‘साहित्य लेखन तमसुक लेखे जस्तो होइन नि’
![‘साहित्य लेखन तमसुक लेखे जस्तो होइन नि’](https://himal.softnep.website/uploads/posts/800X600/shekhar_kharel_1671868228.jpg)
रञ्जित गजमेरले विरह, प्रेम र रोमान्सका गीत मात्रै होइन, महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘कुन मन्दिरमा जान्छौ यात्री’ जस्तो आध्यात्मिक गीत समेत कम्पोज गर्नुभएको छ। कसरी एउटा मान्छेले यति धेरै विविधता दिन सक्छ। यस्ता ‘भर्सटाइल कम्पोजर’ कमै मात्र हुन्छन्।
नेपाली सङ्गीत क्षेत्रमा परिचित नाम हो, रञ्जित गजमेर। भरतको दार्जिलिङमा जन्मिएर काठमाडौं र बम्बईलाई कर्मथलो बनाएका गजमेर बलिउडमा स्थापित नेपालीभाषी थोरै सर्जकमध्ये पर्छन्। भारतका चर्चित सङ्गीतकार आरडी बर्मनसँग काम गरेका गजमेरले बलिउडका धेरै कालजयी गीतमा सङ्गीत भरेका छन्।
उनै गजमेरको सङ्गीत यात्रालाई समेटेर लेखक शेखर खरेलले लेखेको मोहनी मादलको किताब भर्खरै प्रकाशित भएको छ। हिमालखबरको साप्ताहिक प्रस्तुति किताबका कुरामा मोहनी मादलको पुस्तकका लेखक खरेलसँग सागर बुढाथोकीले गरेको कुराकानीः
नेपाली सङ्गीत क्षेत्रका प्रख्यात व्यक्तित्व रञ्जित गजमेरका विषयमा यहाँले लेख्नुभएकाे पुस्तक माेहनी मादलकाे केकस्ता प्रतिक्रिया आइरहेका छन्?
किताब पढेकामध्ये धेरैले ‘पढ्दापढ्दै सकियो, धीतै मरेन, अलि लामो लेखेको भए हुन्थ्यो’ भन्नुभएको छ। मलाई किताब पढ्नु राति सुत्नु जस्तो लाग्छ। एउटै रातमा कोही भुसुक्कै निदाएछु भन्छन्, कोही रातभरि निदाउन सकिनँ, छटपटी भयो भन्छन्। जसले भुसुक्कै निदाएर रात छर्लङ्गै कटाउँछ, उसले मीठो निद्रा सुत्छ। पठन पनि त्यस्तै हो, एक वा दुई बसाइमा पढिसके भन्ने प्रतिक्रिया मलाई सकारात्मक लागेको छ।
रञ्जित गजमेरबारे लेख्ने सोच कसरी आयो?
यो मेरो आफ्नो सोच होइन। मेरा मित्र श्रीभक्त खनाल र उहाँको भाइ सूर्यभक्त खनालले आफ्नी हजुरआमाको नाममा कल्याणकारी संस्था जसुदा फाउन्डेशन दर्ता गर्नुभयो। त्यही फाउन्डेशन मार्फत उहाँहरूले कुनै सङ्गीत स्रष्टाको नाममा किताब छपाउने योजना बनाउनुभएको रहेछ। जीवित रहेका सङ्गीत धरोहरमध्ये रञ्जित गजमेरको उचाइ हाराहारीमा कोही नभएकाले उहाँहरूले नै गजमेरको आत्मकथा छपाउने सोच बनाउनुभएको रहेछ।
मैले पहिले पनि सङ्गीत स्रष्टाहरूसँग सङ्गत गरेको थिएँ। त्यसैले उहाँहरूले किताब लेख्न अनुरोध गर्नुभयो। गजमेरका गीतहरू धेरै सुनिरहेकाले उहाँबारे लेख्दा राम्रो हुन्छ भन्ने लागेर प्रस्ताव स्विकारें।
नेपाल छाडेर बम्बई नगएको भए गजमेरको ख्याति अहिलेको जस्तो हुन्थ्यो होला?
