हुक्सले कोरेको नारीवादको बाटो
नारीमाथि पितृसत्ताले थोपरेको दमन र शोषणको परम्परा भेदनलाई आफ्नो लेखनको ‘ट्रेडमार्क’ बनाउँदै सीमान्त समुदायसम्म पुग्नु हुक्सको उद्देश्य थियो।
“म मेरो जीवनलाई सङ्कुचित हुन दिनेछैन। कसैको सनक या अज्ञानका अगाडि झुक्ने पनि छैन,” अमेरिकी लेखक बेल हुक्सको भनाइ हो यो। यो अभिव्यक्ति आफैंमा महिला स्वतन्त्रताको विम्ब हो।
ग्लोरिया जिन वाट्किन्सको साहित्यिक नाम हो, बेल हुक्स। प्राध्यापक अनि महिलावादी/सामाजिक अभियन्ताका रूपमा पनि चिनिने उनले मावलकी हजुरआमा बेल ब्लेयर हुक्सको नामबाट आफ्नो नाम जुराएकी हुन्।
सन् १९५२ सेप्टेम्बर २५ मा जन्मिएकी हुक्स श्रमजीवी परिवारकी सदस्य हुन्। उनका बुबा हुलाकका चौकीदार थिए भने आमा गृहिणी। हुक्सका ६ भाइबहिनी थिए। उनले स्टानफोर्ड युनिभर्सिटीबाट बीए, युनिभर्सिटी अफ विस्कन्सिनबाट एमए तथा युनिभर्सिटी अफ क्यालिफोर्निया सान्टा क्रुजबाट विद्यावारिधि गरेकी थिइन्। हुक्स पाउलो फ्रेरे,टोनी मोरिसन, मार्टिन लुथर किङ आदिबाट प्रभावित थिइन्।
पितृसत्तात्मक परिवार भएकाले हुक्सको प्रारम्भिक जीवन पिताको कठोर अनुशासनमा बित्यो। शिक्षारम्भ पनि जातीय आधारमा छुट्याइएको विद्यालयबाट भयो। त्यति वेलै उनी कविता लेखेर चर्च मण्डलीमा सुनाउँथिन्। तर, पारिवारिक र सामाजिक संरचना खासै उदार नभएकाले खुलेर लेख्न पाउँदिनथिन्। यसले उनमा लेखनप्रति नै मोहभङ्ग हुन थाल्यो। अर्कातिर महिलालाई परम्परागत भूमिका नै सुहाउने मान्यता राख्ने परिवारले सहयोग गर्ने कुरै थिएन। तर, पढ्दै जाँदा हुक्सलाई यस्ता दमन तथा विभेद विरुद्ध विद्रोह गर्नुपर्छ भन्ने लाग्यो।
विद्रोहको शुरूआत आफ्नो नाम फेरेर गरिन्। आफूले थालेको अभियान पुर्खाबाटै प्रोत्साहित रहेको ठहर्याउन उनले साहित्यिक नाम मावलकी हजुरआमाको नामबाट राखेकी हुन्। हुक्सले आफ्नो विद्यावारिधिको अनुसन्धान तथा प्रकाशकको खोजीमा दुई वर्ष बिताइन्। यो अवधिमा उनले शिक्षणसँगै विभिन्न कलेजमा प्रवचन दिन थालिन्। आफ्नो पुस्तकका लागि बल्ल सन् १९८१ मा प्रकाशक भेट्टाइन्। आन्ट आई अ वुमेन : ब्ल्याक वुमन एन्ड फेमिनिज्म पुस्तकमा उनले अश्वेत महिलाका विषयलाई लिएर बहस छेडेकी छन्। पूर्ववर्ती अध्येता,लेखकले जस्तै हुक्सले पनि महिलावादी आन्दोलनको मूलधारमा श्वेतहरूको समूह अनि उच्च शिक्षा हासिल गरेका, मध्यम तथा उच्चवर्गीय महिलाहरू नै पाइन्।
हुक्स जहिल्यै लैङ्गिकता, जातीयता र वर्गीय ऐक्यबद्धताको तर्क गर्थिन्। उनका विचारमा महिला मुक्तिका लागि पुरुषहरूले पनि लैंगिकता विरुद्ध रूपान्तरणको सङ्घर्षमा भूमिका खेल्नुपर्छ।
