पार्टी फेर्दै, उम्मेदवार बन्दै
स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न पार्टी परित्याग गर्ने र नयाँ पार्टी प्रवेश गर्नेको होडबाजी चलेको छ।
सोमबार धनुषाका कैयौं नेता तथा कार्यकर्ताले नयाँ पार्टी प्रवेश गरेर उम्मेदवारी दर्ता गराएका छन्। जनकपुरधाम उपमहानगरपालिकामा टिकट नपाएपछि केही उम्मेदवारले पार्टी परित्याग गरेर स्वतन्त्र उम्मेदवारी पनि दिएका छन्।
नेपाली कांग्रेसबाट जनकपुरधाम उपमहानगरपालिकाको उपमेयरमा टिकट नपाएपछि नेत्री रुना झा सोमबार नै नेकपा (एमाले) मा प्रवेश गरेकी छन्। कांग्रेसबाट उपमेयरमा उनको नाम पनि सिफारिश भएको थियो। तर, पाँच दलीय गठबन्धनबीच तालमेल हुँदा कांग्रेसले किशोर साहलाई उपमेयरको उम्मेदवार बनायो।
त्यसपछि उनले कांग्रेस परित्याग गरी एमाले रोजिन्। उनले सोमबार नै एमालेबाट उपमेयरको टिकट पाएर उम्मेदवारी दर्ता गराएकी छन्। कांग्रेसमा बस्दा सम्मान नपाएपछि बाध्य भएर एमालेमा प्रवेश गरेको उनको भनाइ थियो।
त्यस्तै, गठबन्धनबाट मेयरमा जसपाले उम्मेदवार बनाउने सहमति भएपछि कांग्रेसका उपमहानगर सभापति मनोज साहले यसअघि नै पार्टी छाडिसकेका थिए। उनले जनकपुरको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका छन्।
कांग्रेसले जसपालाई मेयर दिने निर्णय नसच्याएपछि साधारण सदस्यबाट पनि राजीनामा दिएको उनले बताए। कांग्रेसलाई नै समाप्त गर्ने गरी गठबन्धन बनेपछि स्वतन्त्र उम्मेदवारी दिएको उनको भनाइ छ।
त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परित्याग गरेका जनकपुरधाम उपमहानगरपालिका–७ का वडाध्यक्ष जानकीराम साह एक साताअघि एमाले प्रवेश गरेका थिए। एमालेले उम्मेदवार बनाउने आश्वासन दिएपछि उनले लोसपा छोडेका थिए।
तर, एमालेले शिवशंकर साहलाई मेयरको उम्मेदवार बनायो। त्यसपछि उनले एमाले पनि परित्याग गरेका छन्। जानकीरामले जनकपुरको मेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।
“टिकट दिन्छु भनेर पार्टीमा प्रवेश गराए, तर अहिले गुटबन्दीको कारणले टिकट दिएनन्। त्यसैले बाध्य भएर एमाले पनि छोडेर स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएको हुँ,” उनले भने।
बाराको सुवर्ण गाउँपालिकाका निवर्तमान अध्यक्ष महेन्द्रराय यादवले पनि जनता समाजवादी पार्टी (जसपा) परित्याग गरेका छन्। उनले सोमबार नै जसपा त्यागेर लोसपामा प्रवेश गरेका छन्। उनीसँगै आठ वडाका वडाध्यक्षले पनि टिकट नपाएपछि जसपा त्यागेर लोसपामा प्रवेश गरेका छन्।
यसरी कैयौं जनप्रतिनिधिले टिकट नपाएपछि सोमबार नै पार्टी परित्याग गरेर नयाँ पार्टीबाट उम्मेदवारी दिएका छन्। यसमा धेरैजसो वडाध्यक्ष र वडा सदस्य छन्।