हुन्थ्यो, किनकि काठमाडौं आउनुअघि पनि उहाँले केही राम्रो गीत ‘कम्पोज’ गर्नुभएको थियो। ती गीत चर्चित भएका थिए। त्यसैले, काठमाडौंमा बसेर सङ्गीत सिर्जना गर्नुभएको भए पनि प्रसिद्ध हुनुहुन्थ्यो।
बम्बई गएपछि दुई वटा कुरा भयो। पहिलो, उहाँ हिन्दी र गैरनेपालीभाषी गीतमा वाद्यवादक हुनुभयो। दोस्रो, नेपाली गीत कम्पोज गर्नुभयो। काठमाडौंमै बसेको भए पनि उहाँले नेपाली गीत कम्पोज गर्नुहुन्थ्यो होला, तर यहाँभन्दा त्यहाँको दायरा फराकिलो भयो।
त्यति वेला बम्बई पुग्न नसकेका धेरै क्षमतावान् सर्जकको प्रतिभाले उचित ठाउँ नपाएको जस्तो देखिन्छ, साँच्चै त्यस्तो हो र?
भारतीय किन भारत बाहिर गएर प्रख्यात हुन्छन् भनेर चर्चित पत्रकार वीर सांवीले लेख्नुभएको थियो। उदाहरणका लागि अमिताभ घोष, सलमान रुस्दी, किरण देसाईं लगायतका लेखकहरू भारत बाहिर चर्चित छन्। बलिउडका कलाकार हलिउड गएका उदाहरण छन्।
हामीकहाँ कलाको बजार सानो छ। कुरा सङ्गीतको मात्र होइन। जस्तो- प्रबल गुरुङ काठमाडौंमै बसेको भए के हुन्थ्यो? हामी यसरी पनि हेर्न सक्छौं। मानिसहरू अवसरको खोजीमा देश बाहिर जान्छन्। नेपालको हकमा मात्र होइन, संसारभरका मानिस ठूलो बजार भएको ठाउँमा जानु स्वाभाविक हो। माछा ठूलो हुँदै गएपछि पोखरीले नपुगेर समुद्र नै खोज्दो रहेछ, कोही कोही कलाकार त्यस्तै हुन्छन्। सामान्य प्रतिभा भएका मानिस ठूलो ठाउँमा हतपती पुग्दैनन्, फेरि ठूलो ठाउँमा पुगेका सबै स्थापित हुन सक्छन् भन्ने पनि होइन।
![](https://www.himalkhabar.com/uploads/editor/himal_saptahant/shekhar%20kharel/shekhar%20kharel%20%285%29.JPG)
रञ्जित गजमेरका वेलाको र अहिलेको साङ्गीतिक क्षेत्रको माहोलमा केकस्तो समानता र अन्तर देख्नुहुन्छ?
आकाश र जमीनको फरक छ। पहिले सङ्गीत साधनाको तहमा हुन्थ्यो, अहिले ‘सेलिब्रेटी’ तहमा हुन्छ। अहिले गायक ‘रियालिटी सो’ बाट चर्चित हुन्छन्। पहिले सर्जकहरू गीत रेकर्ड गर्नुअघि सयौं पटक रियाज गर्दागर्दै र विभिन्न मञ्चमा गाउँदागाउँदै चर्चित हुन्थे। पहिलेका सर्जकले धेरै गीत कम्पोज गरे पनि रेकर्डिङको समस्या हुन्थ्यो। रेकर्डिङ गर्न कलकत्ता जानुपर्थ्यो।
त्यो वेलामा यदि रेकर्डिङको सुविधा सजिलो हुन्थ्यो भने अझ धेरै गीत कम्पोज गर्नुहुन्थ्यो। रेकर्ड गर्ने ठाउँ नहुँदा धेरै गीत खेर गए। पहिलेभन्दा अहिले प्रविधि पनि फरक छ। पहिले ‘एनालग’ मा रेकर्ड हुन्थ्यो। सबै जनासँगै बसेर रेकर्ड गर्नुपर्थ्यो। अहिले सबै जनासँगै नभए पनि रेकर्ड गर्न सकिन्छ।
अहिले पैसा छ भने जोसुकै मान्छे पनि गायक बन्न सक्छ। पहिलेको गीत सुन्थ्यौं, अहिलेका गीत हेर्छौं। अब गीत सुनेर मात्र पुगेन, म्युजिक भिडिओ पनि चाहियो।
पुस्तकमा अम्बर गुरुङ, तुलसी घिमिरे, उदित नारायण झा लगायत स्रष्टा-सर्जकका नाम बारम्बर आउँछन्। रञ्जित गजमेरको कथा भए पनि यो पुस्तकले अरू थुप्रै साङ्गीतिक क्षेत्रका हस्तीको कथा भनेको रहेछ, है?