तिनीहरूमा अश्वेत महिलाप्रति अलिकति पनि चासो थिएन। अनुसन्धानका क्रममा हुक्सले अश्वेत महिलाहरू ऐतिहासिक रूपमै दोहोरो बन्धनमा रहेको पाइन्। मतदानको आन्दोलनलाई समर्थन गरे उनीहरू जातीय पक्षमा अपहेलित हुने तथा नागरिक आन्दोलनलाई समर्थन गरे उही पितृसत्तात्मक संरचनामै दास बनिरहनुपर्ने अवस्था थियो। हुक्सले यस्तै विषय उठाउँदै मूलधारको महिलावादी आन्दोलनमा अन्तर्निहित जातिवादलाई उजागर गरिन्।
लेखनकै कारण हुक्सले कैयौं आरोप र प्रतिरोध सहनुपर्यो। उनलाई परम्पराभन्दा बाहिर गएको, समाज विभाजनकारी बनाएको जस्ता आक्षेप लगाइए। तर, यही परम्पराभेदन नै अन्ततोगत्वा हुक्सको ‘ट्रेडमार्क’ शैली नै भयो। त्यो शैली मार्फत आफ्नो लेखनलाई सबै वर्गसम्म पुर्याउनु उनको उद्देश्य थियो।
हुक्स महिलालाई केन्द्रमा राखेर नयाँ सिद्धान्त विकास गरिरहेकी थिइन्। अर्को पुस्तक फेमिनिस्ट थिअरी फ्रम मार्जिन टु सेन्टरमा उनले विशेष गरी अश्वेत महिलाका विचारलाई प्राथमिकता दिइन्। यस मार्फत महिलावादीहरूको राजनीतिक एकताका पक्षमा बहस छेडिन्। भिन्न जाति तथा सामाजिक, आर्थिक पृष्ठभूमिका महिलाको सहभागिताका लागि राजनीतिक रूपान्तरणको आवश्यकता रहेको र यसमा पश्चिमा सिद्धान्तले जरो गाड्न नहुने उनको मान्यता थियो।
हुक्स जहिल्यै लैङ्गिकता, जातीयता र वर्गीय ऐक्यबद्धताको तर्क गर्थिन्। उनका विचारमा महिला मुक्तिका लागि पुरुषहरूले पनि लैङ्गिकता विरुद्ध रूपान्तरणको सङ्घर्षमा भूमिका खेल्नुपर्छ। हुक्सका अनुसार, परिवर्तन पीडादायी र चिन्ताजनक प्रक्रिया हो। उनी क्रमशः परिवर्तनको शक्तिमा विश्वास गर्दै व्यक्तिगत पीडालाई पनि सार्वजनिक ऊर्जामा परिणत गर्न पारङ्गत भइन्।
सन् १९९१ मा हुक्सले कर्नेल बेस्टसँग मिलेर ब्रेकिङ ब्रेड पुस्तक लेखनमा सहकार्य गरिन्। यो पुस्तक “संवाद” मा आधारित थियो। दुवै लेखक मुख्य रूपमा अफ्रिकी, अमेरिकी समुदायमा केन्द्रित अश्वेत बौद्धिक जीवनको धारणाप्रति चिन्तित थिए। सार्वजनिक बौद्धिकतामा पाइने पृथक्ताका कठोर रेखाहरूले अश्वेतहरूको बौद्धिक जीवनमा सम्झौता गरेको उनीहरूको बुझाइ थियो।
फेमिनिज्म ए मुभमेन्ट टु इन्ड सेक्सिस्ट अप्रेसन पुस्तकमा हुक्स लेख्छिन्– अमेरिकाका अधिकांश मानिसहरू नारीवादको जुन परिभाषालाई मान्दछन्, त्यो भनेको महिलाहरू सामाजिक तबरले पुरुष सरह हुनु हो।
हुक्सको तर्क थियो कि अश्वेत महिलाहरू विशेष गरी गम्भीर र आलोचनात्मक विचारहरूमा मौन छन्। यो सब हुनुको कारण जातिवादी तथा लिङ्गवादी अभ्यास नै हो। त्यही क्रममा उनले सीमान्तीकृतहरूलाई केन्द्रमा राखेर अध्ययन गरिन्। पछिल्ला लेखनमा चाहिं लैङ्गिकताका विषयमा अश्वेतहरूको प्रतिनिधित्वको पक्षलाई लिएर आलोचना गरेकी छन्।
