सीमापारिको उक्साहट र हस्तक्षेपले भड्किएको त्यो दंगा
![सीमापारिको उक्साहट र हस्तक्षेपले भड्किएको त्यो दंगा](https://himal.softnep.website/uploads/posts/800X600/shiva-gaule-main-1705066454.jpg)
वेलाबखत साम्प्रदायिक दंगाका घटना हुने गरे पनि नेपाली समाज हत्तपत्त मारकाटकै अवस्थामा पुगिहाल्दैन। खुला सिमानाका कारण भारतबाट प्रायोजित अजेन्डा भित्र्याउने र नियोजित ढंगले उचाल्ने काम नहुने हो भने सामाजिक सद्भाव बिथोल्ने घटना भइहाल्दैन।
२६ वर्षअघि नेपालगन्जमा भएको साम्प्रदायिक दंगाको बारेमा रिपोर्टिङ गरेको थिएँ। ‘नेपालगन्ज: धार्मिक कचिङ्गलको विस्फोटक थलो’ शीर्षकको त्यो रिपोर्ट हिमाल द्वैमासिकको २०५४ असार-साउन अंकमा छापिएको थियो।
पञ्चायत ढलेर बहुदलीय व्यवस्था आएको दशक पनि भएको थिएन। नयाँ संविधान भर्खरै कार्यान्वयनमा आएको थियो। दुई वटा आमनिर्वाचनपछि दोस्रो पटकको स्थानीय निर्वाचन चलिरहेको थियो।
नेपालगन्जमा बिहानसम्म शान्तिपूर्ण ढंगले मतदान भइरहेको थियो। नेपालगन्ज नगरपालिकाको वडा नम्बर ९ स्थित महेन्द्र माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गर्न गएका एक मुस्लिम युवालाई उमेर नपुगेको भनेर तत्कालीन शिवसेना नेपालले (जसले हिन्दूत्वको वकालत गर्थ्यो) मतदान गर्न दिएन। त्यस सम्बन्धी विवादले उग्र रूप लिंदा कसैले मतपेटिकामा लात्ती हान्यो। त्यसपछि ढुंगामुढा र तोडफोडले त्यहाँको स्थिति गम्भीर बन्यो।
त्यो विवाद वडा नम्बर ९ मा मात्र सीमित भएन। वडा नम्बर ११ मा पनि होहल्ला शुरू भयो। मुस्लिमहरूले बूथ कब्जा गरे भनेर शिवसेनाको टोली त्यता दौडियो। त्यही वेला भारतबाट आएका चाँद अलीले गोली चलाए।
त्यसपछि अपराह्नसम्म धेरै ठाउँको मतदान स्थगित भयो र स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गर्यो। त्यसबीचमा दुई पक्षबीच ढुंगा प्रहार, गोली हानाहान, घर र पसल जलाउने जस्ता अराजक गतिविधि भइसकेका थिए।
त्यस वेला नेपालगन्जमा धेरै घर र पसलमा तोडफोड र आगजनी गरिए। हप्तौं दिनसम्म कर्फ्यू थियो। कर्फ्यूका बीच दिनहुँजसो जुलूस निस्कन्थ्यो। जुलूसमा अल्लाह अकबर र जय श्रीरामको नारा गुन्जिन्थे।
त्यस वेला खोज पत्रकारिता केन्द्र (खोपके) भर्खरै स्थापना भएको थियो। खोपकेका तत्कालीन सम्पादक राजेन्द्र दाहालले यस विषयमा रिपोर्टिङ गर्नुपर्छ भनेर ‘असाइन’ गर्नुभयो।
फील्डमा जानुअघि रिपोर्टिङ केकसरी गर्ने भन्ने सम्बन्धी छलफलमा कनकमणि दीक्षित, वसन्त थापा र राजेन्द्र दाहाल सामेल हुनुभएको थियो। त्यो छलफलले नेपालमा सामाजिक सद्भावको जग कति संवेदनशील छ भनेर बाँकी समाजलाई जानकारी गराउनुपर्छ भन्ने निष्कर्ष निकाल्यो।
यो रिपोर्टिङ गर्न जानुअघि मसँग यस्तो संवेदनशील विषयमा र लामो रिपोर्टिङ गरेको अनुभव थिएन। रिपोर्टिङ गर्न थालेको ५-६ वर्ष भइसकेको भए पनि यस्ता विषयको गहिराइ र संवेदनशीलता बुझेर कसरी प्रस्तुत गर्नुपर्छ भन्नेमा कमजोर थिएँ। त्यसैले जानुअघि विज्ञहरूसँग कुराकानी गरें। त्यहाँ जाँदा के गर्नुपर्छ र के गर्न हुन्न भन्ने सूची तयार पारेपछि म बस चढेर नेपालगन्ज गएँ।
