“म ‘पर्फेक्सनिस्ट’ होइन, छरिएको लेखक हुँ”
![“म ‘पर्फेक्सनिस्ट’ होइन, छरिएको लेखक हुँ”](https://himal.softnep.website/uploads/posts/800X600/dhruba-chandra-gautama-main-1703236044.jpg)
‘जति मोटो लेखियो, त्यति महान् मानिन्छ भनेको भए मोटा मोटा नै लेखिन्थ्यो होला। त्यो त होइन। उपन्यासले माग्ने जति आयतन दिने हो। अनावश्यक तन्काउन त कुनै पनि इमानदार लेखकले चाहँदैन।’
आख्यानकार ध्रुवचन्द्र गौतम यही पुस २ गते ८१ वर्षमा टेके। लेखनमा अझै युवाकालीन जोश छँदै छ। २०२४ सालमा पहिलो उपन्यास अन्त्यपछि आख्यान लेखनमा केन्द्रित उनका उपन्यासको संख्या २९ पुगिसकेको छ। यसबीच अलिखितले २०४० सालमा मदन पुरस्कार पायो।
२०७९ असारमा सातो उपन्यास बजारमा ल्याएका उनले करीब एक वर्षमै गत भदौमा अर्को उपन्यास जडाउरी प्रकाशन गरे। पछिल्ला उपन्यास, लेखनकर्म, आख्यान लेखनको पुस्तान्तरण आदिबारे हिमालखबरको प्रस्तुति किताबका कुरामा लेखक गौतमसँग महेश्वर आचार्यले गरेको कुराकानी :
गत वर्ष तपाईंले सातो उपन्यास प्रकाशन गर्नुभयो। यो उपन्यास लेख्न केले घचघच्यायो?
सातो बोलाउने चलनलाई मैले भन्न खोजेको कुरासँग जोडेर मिथकीय स्वैरकल्पनाको कथा बुनेको हुँ। अहिलेको समाजका कथाहरू जे छन् तिनलाई भन्ने माध्यम यो पनि हो जस्तो लागेर सातोलाई उपयोग गरेको हुँ।
सातोको मूल पात्र जन्मँदै १६ वर्षे मानसिकताको हुन्छ तर एकाएक संवेदनाशून्य हुन पुग्छ। के यहाँलाई समाज संवेदनाशून्य हुँदै गइरहेको लागेको छ?
यो त पाठकले भन्ने कुरा हो। लेखकका रूपमा कति भन्छु भने यो जलवायु परिवर्तन वा जुनसुकै अप्राकृतिक परिवर्तनको कुरा हामी समाचारमा सुनिरहेछौं, त्यसले हाम्रो विगतको रूटिन फेरिएको छ। समाचारमा आएको अर्को कुरा- देशले कर्मचारीलाई तलब खुवाउन ऋण लिइरहेको छ, बजारव्यवसाय चौपट छ। यी सब घटनाक्रम बढ्दै जाँदा हामी सबैको सातो रहन्छ वा जान्छ भन्न सकिन्न।
सातो उपन्यास बजारमा आएको करीब एक वर्षमै जडाउरी उपन्यास प्रकाशन गर्नुभयो। ८१ वर्षको उमेरमा पनि लेखनमा यस्तो जाँगर कसरी?
हालै नर्भिक अस्पतालमा डा. भरत रावतकहाँ जँचाउन गएको थिएँ। उहाँ मेरा पहिल्यैदेखिका डाक्टर हुनुहुन्छ। विभिन्न जाँचका रिपोर्ट आएपछि गएर सोधें, “क्या हे डाक्टरसाहेब इसमे?” उहाँले भन्नुभयो, “जो भी हे सब ठीक हे। लेकिन आपको थोडा पाउसे चलना पडेगा।” मैले भनें, “हात चलते हे, पाउ नही चल रहा। क्या करें?” शायद हात चलिरहने भएकैले मेरो लेखनी चलिरहेछ।
![dhrub chandra gautam (3).jpg](https://www.himalkhabar.com/uploads/editor/himal_saptahant/dhruba chandra gautam/dhrub chandra gautam (3).jpg)
तपाईंका उपन्यासका शीर्षक नै घतलाग्दा हुन्छन्। कसरी गर्नुहुन्छ शीर्षक चयन? सातो चाहिं कसरी जुराउनुभयो?
