काठमाडौंमा केशव स्थापित र सिर्जना सिंहको उम्मेदवारी दर्ता
काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा (एमाले) का नेता केशव स्थापित र नेपाली कांग्रेसकी नेत्री सिर्जना सिंहले उम्मेदवारी दर्ता गरेका छन्।
राष्ट्रिय सभागृहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले पुगेर स्थापित र सिंहले उम्मेदवारी दर्ता गरेका हुन्। एमाले नेता स्थापित उपमेयरकी उम्मेदवार सुनीता डंगोलसँगै उम्मेदवारी दर्ता गर्न राष्ट्रिय सभागृह पुगेका थिए।
उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै स्थापितले आफ्नो जित सुनिश्चित रहेको दाबी गरे। २०५४ सालमा काठमाडौंको मेयरमा विजयी हुँदा ८४ हजार मत ल्याएको स्मरण गर्दै स्थापितले आफूले चुनाव जित्ने दाबी गरे।
त्यस्तै, बाजागाजा सहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेकी कांग्रेस नेत्री सिंहले काठमाडौंका जनताले आफूलाई मत दिने बताइन्। उनीसँगै कांग्रेस महामन्त्री गगन थापा पनि मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए।
उनले गठबन्धनका तर्फबाट उम्मेदवारी दर्ता गराएकी हुन्। सत्तारूढ पाँच दलीय गठबन्धनबीच भएको तालेमल अनुसार कांग्रेसले काठमाडौंमा मेयरको उम्मेदवार उठाएको हो।
उनलाई नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाको समर्थन छ।