म नेपालगन्ज पुग्दा पनि कर्फ्यू लागिरहेको थियो। त्यो ठाउँ युद्धपछिको मैदान जस्तै अस्तव्यस्त देखिन्थ्यो। घरहरू जलेका थिए। पसलहरू तोडफोड भएका थिए। मैले जानासाथ जे देखें त्यसलाई शब्दमा उतार्ने प्रयत्न गरें।
शुरूमा घटना भएको विद्यालय गएँ। विवादमा उत्रेका दुवै पक्षलाई भेटें। उमेर नपुगेको भनेर जसलाई मतदान गर्न दिइएको थिएन, ती युवकले आफ्नो भाइको उमेर नै १८ वर्ष कटिसकेको बताए। त्यसपछि उनलाई मतदान गर्न रोक्ने व्यक्तिसँग कुरा गर्दा तिनले अल्पसंख्यकको नाममा अतिरिक्त लाभ उठाउन प्रयत्न गरेको भनेर मुस्लिम समुदायलाई लाञ्छना लगाए।
त्यसपछि कुन मितिमा के के घटना भएको थियो भनेर मैले सिलसिलाबद्ध सूची बनाएँ। तर सूची बनाउन सजिलो थिएन। किनकि हिन्दू पक्षको एउटा तर्क हुन्थ्यो भने मुस्लिम पक्षको अर्कै।
प्रहरी प्रशासनको भनाइ पनि कता कता तटस्थ नभए जस्तो लाग्थ्यो। मैले त्यसैबाट सिकें– सामाजिक सद्भाव बिथोलिने ठूलो घटना भयो भने हाम्रो राज्य पनि धेरै हदसम्म तटस्थ बस्न सक्दैन।
त्यहाँ प्रत्येक समाचार स्रोतले दिएको सूचना अर्को पक्षबाट चेक गर्नु जरुरी थियो। अनि तेस्रो वा तटस्थ पक्षबाट यसको तथ्य परीक्षण गर्नु झन् कठिन काम थियो। ती दुवैका कुरा केलाएर सन्तुलन कायम गर्नु अर्को ठूलो चुनौती थियो। त्यसैले मैले १०० जनाभन्दा बढीसँग कुरा गरें। तीमध्ये केही अन्तर्वार्ता मेरो जानकारीका लागि मात्रै थियो भने केहीलाई समाचारमा उद्धृत गरें। धेरै जनासँग कुराकानी गरेपछि स्टोरीको प्लट बनाउन पनि सजिलो भयो।
रिपोर्टिङका क्रममा मैले संकलन गरेका सूचना अनौठा थिए। जस्तो कि अन्यत्र कर्फ्यू लागेपछि शान्ति-सुरक्षा कायम हुन्छ। तर नेपालगन्जमा कर्फ्यू लागेपछि नै धेरै मुस्लिमका घर र पसल तोडफोड भएका थिए। त्यसले पनि कता कता राज्य संयन्त्र तटस्थ थिएन कि भनेर म शंकालु बन्न पुगें।
त्यस घटनाले असाध्यै विभाजित समाजमा तथ्य पहिचान गर्नु चुनौतीपूर्ण काम हो भन्ने मलाई सिकायो। किनकि यस्ता घटनामा दुवै पक्षबाट भएका गल्ती र ज्यादती के के हुन् र अन्यायमा को परेको छ भन्ने बताइदिने तटस्थ मानिस पाउन मुश्किल हुन्छ।
त्यसैले यस्तो विषयमा तथ्यहरू पर्गेलेर समाचार लेख्दा पनि कसैको पक्षमा लागेको आरोप लाग्ने सम्भावना धेरै हुन्छ। जस्तै- दुई पक्षमा भिडन्त भएको अवस्थामा यो पक्षले गल्ती गर्यो र त्यो पक्षलाई अन्याय भयो भनेर औंल्याउँदा अर्को पक्षले तपाईंको पक्षधरतामाथि प्रश्न गर्छ।
त्यसकारण यस्तो वेला अत्यन्तै संवेदनशील भएर निकै पर्गेलेर तथ्यहरू पहिचान गरेर स्टोरी लेख्नुपर्छ। र, तथ्यका आधारमा को जवाफदेही छ भनेर प्रश्न गर्नुपर्छ भन्ने मैले सिकें। तटस्थ भएर हेर्नुपर्ने र तथ्यमा आधारित भएर प्रश्न पनि गर्नुपर्ने दुईधारे तरबार चलाउने चुनौती पत्रकारका सामु आइपर्छ। यो चुनौती मैले पनि सामना गरें।