समाजमा केटाकेटीको ‘सातो बोलाउने’ चलन छ। सातोमा त्यही चलन शीर्षक बन्न पुग्यो।
लेख्दै जाँदा कथा, उपन्यासले नै दिने हो शीर्षक। पहिल्यै शीर्षकले तानेर लेख्ने भन्ने हुँदैन। कुनै पनि कुरा आफूलाई आएपछि नै लेख्न थाल्ने हो। ओहो! धेरै भएछ नलेखेको भनेर लेखिने होइन। मैले कथा नलेखेकै कति भयो! नाटक त लेख्नै छोडिसकें। नआएपछि किन लेख्नु? शीर्षक पनि आफूलाई उपयुक्त लागेपछि नै लेखिने हो।
कहिलेकाहीं जति प्रयास गर्दा पनि शीर्षक आउँदैन। अरूले सुझाएका पनि छन्। कुनै वेला त्रिभुवन विश्वविद्यालयले देउराली पत्रिका निकाल्थ्यो। विश्वकेशर मास्के सम्पादक थिए। मैले उनलाई एउटा कथा दिएँ तर शीर्षक जुराउन सकिनँ। मास्केले नै जुराइदिए- ‘अर्को एक साँझ’।
आफैैंले जुराएका शीर्षकमा पनि सातो र डापी लगायतका झट्टै आएका हुन्। खासगरी संस्मरण वा कथामा शीर्षक जुराउन गाह्रो परेको मेरो अनुभव छ। ‘रूसतिर रुमल्लिँदा’ यात्रा संस्मरणको शीर्षक साहित्यकार महेन्द्र गुरुङले राखिदिनुभएको हो। ‘जर्मनी : नयाँ आँगनमा टेक्दा’ डा. गोविन्दराज भट्टराईको शीर्षक हो।
तपाईंले आफ्नो संस्मरणमा सुहाउँदो प्रतीक नफुरेर लेखन अड्किएको र एक्कासि ‘भकुन्डे ढुंगा’ को प्रतीक मनमा आएपछि लेखन अघि बढेको प्रसंग राख्नुभएको छ। त्यो अनुभव के थियो?
लेख्न बसेपछि नसकियुन्जेल खानेसुत्ने एकै ठाउँ हुन्छ मेरो। दिमागले हरघडी त्यही मात्र सोचिरहन्छ। यहाँले भन्नुभएको घटना वीरगन्जमा छँदाको हो। त्यो घर अहिले छैन। एउटा उपन्यास लेख्दै थिएँ। त्यसमा जसले मानव स्वतन्त्रतालाई फोर्न वा निमिट्यान्न गर्न खोज्छ त्यसको हानि हुन्छ भन्ने कुरा कलात्मक रूपमा व्यक्त गर्न चाहन्थें। तर त्यो कलात्मकता आइरहेको थिएन।
पिंढीमा सुतेर घोत्लँदै थिएँ। रातको दुई बजेतिर मनमा ‘भकुन्डे ढुंगा’ सुझ्यो। ढुंगाले लाग्दा टाउको फोर्छ तर त्यो भकुन्डो जसरी फर्केर आउँदैन। भकुन्डो ठोक्किएर फर्केर त आउँछ तर टाउको फोर्दैन। अनि लाग्यो, ओहो यही त सही कुरा हो।
यस्तो कहिलेकाहीं हुन्छ। सिर्जना त्यति सजिलो हुँदैन। हुन त कति मान्छेले लेखनलाई हल्का रूपमा लिन्छन्। ‘ए तपाईं उपन्यास लेख्नुहुन्छ, कथा लेख्नुहुन्छ, के लेख्नुहुन्छ तिनमा?’ भनिदिन्छन्। तर यी सब घटना जो भोगिएको छ, कति हुन्छ कति। कुनै पनि रचना लेखिसकेर बिट नमारुन्जेल पीडादायक नै हुन्छ।
त्यस्तो पीडा तपाईं अहिले पनि बेहोरिरहनुभएकै छ, होइन?