फेमिनिस्ट थिअरी फ्रम मार्जिन टु सेन्टरकाे एक अध्याय फेमिनिज्म ए मुभमेन्ट टु इन्ड सेक्सिस्ट अप्रेसनमा हुक्स लेख्छिन्– अमेरिकाका अधिकांश मानिसहरू नारीवादको जुन परिभाषालाई मान्दछन्, त्यो भनेको महिलाहरू सामाजिक तबरले पुरुष सरह हुनु हो। मिडियाले पनि यही परिभाषालाई प्रचारप्रसार गरेका छन्। नारीवादी आन्दोलनको मूलधारका व्यक्ति पनि यो मान्यतामा सहमत देखिन्छन्। यो परिभाषाले कैयौं प्रश्न खडा गर्छ।
एक श्वेत बहुसङ्ख्यक, पूँजीवादी समाजमा यो परिभाषा लागू गर्दै गर्दा महिलाहरू कस्ता पुरुषसँग मिलेर सामाजिक समताको कामना गर्न गर्छन् भन्ने पनि विचार गर्न जरुरी छ। के सबै महिलाका लागि बराबरी हकको कल्पना उस्तै हुन्छ? नारीवादको साधारण परिभाषाले समाजका अन्य पहिचानसँग जोडिएका समस्यालाई नजरअन्दाज गर्दछ। गरीब तथा सीमान्त वर्गका महिला, खास गरी जो अश्वेत छन् तिनको स्वतन्त्रतालाई कहिल्यै पुरुषसँग सामाजिक बराबरी गर्ने रूपमा परिभाषित गरिंदैन। किनकि, दैनन्दिन जीवनमा उनीहरू महिलाबीच नै विभेद झेलिरहेका हुन्छन्।
महिलाहरू किन राजनीतिक नारीवादबाट टाढा रहन चाहन्छन् त? अध्ययन मार्फत यस प्रश्नको जवाफ पनि दिएकी छन् हुक्सले। पहिलो कुरा त उनीहरू ‘नारीवाद’ शब्दलाई राम्ररी बुझ्दैनन्। शुरूआती दिनमा नारीवादलाई श्वेत महिलाहरूको मात्र अधिकार प्राप्तिको विषय जसरी प्रस्तुत गरिएकाले पनि शोषित महिलाले त्यसमा अपनत्वबोध गर्न सकेनन्। कतिपयले यसलाई नश्लीय भेदभावयुक्त शब्द ठान्छन्।
कैयौं महिला नारीवादलाई स्त्री समलैङ्गिकता मानेर टाढै रहन चाहन्छन्। अनि कैयौंलाई चाहिं नारीवादी शब्दको सम्बन्ध राजनीतिक अतिवादसँग जोडिए जस्तो लाग्दो रहेछ। हुक्स यी सबै सवालको जवाफ दिन्छिन्। नारीवादका कतिपय परिभाषा अराजनीतिक दृष्टिकोणबाट प्रेरित छन्। व्यक्तिगत स्वतन्त्रतालाई जोड दिने यस्तो परिभाषाले समाजमा आवश्यक राजनीतिक सवालहरूलाई पछाडि छाडिदिन्छ।
नारीवादलाई व्यक्तिगत जीवनशैलीका रूपमा मात्र हेर्दा कसैलाई असहज हुँदैन, तर यही सहजता खतराको सूचक हो। खतरा यस मानेमा कि विना शोषणकारी राजनीतिक मुद्दालाई खारेज नगरीकनै पनि ‘नारीवादी’ हुन सकिन्छ। यहींनेर नारीवादमा समावेशिता कमजोर भएको देखिन्छ। नारीवादले केवल वर्चस्वशाली महिलाको मात्र प्रतिनिधित्व गरिरहनु पनि खतरा हो।