एक साताजति नेपालगन्ज बसेर सूचना सामग्री बटुलिसकेपछि रिपोर्टिङको शुरूआत कसरी उत्कृष्ट बनाउने भनेर मनमा कुरा खेलिरह्यो। रिपोर्टिङ त राम्रोसँग गरें, पठनीय बनाउन के गर्ने भन्ने सोच आइरह्यो। त्यो सोचिरहँदा त्यही साँझ दुवैतर्फको साम्प्रदायिक हिंसाले प्रभावित हुने एउटै घर भयो भने स्टोरी रोचक हुन्थ्यो होला भन्ने मनमा लाग्यो। त्यसपछि नेपालगन्जका स्थानीय पत्रकारलाई हिन्दू र मुस्लिमको विवाह भएको एउटै घर छ कि छैन भनेर सोधें।
भोलिपल्ट बिहान थाहा भयो- हिन्दू परिवारकी मुन्नी चौधरी र मुस्लिम परिवारका परवेज अलि सिद्धीकीको नौ वर्षअघि विवाह भएको रहेछ। उनीहरूसँग जसोतसो भेट त भयो तर कुरा गर्न अलि बढी नै मेहनेत गर्नुपर्यो। किनकि त्यस वेला साम्प्रदायिक हिंसाबारे खुलेर कुरा गर्न सजिलो थिएन। उहाँहरूलाई त झनै सजिलो थिएन।
![shiv gaule (5).jpg](https://www.himalkhabar.com/uploads/editor/himal_saptahant/shiva gaule/shiv gaule (5).jpg)
उहाँहरूलाई भेटेपछि मैले स्टोरी यसरी प्रस्तुत गर्छु भनेर सोचेको ढाँचा बलियो भयो। जब नेपालगन्जमा हिन्दू-मुस्लिम दंगा शुरू हुन्छ तब मुन्नी र परवेजको मनमा पीडा हुन्छ किनभने उनीहरूका आफन्तले आफन्तलाई प्रहार गरिरहेका हुन्छन्, आफन्तले आफन्तको घर जलाइरहेका हुन्छन्, आफन्तले आफन्तको घर लुटिरहेका हुन्छन् भन्ने कुरा उहाँहरूको वास्तविक जीवनमा मेल खायो। उहाँहरूले दु:खका साथ भन्नुभयो, “यो साम्प्रदायिक हिंसाले सबैभन्दा बढी पीडित हामी छौं। किनकि अरू घर त एकअर्कामा विभाजित छन्।”
उहाँहरूले साम्प्रदायिक हिंसाबाट एक घरभित्रका दुई सदस्य सबैभन्दा बढी चिन्तित छन् भनेर यति मजाले बताइदिनुभयो कि स्टोरीको प्रस्थानबिन्दु र अन्त्य गर्न ती दुई पात्र भए। कुनै पनि स्टोरी उत्कृष्ट र पाठकलाई पढूँ पढूँ लाग्ने बनाउन स्टोरीको प्रस्थानबिन्दु र अन्त्य महत्त्वपूर्ण हुन्छन् भन्ने मलाई यही स्टोरीले सिकायो।
सामान्यतया विभाजित समाजमा तेस्रो पक्ष खोज्न गाह्रो हुन्छ। विभाजित समाजमा लगभग दुई पक्ष मात्र हुँदा रहेछन्। सम्भवत: नेपालगन्जमा भएको हिन्दू-मुस्लिम दंगाको तेस्रो पक्ष करुणा, सद्भाव, दया र माया थियो। मैले त्यही कुरा देखाउँदा स्टोरीले उत्तेजित समाजलाई सद्भाव कायम गर्न केही हदसम्म सोचमग्न बनायो। किनभने त्यहाँ एक पक्षले अर्को पक्षलाई दया, माया र करुणाको दृष्टिले हेरोस् भन्ने धेरैको चाहना थियो। मैले त्यो तेस्रो पक्षको प्रतिनिधित्व मुन्नी र परवेजमा देखेको थिएँ।
यो रिपोर्टिङ गर्न जानुअघि मैले सामाजिक सद्भाव भनेको के हो, सद्भाव बिथोलिनु भनेको के हो, के कुराले सद्भाव बिथोलिन्छ भन्नेबारे समाजशास्त्री र विषयका जानकारहरूसँग कुरा गरेको थिएँ। उहाँहरूले साम्प्रदायिक सद्भाव बिथोलिंदा तेरो र मेरो, हाम्रो पक्ष र शत्रु पक्ष, हामी र उनीहरू भनेर कित्ताकाट हुन्छ भन्नुभएको थियो। म कित्ताकाटको मनोविज्ञानमा तटस्थ बसेर तथ्यपरक ढंगले विषय खोज्नु र पर्गेल्नु चुनौतीपूर्ण छ भन्ने सोचेर नेपालगन्ज गएको थिएँ।
