प्रदीप गिरिसँग ‘मृत्यु चिन्तन’ भन्ने विषयमा छलफल गर्ने मन छ
प्रदीप गिरि रोगलाई जितेर एकपल्ट फेरि उठेर आउनुहोस्। एकपल्ट तपाईंसँग ‘मृत्यु चिन्तन’ भन्ने विषयमा बहस-छलफल गर्ने मन छ। धेरै भएको छ तपाईसँग बसेर छलफल नगरेको, सहमति-असहमतिमा मुन्टो नहल्लाएको र चिया नखाएको।
यति वेला प्रदीप गिरि आफ्नै जीवनका लागि संघर्ष गरिरहनुभएको छ। उहाँले आफ्नो सम्पूर्ण जीवन लोकतन्त्र स्थापना र त्यसको परिष्कारका लागि संघर्ष गरेरै बिताउनु भयो।
भदाै २ गते म र कनकमणि दीक्षित भेट्न जाँदा अस्पतालको बेडमा अचेतावस्थाको जस्तै अवस्था थियो उहाँको। भारती सिलवालजीले ‘एकपल्ट बोलाउनुहोस् त’ भनेपछि मैले ‘प्रदीपजी, म रघु’ भनेर भनें। तर, उहाँको आँखामा हेर्दा उहाँले सुने जस्तो लागेन। प्रखर चेतनशील प्रदीप गिरिको चेतना आवाज सुन्ने अवस्थामा थिएन शायद।
प्रदीप गिरि र भारती सिलवाललाई मैले पहिलोपल्ट थापाथलीस्थित डेरामा भेटेको थिएँ। म त्यस वेला पत्रकारिता गर्थें र भित्रभित्र राजनीति। पञ्चायतको त्यस निरंकुश कालमा पत्रकारिता गर्नुको आफ्नै रोमाञ्च थियो।
‘रघुजी, तपाईंलाई प्रदीप गिरिले भेट्न मन गर्नुभएको छ। भेटौं न एक दिन,’ हरिहर विरहीले यसो भनेपछि मैले पनि भनें, ‘भेटौं न त! तपाईंले मिलाउनुस् भेटघाट।’
नभन्दै एक साँझ मलाई हरिहर विरहीले लिएर जानुभयो। नामले दुवै एकअर्काका लागि परिचित भए पनि प्रत्यक्ष भेटघाट त्यही साँझ भारती-प्रदीपजीको डेरामा भएको थियो। त्यो साँझ प्रदीपजी, हरिहर विरही र मबीच लामो कुराकानी भएको थियो। भारती सिलवालजी पनि बीच बीचमा कुराकानीमा सहभागी हुनुहुन्थ्यो।
यो भेटपछि प्रदीपजीसँग वेला-वेलामा भेट हुन थाल्यो। पञ्चायतबाट पीडित राजनीतिकर्मी र अधिकांश पत्रकारहरू लोकतन्त्र चाहन्थे। कांग्रेस र वामपन्थीहरू नमिलेसम्म पञ्चायतलाई पराजित गर्न सकिँदैन भन्ने हामीलाई लागिसकेको थियो। तर, वामपन्थी र कांग्रेस पार्टी त्यसका लागि तयार देखिँदैनथे।
पत्रकारिता क्षेत्रमा भने हाम्रो पुस्ताले अविश्वासलाई तोड्दै वामपन्थी र कांग्रेस निकट पत्रकारहरूबीच भेटघाट र विचार-विमर्श बढाउँदै लगेको वेला थियो त्यो।
२०४२ सालमा कांग्रेसले सत्याग्रह गर्ने भयो। त्यस बखत म रातो युगधाराको सम्पादक थिएँ। यो पत्रिकामा हामी थरीथरीका वामपन्थी सामेल थियौं। कृष्णदास श्रेष्ठ, हिरण्यलाल श्रेष्ठ, पद्मरत्न तुलाधर र म पत्रिकाको कोर टीममा थियौं। म कार्यकारी सम्पादक थिएँ। तीर्थमान ज्यापू पत्रिकाका प्रकाशक थिए।