त्यो नेपाली सङ्गीत र सिनेमा उन्नत हुँदै गरेको समय थियो। गीत रेकर्ड गर्ने र सिनेमा बन्ने शुरूआती समय थियो। अहिलेका नामी सर्जक यो क्षेत्रमा भविष्य खोज्दै सहकार्य गर्दै थिए। उनीहरूमा साधना र केही गर्छु भन्ने तीव्र इच्छा थियो, तर सुविधा थिएन। एउटा गीत तयार हुनलाई गीत लेख्ने, गाउनेदेखि विभिन्न बाजा बजाउन जान्ने वाद्यवादक चाहिन्छन्। सबै जना सँगै अभ्यास नगरी रेकर्डिङ सम्भव थिएन। रेकर्डिङमा पनि एकै साथ सबै जना सँगै हुनुपर्थ्यो। त्यसैले किताबमा रञ्जित गजमेर केन्द्रमा भए पनि त्यो समयका साङ्गीतिक र सिनेमा क्षेत्रका विभिन्न व्यक्तिको संघर्षको कथा आएको छ।
पुस्तकमा फिल्म कुसुमे रुमालमा काम गर्दा उद्धव पौडेलले धोका दिएको भन्ने उल्लेख छ। खासमा के भएको रहेछ?
किताबमा त्यो प्रसङ्गवश आएको कुरा हो। फिल्म निर्माणको क्रममा निर्माताको अभाव भएपछि उहाँ पनि मिसिनुभएको रहेछ। तुलसी घिमिरे र रञ्जित गजमेर नेपालीभाषी भारतीय भएकाले नेपालमा प्रदर्शन गर्न असहज भयो। त्यसैले नेपाली भएको कारणले उद्धव पौडेललाई फिल्म दिएर पठाइएको रहेछ। उहाँले आफ्नो नाममा दर्ता गरेर चलाउनुभयो। त्यो फिल्म एकदमै ‘हिट’ भयो। त्यही फिल्मबाट आएको पैसामा मुनाफा दिनुभएन भन्ने उहाँको गुनासो रहेछ।
किताब लेखनका क्रममा रञ्जित गजमेरको व्यक्तिगत जीवन र साङ्गीतिक जीवन कस्तो पाउनुभयो?
उहाँ सङ्गीतकै लागि जन्मनुभएको मान्छे। सङ्गीत बाहेक उहाँ कतै अलमलिनुभएन। घरपरिवारबाट असहयोग हुँदा पनि सङ्गीतप्रतिको झुकाव कम भएन। उहाँले दार्जीलिङ, काठमाडौं र बम्बई तीनै ठाउँको सङ्गीतको स्वर्णयुगमा काम गर्नुभयो। त्यस्तो अवसर सबैलाई मिल्दैन। तीनै ठाउँका ‘एकसे एक’ हस्तीसँग काम गर्नुभयो। एकदम ‘भर्सटाइल कम्पोजर’ हुनुहुँदो रहेछ। उहाँले कम्पोज गरेका गीतको सूची हेर्दा चकित हुन्छन्। किनकि, ‘आगे आगे तोपैका गोला’, ‘टुङ्गुनाको धुनमा’, ‘के भन्ने हाम्रो समय’, ‘आमैले भन्थे धाराको पानी’, ‘मोहनी लाग्ला है’ जस्ता लोकलयका गीतहरू कम्पोज गर्नुभएको छ।
विरह, प्रेम र रोमान्सका गीत मात्रै होइन, महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘कुन मन्दिरमा जान्छौ यात्री’ जस्तो आध्यात्मिक गीत समेत कम्पोज गर्नुभएको छ। एउटा मानिसको यति धेरै विविधता देख्दा जोकोहीलाई अचम्म लाग्छ। कसरी एउटा मान्छेले यति धेरै विविधता दिन सक्छ। यस्ता ‘भर्सटाइल कम्पोजर’ कमै मात्र हुन्छन्। उहाँले बम्बईमा रहँदा कम्पोजर आरडी बर्मनसँग काम गर्नुभएको थियो। आरडी बर्मनसँग पनि यस्तै खूबी थियो।
त्यो समयमा बम्बईमा आरडी बर्मनको स्टुडियोमा धेरै नेपालीभाषी वाद्यवादक रहेछन्। अहिले पनि अवस्था कस्ताे छ?