आठ दिन नेपालगन्ज बसेर काठमाडौं फर्कंदा समाचारको संरचनाको मोटामोटी खाका बनाएको थिएँ। काठमाडौं आएपछि सम्पादक राजेन्द्र दाहाल र वसन्त थापाले समाचारको संरचना र भाषाबारे सल्लाह दिनुभयो। कनकमणि दीक्षितले समग्र रिपोर्टको संरचनाबारे सुझाव दिनुभयो। त्यस वेला अहिले जस्तो कम्प्युटरमा लेख्ने र सम्पादन गर्ने सुविधा थिएन, कागजमा लेख्नुपर्थ्यो। मैले लेखेको तेस्रो कपी चाहिं सम्पादनका लागि योग्य भएको थियो।
सम्पादन भएपछि चाहिं मेरो पत्रकारिता जीवनमा लामो सामग्री तयार पार्दाका चुनौती, यसको संरचना र तथ्यहरू प्रस्तुत गर्दा अपनाउनुपर्ने सावधानीबारे जानकारी पाएँ। सम्पादक दाहालले प्रत्येकजसो वाक्यमा रातो कलमले रेखांकन गरेर प्रश्न गर्नुभएको थियो र मैले जवाफ दिएको थिएँ।
रिपोर्ट छापिएपछि आएका प्रतिक्रियाले मलाई उत्साही बनायो। धेरैजसो प्रतिक्रिया राम्रो भनेर आएको थियो। तर शिवसेनाका मानिसहरूले अल्पसंख्यकप्रति नचाहिंदो सद्भाव राखेर तयार पारिएको रिपोर्ट भनी आलोचना गरे। आलोचनाले मलाई कुनै प्रभाव पारेन। किनभने समाजको ठूलो हिस्सा र नेपालगन्जका तटस्थ मतदाताले यथार्थ रिपोर्ट मानेका थिए। पत्रकारिता क्षेत्रमा पनि लामो सामग्री कस्तो हुनुपर्छ भनेर छलफल गराउन त्यो रिपोर्ट एउटा उदाहरण बन्यो। मलाई व्यावसायिक पत्रकारिता र खोजमूलक समाचारको बाटोमा डोर्याएको पनि यही समाचारले हो।
![shiv gaule (3).jpg](https://www.himalkhabar.com/uploads/editor/himal_saptahant/shiva gaule/shiv gaule (3).jpg)
संवेदनशील विषयमा आवश्यक सावधानी
साम्प्रदायिक दंगाको विषयमा रिपोर्टिङ गर्दा पत्रकारसामु एउटा चुनौती अगाडि आउँछ। एकातिर घटनाको यथार्थ विवरण बाहिर ल्याउनुपर्छ, अर्कातिर सद्भाव पनि कायम राख्नुपर्छ।
तथ्य बाहिर ल्याउँदा सबैलाई प्रिय हुँदैन। यसले कसै न कसैलाई पोल्छ। तर तथ्य पस्किएर सद्भाव पनि कायम राख्नुपर्छ। मेरो विचारमा यसमा पत्रकारको पहिलो ध्यान तथ्य बाहिर ल्याउनमै हुनुपर्छ। सामाजिक सद्भाव दोस्रो कुरा हो। बाहिर ल्याएको तथ्यले नै सामाजिक सद्भाव कायम राख्छ। किनकि पत्रकारले तथ्य ढाँटेर सद्भाव कायम गर्न सम्भव हुँदैन। कसले कसलाई ज्यादती गरेको छ र त्यसको खलपात्र को हो त्यो खुलासा गर्नैपर्छ। पत्रकारले दोषीलाई जवाफदेही बनाएर सामाजिक सद्भाव कायम गराउने हो। यसो गर्दा अतिरञ्जना भयो कि भनेर ध्यान दिनुपर्ने हुन्छ। अनि यस्तो विषयमा तटस्थ समाचार स्रोतहरू पाउने सम्भावना न्यून हुने भएकाले समाचारलाई एकपक्षीय हुनबाट जोगाउन ख्याल गर्नुपर्छ। यति गर्न सकियो भने तथ्य बाहिर ल्याउँदैमा सद्भाव खलबलिंदैन।
नेपालगन्ज दंगामा शिवसेना नेपालले हिन्दूत्वको आडमा मुस्लिम समुदायप्रति राखेको हेपाहा प्रवृत्ति कस्तो थियो भन्ने मैले रिपोर्टमा देखाएको छु। मुस्लिम अल्पसंख्यकलाई मुस्लिम अतिवादीले दुरुपयोग गर्न खोजेको चाँद अलीले चलाएको गोलीबाट देख्न सकिने तथ्य पनि समाचारमा उजागर गरेको छु।
समाचार छापिएपछि तोडफोडमा उत्रनेहरूमाथि मुद्दा चल्यो। तर पछि सहमतिका नाममा कानूनी प्रक्रिया अगाडि बढेन। सम्पत्ति क्षति भएकाहरूले क्षतिपूर्ति पाए कि पाएनन् म अहिले बताउन सक्दिनँ।
त्यसअघि र पछि पनि यस्ता दंगा भड्कने घटना भएका छन्। राणाकालमा एउटा पीपलको रूख काटेको विषयलाई लिएर पनि सामाजिक सद्भाव भड्किएको इतिहास छ। यसले हाम्रो समाज कति जोखिमपूर्ण मनोदशामा रहेछ भन्ने देखाउँछ।
हुन पनि समाज दुई पक्षमा बाँडिएर विवाद चर्किन ठूलो विषय चाहिंदैन। तरकारी बेच्ने हिन्दू र किन्ने मुस्लिम भयो भने पनि सद्भाव बिथोलिएका छन्। कृष्ण जन्माष्टमीमा कृष्णको मूर्ति सेलाउन कुन बाटो जाने भन्ने मतभेदले अप्रिय घटना भएका छन्।
यति हुँदाहुँदै नेपाली समाज हत्तपत्त मारकाटकै अवस्थामा पुगिहाल्दैन। खुला सिमानाका कारण भारतबाट प्रायोजित अजेन्डा भित्र्याउने र नियोजित ढंगले उचाल्ने काम नहुने हो भने सामाजिक सद्भाव बिथोल्ने घटना भइहाल्दैन। यो मामिलामा मेरो गहिरो अध्ययन छैन तर ठूला घटना हेर्दा म यही निचोडमा पुग्छु।
सीमापारिको प्रभाव नभएको घटना थोरै वा अपवादका रूपमा मात्रै पाइन्छ। सीमापारिबाट हिन्दूत्वको नाममा लामो समयदेखि नेपालको सामाजिक सद्भाव बिथोल्ने प्रयत्न भइरहेका छन्। यस्तो प्रयत्न नेपालगन्जको दंगामा पनि देखिएको थियो। त्यस वेला भारतको उत्तर प्रदेशस्थित बलरामपुरमा बस्ने चाँद अली भन्ने व्यक्तिको गतिविधि केलाउँदा नै अरू कसैको उक्साहटमा हामी आपसमा झगडा गर्छौं भन्ने देखिन्छ।
समाजको ठूलो हिस्सालाई कसैको उक्साहटमा हिंसा भड्किरहेको छ भन्ने हामीले राम्ररी बुझाउनुपर्छ। सतही जानकारीका आधारमा म के चाहिं भन्न सक्छु भने अरूको उक्साहट, हस्तक्षेप, लामो हात नहुने हो भने नेपाली समाजमा हत्तपत्त साम्प्रदायिक सद्भाव बिथोलिंदैन।
आमरूपमा हाम्रो समाजमा सामाजिक सद्भाव कायम छ। वर्ण, जात, सम्प्रदाय, भाषा, संस्कृतिको यतिविघ्न विविधता हुँदा पनि नेपाली समाजमा केही त्यस्तो तन्तु छ जसले हामीलाई बलियोसँग जोडेर राखेको छ। यो सद्भाव बिथोल्न वेलाबखत प्रयास हुन्छ। यो प्रयत्नबाट हामी कसैको मोहरा भइरहेका छौं कि? कसैले हामीलाई नाजायज दबाब दिइरहेको छ कि? कसैले हामीलाई प्रयोग गरिरहेको छ कि? हामीले समाजलाई यो बुझाइरहनुपर्छ।
समाजमा सद्भाव भए पनि भिन्न समुदायका बीचमा विषयगत विवाद-मतहरू छन्। ती विवादमा खेल्न खोज्ने विभिन्न पक्ष हुँदा रहेछन्। त्यसमध्ये आन्तरिक पक्ष राजनीतिक दल हुन्, जसले निर्वाचनका वेला जनतालाई मतदाता बाहेक केही देख्दैनन्। आफ्नो दलको पक्षमा मत प्रयोग गर्न उनीहरू यस्ता मामलामा जेसुकै निर्णय गर्न सक्छन् भन्ने नेपालगन्जको रिपोर्टबाट देखिन्छ।
आमरूपमा समाजले यो कुरा बुझेको छ। यसलाई वेलाबखत बिथोल्न खोज्ने कतिपय तत्त्व यहाँ अस्तित्वमा छन्। त्यस्ता शक्तिको चलखेल झन् झन् बढिरहेको भान हुन्छ। तर आपसमा मिलेर बस्ने हाम्रो इतिहास र संस्कृति भएकाले त्यसभित्र खेल्न खोज्दैमा उनीहरू सफल हुन्छन् भन्ने लाग्दैन।
![shiv gaule (7).jpg](https://www.himalkhabar.com/uploads/editor/himal_saptahant/shiva gaule/shiv gaule (7).jpg)