एक-डेढ वर्षको बीचमै पत्रिका आठ-दश हजार प्रति छापिन थालेको थियो। पत्रिकालाई हामीले पञ्चायत विरोधीहरूको साझा चौतारी जस्तो रूपमा अघि बढाउने प्रयास गरेका थियौं। पीएल सिंह (जो गणेशमानको परिवारको सदस्य जस्तै थिए र पछि काठमाडौं महानगरपालिकाको मेयर भए) ले गणेशमान सिंह मंगलादेवी सिंह र नेपाली कांग्रेससँग सम्बन्धित महत्त्वपूर्ण जानकारी दिन्थे मलाई। पीएल सिंहको प्रदीप गिरि आदिसँग पनि निकट सम्बन्ध थियो।
सत्याग्रह गर्नुपर्ने जोड गणेशमान-कृष्णप्रसाद भट्टराई समूहको थियो। प्रदीपजीहरू पनि संघर्ष र सत्याग्रहको पक्षमा हुनुहन्थ्यो। समय समयमा प्रदीपजीसँगै भेट हुदा हामी कांग्रेस र वामपन्थीहरू मिलेर पञ्चायत विरुद्ध साझा संघर्ष कसरी अघि बढाउने भनेर छलफल गर्थ्यौं।
सत्याग्रहका क्रममा प्रदीपजीहरूले पनि गिरफ्तारी दिने हुनुभयो। त्यसभन्दा अघि वीरेन्द्रभक्त श्रेष्ठको इन्द्रचोकको भित्रपट्टि रहेको घरमा म उहाँहरूसँग दुई-तीन पल्ट छलफलमा बसें। प्रदीपजीहरूले गिरफ्तारी दिनुभन्दा अघि पनि वीरेन्द्रभक्त श्रेष्ठकै घरमा उहाँहरूलाई भेटेर म चोकमा निस्किएको थिएँ।
प्रदीपजीले त्यो दिन सेतो कुर्ता सुरुवाल लगाए जस्तो लाग्छ मलाई। प्रदीपजी, वीरेन्द्रभक्त र अरू चार-पाँच जना साथीहरू नारा लगाउँदै चोकमा आएर केही बोल्न खोज्दै हुनुहुन्थ्यो, कर्याककुरुक पारेर प्रहरीले गिरफ्तार गरेर लगिहाल्यो।
हामीले बौद्धिक रूपमा वामपन्थी र कांग्रेस मिलेर संघर्षमा जानुपर्छ भनेर जनमत बनाउँदै आएका थियौं। बल्ल ०४६ सालमा आएर संयुक्त संघर्ष गर्ने वातावरण बन्यो।
बहुदलीय व्यवस्थाको पुनःस्थापनापछि परिस्थिति फेरियो। समय समयमा भेट भइराख्थ्यो र हामी बीच छलफल चल्थ्यो। गान्धीवाद, पूँजीवाद, समाजवाद, मार्क्सवाद-लेनिनवाददेखि साहित्यका बारेमा समेत प्रदीपजीको गहिरो अध्ययन थियो। लेनिनः एक अध्ययन भनेर लेनिनका बारेमा त उहाँले पुस्तकै लेख्नुभएको छ।
२०५६ सालको प्रतिनिधि सभाको निर्वाचन हामी दुवैले जित्यौं। म ललितपुरबाट निर्वाचित भएको थिएँ र उहाँ सिराहाबाट। वेलावेलामा हामी संसद्को क्यान्टिनमा बसेर चिया खाँदै छलफल गर्थ्यौं।
उहाँ संसद्मा राम्रो बोल्ने तर कम उपस्थित हुने गर्नुहुन्थ्यो। उहाँलाई भेट्न निर्वाचन क्षेत्रबाट मान्छे आएका हुन्थे, तर उहाँ भने कता हो कता!