हुक्सले उठाएका नारीवादी बहस कतिपय अवस्थामा पश्चिमा समाजमा आधारित भएकाले हाम्रो समाजका जाति, वर्ग, सीमान्तीकृत समुदायका समस्यासँग पूरै मेल नखान सक्छन्। तर, पितृसत्तात्मक, पूँजीवादी व्यवस्थामा महिलाहरूप्रतिको दमन उस्तै हुन्छ।
महिलाहरू नारीवादी आन्दोलनमा महिला भएकै कारण मात्र आएका होइनन्। हुक्सका अनुसार, महिलालाई महिलाबीचकै असमानताको पनि ज्ञान हुन जरुरी छ। उनले लैङ्गिकता, नश्ल, वर्गलाई लिएर एकीकृत अध्ययन र सोही अनुसारको व्यवस्था निर्माण गर्नुपर्नेमा जोड दिएकी छन्। यी समावेशी नारीवादका विषय हुन्।
हुक्सले उठाएका नारीवादी बहस कतिपय अवस्थामा पश्चिमा समाजमा आधारित भएकाले हाम्रो समाजका जाति, वर्ग, सीमान्तीकृत समुदायका समस्यासँग पूरै मेल नखान सक्छन्। तर, पितृसत्तात्मक, पूँजीवादी व्यवस्थामा महिलाहरूप्रतिको दमन उस्तै हुन्छ। त्यसैले राजनीतिक, सामाजिक क्षेत्रमा महिलाको न्यून उपस्थिति र परम्परागत मूल्य–मान्यताको निरन्तरताले नारीवाद या अरू कुनै अवधारणाको विकास गर्दै महिलाको अवस्थामा सुधार गर्नुको विकल्प छैन। हाम्रो समाजमा दैनिकजसो बलात्कार, हत्या अनि अपहरणका समाचार आउने गरेका छन्। विभिन्न प्रथा र चलनसँग अभ्यस्त हुँदै आएका महिला कतिपय अमानवीय अभ्यासलाई पनि ग्रहण गर्न बाध्य छन्।
महिला आन्दोलन, सचेतना, सक्रियताका लहर देखिन थाले पनि शक्तिशाली र शक्तिहीनबीचको खाडल निकै गहिरो छ। हाम्रो जस्तो समाजमा महिला शिक्षा, सचेतना, रोजगारी अनि समान पारिश्रमिकको व्यवस्था गर्न जरुरी छ। पीडित महिला बल्लतल्ल कुनै सहजकर्ताको सम्पर्कमा आइहाले पनि लेख्न–पढ्न अक्षम हुँदा भविष्यमा थप अघि बढ्न अप्ठ्यारै देखिन्छ।
विगत दुई–तीन महीनादेखि नेपालगञ्जका घरेलु हिंसापीडित नकुनी धोबी र निर्मला कुर्मीको पक्षमा अभियन्ता रुबी खान लडिरहेकी छिन्। तर, उनी एक्लैले यो लडाइँ कहिलेसम्म लडिरहने, सम्बन्धित पक्षको ध्यान नपरेपछि? भलै नागरिक समाज र केही युवाले उनीहरूलाई साथ दिइरहेका छन्। आशालाग्दो कुरा, यो आन्दोलनमा रुबीलाई साथ दिइरहेका अन्य महिलाले धर्नास्थलमै अक्षर कोर्न थालेछन्। यो भनेको अधिकारको रक्षाका लागि कमसेकम आफू सचेत हुनुपर्दो रहेछ भन्ने बोध हो। सम्पूर्ण उत्पीडित महिलाहरू सचेत भई आधारभूत अधिकारबारे प्रस्ट भएर अगाडि बढ्नै पर्छ। हामीकहाँ पनि नारीवादी अवधारणाले पहिल्याउनुपर्ने बाटो भनेको हुक्सले भने झैं लैङ्गिकता, राजनीति, समावेशिता, समता र न्यायसँगै यसको पैरवी गर्नु हो।
हुक्सको यही डिसेम्बर १५ का दिन ६९ वर्षको उमेरमा निधन भयो। वैचारिक अडानमा प्रस्ट यी नारीवादी लेखक तथा अभियन्तालाई शब्द श्रद्धाञ्जली!