किन मान्छेको मन कहिले बेचैन त कहिले उदास हुन्छ?
![किन मान्छेको मन कहिले बेचैन त कहिले उदास हुन्छ?](https://himal.softnep.website/uploads/posts/800X600/biswabandhu_sharma_1676032131.jpg)
‘एउटा मानिसको मानसिक स्वास्थ्य उसको हातमा मात्रै हुदैन। उसको परिवार, उसको वर्ग, उसले पाएको शिक्षा र संगत पनि मानसिक स्वास्थ्य राम्रो/नराम्रो बनाउने कारक बन्न सक्छ।’
मनोचिकित्सकको रुपमा चिनिएको नाम हो, डा. विश्वबन्धु शर्मा। पूर्व सोभियत संघबाट चिकित्सा शास्त्र तथा मनोरोगशास्त्र अध्ययन गरेका डा. शर्मा गत ४० वर्षदेखि मनोरोगीको उपचारमा क्रियाशिल छन्।
मानसिक स्वास्थ्य सम्बन्धी उपचारका क्रममा भेटेका बिरामीका कथा, आफ्नो जीवनको उतार चढाव र नेपालको स्वास्थ्य सेवा लगायतका विषय समेटेर पुस्तक लेखेका छन्, ‘मान्छेको मन’। उनै डा. शर्मासँग पुस्तक ‘मान्छेको मन’ र मानसिक स्वास्थ्यका विषयमा केन्द्रित भएर हिमालखबरको साप्ताहिक प्रस्तुति किताबको कुरामा सागर बुढाथोकीले गरेको कुराकानीः
४० वर्ष लामो कामकाजका दौरान भेटेका पात्र र अनुभवलाई समेटेर किताब लेख्नु भएको छ। यसरी किताब लेख्नुपर्छ भन्ने सोच कसरी आयो?
योभन्दा अघि मैले सरल भाषामा मानसिक रोगका सामान्य परिचय दिने खालकको किताब लेखेको थिएँ। त्यो किताब प्रकाशित भइसकेपछि मेरा शुभेच्छुकले ‘तपाईंको अनुभव पुस्तकको रुपमा पढ्न पाइयोस्’ भनेर सुझाव दिए। त्यसले उर्जा थप्यो।
अर्को, मेरो निजी जीवन र चिकित्सकीय जीवनमा आइपरेका अप्ठ्यारा नयाँ पुस्तालाई थाहा होस भन्ने लाग्ने गरेको थियो। त्यसैले हाम्रो पुस्ताको संघर्ष र स्वास्थ्य प्रणालीको अवस्था आउँदो पुस्ताले थाहा पाउन भन्ने हेतुले किताब लेखेँ।
किताब लेख्दालेख्दै साथीहरूले व्यावसायिक जीवन, बिरामी हेर्दाको अनुभव र आफूले काम गर्दाको स्वास्थ्य प्रणालीको अवस्थाबारे पनि लेख्न सुझाव दिए। त्यही अनुसार पुनर्लेखन गरेपछि किताब तयार भयो।
यसमा प्रस्तुत गरेका पात्रहरू वास्तविक हुन्। कतिपय ठाउँमा गोपनीयता राख्न समय, परिवेश, नाम र प्रसङ्ग बदलिएको छ। बिरामीको जीवन हुबहु वर्णन गरिएको भन्दा पनि उनीहरूको भोगाई फरक परिवेशमा उतारिएको छ।
एउटा चिकित्सकलाई लेखक बन्दा कत्तिको गाह्रो हुदोरहेछ?
पहिले पनि समसायिक विषयमा लेख्ने गर्थेँ। तर, किताबै लेख्ने जमर्को गरेको थिइनँ। भाषाप्रति मेरो विशेष अभिरुचि छ। नेपाली भाषा राम्रो बनाउन पर्छ भन्ने नै थियो। त्यसैले पनि लेखनमा रस बस्यो। नेपालीसँगै रुसी, अंग्रेजी, नेवारी र हिन्दी भाषा पनि आउँछ।
रुसमा पढ्दा अन्य देशका साथीहरूका केही शब्द सिकियो। हरेक समाज र त्यसको सभ्यतालाई नियाल्ने झ्याल भनेको भाषा नै रहेछ। भाषा जानेपछि लेख्न मन लाग्दो रहेछ। त्यसैले मलाई लेख्न गाह्रो लागेन।
तपाई त मनको डाक्टर। मान्छेले कहिले मन रोयो, कहिले मन दुख्यो, कहिले मन बेचैन त कहिले उदास भयो भन्छन्। खासमा मन के हो, मन किन रुन्छ र किन खुशी हुन्छ?
यो प्रश्न वृहत भयो। त्यसको गहिराईमा पुग्न दार्शनिक हिसाबले भन्नुपर्छ। म मानसिक रोगबाट प्रभावित मनलाई उपचार गर्ने विशेषज्ञ हुँ। मेरो दृष्टिकोणबाट भन्दा हाम्रा क्रियाकलाप, सोच, व्यवहार, परिस्थिति र परिवेशले मनलाई प्रत्यक्ष प्रभाव पार्छ। मनले नै मष्तिष्कमा हुने भावनात्मक कुरालाई पनि प्रभाव पार्छ। त्यस हिसाबले भन्दा हाम्रो बौद्धिक चिन्तनको अभिन्न अंग मनलाई मान्नुपर्छ।
मानिसको सोच, विचार र व्यवहारमा मन प्रतिविम्वित हुन्छ भन्न खोज्नु भएको हो?
हो, मनलाई नियन्त्रण गर्न गाह्रो हुन्छ। त्यसैले मानिसका हरेक गतिविधिमा मन प्रतिविम्वित हुन्छ। खासमा नकारात्मक सोच र भावानात्मक उद्वेगहरू मष्तिष्कबाट शुरू भएर मनमा पुगेर खेल्छन्। मन मष्तिष्कबाट शुरू हुने विभिन्न विचार खेल्ने खेल मैदान हो।
मान्छेले आफ्नै मनलाई चिन्न र बुझ्न सक्दैनन् भनिन्छ। मनो-चिकित्सक अरूको मनको समस्या पत्ता लगाएर समाधानको कोशिस गर्छन्। मनजस्तो अस्थिर कुरामा पनि निश्चित नियम वा विज्ञान लागू हुने रहेछ, है?
सामान्यतया मानसिक पीडा र दुःख आउने अवस्थालाई नियन्त्रण गर्न एक दिनको प्रयासले हुदैन। त्यस्तो अवस्था नियन्त्रण गर्न एउटा व्यक्तिले निरन्तर एकाग्र भएर छुट्टै अभ्यास गर्नुपर्छ। मनोचिकित्सकले मनलाई पूर्ण नियन्त्रण गर्ने भन्दा पनि मनमा आएका विकार र विकृतिलाई समाधान या कम गरेर स्वाभाविक अवस्थामा फर्काउने हो।
मन विचलित हुने विभिन्न आयाम छन्। चिकित्सकीय दृष्टिकोणले भन्दा मनमा रोगको रुपमा विकार आउँछ, त्यसलाई चिकित्सकले समाधान गर्ने हो। त्यसबाट सामाजिक प्रभाव, संस्कारजन्य प्रभाव र अन्य विविध कारणले मनमा आएका विकृति चिकित्सकले नियन्त्रण गर्न सक्दैन।
चार दशकको व्यावसायिक जीवनमा विभिन्न मानिसको मनको नजिक पुग्नु भयो। खासमा नेपालीको मन चाहीँ कस्तो रहेछ?
