माथिको आदेश (कविता)
जब आउँछ माथिको आदेश
धेरै लामो समयसम्म थन्केर बसेका
तर भर्खरै दम दिएपछि चल्न थालेका
आदिम मोडेलका घडीका पुर्जाहरू झैं
चल्न थाल्छन् सरकारी संयन्त्रहरू
र तल बसेर माथिको आदेश पालन गर्न
अदब साथ उभिएका रोबोटहरू
गर्न थाल्छन् तँछाड-मछाड
कहिल्यै नदेखिएको फूर्तिको नग्नता प्रदर्शन गर्दै
मानौं यिनले अहिले नै पहाड फुटाएर मैदान बनाउँछन्
‘आदेश’ माथि ‘आदेश’ थपेर उनीहरूले
‘आदेश’ जारी गर्छन्:
तल लाइन लागेर माथिको आदेशको इशारा कुरिरहेका
ससाना खेलौना जस्ता रोबोटहरूलाई
जो त्यत्तिकै आतुर छन् माथि बसेर आदेश दिनेहरूलाई रिझाउन
जसलाई यत्ति थाहा छ
देशको सेवा गर्नु भनेको
माथि रिझाउनु हो।
*
जब आउँछ माथिको आदेश
अनि शुरू हुन्छ टिप्पणीको खेल
चाडपर्वमा गाउँघरमा घुम्ने रोटेपिङ झैं
घुम्छ टिप्पणी
माथिको इशारामा
रोबोटहरूले काखीमुनि च्यापेर गायब पार्छन् टिप्पणी
अनायास भेटिन्छ टिप्पणी
माथि जान्छ टिप्पणी
तल आउँछ टिप्पणी
शुरू हुन्छ अति गोप्य बैठकहरूको सिलसिला
तिनीहरू मात्र दाखिला हुन्छन् बैठकमा
जसलाई गरेको हुन्छ देशले भरोसा
आदेशै आदेशले चुलिएको टिप्पणी
काला
नीला
राता
अक्षरमा भरिएर
पढ्नै नसकिने जस्तो गरी
फेरि माथि पुग्छ
र सम्पूर्ण खेल टुंगिन्छ
जब रोबोटको नायकले
माथि बसेर आदेश दिनेले खोजेकै भाषामा
अन्तिम हस्ताक्षरको किला ठोक्दै लेख्छ:
‘माथिको आदेश बमोजिम सदर’ l
*
माथिको आदेशले विषाक्त बनेको
देश चलाउने संयन्त्र
माथिकै आदेशमा चल्छ
बसउठ गर्छ
टुकटुक हिंड्छ
दगुर्छ
सुस्ताउँछ
स्वर चर्को बनाउँछ
स्वरमा आदर भर्छ
माथिकै आदेशमा खतरा मोल्छ
माथिकै आदेशमा बिटुलिन्छ
र माथिकै आदेशमा चोखिन्छ।
*
माथिको आदेश पालनार्थ
नियुक्त गरिएका
ए इन्टेलिजेन्ट रोबोटहरू !
सबै माथि पुग्नेहरू हुँदैनन् देश र दुनियाँको भरणपोषण गर्ने ‘उपरवाला’
माथि पुगुन्जेल
तिनीहरूले धर्म गुमाइसकेका हुन्छन्
ब्रह्म गुमाइसकेका हुन्छन्
जसले धर्म गुमाएको छ
त्यसलाई कुनै डर हुँदैन
जसले ब्रह्म गुमाएको छ
त्यसको कुनै भर हुँदैन
कमसे कम तिमीहरू
रोबोटको खोलबाट बाहिर निस्केर
यो देशको रखबारी गर
माथि बसेर आदेश दिन पल्केकाहरूलाई
खबरदारी गर!
*
माथिको आदेश त
बेमौसम आउने वर्षातले ल्याउने खहरे जस्तै हो
जसले पहिरोमा पुरिदिन्छ गाउँको सिरान
र तल गाउँको पुछारमा पारिदिन्छ डुबान l
हिमाल दशैं साहित्यका थप सामग्री: