पत्रकार विरेन्द्र साह हत्याको नौ वर्ष, अभियुक्त खुलेआम हिंडदै
बाराका पत्रकार विरेन्द्र साहको हत्या भएको नौ वर्ष पुगे पनि हत्याका सबै अभियुक्त कारवाहीको दायरामा आएका छैनन् ।
सशस्त्र हिंसाका बेला तत्कालीन माओवादीले १८ असोज २०६४ मा साहको अपहरण गरेको थियो भने आजकै दिन २३ कात्तिक २०६४ मा उनको शव जंगलमा फेला परेको थियो ।
साहको स्मृतिमा नेपाल पत्रकार महासंघ बारा शाखाले यसवर्ष कुनै कार्यक्रम राखेको छैन् । साहको शव फेला परेकै दिन २३ कात्तिकलाई शाखाले कालो दिनको रुपमा मनाउँदै आएको थियो ।
यस वर्ष कुनै कार्यक्रम राखिएको जानकारी आफूहरुलाई नभएको बाराका पत्रकारहरुले बताएका छन् ।
हत्यारालाई कारवाहीको माग गर्दै अड्डा–अदातल जाँदा–जाँदा थाकिसेको तर प्रगति नभएकोले चुप लागेर बस्न बाध्य भएको मृतक साहका भाई भैयाराम साहले बताए ।
“हत्यारा खुलेआम घुमिरहेको छ, कसैले कारवाही गर्दैन,” उनले भने, “अब त पत्रकारका नेताहरुले पनि चासो दिन छोडे, मेरो फोन उठाउन छोडेका छन् ।”
साहको हत्याका आरोपी लालबहादुर चौधरी धामी, कुन्दन फौजदार, हरेराम पटेल, मनेजर गिरी र राम एकबाल सहनीलाई पक्राउ गर्न जिल्ला अदालत बाराले आदेश दिए पनि तीमध्ये गिरी र सहनीमाथि मात्रै कारवाही भएको छ ।
माओवादी केन्द्रका सांसद दिलमाया धामीका श्रीमान लालबहादुर र गम्भिरा उच्च मावि गढहलको व्यवस्थापन समितिको अध्यक्ष रहेका फौजदारलाई प्रहरीले पक्राउ गरेको छैन ।
सहनी र गिरीलाई जिल्ला अदालत बाराले गरेको सर्वस्व सहित जन्मकैदको फैसला सर्वोच्चले समेत सदर गरिसकेको छ भने धामी, फौजदार र पटेललाई प्रहरीले पक्राउ नगरेकै कारण उनीहरुको मुद्दा अझै जिल्लामै मुल्तवीमा छ ।
“हामीले ५ जना विरुद्ध किटानी जाहेरी दिएका हौं । ०६५ सालमा दुई जना पक्राउ परे, बाँकी राजनीतिक पहुँचको भरमा खुलेआम हिडिरहेका छन्,” साहले भने, “भेटेजति नेता, पत्रकारका नेता, एसपी, एसएसपीहरुकोमा गएर गुनासो गरे पनि सुनिदिने कोही भएनन् ।”
नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष कमलकुमार उपाध्यायले पत्रकार साहका हत्यारामाथि कारवाही गराउन महासंघले सक्दो पहल गरे पनि राजनीतिक पहुँचका आधारमा कारवाही हुन नसकेको बताए ।
उनले भने, “राजनीतिक पहुँचकै कारण अदालतको निर्णय समेत कार्यान्वयन नहुनु दुःखद हो ।”
सुरेश बिडारी, वीरगञ्ज