छ, त्यस्तो भइरहेकै छ। तपाईंले मैले के लेखिरहेको छ भनेर सोध्न खोज्नुभएको हो? त्यो त अहिल्यै के बताउनु?
![dhrub chandra gautam (7).jpg](https://www.himalkhabar.com/uploads/editor/himal_saptahant/dhruba chandra gautam/dhrub chandra gautam (7).jpg)
यसैमा मैले नेपाल मुद्रण व्यवसायी संघले आयोजना गरेको पाण्डुलिपि प्रतियोगिता पनि जोड्न चाहें। तपाईंले ४५ दिनमै पाण्डुलिपि लेखेर बुझाउनुभएको थियो नि?
सही हो। सो संस्थाले डेढ महीना समय दिएर पाण्डुलिपि माग गर्यो। मसँग अहिले विषय अलि कम भयो, त्यो वेला विषयको दुःख थिएन। डेढ महीनामा कतिले सक्लान् र भन्ने पनि लाग्यो। लेखिसकेर तोकिएकै मितिमा बुझाइदिएँ। छापियो पनि। अरूको पाण्डुलिपि आयो/आएन वा आएर पनि मेरै किन छानियो, केही जान्दिनँ। त्यो वेलामा निकै उत्साह-ऊर्जा थियो, अहिले सबै कुरा कम हुँदै छ।
यसको अर्थ लेखनमा लेखकको वय र स्वास्थ्यस्थितिले पनि प्रभाव पर्दो रहेछ भन्ने हो? अमेरिकी लेखक पिलिप रोथले ‘जीवनभर लेखियो, अब कति लेख्नू’ भन्दै ८० वर्षमा लेखनबाट सन्न्यास लिएको घोषणा गरे। तपाईं लेखनलाई श्वासप्रश्वाससँग तुलना गर्नुहुन्छ। बुढ्यौली र मृत्युचेत झल्काउने ‘प्रिक्लोन-६०’ कथा पनि लेख्नुभएको थियो।
त्यसो त ‘६० वर्षमा हृदयाघात’ पनि लेखेको छु। त्यो मलाई हृदयाघात भएर लेखेको होइन नि। ‘प्रिक्लोन-६०’ पनि मृत्युचेतको कथानक प्रसंग मात्र हो। कस्तो हुँदो रहेछ भने कुनै कुनै अनुभवबाट आफैं गुज्रिइएको होइन्छ। कुनै अनुभव अरूको भए पनि आफ्नै जस्तो बनाएर लेखिन्छ। नत्र त हामीले स्वास्थ्यको कुरा लेख्नै भएन। आफैं रोगी भएको मान्छेले के लेख्नु? तर लेखनमा त्यस्तो हुँदो रहेनछ।
लेखनबाट अवकाश लिने मैले सोचेको छैन। प्रकृतिले नै गरायो भने अवकाश होला पनि। कहिल्यै बलजफ्ती लेख्ने प्रयास गरिनँ, अब झन् किन गरूँ? मैले थपे पनि म यत्तिकै हुने हुँ। नथपे पनि यत्ति चाहिं रहेकै छु। लेख्न सकुन्जेल नलेख्नु त आफैं अनि पाठकप्रति पनि अन्याय हुन जान्छ।
तपाईंको पहिलो उपन्यास २०२४ सालमा रूपरेखामा छापियो। सिंगो उपन्यास नै पत्रिकामा छाप्ने चाँजोपाँजो कसरी मिलेको थियो?
२०२३ सालतिर भर्खर भर्खर लेखकका रूपमा परिचित हुँदै थिएँ। तत्कालीन रत्नराज्य गर्ल्स कलेजमा पढाउँथें। रूपरेखाका सम्पादक उत्तम कुँवरले एक दिन सिंगो उपन्यास नै रूपरेखामा छाप्ने योजना सुनाउँदै त्यो अवसर मलाई प्राप्त हुने सम्भावना रहेको बताउनुभयो। रूपरेखामा २०२० सालमै मेरा कविता र कथा छापिइसकेका थिए। एउटा उपन्यास लेखिरहेको थिएँ। २०२३ सालमै झापामा भएको साताव्यापी लेखक सम्मेलनमा त्यसको पाण्डुलिपि समेत लगेको थिएँ। अरू सुतेका वेला राति राति लेख्थें। यसरी ठीक समयमा पाण्डुलिपि बुझाएँ र रूपरेखामा अन्त्यपछि प्रकाशन भयो।
नयाँ लेखक भएकाले त्यो अवसर पाएको थिएँ। रूपरेखाले त्यसरी सिंगो रचना छापेको त्यो पहिलो हो। त्यसपछि दुई-तीन अरू लेखकका पनि छापिए। रूपरेखा त्यो वेलाको नाम चलेको नेपाल प्रेसमा छापिन्थ्यो। सोही प्रेसमा उक्त उपन्यास अलग्गै किताबका रूपमा पनि छाप्ने तयारी थियो तर छापिएका फर्माहरू हराए। पछि आफैं छपाएँ।
![dhrub chandra gautam (6).jpg](https://www.himalkhabar.com/uploads/editor/himal_saptahant/dhruba chandra gautam/dhrub chandra gautam (6).jpg)
यहाँका दुई दाजु धच गोतामे र गोपाल गोतामे पनि पत्रकारिता र साहित्यका परिचित व्यक्तित्व हुनुहुन्छ। साहित्यमा धच गोतामेको सम्मानित उचाइ छ। उहाँको लेखन कौशलको प्रभाव तपाईंमा कस्तो रह्यो?
मेरा तीनै दाइ पत्रकारितामा संलग्न हुनुभयो। बुवा पनि लेखपढमा रुचि राख्नुहुन्थ्यो। घरमा विभिन्न पत्रिका ल्याउनुहुन्थ्यो। साहित्यिक रूपमा उहाँहरू सबै मेरा अभिभावक हुनुहुन्छ।
यहाँले भन्नुभए जस्तै धनुषचन्द्र गौतमको पूरै लेखन गजब लाग्छ मलाई। जे चाहनुहुन्छ, त्यो पूर्णतासँग दिनुहुन्छ। उहाँ ‘पर्फेक्सनिस्ट’ हो। दाजुको बाटोमा हिंडेर उहाँ जति हुन सक्दिनँ भन्ने लाग्यो होला वा अन्य केही होला, त्यसैले मेरो बाटो अलग रह्यो। तर सफल बाटो त उहाँकै हो। उहाँ हामीलाई कति चरित्रका बारेमा बताउनुहुन्थ्यो। फलानो मान्छे फलानो चरित्र हो भन्नुहुन्थ्यो। उहाँको प्रभाव त शुरूदेखि नै पर्यो।
दाजुभाइबीच एकअर्काले लेखेको सुनाउने, प्रतिक्रिया लिनेदिने काम कत्तिको हुन्थ्यो?
दाजु त आफूले लेखेको पहिल्यैबाट जम्मै सुनाउनुहुन्थ्यो। हाम्रो प्रतिक्रिया पनि लिनुहुन्थ्यो। घामका पाइला लेखिरहँदा गोपाल दाइको बरन्डामा बसेर हामीलाई एक-दुई घण्टा नै सुनाउनुहुन्थ्यो। यसरी सुन्ने/सुनाउने छलफल गर्ने कार्यलाई हामी ‘दंगल’ भन्थ्यौं।
दाइहरू नलेखेको प्लटको कथा पनि सुनाउनुहुन्थ्यो। मलाई चाहिं खोइ किन हो, सुनाउने आँट आएन। यो अहिले चल्ने खालको लेखन होइन भनेर हो वा अरू कुनै संकोचले।
धच दाइको निधनपछि लेखेको लेखमा मैले उहाँलाई नेपाली साहित्यको पेले भनेको छु। पेलेले ब्राजिललाई विश्वकप फूटबल तीन पटक जिताउने प्रतिज्ञा गरेका थिए, जिताएरै छाडे। धच दाइ पनि घामका पाइला लेख्दै गर्दा यस पटकको मदन पुरस्कार लिएरै छाड्छु भन्नुहुन्थ्यो, लिनुभयो पनि। त्यो उहाँको आत्मविश्वास थियो।
अन्तिममा उहाँ ‘अग्राखका पालुवा’ लेख्दै हुनुहुन्थ्यो होइन?
