबका पात्रका जीवनमा कतिपय यस्ता घटना छन्, जुन पढ्दा पाठकको मनोदशा बिथोलिन सक्छ। यस्ता घटना लेख्दा तपाईंको मनोदशा कस्तो थियो?
यो लेखिरहँदा मेरो मानसिकता बिथोलिन सक्छ भनेर मैले श्रीमतीलाई केही महीना मेरो क्रियाकलापमा ध्यान नदिनू भनेको थिएँ। म केही असामान्य व्यवहार गर्ने पनि भएको थिएँ। किताब लेख्दै गर्दा कोही मानिसलाई भेट्दा सपनामा हो कि विपनामा हो झैं लाग्ने, सत्य हो कि झूट जस्तो लाग्ने भएको थियो।
एउटा मान्छेभित्र धेरै मान्छे हुन्छ। कोही सम्झाइरहेको हुन्छ, कोही हौसला दिइरहेको हुन्छ। आफैंभित्रको कोही मान्छेले हीनताबोध गराइरहेको हुन्छ। यस्तो वेला आफूभित्रको कुन चाहिं मान्छेलाई जागृत गराउने भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। मैले चाहिं आफूलाई सम्झाउने मान्छेलाई जागृत गराएको थिएँ। त्यसले मनलाई नियन्त्रण गर्न सहयोग भयो।
प्रसङ्ग बदलौं। तपाईं कस्ता किताब पढ्न रुचाउनुहुन्छ?
यस्तै किसिमको भन्ने छैन। आफूले पढ्ने किताबमा लेखकीय चामत्कारिकताको अपेक्षा भने गर्छु।
कल्पना सुन्दर चिज हो, तर त्यसले यथार्थलाई छुनुपर्छ। कुनै पुस्तक पढ्दा हृदय छोओस्, ह्याङ गरोस्।
एउटा द क्याचर इन द राय पुस्तक छ। यसको लेखनशैलीले मलाई छोयो। अर्को दुःखी समाजको वर्णन गरिएको गुड अर्थ छ, त्यो किताबको प्रस्तुति पनि गजब लाग्छ। लेखकले आफ्नो कथालाई कसरी प्रस्तुत गरेको छ भन्ने कुराले किताब पढ्ने/नपढ्ने निर्णय गर्छु।
पुस्तक किन पढ्नुपर्छ जस्तो लाग्छ?
पुस्तक पढ्नु लत हो। पढेर रोइन्छ भने पनि मजा आउँछ। हाँसिन्छ भने पनि मजा आउँछ। गम्भीर या सोचमग्न हुँदा पनि आनन्द महसूस हुन्छ। किताबको कथाले मनस्थिति बिथोल्दा पनि ‘वाह, क्या गजब किताब पढियो’ भन्ने हुन्छ।
किनकि, मानिस स्वाभाविक जीवन चाहँदैन। मानसिक रूपमै भए पनि उथलपुथल हुँदा उसलाई मजा लाग्छ। पुस्तकले मानसिक रूपमा उथलपुथल गराउने, ज्ञान दिने र कथासँग बगाउँदै यात्रा गराउने भएकाले किताब पढ्नुपर्छ जस्तो लाग्छ।
तपाईंलाई फरक दृष्टिकोण निर्माण गर्न सहयोग गरेका कुनै किताब छन्?
घर छाडेर कहिल्यै बाहिर नबसेको म पहिलो पटक काठमाडौं आउँदा एक किसिमको मानसिक अवसादमा थिएँ। बुबा गाउँबाट मलाई भेट्न आउँदा सद्दाम हुसैनको जीवनी लिएर आउनुभएको थियो। त्यो वेला भर्खरै उनलाई फाँसी दिइएको थियो। त्यो किताबले मलाई एक किसिमको ऊर्जा दियो। मानिस गोली लागेर त बाँच्छ, मलाई के भएको छ र भन्ने लाग्यो। त्यो किताब नपढेको भए मलाई जे पनि हुन सक्थ्यो।
समीक्षकहरू अपवाद बाहेकका लेखकमा सिर्जनामा पटक पटक काम गर्ने धैर्य भएन भन्छन्। समस्या लेखकमा हो या प्रकाशन गृहमा?
विश्व साहित्यका उत्कृष्ट किताब बराबरका केही किताब हामीकहाँ पनि छन्। यद्यपि त्यतिले पुग्दैन। किताबको गुणस्तर खस्किनुमा लेखक र प्रकाशक दुवै केही हदसम्म दोषी हुन्छन्। प्रकाशकले लेखकलाई मेहनत नगराउनु र सहजै छापिदिनुले गुणस्तरमा प्रश्न उठ्छ।
आफैं लगानी गरेर लेखक बन्नेहरू पनि धेरै छन्। त्यसले पनि साहित्यको गुणस्तरमा असर पार्छ। प्रकाशक आफैं मकहाँ किताब माग्न आओस् र त्यसको पारिश्रमिक देओस् भन्ने भावना राखेर मेहनत गर्ने लेखक कम छन्। लेखकमा यस्तो भावना भए यो प्रश्न उठ्ने थिएन।
अहिलेका लेखकबाट कस्तो विषयवस्तु र शैलीको अपेक्षा राख्नुहुन्छ?
आख्यान लेखकमा शैली र विषयले खासै फरक पार्दैन। विषयमा उसको कति पकड छ, कति अध्ययन गर्यो र कसरी प्रस्तुत गर्यो भन्ने महत्त्वपूर्ण हुन्छ। विषयवस्तुको गाम्भीर्य बुझेको छ कि छैन भन्ने कुरा अहम् हुन्छ। समकालीन लेखकले जुन विषयमा लेख्छन् त्यसलाई गम्भीर रूपमा प्रस्तुत गरून् भन्ने मेरो अपेक्षा छ।
आगामी योजना के छन्?
के गर्ने भनेर सोचिरहेको छु। दुईटा पाण्डुलिपि छन्। अलि गहिरो अध्ययन नगरी एक-डेढ वर्ष त्यसमा काम गर्दिनँ। अब केही समय अध्ययन र घुमफिरमा बिताउँछु।