अझै पनि धेरै हुनुहुन्छ। मैले सन् २०११ मा रेन्बो ओभर मुम्बई वृत्तचित्र बनाएको थिएँ। बम्बईमा कला क्षेत्रमा नाम कमाएका नेपालीको विषय थियो। अझै पनि त्यहाँ धेरै नेपालीको उपस्थिति छ।
त्यति वेला नेपालको वाङ्मय क्षेत्रमा दार्जीलिङ आसपासका मानिसले धेरै काम गरेको देखिन्छ। उनीहरू कसरी नेपाली वाङ्मय क्षेत्रमा जोडिन पुगे?
सन् १९६० को दशकमा दार्जीलिङ ज्ञानको केन्द्र थियो। त्यो वेला इन्द्रबहादुर राई, ईश्वर बल्लभ, सूर्यविक्रम ज्ञवाली, धरणीधर कोइराला, पारसमणि प्रधान त्यहीं थिए। यहाँबाट बैरागी काइँला पनि दार्जीलिङ पुगेका थिए। सामान्य मानिस मात्र होइन, राजपरिवारका सदस्यले पनि दार्जीलिङ गएर पढेका थिए। बाहिरका मानिसका लागि ज्ञान, कला र सङ्गीतको केन्द्र थियो, दार्जीलिङ। त्यहाँ गएर ज्ञान र सीप आर्जन गरेर फर्केका मानिस धेरै छन्। त्यसैले नेपालको वाङ्मय क्षेत्रमा दार्जीलिङको ठूलो योगदान छ।
अब पठन संस्कृतिको कुरा गरौं। नेपालमा पठन संस्कृति कस्तो रहेको पाउनुहुन्छ?
पठन संस्कृति जुन प्रकारको हुनुपर्थ्यो, जुन गहिराइमा गएर पढ्नुपर्थ्यो र जस्ता लेखक स्रष्टा आउनुपर्थ्यो, त्यो खालको देख्दिनँ। अहिले ‘सेलिब्रेटी’ बन्ने खालको कामचलाउ कुरामा मानिस रुमलिएका छन्।
अध्ययन किन महत्त्वपूर्ण हुन्छ?
पहिले किताब पढ्ने बाहेकका विकल्प थिएनन्। अहिले विकल्प दर्जनौं छन्। मानिसले समाज र यसको विविधता बुझेर काम गरे अवश्य पनि राम्रो हुन्छ। तर, अहिले महेशचन्द्र रेग्मी, हर्क गुरुङ, भीमबहादुर पाँडे र यदुनाथ खनालले लेखेको जस्तो समाज चिन्तन गरेर लेखिएका पुस्तक छैनन्।
पुस्तक किन पढ्नुपर्छ?
देशको भूगोल, इतिहास र समाजबारे जति बढी अध्ययन हुन्छ, त्यति नै आफ्नो देश चिनिन्छ। अध्ययनले नै आफ्नो क्षेत्रमा केकसरी काम गर्न सकिन्छ भन्ने ठम्याइन्छ। अध्ययनको कमी हुनु भनेको पतन हुनु जस्तै हो।
मैले भर्खरै साथी लक्ष्मण श्रेष्ठसँग मिलेर हाउ टू रीड अ बूक पुस्तकको अनुवाद गरेको छु। सन् १९४२ मा छापिएको त्यो किताब अनुवाद गर्दै जाँदा अन्तिममा पुस्तकको लेखक मोर्टिमर जे. एड्लरले तपाईंले सोधेको प्रश्नको उत्तर दिनुभएको छ। उहाँले किताब किन पढ्ने भन्ने प्रश्नको उत्तर दिंदै भन्नुभएको छ- तिमी पुस्तक त्यो मान्छेको पढ्छौ, जो मान्छेलाई तिमीले आफूभन्दा बौद्धिक स्तरमा उन्नत ठान्छौ। त्यसकारण आफूभन्दा बढी जान्ने, आफूभन्दा उन्नत, आफूभन्दा बौद्धिक र आफूभन्दा ज्ञानी मान्छेको पुस्तक पढिन्छ। पठनबाट आफू पनि त्यही ठाउँमा जाने प्रयत्न गरिन्छ। मलाई सबैभन्दा चित्तबुझ्दो उत्तर नै यही लागेको छ।
तपाईंलाई मन पर्ने लेखकहरू को को हुन्?