त्यसताका प्रदीपजीको व्यक्तिगत जीवन पटक्कै व्यवस्थित थिएन। एकपल्ट उहाँसँग मेरो मार्क्सवाद र अराजकतावादबीचको सम्बन्धका बारेमा बहस भएको थियो। छलफल चल्दै गर्दा मैले ठट्टा गर्दै उहाँलाई भनेको थिएँ, “एक जना अराजकतावादी त तपाईं आफैं हो। व्यवस्था, पद्धति र कुनै पनि अनुशासनभन्दा बाहिर जस्तो देखिन्छ तपाइंको जिन्दगी। अव्यवस्थित र लहडी पारा भयो प्रदीपजी। अराजकता अन्त लागू होला/नहोला, तर अराजकतावाद तपाईंकै जीवनमा चाहिं देखियो।”
भारतमा निर्वासित भएर बसेको कारणले या उहाँको स्वभावै त्यस्तै भएकाले हो, प्रदीप गिरिले कहिले आफूलाई व्यवस्थित पाराको जीवनशैलीमा ढाल्नुभएन।
शरतचन्द्र चट्टोपाध्यायको प्रसिद्ध उपन्यास देवदासको देवदास जस्तै हुनुहुन्छ, प्रदीप गिरि। यो उपन्यासको नायक देवदास चन्द्रमुखी र पारोको बीचमा झुले जस्तै राजनीति र आफ्ना मान्यताहरूबीचको द्वन्द्वमा प्रदीप गिरि झुलिरहनुभएको छ। अध्ययनशील, प्रष्ट वक्ता र चिन्तकको हैसियत राख्नुहुन्छ राजनीतिमा, प्रदीप गिरि। तर, जस्तो राजनीतिलाई नेपालको वर्तमान सन्दर्भमा ‘सफल’ वा ‘व्यावहारिक’ राजनीति मानिन्छ, त्यसमा उहाँ पूर्ण असफल हुनुभयो। यो असफलता स्वाभाविक र अपेक्षित नै छ, किनभने उहाँ भिन्न माटोले बन्नुभएको छ, अरूभन्दा।
विश्वेश्वरप्रसाद कोइराला निर्वासनमा बनारस रहेकै वेलादेखि कोइराला परिवारबाट तिरस्कृत भएकैले होला, नेपाल आएपछि पनि प्रदीप गिरि कांग्रेसको कोइराला विरोधी खेमामा रहनुभयो। गणेशमान-भट्टराई खेमामा रहेर उहाँले लोकतन्त्रका लागि वामपन्थी र कांग्रेस मिल्नुपर्ने विचार राखेकै कारण म पनि उहाँसँग नजिकिएको थिएँ।
प्रदीप गिरिको विचार र व्यवहार प्रखर हुँदाहुँदै पनि कहिलेकाहीं उहाँ अराजकताको हदसम्म पुग्नुभए जस्तो लाग्थ्यो। त्यही भएर उहाँले नेपाली कांग्रेसको राजनीतिलाई अलिकति पनि प्रभावित पार्न नसक्नुभएको त होइन? उहाँ कांग्रेसी राजनीतिमा बोल्दा सबैले चाख मानेर सुन्ने तर कसैले नपछ्याउने पात्र किन हुनुभयो? यस्ता प्रश्नहरू मेरो मनमा पहिले पहिले आउँथे। तर, नेपालको राजनीति झन् झन् गिर्दै जब जान थाल्यो तब प्रदीप गिरिहरू जस्तालाई गिर्दै गएको राजनीतिले असान्दर्भिक ठहर्याउन खोज्नु नौलो कुरा भएन।
कोइरालाहरूले लखेटे पनि विश्वेश्वरप्रसाद कोइरालाका राजनीतिक उत्तराधिकारी हुँ भन्नेहरूले भन्दा प्रदीप गिरिले विश्वेश्वरप्रसादका लागि धेरै महत्त्वपूर्ण कार्य गरिदिनुभएको छ।
विश्वेश्वरप्रसाद कोइरालाः व्यक्तित्व र विचार भन्ने उहाँको कृति बीपीलाई बुझ्न चाहनेहरूका लागि एउटा महत्त्वपूर्ण आधार हो। त्यस्तै, एउटा महत्त्वपूर्ण काम उहाँले बीपी कोइरालाका लेख, रचना, भाषण, अन्तरवार्ताहरूको संग्रह र सम्पादन गर्नुभएको छ।
छरिएर रहेका विश्वेश्वरप्रसाद कोइरालाका रचनाहरूलाई सङ्कलन गरेर प्रकाशन गर्ने काममा प्रदीप गिरि र जीवनचन्द्र कोइरालाले जाँगर चलाएको देखिन्छ। प्रदीप गिरिको सम्पादनमा निस्किएको विश्वेश्वरप्रसाद कोइरालाः आधारभूत सङ्कलन संग्रहमा बीपीका छानिएका लेख, रचना, अन्तवार्ता, भाषण आदि छन्। बीपी कोइरालाका राजनीतिक विचारहरूलाई बुझ्न चाहनेहरूले यो सङ्कलन पढ्नैपर्ने देखिन्छ।
पढ्ने, लेख्ने, चिन्तन गर्ने नेता-कार्यकर्ताहरूको नेपाली राजनीतिमा अभाव छ। नेपाली कांग्रेसभित्र त झन् खडेरी छ। बौद्धिक विमर्श र छलफल राजनीतिक विवादको स्तरभन्दा पर पुगेर प्राज्ञिक तहमा गर्न सक्ने खूबी प्रदीप गिरिमा छ। छलफलमा बस्दा त्यो गुण उहाँमा रहेको पाइन्थ्यो। आफ्ना कमी-कमजोरी स्विकार्ने, आफैंप्रति र आफ्नै विचारप्रति पनि निर्मम भएर छलफलमा प्रस्तुत हुने गुण छ, उहाँमा। प्रदीप गिरि विचारक र बढी बौद्धिक हुनुहुन्छ।
छलफल, विचार-विमर्शमा रमाउनुहुन्छ उहाँ। उहाँको स्वभावमा राजनीतिक संगठक हैन, प्रखर बौद्धिकता विद्यमान छ। कहिलेकाहीं त उहाँ राजनीतिमा भएर पनि नभएको जस्ता लाग्छ। आफ्नै पार्टी, त्यसको राजनीति र नेतृत्वको पनि उहाँ बडो कठोर भएर वेलाबखत आलोचना गर्नुहुन्छ।
चिन्तन र छलफल उहाँको स्वभाव हो, राजनीति उहाँको जीवन। पद र प्राप्तिको राजनीति उहाँलाई मन परेन, सत्ताभोग उहाँको स्वभावमा छैन। उहाँ जति सहज हुनुहुन्छ, कहिलेकाहीं त्यत्तिकै असहज पनि भइदिनुहुन्छ। जति स्वाभाविक देखिनुहुन्छ कहिलेकाहीं त्यत्तिकै अस्वाभाविक पनि बनिदिनुहुन्छ।
उहाँको चिन्तन, स्वभाव र छटपटीले अव्यवस्थित बनाउँदै लगेको थियो या असंगठित जीवनशैलीले उहाँको चिन्तनलाई पनि प्रभावित गर्दै थियो, थाहा छैन।
संघर्ष प्रदीप गिरिको स्थायी साथी जस्तो देखिन्छ। संघर्षमा रमाउनु उहाँको स्वभाव थियो। सत्तासँग सदा उहाँ टाढा रहनुभयो। सत्तासीन कांग्रेससँग प्रदीप गिरिको दूरी बढ्दै गएको लाग्छ। यद्यपि, उहाँ कांग्रेसको केन्द्रीय सदस्य र सांसद हुनुहुन्छ, तर चलनचल्तीमा बुझिने कांग्रेस उहाँ हुनुहुन्न। कौरवहरूको बीचमा विदुरले एक्लै उभिएर नीति र दर्शनयुक्त वाणी व्यक्त गरे झैं कांग्रेसीहरूका बीचमा उभिएर आफूलाई लागेको कुरा निर्धक्क भन्ने साहस भने उहाँमा थियो।
यति वेला प्रदीप गिरि फेरि संघर्षमा हुनुहुन्छ,आफ्नै जीवन बचाउने संघर्षमा। अस्पतालको बेडमा अचेत जस्तो अवस्थामा भेट्दा मन कटक्क काटियो। तर, यस्तो अवस्था पनि जीवनको एक वास्तविकता हो । जीवन जस्तै मृत्यु पनि एक सत्य हो, निर्विवाद सत्य।
प्रदीप गिरि रोगलाई जितेर एकपल्ट फेरि उठेर आउनुहोस्। एकपल्ट तपाईंसँग ‘मृत्यु चिन्तन’ भन्ने विषयमा बहस-छलफल गर्ने मन छ। धेरै भएको छ तपाईसँग बसेर छलफल नगरेको, सहमति-असहमतिमा मुन्टो नहल्लाएको र चिया नखाएको।
सास रहेसम्म आश भन्छन्। धेरै साथीहरूको चाहना छ, एकपल्ट फेरि प्रदीप गिरिसँग छलफल गर्ने। हाम्रो चाहनाले जित्छ या मृत्युले, के हुन्छ हेरौं?
(पूर्व मन्त्री पन्त नेकपा (एमाले) स्थायी कमिटी सदस्य हुन्।)