हामी एक-अर्कालाई अनेक कुरा भन्छौं, तर मैले चिनेका अरू देशका मान्छेभन्दा नेपाली धेरै उदार, धेरै सहनशील र आशावादी छन्। यसको उदाहरण खोज्न टाढा जानै पर्दैन, वैदेशिक रोजगारीमा जाने युवा हेरेपुग्छ। आफ्नो देशमा काम नपाए पनि अर्को देशमा दुःख गरेर परिवार पाल्छु भन्ने हिम्मत लिएर जान्छन्। यो हिसाबले हेर्दा नेपाली आशावादी र कर्मयोगी हो।
कतिपयले नेपालीले अरूको चियोचर्चा बढी गर्छ भन्छन्। वास्तै नगर्नु भन्दा त चर्चा गर्नु ठीक हो जस्तो लाग्छ।
यो त मनोचिकित्सकको अनुभव भयो। एक मान्छेको रुपमा नेपालीको मनको विषयमा यही निष्कर्ष निस्किन्छ छ?
समाज र मान्छेको मनलाई हेर्न मनोविश्लेषक हुनुपर्छ भन्ने छैन। मान्छे कुन मनोदशामा छ भन्ने मात्र होइन, समाज कुन मनोविज्ञानमा चलेको छ भन्ने कुरा पनि सुक्ष्म तरिकाले हेर्दा थाहा हुन्छ। कुनै पनि शहरको सार्वजनिक ठाउँमा गएर मानिसका कुरा सुन्यो भने धेरै थाहा हुन्छ। तर, त्यसको लागि तपाईसँग मानिसले गर्ने कुरा ख्याल गर्ने क्षमता र जिज्ञासु स्वाभाव चाहिन्छ।
किताबमा धेरै नै अविस्वसनीय र पीडादादायी केस हेरेको उल्लेख गर्नु भएको छ। त्यतिवेला एउटा मनोचिकित्सकको मनमा के कस्ता विचार आउँछन्, कस्तो विचार र मानसिक अवस्थाबाट गुज्रिनुपर्छ?
हामी मानसिक रोगका चिकित्सकमा प्रचलित एउटा जोक छ- मानसिक रोगका बिरामी हेर्दाहेर्दै चिकित्सक नै मानसिक रोगी हुने त होइन। तर, त्यस्तो हुदैन। किनकि, हाम्रो पेशाको स्वभाव नै बिरामीका अन्तरङ्ग जीवनका विभिन्न जटिल घटना र अनुभव थाहा पाउनुपर्ने खालको हो।
दैनिक जीवनमा नसुनिने, नदेखिने र कल्पना भन्दा बाहिरका धेरै घटना र भोगाई हामी देख्छौ, भेट्छौ, तर कहिल्लै पनि त्यस्ता घटनाले आश्चर्य बनाउँदैन। किनकि, त्यस्ता घटना मानिसको जीवनका घट्न सक्छन्। बिरामीका कुरा सुनेर ‘ओहो, तपाईलाई यस्तो भएछ, विचरा’ जस्ता शब्द तथा अनौठो व्यवहार गर्यौं भने बिरामीलाई नकारात्मक असर पर्छ।
हुन् त चिकित्सकहरू पनि मानिस नै हुन्। उनीहरूमा पनि संवेदनशिलता हुन्छ। उनीहरू पनि निराश हुन्छन्। डाक्टरहरूले पनि आत्महत्याको प्रयास गरेका हुन्छन्। त्यसैले अन्य विधाका चिकित्सकभन्दा बढी मनोचिकित्सक तनावमा हुन्छन्।
![](https://www.himalkhabar.com/uploads/editor/himal_saptahant/dr.%20biswabandhu%20sharma/biswabandhu%20sharmaa%20(2).JPG)
मनोचिकित्सकले पनि मनोपरामर्श गर्नुपर्ने हुन्छ?
मनोचिकित्सकले आफ्नो कामलाई व्यवस्थापन गर्यो भने समस्या हुदैन। बिरामीसँग सम्पर्कमा आउने बाहेक उसले पढ्ने, नयाँ ठाउँहरू घुम्ने र साथीभाइसँग रमाउने गर्यो भने पनि समस्या हुदैन। बिरामी हेर्दाहेर्दै मानसिक अवस्था विचलित भयो भने म आफ्नो कामबाट ब्रेक लिन्छु, घुम्न जान्छु।
उपचार गर्दा राम्रो हुने आशा गरिएका बिरामीले अकस्मात आतमहत्या गर्दा पीडा अवश्य हुन्छ। तर, म मनोपरामर्श नै गर्नुपर्ने अवस्थामा पुगेको छैन।
एउटा मानिसको मानसिक स्वास्थ्य बिग्रनुमा समाजको भूमिका कस्तो हुन्छ?