मलाई मन पर्नेमध्ये केही लेखकलाई भेटेको छु। नेपालमा फिल्म महोत्सवमा चिनापर्ची भएका आधारमा बीसीसीको दक्षिणएशिया प्रमुख सर मार्क टलीलाई एउटा साहित्यिक कार्यक्रममा बोलाएको थिएँ। उहाँले भारतको विषयमा किताबको शृङ्खला लेख्नुभएको छ। भारत बुझ्न मिहिन ढङ्गले अध्ययन र भ्रमण गर्नुभएको छ।
त्यस्तै, विनोद मेहता पनि मलाई मन पर्छन्। नेपाली लेखकमध्ये बीपी कोइराला, धच गोतामे, कुमार नगरकोटी, नयनराज पाण्डे, उपेन्द्र सुब्बा, मनु मञ्जिल, श्रवण मुकारुङको लेखन मन पर्छ। नयाँपनको खोजी, लेखन शिल्प र विषयवस्तुको गहिराइको आधारमा हेर्दा उहाँहरूलाई अरू लेखकभन्दा अब्बल पाउँछु।
![](https://www.himalkhabar.com/uploads/editor/himal_saptahant/shekhar%20kharel/shekhar%20kharel%20(1).JPG)
यसअघि निबन्ध संग्रह पनि प्रकाशन गर्नुभएको थियो। पछिल्लो समय निबन्ध संग्रह प्रकाशित भइरहेका छैनन्, यसको कारण के होला जस्तो लाग्छ?
निबन्धमा पाठक र लेखकको चासो कम भएकोभन्दा पनि प्रकाशकको चासो कम भयो। हामीकहाँ सरकारबाट प्रकाशन हुने संरचना नभएपछि निजी प्रकाशन गृह हावी भए। निजी प्रकाशन गृहले व्यापार हेर्छ।
संसारभर निबन्धका पाठक कम हुन्छन्। उपन्यास बढी बिक्छ भनिएकाले धेरैले उपन्यास छाप्छन्। तर, निबन्धको आयु लामो हुन्छ। अहिले पनि हामीलाई जनकलाल शर्मा अथवा शंकर लामिछानेका निबन्ध पढ्दा आनन्द आउँछ। कहिल्यै असान्दर्भिक भएको जस्तो लाग्दैन।
पछिल्लो समय प्रकाशन भइरहेका पुस्तक हेर्दा लेखनशैली, विषयवस्तु र प्रस्तुति कस्तो पाउनुभएको छ?
राम्रो लेख्ने लेखक आउँदै छन्। कुमार नगरकोटी र नयनराज पाण्डेले नयाँ नयाँ प्रयोग गरिराख्नुभएको छ। तर, जुन हदमा राम्रो हुनुपर्थ्यो, त्यो देखिन्न। धेरै लेखनमा पुनरावृत्ति बढी छ।
कला पक्ष कमजोर र नारा हावी भएकाले राम्रो साहित्य नआएको भन्ने सुनिन्छ, यस्तै हो?