अल्पसंख्यक, सीमान्तीकृत, बहिष्करणमा पारिएका र संविधानले संरक्षण गर्नुपर्ने भनेर परिभाषित गरेका समुदायले आफूमाथिको विभेद विरुद्ध असन्तुष्टि व्यक्त गर्छन्। त्यो असन्तुष्टिलाई देखाएर सामाजिक सद्भाव बिगार्ने प्रयत्न भयो भनेर अर्थ लगाउन मिल्दैन। प्रतिनिधित्व, सहभागिता, पहिचानको कुरामा राज्यका स्रोतसाधन र शक्तिको न्यायोचित वितरण हुनुपर्छ भन्नु सद्भाव बिगार्नु होइन। ती समुदायले आफ्नो हकअधिकार खोज्दै प्रश्न गर्दा त्यसलाई साम्प्रदायिक सद्भावसँग जोडेर कुनै समुदायको मानमर्दन गर्नबाट पत्रकार जोगिनुपर्छ। बहुसंख्यक, धर्म-संस्कृति वा वर्चस्वको आडमा कसैले कसैमाथि ज्यादती गरेको छ भने त्यसलाई ज्यादती नै भन्नुपर्छ र जवाफदेही बनाउनुपर्छ।
सामाजिक सञ्जालमा मानिसहरूले व्यक्तिगत रूपमा विचार व्यक्त गर्दा कहिलेकाहीं सीमा नाघेर सद्भाव बिथोल्ने काम हुन सक्छ। अहिले प्रत्येक पाठक, स्रोता र दर्शक आफैंमा सानो-ठूलो मिडिया हो। उनीहरूले सामाजिक सञ्जालमा केही न केही लेखिरहेका हुन्छन्। तर जिम्मेवार पाठकले विषयवस्तु कस्तो हो र त्यसको विश्वसनीयता कति छ भनेर परीक्षण नगरी त्यसमा प्रतिक्रिया लेख्न र शेयर गर्न हुँदैन। सञ्चारमाध्यमले पनि विवेक प्रयोग गरेर सामग्री तयार गर्नुपर्छ, गल्ती भएमा तुरुन्तै सच्याएर क्षमा माग्नुपर्छ र सकेसम्म गल्ती हुन नदिने अभ्यास गर्नुपर्छ।
सीमा र कमजोरी
पछिल्लो समय भएका यस्ता घटनाको सत्यतथ्य बाहिर ल्याउन मिडियाहरू चुकेका हुन् कि भन्ने सुनिन्छ। हाम्रो मिडियाको सूचनाको संस्थागत क्षमता कमजोर हुँदै गएकाले यस्तो भएको हो। सञ्चारगृहमा १०० वर्षको इतिहास जान्न दस्तावेज खोज्नु त अनौठो भएन तर पछिल्लो ३० वर्षको इतिहासबारे पनि हामीसँग संस्थागत स्मृति हुन छाड्यो। त्यो थाहा पाउन पनि दस्तावेज नै खोज्नुपर्ने भयो। त्यसमाथि पनि हामीसँग पुस्तकालय, अभिलेखालय र संग्रहालय व्यवस्थित नभएकाले दस्तावेज सहजै पाउन गाह्रो छ। यो स्थितिमा गूगलमाथि निर्भर हुँदा सधैं सही सूचना पाइन्छ भन्ने हुँदैन।
हामीकहाँ राम्रो रिपोर्ट उत्पादन गर्न पत्रकार र रिपोर्टमाथि लगानी छैन। एउटा पत्रकारले नियमित सेवासुविधाको भरमा राम्रो स्टोरी गर्नुपर्ने बाध्यता छ। त्यसकारण देशलाई चाहिने र समाजका लागि दीर्घकालीन महत्त्व हुने विषय र सामग्री सञ्चार माध्यम तथा पत्रकारको प्राथमिकतामा परेको छैन।
अहिले काम गरिरहेका धेरै युवा पत्रकारमा पत्रकारिता पेशा मात्रै हो कि एउटा अभियान पनि हो भन्नेमा द्विविधा छ। हामी चाहिं लामो समयदेखि पत्रकारितालाई पेशा बनाएर तर पेशा नभनी आएका पत्रकार भयौं। पत्रकारिता क्षेत्रमा प्रवेश गर्दै गर्दा यसबाट राम्रो सेवासुविधा पाइएला र यसमा लागेपछि जीवनस्तर राम्रै होला भन्ने हामीलाई लागेको थिएन।