केही अंश लेखिसक्नुभएको थियो तर पूरा हुन पाएन। यस बाहेक अर्को एउटा राम्रो विषयमा पनि लेख्ने सोचिरहनुभएको थियो। समय पाउनुभएको भए लेखिसक्नुहुन्थ्यो र जम्मै उत्कृष्ट हुन्थे। म चाहिं उहाँ जस्तो ‘पर्फेक्सनिस्ट’ होइन, छरिएको लेखक हुँ।
दाजुहरूले चाहिं तपाईंको लेखन छापिएपछि मात्रै थाहा पाउने हो?
हो, मेरो प्रयास त्यही हुन्थ्यो। पछि यदाकदा साथीहरूलाई चाहिं सुनाउने गरिन्थ्यो। पारिजातलाई अन्त्यपछिको पाण्डुलिपि पढ्न दिएको थिएँ। त्यसरी पूरै पाण्डुलिपि पढ्न दिएको उहाँलाई मात्र हो। त्यसमा बौद्धिकता धेरै भएको टिप्पणी गर्नुभएको थियो। त्यो राम्रै टिप्पणी थियो। उपन्यास थियो नै त्यस्तै। अरूलाई भने त्यसरी दिनेवर्ने गरिएन।
पारिजातले पनि तपाईंलाई आफ्नो पाण्डुलिपि पढ्न दिनुहुन्थ्यो?
अहँ, त्यस्तो भएन। लेखेर त्यसको सार चाहिं सुनाउनुहुन्थ्यो कहिलेकाहीं। पछिसम्म पनि उहाँसँग राम्रो सम्बन्ध रह्यो, मेरो ‘बेस्ट फ्रेन्ड’ नै हो। त्यस बाहेक प्रेमा शाहहरूसँग पनि लेखकीय सम्बन्ध थियो। उहाँले मलाई चिठी पनि लेख्नुभएको थियो, अहिले हरायो।
आफूसँग असुरक्षित होला भनेर अरूलाई राख्न दिएको, उसैले हराइदियो। जगदीशशमशेर, इन्द्रबहादुर राई आदिका चिठी पनि थिए। ती चिठीको चाङ बरु मदन पुरस्कार पुस्तकालयमा दिएको भए सुरक्षित हुने रहेछ। उति वेला संकोच लाग्यो होला।
![dhrub chandra gautam (2).jpg](https://www.himalkhabar.com/uploads/editor/himal_saptahant/dhruba chandra gautam/dhrub chandra gautam (2).jpg)
तपाईंलाई साह्रै घत परेको उपन्यास कुन हो?
विश्वमा कसैलाई पनि एउटै उपन्यास राम्रो भनेर भन्न कठिन नै हुन्छ।
बीपी बनारसमा निर्वासनमा छँदा भुवन ढुंगानाहरू सहित भेट्न गएका थियौं। दिउँसोभर त्यहीं बसेर खानपान, छलफल गरियो। उहाँलाई सोधेको थिएँ, “तपाईंलाई सबैभन्दा मन पर्ने आफ्नो उपन्यास कुन हो?”
उहाँले मलाई नै प्रतिप्रश्न गर्नुभयो, “तपाईंलाई कुन मन पर्छ?”
“मलाई त नरेन्द्र दाइ मन पर्छ,” मैले भनें।
“मलाई पनि नरेन्द्र दाइ नै मन पर्छ,” उहाँले जवाफ फर्काउनुभयो।
उहाँ श्रेष्ठ लेखक हुनुहुन्छ, शंका छैन। उहाँले मेरो मन राख्न त्यसो भन्नुभयो वा साँच्चै भन्नुभयो म भन्न सक्दिनँ। तर अहिले भए त्यस्तो प्रश्न गरिंदैनथ्यो। लेखकलाई यस्तो प्रश्न सुहाउँदो होइन जस्तो लाग्छ।
मैले पनि गलत प्रश्न त गरिनँ?
