कोशीमा बजेट सम्बन्धी दुई अध्यादेश जारी
![कोशीमा बजेट सम्बन्धी दुई अध्यादेश जारी](https://himal.softnep.website/uploads/posts/800X600/Koshi_1686041675.jpg)
कोशी प्रदेशमा चालु आर्थिक वर्षको बजेट सम्बन्धी दुई अध्यादेश जारी भएका छन्।
प्रदेश सरकारको सिफारिशमा प्रदेश प्रमुख परशुराम खापुङले आइतबार दुई वटा अध्यादेश जारी गरेका छन्। कोशी प्रदेश आर्थिक अध्यादेश २०८० र कोशी प्रदेश विनियोजन विधेयक २०८० जारी भएका हुन्।
नेपालको संविधान धारा २०२ उपधारा १ बमोजिम मन्त्रिपरिषदको सिफारिशमा प्रदेश प्रमुख खापुङले अध्यादेश जारी गरेको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ।
यसअघि अध्यादेश मार्फत नै बजेट ल्याइएको थियो। तर, प्रदेश सभाबाट पारित नहुँदा अध्यादेशको म्याद सकिएको थियो। जसले गर्दा कोशी सरकार बजेटविहीन अवस्थामा पुगेको थियो।
चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमा चालूतर्फ १४ अर्ब ३९ करोड ६२ लाख ६६ हजार र पूँजीगततर्फ १८ अर्ब २३ करोड ५२ लाख, वित्तीय व्यवस्थातर्फ १ करोड र वित्तीय हस्तान्तरणतर्फ तीन अर्ब ६० करोड २९ लाख ९२ हजार रूपैयाँ विनियोजन गरिएको थियो। ।