विदेशी लगानी उल्लेख्य खस्कियो, प्रतिबद्धतामा पनि कमि
मुलुक आन्तरिक र बाह्य आर्थिक समस्यासँग जुधिरहेका वेला वैदेशिक लगानी र लगानीको प्रतिबद्धता दुवैमा ठूलो मन्दी आएको छ।
नेपाल राष्ट्र ब्यांक र उद्योग विभाग दुवैको तथ्यांकले वैदेशिक लगानीमा निराशाजनक स्थिति रहेको देखिएको छ। यसले देशमा लगानीको वातावरण सुध्रन नसकेको संकेत गर्छ।
राष्ट्र ब्यांकका अनुसार, चालु आर्थिक वर्षको पहिलो तीन महीना (असोज मसान्तसम्म) मा विदेशी लगानी एक करोड ४७ लाख अमेरिकी डलर (करीब एक अर्ब ८८ करोड रुपैयाँ) मात्रै भित्रिएको छ। यो गत वर्षको यही अवधिको तुलनामा दुई तिहाई न्यून हो। गत वर्षको यही अवधिमा नेपालमा चार करोड ४८ लाख अमेरिकी डलर (करीब पाँच अर्ब ३० करोड रुपैयाँ) विदेशी लगानी आएको थियो।
नेपालले लामो समयदेखि विदेशी लगानी भित्र्याउनुलाई प्रमुख आर्थिक प्राथमिकताअन्तर्गत राख्दै आएको छ। देशमा पुँजीको अभावलाई दृष्टि गर्दै उद्योगधन्दाको विकास, रोजगारी सिर्जना तथा उत्पादनमूलक क्षमता बढाउन विदेशी लगानी भित्र्याउने आवश्यकता रहेको विभिन्न सरकारी योजना र दस्तावेजमा उल्लेखित छ। तर, देशको अर्थतन्त्रलाई विस्तार गर्ने परिणाममा अपेक्षाकृत विदेशी लगानी भित्रन सकेको छैन। यो आर्थिक वर्षमा त विदेशी लगानी थप खस्किएको छ।
असोजसम्म नेपालमा जति विदेशी लगानी भित्रिएको छ, झण्डै उत्तिनै परिणाममा नेपालभित्र रहेको विदेशी लगानी फिर्ता पनि गएको तथ्यांक छ। यो अवधिमा नेपालबाट एक करोड ४२ लाख अमेरिकी डलर (करीब एक अर्ब ८० करोड रुपैयाँ) विदेशी लगानी फिर्ता गएको छ। शेयर स्वामित्व फिर्ता र लाभांश रकमका रुपमा यो फिर्ता गएको हो।
योसँगै नेपालमा चालु आर्थिक वर्षको पहिलो तीन महीनामा खुद विदेशी लगानी पाँच लाख अमेरिकी डलर (करीब सात करोड ९६ लाख रुपैयाँ) मात्रै भित्रिएको तथ्यांकले देखाएको छ। यो गत वर्षको यही अवधिका तुलनामा ९८.४ प्रतिशत न्यून हो। यसले नेपालमा यो वर्ष खुद विदेशी लगानी नाम मात्रैको रहेको देखाउँछ।
विदेशी लगानी अपेक्षाकृत भित्रिन नसक्नु र भित्रिएको रकम पनि बाहिरिनुले देशमा व्यावसायिक वातावरण कमजोर रहेको संकेत गर्छ। वैश्विक प्रतिकूल आर्थिक अवस्थाका कारण पनि विदेशी लगानीमा प्रभाव परेको अनुमान छ। कोभिड-१९ को प्रभावबाट विश्वका अधिकांश मुलुक मुक्त भए पनि ठूला औद्योगिक र व्यावसायिक मुलुक चर्को मूल्यवृद्धि र आर्थिक मन्दीसँग जुधिरहेका छन्। ती मुलुकको आर्थिक मन्दीको बाछिटास्वरुप नेपालमा विदेशी लगानी भित्रिनमा प्रभाव परेको आकलन गरिएको छ।
यो वर्ष लगानी प्रस्ताव गरेका उद्योगमध्ये सात वटा सेवा क्षेत्रसँग सम्बन्धित, तीन वटा पर्यटनका र एक-एक वटा सूचना प्रविधि र उत्पादनसँग सम्बन्धित छन्। विदेशी लगानीको प्रतिबद्धतामध्ये सबैभन्दा धेरै चीनबाट पाँच व्यवसायीले ५० करोड लगानी प्रस्ताव गरेका छन्।
त्यस्तै, बाङ्लादेशका तीन व्यवसायीले २० करोड लगानी गर्ने प्रतिबद्धता जनाएका छन्। त्यसैगरी, सिंगापुरका दुई, भारतका एक र स्पेनका एक लगानीकर्ताले पनि लगानी प्रस्ताव गरेका छन्।
उद्योग विभागमा विदेशी लगानीकर्ताले गरेको प्रतिबद्धतामा पनि उल्लेख्य कमी आएको छ। चालू आर्थिक वर्षको साउनदेखि असोज मध्यसम्म उद्योग विभागमा विदेशी लगानीका १२ उद्योग मात्रै दर्ता भएका छन्। यो गत वर्षको यही अवधिमा ९७ वटा थिए। यो वर्ष दर्ता भएको १२ विदेशी लगानीका उद्योगले एक अर्ब ८५ करोड लगानी गर्ने प्रतिबद्धता जनाएका छन्।
गत वर्षको यही अवधिमा दर्ता भएका विदेशी लगानीका उद्योगले १५ अर्ब ९५ करोड विदेशी लगानीको प्रतिबद्धता जनाएका थिए। यसले नेपालमा विदेशी लगानीकर्ताको चासो व्यापक रुपमा खस्किएको देखाउँछ।