पत्रकारिता समाज र प्रणालीका निम्ति एक खालको आन्दोलन हो। पत्रकारिता गर्दा सूचना र समाचारसँग रमाउन पाइन्छ भनेर हामी लाग्यौं। तर पछिल्लो पुस्ता चाहिं पत्रकारिता पेशा हुन सक्छ कि सक्दैन, पत्रकारिता गर्दा र यो बाहेकको पेशा गर्दा लाभहानि के हुनसक्छ भन्ने मनोदशाबाट गुज्रिरहेको छ। उनीहरूमा पत्रकारिता गरिरहने कि आफैं सञ्चारमाध्यम खोलेर चलाउने भन्ने द्विविधा पनि देखिन्छ। त्यस्तै, पत्रकारितामा त लागियो, असाध्यै राम्रो हुने सम्भावना छैन तर अब छाडेर कहाँ जाने भन्ने द्विविधामा युवा पत्रकार देखिन्छन्।
मलाई के लाग्छ भने, पत्रकारिताले तपाईंलाई प्राथमिक सूचनासँग रमाउने सुविधा उपलब्ध गराउँछ। समाजमा भइरहेका प्रत्येक गतिविधि नियालेर तपाईं स्टोरी र विचार लेख्न सक्नुहुन्छ, जसको धेरै ठूलो प्रभाव हुन्छ। तपाईंले गरेको काम तत्कालका लागि स्टोरी हो, भविष्यका लागि इतिहास लेखन पनि हो। तमाम अभावका बीच पनि एउटा व्यावसायिक पत्रकार रमाउने यसैमा हो।
![shiv gaule (8).jpg](https://www.himalkhabar.com/uploads/editor/himal_saptahant/shiva gaule/shiv gaule (8).jpg)
पछिलो समय लेखिएका राम्रो रिपोर्टमा पाठकको सहभागिता र हस्तक्षेप बढेको देखिन्छ। पाठकको हस्तक्षेप बढेपछि सम्पादक या पत्रकारको एकाधिकार पनि तोडिएको छ। सामाजिक सञ्जालमा ठूलो सङ्ख्यामा पाठक पत्रकार सँगसँगै हिंडिरहेका हुन्छन्। प्रस्तुत गरिएका समाचार सामग्रीमाथि पाठकको प्रतिक्रिया, हस्तक्षेप र सहभागिता बलियो हुँदा पत्रकारहरूको दृष्टिकोण र अवधारणा माझिन्छ पनि।
अहिले पाठकको सहभागिता बढे पनि गुणात्मक प्रतिक्रिया भने खासै आउँदैन। विगतमा समाचारको अर्को पाटो पनि छ भनेर कसैले लेखेको एउटा पाठक प्रतिक्रियाले पत्रकार थला नै पर्थे। तर अहिले त्यस्तो गुणात्मक प्रतिक्रिया कम देख्छु।
समाचार स्रोतमा अधिक विश्वास घातक
२०५८ मंसीर ८ गते माओवादीले दाङको घोराही ब्यारेक कब्जा गरेपछि देशमा संकटकाल लागू भएको थियो। माओवादी द्वन्द्वको पृष्ठभूमि हेर्दा २०५२ देखि २०५८ सालसम्म संकटकाल लाग्ने तहको घटना भएको थिएन। घोराहीमा आक्रमण भएको १० दिनपछि म त्यहाँ पुगेर रिपोर्टिङ गरेको थिएँ। त्यस वेला ‘आधारशिविर दाङ’ भनेर मेरो रिपोर्ट छापिएको थियो। त्यसपछि माओवादी विरुद्ध राज्य संगठित भएर लागेको थियो। माओवादी द्वन्द्वको एउटा ‘टर्निङ पोइन्ट’ को स्टोरी हो त्यो। त्यसपछि म माओवादीसँग जोडिएका स्टोरी गर्न रुकुम, रोल्पा र जाजरकोट धेरै पटक हिंडेको छु।
नेपालको स्वास्थ्यको गुणस्तरबारे बारम्बार प्रश्न उठ्छ। यही विषयमा मैले ‘डाक्टरको भेषमा ज्यानमारा’ स्टोरी लेखेको छु। त्यसमा करीब एक महीना फलो गरेर ‘क्वाक’ अर्थात् नक्कली डाक्टरहरूले कसरी अपरेशन थिएटरसम्म पहुँच पाउँछन् र निर्दोष नेपालीहरूको हत्यासम्म गर्न पछि पर्दैनन् भनेर लेखेको थिएँ। नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भोजराज जोशीले नक्कली डाक्टरले अपरेशन गर्दा एनेस्थेसिया दिनुभएको रहेछ। फलो गर्दै जाँदा नक्कली डाक्टरलाई काउन्सिलबाट लाइसेन्स पनि उहाँले नै दिनुभएको भेटियो। अर्को रमाइलो कुरा, उहाँ त्यो स्टोरी छापिएको वेला ‘चिकित्सा क्षेत्रमा नक्कली डाक्टरको प्रवेश’ विषयक गोष्ठीमा सहभागी हुन विदेश जानुभएको रहेछ। उहाँ नफर्कंदै उहाँको पद गयो। तर उहाँलाई ज्यान मुद्दा लगाइएन। नक्कली डाक्टरलाई भने सम्भवत: नक्कली नागरिकता र राहदानी बनाएको सहित मुद्दा चलाइएको थियो।
