शेयर बजारको वृद्धि कति दिगो छ?
![शेयर बजारको वृद्धि कति दिगो छ?](https://himal.softnep.website/uploads/posts/800X600/Nepse_Increase-1702990476.jpg)
शेयर बजार विश्लेषक मुक्ति अर्याल अहिलेको वृद्धि कायम भए शेयर बजार परिसूचक नेप्से दुई हजार ३०० अंकको हाराहारीमा पुग्ने बताउँछन्।
शेयर बजार परिसूचक नेप्से पछिल्लो दुई सातायता लगातार बढिरहेको छ। निरन्तर घटेर शिथिल बनेको शेयर बजार परिसूचक र कारोबार रकम समेत बढिरहँदा यसले बजार लयमा फर्किन खोजेको सन्देश दिएको छ।
मंगलबार शेयर बजार परिसूचक नेप्से ४५.९८ अंकले बढेर दुई हजार १०६ अंक पार गर्यो। मध्यसाउनयता नेप्सेले दुई हजार १०० बिन्दु पार गरेको यो पहिलो अवसर हो। यसअघि १५ साउनमा नेप्से दुई हजार १०६ बिन्दुमा थियो।
मंगलबार १६ कम्पनीको शेयर मूल्य १० प्रतिशतको दरमा बढ्यो। एक दिनमा शेयर मूल्य बढीमा १० प्रतिशत मात्रै बढ्न वा घट्न मिल्ने प्रावधान छ।
नेपाल स्टक एक्सचेन्जमा दिनभरिमा ३१३ कम्पनीको शेयर किनबेच भएकोमा १८३ कम्पनीको शेयर मूल्य बढ्यो। ५३ कम्पनीको शेयर मूल्य घट्यो भने सात वटाको शेयर मूल्य यथावत् रह्यो।
दुई साताअघिसम्म शेयर बजार परिसूचक एक हजार ८५० बिन्दुभन्दा तल आइपुगेको थियो। त्यसयता लगातार बढेर नेप्सेमा २५० अंकभन्दा बढीको वृद्धि भएको हो।
सबैभन्दा महत्त्वपूर्ण दैनिक कारोबार रकम पनि उल्लेख्य बढेको छ। मंगलबार रु.पाँच अर्ब ९८ करोडको कारोबार भएको छ। बजार सुस्त भएका वेला कारोबार रकम एक अर्ब रुपैयाँभन्दा तल ओर्लिएको थियो। कारोबार रकम बढ्नुले लगानीकर्ताको सक्रियता बढेको पनि देखाउँछ।
नेपाल राष्ट्र ब्यांकले यस वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मार्फत शेयर बजारप्रति खुकुलो नीति अघि सारेपछि लगानीकर्ताहरू उत्साहित भएका थिए। अर्कातिर, ब्यांक तथा वित्तीय संस्थाको ब्याजदर पनि क्रमशः घटेकाले लगानीकर्ताको मनोबल बढेको शेयर बजार विश्लेषक मुक्ति अर्याल बताउँछन्।
उनले भने, “बजार असाध्यै न्यून बिन्दुमा ओर्लिइसकेको र त्योभन्दा बिग्रिने अवस्था नभएकाले पनि बजार माथि जानु स्वाभाविक नै थियो।”
नेपाल राष्ट्र ब्यांकले दुई साताअघि मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मार्फत शेयर धितो कर्जाको जोखिमभार १५० प्रतिशतबाट १२५ प्रतिशतमा झारिदिएको थियो। यसले ब्यांक तथा वित्तीय संस्थाबाट शेयर धितो कर्जामा प्रवाह हुने ऋण बढाउन सहयोग पुगेको थियो।
केन्द्रीय ब्यांकले ब्यांक दर र नीतिगत दरलाई पनि घटाइदिएको थियो। पछिल्लो समयमा ब्यांक तथा वित्तीय संस्थाको कर्जाको ब्याजदर पनि क्रमशः घटिरहेको छ। वाणिज्य ब्यांकहरूले पुस महीनामा मुद्दती निक्षेपको ब्याजदर उल्लेखनीय रूपमा घटाएको सूचना प्रकाशन गरेका छन्।
यी सबै कारणले शेयर बजार लगानीकर्ताको उत्साह बढाएको विश्लेषक अर्यालले बताए। “नियामकहरू पनि बजार तथा लगानीकर्तालाई देपेटेर हुँदैन, उत्साहित बनाउनुपर्छ भनेर केही हदसम्म लचिलो नीति लिन बाध्य भएका छन्, यसले गर्दा बजार बढेको हो,” उनले भने।
अर्याल अहिलेको उत्साह कति दिगो हुन्छ भन्ने प्रस्ट नभएको बताउँछन्। तर उनी अहिलेको वृद्धि कायम भए शेयर बजार परिसूचक नेप्से दुई हजार ३०० अंकको हाराहारीमा पुग्ने बताउँछन्। त्यसपछिको वृद्धि भने सरकारको लचिलो नीतिमा भर पर्ने उनको तर्क छ।
२०७८ भदौमा नेप्से परिसूचक तीन हजार २०० बिन्दु हाराहारी पुगेको थियो। नेपाल राष्ट्र ब्यांकले शेयर बजारलाई कस्ने नीति सार्वजनिक गरेपछि त्यसयता शेयर बजारको ओरालो यात्रा शुरू भएको थियो। बजार तीव्र गतिमा दौडिएका वेला दैनिक रु.२० अर्बको हाराहारीसम्म कारोबार भएकामा बितेका महीनाहरूमा शेयर बजारको कारोबार रकम दैनिक रु.एक अर्बभन्दा कममा समेत झरेको थियो।
अर्याल बजारको वृद्धि हुँदा त्यसले मूल्य सिर्जना गर्ने र समग्र अर्थतन्त्रलाई नै चलायमान हुन सहयोग गर्ने बताउँछन्। उनी भन्छन्, “पछिल्ला दिनमा बजारमा देखिएको उत्साहले बजारको पूँजीकरण करीब रु.तीन खर्बले बढाइसकेको छ। यसले समग्र अर्थतन्त्रलाई चलायमान बनाउँछ।”
शेयर बजार लगानीकर्ताहरूले राष्ट्र ब्यांकले शेयर धितो कर्जामा लगाएको सीमा हटाउनुपर्ने माग गर्दै आएका छन्। यो नीति हटेमा बजारले अझ गति लिने उनीहरूको दाबी छ।