भरतपुरको मेयरमा रेणु दाहालको उम्मेदवारी दर्ता
चितवनको भरतपुर महानगरपालिकाको मेयरका लागि नेकपा (माओवादी केन्द्र) की नेत्री रेणु दाहालले उम्मेदवारी दर्ता गराएकी छन्।
जुलूस सहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेकी दाहालले पुनः मेयरका लागि उम्मेदवारी दर्ता गराएकी हुन्। उनी भरतपुरको निवर्तमान मेयर हुन्।
गठबन्धनका तर्फबाट दाहालसँगै नेपाली कांग्रेसका नेता मित्रसेन अधिकारीले उपमेयरमा उम्मेदवारी दर्ता गराएका छन्। उनी कांग्रेसका महानगर कार्यसमितिका सभापति हुन्।
सत्तारूढ गठबन्धनबीच भएको चुनावी तालमेल अनुसार, माओवादीले मेयरमा र कांग्रेसले उपमेयरमा उम्मेदवार उठाएका हुन्। उनीहरूलाई नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाको समर्थन छ।
त्यस्तै, नेकपा (एमाले) नेता विजय सुवेदीले पनि भरतपुरको मेयरमा उम्मेदवारी दिएका छन्। उपमेयरमा राप्रपाकी नेत्री हिमला गुरुङले उम्मेदवारी दिएकी छन्। भरतपुरमा एमाले र राप्रपाले तालमेल गरेका छन्।