त्यस्तै, मैले राजस्वको नक्कली स्टिकरबारे पनि स्टोरी गरेको थिएँ। सिंहदरबारभित्रै रहेको मुद्रण विभागले राजस्वको नक्कली स्टिकर छाप्दो रहेछ। त्यो घटना राजस्वले श्री डिस्ट्रिलरीको मदिरा बोकेको ट्रक थानकोटभन्दा मुनि बरामद गरेपछि सार्वजनिक भएको थियो। त्यो ट्रकमाथि आन्तरिक राजस्व कार्यालयले २०/२२ दिनसम्म छानबिन गरेको थियो र मैले हरेक दिन त्यस घटनालाई पछ्याएको थिएँ। त्यो छानबिनबाट ती मदिरामा टाँसेका स्टिकर नक्कली रहेको र त्यो नेपाल सरकारको प्रेसमा छापिएको थियो भन्ने पुष्टि भएको थियो। पछि श्री डिस्टिलरीमाथि करीब ८४ करोड रुपैयाँ राजस्व छली भएकोमा मुद्दा दायर भयो।
२०६४ सालमा ‘सर्वोच्च अदालतमा घूस’ भन्ने रिपोर्ट गरेको थिएँ। त्यो रिपोर्टमा अदालतका कर्मचारी र मुद्दाको पक्षले आफ्नो न्यायाधीशको बेन्चमा मुद्दा पारेर कसरी आफ्नो पक्षमा फैसला गराउँछन् भन्ने तथ्य उजागर भएको थियो। अदालतमा कसरी पैसाको चलखेल हुन्छ भन्ने तथ्य रिपोर्टमा समेटिएको थियो। त्यसमा कुनै एउटा मुद्दाको पक्ष राजेश श्रेष्ठ भन्ने व्यक्ति र सर्वोच्च अदालतका कर्मचारी बाबुराम दाहालबीचको कल रेकर्ड ब्रेक गरिएको थियो। यसमा रमाइलो के छ भने, अर्को सञ्चार संस्थाका एक पत्रकारले आफ्नो सञ्चारगृहले त्यो रिपोर्ट छाप्छ भन्ने विश्वास नभएपछि त्यो सूचना मलाई उपलब्ध गराएका थिए।
यो रिपोर्ट मेरो पत्रकारिता जीवनमा असाध्यै ठूलो पाठ पनि भयो। त्यसमा मैले लेखेको एउटा वाक्य गलत भएकाले भोलिपल्टै क्षमा माग्नुपरेको थियो। त्यो मुद्दा तत्कालीन प्रधानन्यायाधीश दिलीपकुमार पौडेलले फलानो बेन्चमा पार्ने काम गरेका थिए भन्ने भाषा लेखियो। एक वरिष्ठ अधिवक्ताले पुष्टि गरेपछि मैले त्यो लेखेको थिएँ। तर उक्त मुद्दा चलेको वेला प्रधानन्यायाधीशमा पौडेल हुनुहुँदो रहेनछ।
कहिलेकाहीं समाचार स्रोतलाई अति विश्वास गर्दा गल्ती हुन्छ भन्ने पाठ मैले यही रिपोर्टिङबाट सिकें। त्यो विषयमा ममाथि मुद्दा परेको थियो तर अदालतले गलत नियत देखिएन भनेर सफाइ दियो।
मैले पत्रकारिता यात्राबाट के सिकेको छु भने, समाचारका स्रोत, समाचारको क्लू र ती स्रोतबाट प्राप्त हुने सूचनाको तथ्य परीक्षण गर्ने काममा इमानदारीपूर्वक लागेर विवेक प्रयोग गरी काम गरेमा धेरै तथ्यगत त्रुटि हुँदैनन् र रिपोर्टलाई समाजले ग्राह्य मान्छ। साथै, रातारात हाइहाइ खोज्ने प्रवृत्तिबाट जोगियो भने कामले नै पहिचान दिन्छ र स्थापित पनि गर्छ। मैले प्रशस्त स्टोरीमा क्रेडिट पाएको छु। यसका लागि अतिरिक्त प्रयत्न गर्नुपरेको छैन।
(पत्रकार गाउँलेसँग सागर बुढाथोकीले गरेको कुराकानीमा आधारित। सम्पादन : जीवन कार्की, भाषा : प्रद्युम्न खनाल)
त्यो रिपोर्टका थप सामग्री :