कोही मानिस समाजमा प्रताडित, अपहेलित र तिरस्कृत भयो भने उसमा एक किसिमको आवेग पैदा भएर मानसिक समस्या हुन्छ। समाजले साथ र सहयोग गर्यो भने गम्भिर खालको रोग पनि हल्का भएर आउँछ। एउटा मानिसको मानसिक स्वास्थ्य उसको हातमा मात्रै हुदैन। उसको परिवार, उसको वर्ग, उसले पाएको शिक्षा र संगत पनि मानसिक स्वास्थ्य राम्रो/नराम्रो बनाउने कारक बन्न सक्छ।
केही दिनअघि संघीय संसद् भवन अगाडि इलामका प्रेम प्रसाद आचार्यले आत्मदाहको प्रयास गरेपछि मानसिक स्वास्थ्यबारे विभिन्न कोणबाट बहश सुनिए। यो घटनालाई तपाईले कसरी हेर्नु भएको छ?
मैले पनि प्रेम आचार्यको ‘सुसाइड नोट’ पढें। आफ्ना भोगाइ लेखेका छन्। विभिन्न चरणबाट गुज्रिएपछि त्यो बाटो रोजेको देखिन्छ। मानिस समस्याको चक्रमा फसेपछि निस्कने कुनै बाटो र आफ्नो अस्तित्व देख्दैन। यसलाई मानसिक रोग भन्दा पनि मानसिक परिस्थिति भन्न सकिन्छ। प्रेमलाई तनावले एक प्रकारको ‘स्ट्रेस डिसअर्डर’ भएको हुन सक्छ। त्यस्तो हुँदा डिप्रेशनको लक्षण, आक्रोश र आत्महत्यको सोच देखिन्छ।
प्रेमको आत्मदाह प्रयासपछि सामाजिक सञ्जालमा राज्यविरुद्ध क्रान्ति गरेको भन्ने किसिमको भाष्य निर्माण भएको छ। के त्यो सही हो?
त्यो सही होइन। उनले क्रान्ति गरेको भन्न मिल्दैन। किन आत्मदाह गर्न खोजे भनेर फेहरिस्त दिएका छन्। त्यसले समाजलाई घचघचायो। विभिन्न क्षेत्रका मान्छेले उनको परिवारलाई आर्थिक र भावानात्मक रुपले सहयोग गरे। केही गर्ने प्रयास गर्दागर्दै पनि मानिस यो अवस्थामा पुग्दो रहेछ भन्ने किसिमको आभास पनि धेरैलाई भयो। केही गर्ने प्रयास गरिरहेको मानिस निराश हुँदा सहयोग गर्नुपर्छ भन्ने चेत पलायो।
आत्मदाहको प्रयास गरेका प्रेम आचार्यको धेरै प्रशंसा गरेको देखियो। यसले संघर्ष गरिरहेका मानिसमा कस्तो असर पर्छ?
प्रेम आचार्यको मृत्यु आफैमा दुःखद छ, त्यसलाई ‘ग्लोरिफ्लाई’ गर्नुहुँदैन। उनको मृत्यु गुपचुप पनि हुनसक्थ्यो, तर मृत्युको कारण थाहा दिएकाले धेरै मानिसलाई सन्देश पनि गएको छ।
यस्तो मृत्युलाई सरकारले गरेको हत्या भन्न मिल्दैन। किनकि, आत्महत्याको घटनालाई ‘ग्लोरिफाइ’ गर्दा अरू कोही मानिस संकटमा पर्दा त्यस्तै बाटो अपनाउने जोखिम हुन्छ। यस्तो घटनालाई ‘ग्लोरिफाइ’ गरेर समस्याको समाधान हुदैन।
अहिले पनि मानसिक रोगलाई रोगका रुपमा लिने गरिएको छैन। आजभन्दा ४० वर्षअघि मानसिक रोगको डाक्टर बन्छु भन्ने सोच कसरी पलायो?