होइन, गर्नुभएको छैन। एक पटक चाहिं यस्तो प्रश्न गर्नुपर्ने पनि होला। मलाई पनि मेरो यो चाहिं उपन्यास मन पर्छ भनेर भन्न सक्दिनँ। तपाईं नै भन्नुस् भन्ने जवाफ उचित छ।
आफ्ना बारेमा भन्दा कट्टेल सरको चोटपटक म बाहेक अरू कुनै शिक्षकले पनि त्यसरी नै लेख्थ्यो होला। शिक्षक बाहेकले लेखेको भए अर्कै किसिमको हुन्थ्यो होला। यत्ति चाहिं भन्छु- म र त्यो पात्र दुवै शिक्षक भएको हुँदा त्यो मेरो जीवनको नजिक छ।
केटाकेटी वेलादेखि नै हिन्दी, उर्दु पढ्न पाएँ। केटाकेटीमा प्रभाव परेका किताब एकथरी हुँदा रहेछन् भने पछि मन परेका अर्कै। कुनै वेला अज्ञेयको लेखन खूब मन पर्थ्यो। सूरजाका सातवां घोडा, ग्यारह सपनोंका देश, गुनाहोंका देवता, प्रारम्भ व समापन जस्ता उपन्यास लेख्ने धर्मयुगका सम्पादक धर्मवीर भारतीका कृति पनि प्रभावशाली लागेका हुन्। भगवती चरण वर्माको उपन्यास चित्रलेखा पनि बेजोड छ। कविमा सर्वेश्वर दयाल सक्सेना, कैलाश वाजपेयी मन पर्थे।
विश्व साहित्यको कुरा गर्दा डन क्विजोट अत्यन्तै मन पर्यो। त्यो मार्मिक छ, व्यंग्यात्मक पनि। त्यसको तुलना अरूसँग हुनै सक्दैन। पछि काफ्का, कामु, बेकेट, एन्टोनी बर्गेसहरू मन पर्न थाले। यिनमा चेतना जगाउने क्षमता छ। पहिला पहिला जब कविता लेख्थें, गियोम एपोलोनेयरको कविता मन पर्थ्यो। कवि सिल्भिया प्लाथ पनि मन पर्थ्यो। उनको बेल जार त हरबखत मसँग छ।
नेपालीमा गोविन्दबहादुर मल्ल गोठालेको पल्लो घरको झ्याल, विजय मल्लको कुमारी शोभा, अनुराधा भए। भवानी भिक्षुका कथा, उपन्यास, कविता सबै मन पर्छन्। गुरुप्रसाद मैनालीका कथा बेजोड छन्। धच गोतामेका दुइटै उपन्यास यहाँदेखि त्यहाँसम्म र घामका पाइला बेजोड हुन्।
यी हाम्रा पुर्खा हुन्, हामी तिनका वंशज। ती नभएका भए हामी हुन्नथ्यौं। तिनीहरू महान् थिए र नै अहिलेको पुस्ता लेखनमा अगाडि बढ्न सक्यो।
कुनै वेला पत्रिकाहरूमा तपाईंका नियमित स्तम्भ हुन्थे। पछिल्लो समय त्यो नियमितता टुटेको हो?
मदनमणि माड्सापको समीक्षामा पनि लेखियो। पछि साप्ताहिक मञ्चदेखि चाहिं नियमित जस्तो हुन पुग्यो। विमर्श, साप्ताहिक मञ्चको टीम उही हो, नाम बेग्लै भए पनि। त्यसमा ‘साहित्य-विविध’ स्तम्भ लेख्थें। पछि कान्तिपुर आएपछि शनिवासरीय परिशिष्ट कोसेलीको पहिलो अंकमा पारिजातबारे लेखेको थिएँ। कान्तिपुरमा माग बमोजिम लेख्थें। पछि नेपाल म्यागजिनमा पनि स्तम्भ लेखें। अब ती स्तम्भ सामग्री संकलन गरेर एकमुष्ट रूपमा प्रकाशन गर्ने सोच छ।
कट्टेल सरको चोटपटकमा आधारित भई कालजयी सिनेमा वासुदेव बन्यो। अन्य उपन्यासमा चाहिं सिनेमा बनाउने प्रस्ताव आएनन्?