यो कुरा धेरै हदसम्म साँचो हो। जस्तो- एकथरी लेखकहरू विचार हुनुपर्छ भन्नुहुन्छ । विचारलाई पनि शिल्पयुक्त बनाए राम्रो हुन्थ्यो होला, तर विचारलाई विचारकै रूपमा मात्रै राख्न थाल्यो भने त्यसमा कला, शिल्प र बिम्बमा कमी हुन्छ। एकथरी लेखकहरू आफू विचारप्रधान लेखक हो भनेर लाग्नुभएको छ।
मेरो विचारमा साहित्यमा विचारसँगै कलाका विविध पक्ष पनि चाहिन्छन्। किनकि, साहित्य भनेको तमसुक होइन नि। कुरा मात्र राख्ने हो भने त तमसुक लेखे भइगो नि। साहित्यलाई कसरी सार्वभौम बनाउन सकिन्छ, साहित्यमा कसरी शिल्प राख्न सकिन्छ र शिल्पले साहित्यलाई कसरी उकास्छ भन्ने कुरा मलाई महत्त्वपूर्ण लाग्छ। यस्तो लेखनका लागि धेरै पढ्नुपर्छ। लेखकहरूमा नै अध्ययनको कमी छ। सकेसम्म धेरै पढ्ने र कम लेख्ने गर्नुपर्छ।
विदेशी लेखका कृति अनुवाद पनि गरिरहनुभएको छ। तुलना गर्दा नेपाली साहित्यको स्थान कहाँ पाउनुहुन्छ?
नेपाली साहित्य पनि उन्नत छ। अनुवाद भएका धेरै नेपाली साहित्य विदेशीले मन पराएका छन्। दक्षिणएशियामा नेपाली साहित्यको स्तर हाराहारी छ। विश्व साहित्यको स्तरमा चाहिं भन्न सकिन्न। विश्व साहित्य भन्ने शब्दसँग म त्यति सहमत छैन। तर, नेपाली साहित्यका केही लेखकका केही कृति निकै राम्रा छन् जस्तो लाग्छ। जस्तै सरुभक्तको पागल बस्ती अनुवाद भयो भने त्यसको विषयवस्तुले संसारलाई नै अपील गर्ने देख्छु। कुमार नगरकोटीका कतिपय कथाहरूले संसारलाई नै अपील गर्छ। श्रवण मुकारुङ, मनु मञ्जिल र उपेन्द्र सुब्बाका केही कविताले संसारलाई नै अपील गर्छन् जस्तो लाग्छ। अमर न्यौपानेका कतिपय लेखन असाध्यै राम्रो लाग्छ।
जसरी विभिन्न देशका साहित्यकारले लेखेको साहित्य नेपाली भाषामा अनुवाद हुँदा हामीलाई छुन्छ, त्यसैगरी नेपाली भाषाका किताब अंग्रेजीमा स्तरीय अनुवाद गर्ने हो भने त्यताका पाठकलाई पनि छुन्छ। त्यसको लागि अनुवाद हुनुपर्यो।
नेपाली साहित्य कम अनुवाद हुनुको कारण के हो?
राम्रो अनुवादक पाउन मुश्किल छ। अनुवादमा धेरै समय लाग्ने र खर्चिलो भएकाले खर्च कसले वहन गर्ने भन्ने प्रश्न छ। खर्च, बजार र पहल गर्न गाह्रो हुने भएकाले थोरै साहित्यकारका किताब मात्रै अंग्रेजी भाषामा अनुवाद भएका छन्।
तपाईंले भने जस्तो राम्रो अनुवादकको योग्यता के हो?
राम्रो अनुवादक त्यो हो, जसको स्रोतभाषा र लक्षित भाषा दुवैमा गहिरो ज्ञान हुनुपर्छ। जस्तो कि अंग्रेजी भाषाको किताब नेपालीमा अनुवाद गर्ने हो भने अंग्रेजी र नेपाली दुवै भाषाको गहिरो ज्ञान हुनुपर्छ। एउटा भाषामा पोख्त र एउटा भाषामा ठीकठीकै भएर काम चल्दैन।
अब अन्तिममा, आगामी लेखनको योजना के छ?
म खासै योजना बनाएर काम गर्दिनँ। अधिकांश काम आकस्मिक रूपमा भएका छन्। काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सवको आयोजकमध्येमा छु। वर्षमा एक पटक फिल्म महोत्सव गर्छौं। त्यसले पनि व्यस्त बनाउँछ। कहिलेकाहीं पत्रपत्रिकामा लेख लेख्छु। कहिलेकाहीं अनुवाद पनि गरिरहेको हुन्छु। यसै गरी व्यस्त भइरहेको हुन्छु, खासै योजना बनाइसकेको छैन। समय मिल्यो भने ‘मेमोयर’ लेख्छु होला।