त्यतिवेला यो विषय पढेर काम गर्ने वातावरण बन्दैन भन्ने किसिमका कुरा गर्नेहरु धेरै थिए। मानसिक समस्या समाजमा विद्यमान छ, तर चेतनाको कारणले उजागर भएको छैन भन्ने कुरामा म सचेत थिएँ। त्यसैले भविष्यमा मानसिक रोगको डाक्टर बनेर बाँच्न सकिन्छ भन्ने लागेको थियो। मानसिक रोगको विशेषज्ञले सम्पूर्ण शरीर मात्र नभएर उसको जीवन दर्शन, जीवन यात्रा, परिवार र समाजले उसमाथि राखेको मूल्यमान्यता हेर्न पाउँछ। बिरामी हेर्ने क्रममा समाज, अर्थतन्त्र, राजनीति लगायत विविध विषय थाहा पाउने अवसर हुने भएकाले पनि मलाई यो विषयमा चाख बढेको थियो।
मनोचिकित्सक बनेर आएपछिका शुरुआति दिन कस्ता थिए, कसरी काम गर्नुभयो?
डरलाग्दो थियो, किनकि मभन्दा अघि तीन जनाले मात्र मनोचिकित्सा पढेका थिए। म चौथो मनोचिकित्सक भएर नेपालपछि चार-पाँच महीना बेरोजगार भएर बसेँ। बल्लतल्ल काम पाए, त्यो पनि दैनिक ज्यालादारीमा। एक वर्षसम्म ज्यालादारीमै काम गर्नुपर्यो।
अझै पनि धेरै मानिस मानसिक स्वास्थबारे सचेत छैनन्। किन यस्तो भयो?
यसको महत्त्व र आवश्यकता नबुझ्ने कर्मचारीतन्त्र भएकाले पनि विकास नभएको हो। अहिले स्वास्थ्य मन्त्रालयमा मनोचिकित्सक नै स्वास्थ्य सचिव छन्, तर मानसिक रोगको क्षेत्रलाई विकास गर्ने कुनै प्रयास भएको देखिन्न। मानसिक स्वास्थ्य क्षेत्रमा काम गर्नेहरूले ‘लबिइङ’ नगरेकाले पनि विकास नभएको हो कि।
मनोविज्ञानको पढाइ नगरेका मान्छेले पनि मनोपरामर्श दिइरहेका छन्। यसले कस्तो असर गर्छ?
परामर्श केन्द्रहरूले अपवादबाहेक धेरैले व्यावसायिक रुपमै काम गरिरहेका छन्। धेरै ठाउँमा लागूऔषधको लत हटाउने भनेर पुनर्स्थापना केन्द्र खोलिएका छन्, जसमा कुनै मापदण्ड पालना गरिएको नै छैन। राज्यले अनुगमण नगर्ने भएकाले उनीहरूले मनपरी गरिरहेका छन्। भेडाबाख्रा जसरी थुनेर राम्रो सेवा दिन सकिँदैन।
मनोपरामर्श भनेको पनि विज्ञान हो। त्यसको एउटा बिधि हुन्छ। गलत तरिकाले गर्दा बिरामीलाई हानी गर्छ। नेपालमा मनोपरामर्शदाताको लागि लाइसेन्स परीक्षा, अनुगमन, नियमन र कुनै मापदण्ड नबनाएको फाइदा उठाउँदै केही ठाउँमा गलत अभ्यास पनि भएका छन्।
अन्त्यमा, आगामी लेखनको योजना के छ?
लेख्ने योजनामा छु, तर कहिलेसम्म सकिएला भन्न सक्दिनँ। यो किताबमा मानसिक रोगका बिरामी हेर्दा आफूले देखेका र भोगेका कुरा एकसरो मात्र लेखें। अब एउटा बिरामीको कसरी बिरामी भयो र बिरामी भएपछि उसको जीवनमा के कस्ता प्रभाव परे भन्ने विषयमा समाजका विविध आयाम जोडेर लेख्छु।