अस्ति एक जना आउनुभएको थियो, ‘स्वाद’ कथामा सिनेमा बनाउने प्रस्ताव लिएर। त्यसका लागि करार गरेर जानुभएको छ। अर्का एक जनाले ‘म र म’ कथामा पनि सिनेमा बनाउने प्रस्ताव ल्याउनुभएको थियो। तर अब त्यो बन्ला जस्तो छैन।
![dhrub chandra gautam (9).jpg](https://www.himalkhabar.com/uploads/editor/himal_saptahant/dhruba chandra gautam/dhrub chandra gautam (9).jpg)
तपाईंले टेलिचलचित्र लेख्नुभयो, निर्देशन पनि गर्नुभयो। सिनेमा नै बनाऊँ जस्तो चाहिं लागेन?
त्यो चाहिं लागेन। धेरै सिरियल लेखें, केही निर्देशन पनि गरें। आफूलाई अभिनयमा पनि लैजाने प्रयास गरिनँ। बम्बई गएका वेला एक नेपाली लामिछाने बन्धुसँग चिनजान भयो। उनी विनोद खन्नाका सेक्रेटरी थिए। उनैले मलाई खन्नासँग चिनजान गराए। पछि हिमचिम जस्तै भएको थियो।
लामिछानेकै सम्पर्कबाट त्यति वेला बम्बैमा हुनुभएका बीएस थापा, प्रकाश थापालाई स्क्रिप्ट सुनाएँ। हिन्दी फिल्मकै लागि त्यो स्क्रिप्ट तयार पारेको थिएँ। दुवैले तन्मय भएर सुने। सुनिसकेपछि केही ठाउँमा औंल्याउँदै भने, “यो तिम्रो क्षेत्राधिकार होइन, निर्देशकको हो।” मलाई खुशी लाग्यो, कमसे कम निर्देशकको क्षेत्रमा पनि दखल दिइरहेको रहेछु। फिल्म त किन बन्थ्यो र? बनेन।
यद्यपि वीरगन्जमा छँदा नाटकहरूमा भाग लिइन्थ्यो। तर सिनेमामा लेखन मात्र भयो।
नेपाली उपन्यास लेखन परम्परा अहिले कुन बाटोमा छ?
सही दिशातर्फै उन्मुख छ। अहिले लेख्न कुनै बन्देज छैन। लेखक तीक्ष्ण छन्, पढ्ने पनि छन्। महिला लेखकको संख्या बढेको छ। नयाँ पुस्ता बलियो भएर आएकोमा खुशी लागेको छ। अरू विकास कति हुन्छ, हुँदै जान्छ। तर लेखकले विकास नभएको कुरालाई पनि विषय बनाएर लेख्छ। त्यसमा पनि उसले राम्रो कृति दिन सक्छ।
मलाई लूनकरणदास चौधरी फाउन्डेशनले सम्मान गर्दा ‘आविष्कारी आख्यानकार’ भनिदियो। त्यही सन्दर्भमा मलाई साहित्यिक पत्रकार टंक उप्रेतीले के हो यो भनेर सोधे। मेरो जवाफ थियो- विज्ञानमा पनि आविष्कार हुन्छ, साहित्यमा पनि आविष्कार हुन्छ। विज्ञानको प्रयोग सिद्ध भएपछि मात्र आविष्कार मानिन्छ। साहित्यमा त्यो प्रयोग सिद्ध नभए पनि आविष्कार हुन्छ।
यसको मतलब वैज्ञानिकलाई भन्दा साहित्यकारलाई अधिक लाभ छ?
लेखकको हर बलियो चरण अभिलेख बन्छ। त्यो इतिहास बन्छ। त्यस हिसाबले लाभ नै भन्नुस्। तर त्यो सजिलै हासिल गर्न सकिने लाभ होइन। त्यसका लागि अन्य धेरै नोक्सानी बेहोर्नुपर्छ।
तपाईंका उपन्यास बढीजसो अस्तित्ववादबाट प्रेरित पाइन्छन्। लेखक सधैं एउटा वादमा अडिरहन सक्छ?
मैले यसबारे कति लेख लेखिसकें। केही समयअघि मात्र ‘अस्तित्ववादका प्रथम पुरुष किर्केगार्द’ भनेर लेखें। सार्त्र, कामुबारे लेखेको छु। यो त फेरि उही मेरो जन्ममिति सोधे जस्तो लाग्छ। अस्तित्ववादको एउटा सूत्र छ- एक्जिस्टेन्स प्रिसिड्स एसेन्स। अर्थभन्दा अघि नै अस्तित्व छ भन्ने नै अस्तित्ववादको मूल वाक्य हो।
योसँग मृत्युचेत जोडिएको छ नि हैन? यहाँको लेखनमा पनि त्यही कुरा देखिन्छ।
हो। पछि त शून्यवादसम्म पनि पुग्यो। यसैमा मृत्युबोध, जीवनबोध सबै कुरा आए। अस्तित्व भनेपछि त जम्मै कुरा आउने नै भए। यसलाई राम्ररी बुझाउने कामुको आउटसाइडर नै हो। उनैले साहित्यमा पहिलो पटक ‘एब्सर्ड’ शब्द प्रयोग गरेका हुन्। मलाई अस्तित्ववादी भन्छन् तर म त्यसभन्दा अघि बढिसकेको छु। सफल भएँ कि भइनँ थाहा छैन। ‘एब्सर्डिटी’ को प्रभाव चाहिं अहिले पनि छ।
एक असफल आख्यानको आरम्भपछि यहाँका उपन्यासको आकार केही घटे जस्तो लाग्छ। कुनै पनि उपन्यासको खास आयतन के हो?
उपन्यासमा आकारको कुरा आउँदैन। ६१ पेजको उपन्यास भीमसेन ४ को खोजी पनि लेखेकै छु, मोटा मोटा पनि लेखियो। विषय, प्लट वा त्यो तत्त्व जेसुकै नाम दिनुस्, त्यसले मागे अनुसार न लेख्ने हो। ‘जति खनिस् त्यति धर्ती तेरो’ भन्यो भने मान्छेले धेरै खन्छ होला। जति मोटो लेखियो, त्यति महान् मानिन्छ भनेको भए मोटा मोटा नै लेखिन्थ्यो होला। त्यो त होइन। उपन्यासले माग्ने जति आयतन दिने हो। अनावश्यक तन्काउन त कुनै पनि इमानदार लेखकले चाहँदैन।
भीएस नयपालले ‘एउटा जुनी पढ्नका लागि मात्र अनि अर्को जुनी लेख्नका लागि भए मात्र गुनासो हुन्नथ्यो होला’ भनेका थिए। तपाईंका हकमा यस्तो गुनासो छ कि छैन?
त्यसले पनि गुनासो नै हुन्छ भन्छु। पुग्दै पुग्दैन। उमेरले पनि होला, पहिला जस्तो झ्वाट झ्वाट आउँदैन। अब त लेख्न पनि कति भ्याइएला र? चिन्ता कस्तो पनि छ भने जति किताब पढ्न चाहन्छु, त्यति पढ्न सक्छु कि सक्दिनँ। जति लेख्न चाहन्छु, त्यति लेख्न भ्याउँछु कि भ्याउँदिनँ।
एउटा उपन्यासमा यहाँले पत्रकारले सबै कुरा सोधिसकेर ‘अन्त्यमा केही भन्नु छ कि भन्दै बाठो पल्टिन्छ’ भनी उल्लेख गर्नुभएको थियो। सोधूँ कि नसोधूँ, द्विविधामा परें म।
सबै कुरा सोधिसकेपछि भन्नलाई बाँकी के रहन्छ र? त्यस्तो केही छुटे जस्तो लागेन।
(सम्पादन : प्रदीप खतिवडा, भाषा : प्रद्युम्न खनाल)
किताबका कुराका थप सामग्री: