एक राजनीतिक सन्न्यासीको अवसान
बहस र संवाद सहज रूपमा गर्न सक्ने एक जना बौद्धिक व्यक्तित्व हामीबीचबाट भौतिक रूपमा हराएको छ। प्रदीप गिरिको खाली ठाउँ खाली नै रहनेछ, किनभने प्रदीप गिरि बन्न सजिलो छैन।
एक दिन जियो, दो दिन जियो, बरस पचासा
कहत कबीरा सुनो मेरो साधो, तोय मरण केरी आशा
ए खाक मे खप जाना बन्दा, माटी से मिल जाना
नहीँ करो अभिमान, एक दिन पवन सा उड जाना
अरे, थोडा करो अभिमान, एक दिन पवन सा उड जाना
शवनम बीरमानी, स्वागत शिव कुमार र गोपाल सिंह चौहानले गाएको कबीरको यो पंक्ति अहिले प्रदीप गिरिको सम्झनासँगै मनमा उर्लिरहेछ।
सन्त कबीर प्रदीप गिरिका पनि प्रिय सन्त र कवि थिए। कुराकानीमा उनी वेलाबखत कबीरका दोहा र पंक्तिहरू सुनाउने पनि गर्थे। सन्त कबीर ओशो रजनीशका पनि प्रिय थिए। ६०० वर्षअघिका यी सन्तका कतिपय अभिव्यक्तिहरू आज पनि सान्दर्भिक छन्। लोकचेतनामा बाँचिरहेका कबीरका पंक्तिहरूको गहिराइ बुझ्न उच्च सांस्कृतिक चेतना र उदार मन चाहिन्छ, जुन प्रदीप गिरिमा थियो। त्यसैले प्रदीप गिरि सन्दर्भ सहित कबीरका पंक्तिहरू सम्झन्थे र व्याख्या गर्थे।
प्रदीप गिरि राजनीतिक क्षेत्रका सन्न्यासी थिए। उनका लागि राजनीतिक समाज र संस्कार फेर्ने माध्यम थिए। आफूलाई ‘ठूलो’ र ‘महत्त्वपूर्ण’ बनाउने माध्यम उनले राजनीतिलाई कहिल्यै बनाएनन्।
गिरि थर भएकाहरूलाई सन्न्यासी पनि भनिन्छ। प्रदीप गिरि थरले हैन, स्वभावैले सन्न्यासी थिए। ‘चल जोगी फट्कार छाला, जता जाला उतै खाला’ भन्ने उखान उनैलाई हेरेर बने जस्तो लाग्थ्यो।
उनी न राजनीतिक जीवनमा संगठित र व्यवस्थित थिए न व्यक्तिगत जीवनमा। विवाह, परिवार, समाज र संगठन जस्ता विषयमा उनी आफ्नै प्रकारका सोच राख्थे र उनका सोचहरू बाँचिरहेको समयभन्दा निकै टाढा र अघि हुन्थे।
समाजवादको स्वरूप, सार, मार्क्सवाद, राजनीति, दर्शन र जीवनबारे विभिन्न समय तथा सन्दर्भमा भएका छलफलमा उनी फरक र मौलिक ढङ्गले आफ्ना विचार प्रस्तुत गर्थे। उनीसँग जति असहमत भए पनि ती छलफलबाट एक प्रकारको स्वाद र मिठास प्राप्त हुन्थ्यो। छलफल र बहस निरर्थक भए जस्तो लाग्दैनथ्यो।
हरेक छलफल र बहस सहमतिमा टुङ्गिंदैन। टुङ्गिनु पनि हुँदैन। पटक पटकका छलफल, विवाद, बहस र चिन्तनको एउटा प्रक्रियाबाट गुज्रिएर मात्रै मौलिक विचार जन्मन्छन्।
अन्तर्विरोध प्रत्येक वस्तुमा हुन्छ। जसको जीवनमा पनि हुन्छ। प्रदीप गिरिको जीवन, विचार र व्यवहारमा पनि देखिने गरी अनेकौं अन्तर्विरोधहरू थिए। त्यस्ता अन्तर्विरोधबारे प्रश्न गर्दा उनी भन्थे, “म जीवनमा छु। व्यवहारमा छु। विचार मेरा आफ्ना छन्। तर, परिस्थिति मेरो नियन्त्रणमा छैन। मान्यता र व्यवहारबीचको द्वन्द्वबाट जीवन वेला वेला द्विविधाग्रस्त हुन्छ। यो शायद सबैको जीवनको यथार्थ हो।”
उनी महात्मा गान्धी र मार्क्सका जीवनका अन्तर्विरोधहरू केलाउँथे। लोहिया र जयप्रकाश नारायणका सन्दर्भहरू प्रस्तुत गर्थे। बहसका क्रममा म उनलाई खण्डन गर्थें, उनी नयाँ तथ्य र तर्कहरू प्रस्तुत गर्थे। उनीसँगको मेरो सङ्गतको समय असहमतिका बीच सहमति खोज्ने, विवादहरूका बीच संवाद खोज्ने र अनेकताबीच एकताका सूत्रहरू खोज्ने समय थियो। त्यो काममा हामीले योगदान पुर्यायौं जस्तो लाग्छ।
वामपन्थीहरूले कांग्रेसहरूसँग सङ्गत गर्दा वा कांग्रेसहरूले वामपन्थीहरूसँग सङ्गत गर्दा अविश्वास र आशङ्का गर्ने कालखण्डमा हामीले भेटघाट, छलफल तथा सहकार्यको थालनी गरेका थियौं। २०४२ सालको सत्याग्रहको असफलतापछि गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईलाई संयुक्त जनआन्दोलनको पक्षमा घचघच्याउन निश्चय नै प्रदीप गिरिको पनि भूमिका थियो। हुन त कतिपय आफूलाई खाँट्टी कांग्रेसी भन्नेहरू नै त्यसवेला प्रदीप गिरिमाथि अनेक प्रश्न उठाउँथे। वास्तवमा त्यो कालखण्ड नै त्यस्तो थियो। वामपन्थीले वामपन्थीलाई शङ्का गर्थे, कांग्रेसले कांग्रेसलाई।
त्यस वेला पार्टीभित्र संयुक्त जनआन्दोलनका लागि कांग्रेससँग सहमति खोज्नुपर्छ भनेर आफ्नो पार्टीमा जोड दिने म र टंक कार्की थियौं। तर, भूमिगत पार्टीमा हाम्रो कुरा त्यस वेला कम सुनिए पनि अन्ततः हाम्रो जोड र तर्कले ठाउँ पाउँदै गयो र २०४६ सालको अन्त्यतिर त संयुक्त आन्दोलन गर्ने ठाउँमा कांग्रेस र वामपन्थी पुगे।
प्रदीप गिरिसँग बसेर छलफल गरेको, बहस गरेको, योजना बनाएको र त्यो योजना अनुरूप संयुक्त संघर्षका लागि विभिन्न व्यक्ति एवं नेताहरूसँग भेटघाट गरेका दिनहरू सम्झँदा आज पनि आनन्द लाग्छ।
प्रदीप गिरि युवाहरूसँग छलफल गर्न रुचाउँथे। उनी आफूलाई समाजवादी भन्थे तर समाजवादको व्याख्या आफ्नै ढङ्गले गर्थे। मार्क्स मान्थे, तर आलोचनात्मक र आंशिक रूपमा। राममनोहर लोहिया र जयप्रकाश नारायणको प्रशंसा र आलोचना दुवै गर्थे। कुनै पनि दार्शनिक र सिद्धान्तकारलाई उनले कहिले पूर्ण मानेनन् र तिनका कतिपय विचार एवं मान्यताप्रति प्रश्न उठाउँथे, निरन्तर उठाइरहन्थे।
मलाई हरेक व्यक्तिमा आलोचनात्मक चेत हुनैपर्छ भन्ने लाग्थ्यो। र, प्रदीप गिरिमा आलोचनात्मक चेत प्रशस्त थियो। त्यसैले उनीसँग छलफल र बहस गर्दा त्यसमा मिठास आउँथ्यो, गुलियोपनको अनुभूति हुन्थ्यो, बहसमा रङ छाउँथ्यो।
उनी बीपीको प्रशंसा गर्थे, तर मजाले आलोचना पनि। कतिपय कांग्रेसीलाई प्रदीप गिरिले गरेको बीपीको आलोचना सुन्नै मन लाग्दैनथ्यो। तर, बीपी कोइरालाका विचार र अभिव्यक्तिहरूमा रहेका अन्तर्विरोध र अपूर्णता प्रदीप गिरिले राम्ररी केलाउँथे। प्रदीप गिरिले बीपी कोइरालाको व्यक्तित्व र विचारलाई गहिरिएर विश्लेषण गर्न सक्नुको मूल कारण बीपीसँगको सङ्गत, उनका रचनाहरूको गहिरो अध्ययन र आलोचनात्मक चेत (जुन प्रदीपमा राम्ररी थियो) नै हो। त्यसैले बीपी कोइरालाका रचनाहरूको सन्दर्भ बुझ्न प्रदीप गिरिले बीपी कोइराला एवं उनका रचनाहरूमाथि लेखेका टिप्पणी र आलेखहरू पढ्नुपर्छ।
प्रदीप गिरि सत्तामा जानै खोजेनन्। सत्तालाई सत्य र जनताका लागि प्रयोग गर्न सकिंदैन भन्ने उनको मान्यता भए जस्तो पनि लाग्दैन। यस मामिलामा उनले गान्धी, राममनोहर लोहिया र जयप्रकाश नारायणलाई अनुसरण गरेको पो हो कि जस्तो पनि लाग्छ।
गान्धीले आफू राष्ट्रपति वा प्रधानमन्त्री बन्न चाहेनन्। आफूले मन पराएको व्यक्ति नेहरूलाई प्रधानमन्त्री बनाए। जयप्रकाशले जनता पार्टी बनाए, तर आफू सरकारमा गएनन्। सम्पूर्ण क्रान्ति र जनआन्दोलनको विचार लिएर सत्ता बाहिरै बसे। भारतीय समाजवादीहरूको सङ्गत गरेका प्रदीप गिरिले पनि जयप्रकाश नारायणको सत्तामा नजाने तरीकालाई नै जीवनभर अपनाए।
शायद प्रदीप गिरिले यसो गरेर ठीकै गरे। उनको स्वभाव, शैली र जीवन सत्ताको साँचोमा अट्ने खालको पनि थिएन। सत्ताको सङ्कीर्ण स्वार्थ र घेराभित्र छिरेको भए उनी अहिलेका प्रदीप गिरि हुने थिएनन्। तर, प्रदीप गिरिको प्रखर स्वभाव र चिन्तनले पनि कांग्रेसलाई कतै प्रभाव पारेको वा सुधारेको देखिएन। यो प्रदीप गिरिको भन्दा पनि कांग्रेसको असफलता थियो।
सत्तामा बसेको कांग्रेसलाई न बुद्धि चाहिएको छ न भिजन। सत्तामा भएको वेलामा त सत्तासीनहरूलाई आलोचनाले खुट्टामा बिझेको काँडाले जस्तो घोच्न थाल्छ। त्यसैले प्रदीप गिरि कांग्रेसमा अवहेलित जस्तै भए, बेवास्तामा परे।
जुन वेला कांग्रेस संघर्षमा थियो त्यो वेला प्रदीप गिरि र मान्छेले पत्याउने बुद्धिजीवी कांग्रेसलाई चाहिन्थ्यो। जुन वेला कांग्रेस सडकमा थियो त्यो वेला प्रदीप गिरिको भूमिका कांग्रेसलाई चाहिन्थ्यो। सत्तामा भएको कांग्रेसलाई त प्रदीप गिरि घाँडो जस्तो लाग्न थालेको थियो। त्यसैले प्रदीप गिरि कांग्रेसमा भए पनि नभए जस्ता थिए।
प्रदीप गिरिलाई अहिलेको नेतृत्वमा कांग्रेस सुध्रन्छ, गतिलो बन्छ भन्ने विश्वास थिएन। त्यसैले उनी कांग्रेस नेतृत्वको आलोचना गर्थे, उडाउँथे।
मृत्युले हामीबीचबाट एक जना सहृदयी, विचारवान् र प्रखर मानव प्रदीप गिरि खोसेर लगेको छ। बहस र संवाद सहज रूपमा गर्न सक्ने एक जना बौद्धिक व्यक्तित्व हामीबीचबाट भौतिक रूपमा हराएका छन्। प्रदीप गिरिको खाली ठाउँ खाली नै रहनेछ, किनभने प्रदीप गिरि बन्न सजिलो छैन। उनको जत्तिको बौद्धिकता आर्जन गर्न अध्ययन गर्ने मान्छे नै कोही कांग्रेसभित्र देखिंदैन। सत्ताका लागि मरिहत्ते गरिरहेको कांग्रेसभित्र कोही प्रदीप गिरि झैं बन्न पनि चाहँदैन।
त्यसैले उनको शरीरमा फूलमाला चढाइन्छ, उनको व्यक्तित्व र बौद्धिकताको प्रशंसा गरिन्छ, बखान गाइन्छ, तर उनलाई कसैले पछ्याउँदैन, उनलाई कसैले अनुसरण गर्दैन। दुई–चार दिनपछि क्रमशः सबैले बिर्संदै जानेछन्।
यसपल्ट अस्पतालमा अचेत प्रदीप गिरिलाई गरिएको भेट नै अन्तिम भयो। पहिलोपल्ट प्रदीप गिरिलाई भेट्न जाँदा भारती जसरी साथै थिइन् यसपल्ट अन्तिम भएको भेटमा पनि उनी त्यसरी नै साथै थिइन्। यस्तो संयोगलाई के भन्ने, तर त्यहाँ भारतीजीलाई देख्दा पहिलो भेट सम्झें मैले।
भेट्दा नै विश्वास कम थियो प्रदीप गिरि फेरि उठ्लान भन्ने। तर पनि, भारतीजीले भनेपछि मैले बोलाएँ ‘प्रदीपजी’ भनेर। तर, उनको चेतना कतै अज्ञात स्थलतिर रुमल्लिइरहेको थियो शायद। मन थियो प्रदीप गिरिसँग मृत्युचिन्तन विषयमा संवाद गर्ने। अब अधुरै रहने भयो।
जति बाँचे पनि जीवनको अन्तिम सत्य त मृत्यु नै हो। माटोमा मिल्नु र खरानी भएर हराउनु नै हो। हावा झैं एक दिन उडेर जानैपर्छ। कबीरका यी पंक्ति जस्तै अन्ततः प्रदीप गिरि माटोमै मिलेका छन्, खरानी भएका छन् र हावाको सर्सराउँदो एक झोक्का झैं उडेर गएका छन्।
तर, हामीबीचमा उनको स्मृति सदा जिउँदो रहनेछ।
{पूर्व मन्त्री पन्त नेकपा (एमाले) स्थायी कमिटी सदस्य हुन्।}