असार २८ मा विश्वासको मत लिन लागेका प्रधानमन्त्रीको पक्षमा कति मत छ?
![असार २८ मा विश्वासको मत लिन लागेका प्रधानमन्त्रीको पक्षमा कति मत छ?](https://himal.softnep.website/uploads/posts/800X600/PuspaKamal-Dahal-1710836129.JPG)
प्रधानमन्त्री पुष्पकमल दाहालले असार २८ गते प्रतिनिधि सभामा विश्वासको मत लिने भएका छन्।
असार २१ गते संघीय संसद् सचिवालयका महासचिवलाई पत्राचार गरेर विश्वासको मत लिने व्यवस्था मिलाउन आग्रह गरेका छन्। सत्ता साझेदार प्रमुख घटक नेकपा (एमाले)ले असार १९ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि दाहालले विश्वासको मत लिन लागेका हुन्। संविधानमा कुनै दलले समर्थन फिर्ता लिएपछि विश्वासको मत लिनै पर्ने बाध्यकारी व्यवस्था छ।
दाहाल नेतृत्वको नेकपा (माओवादी केन्द्र)का ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २१, नेकपा (एकीकृत समाजवादी)का १० र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालका सात सांसद अहिलेसम्म विश्वासको मतको पक्षमा देखिन्छन्। बहुमतका लागि आवश्यक सांसदको संख्या १३८ पुर्याउन प्रधानमन्त्री दाहालले थप ६८ सांसदको समर्थन जुटाउनुपर्ने हुन्छ।
अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी र महन्थ ठाकुर अध्यक्ष रहेको लोकतान्त्रिक समाजवादी पार्टी कांग्रेस–एमाले गठबन्धनमा खुलिसकेका छन्। अन्य दलको निर्णय आईसकेको छैन।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सत्ता गठबन्धन गर्ने सहमति भएसँगै एमालेले दाहाल सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो।