संसद् सचिवालयका कर्मचारीको विरोधले प्रतिनिधि सभाको बैठक स्थगित
![संसद् सचिवालयका कर्मचारीको विरोधले प्रतिनिधि सभाको बैठक स्थगित](https://himal.softnep.website/uploads/posts/800X600/parliament_5-1718801105.jpg)
संघीय संसद् सचिवालयका कर्मचारीको विरोधका कारण प्रतिनिधि सभाको बैठक स्थगन भएको छ।
संसद् सचिवालयका कर्मचारीहरू अतिरिक्त समयमा काम गरेको सेवासुविधा माग गर्दै आन्दोलनमा छन्। उनीहरूले गत जेठ २१ गतेदेखि आन्दोलन जारी राखेका छन्।
यसै क्रममा प्रतिनिधि सभाको बुधबारको बैठकमा पनि कर्मचारीले सांकेतिक विरोध जनाएका हुन्। उनीहरू बेलुका ५ बजेपछि प्रतिनिधि सभाको बैठक यूट्यूबमा प्रत्यक्ष प्रसारण गर्दा सभामुख देवराज घिमिरेलाई मात्रै देखाएका थिए।
प्रतिनिधि सभाको बैठकमा बोलिरहेका सांसदलाई देखाएनन्। दिउँसो पनि उनीहरूले करीब १२ मिनेट यसरी नै सांसदलाई देखाएका थिएनन्।
बुधबार बेलुका सांसदलाई नदेखाएपछि नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सभामुख घिमिरेको ध्यानाकर्षण गराएका थिए। उनले ‘ब्ल्याक आउट’ गरेर संसद् बैठक चलाउन नहुने जिकिर गरेका थिए।
त्यसपछि सभामुख घिमिरेले प्रतिनिधि सभाको बैठकको कार्यसूचीमा रहेका कार्यक्रम ‘विशेष कारण’ हटाइएको जानकारी दिएका थिए। यससँगै सभामुख घिमिरेले प्रतिनिधि सभाको बैठक स्थगन गरेका हुन्।
प्रतिनिधि सभाको अर्को बैठक असार ६ गते बिहान ११ बजे बस्नेछ।
संसद् सचिवालयका कर्मचारीका मागका विषयमा यसअघि पनि सभामुख घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री वर्षमान पुनलाई जानकारी गराएका थिए। यससँगै प्रमुख राजनीतिक दलका प्रमुख सचेतक र सचेतकसँग पनि छलफल गरेका थिए।
तर कर्मचारीको माग पूरा हुन सकेको छैन। उनीहरूले अतिरिक्त समयमा गरेको कामको थप सेवासुविधा पाउनुपर्ने माग गरिरहेका छन्।