‘गाउँदेखि शहरसम्म विकासको मानक नै उल्टो भयो’
![‘गाउँदेखि शहरसम्म विकासको मानक नै उल्टो भयो’](https://himal.softnep.website/uploads/posts/800X600/dr._jiwan_chhetry_main_1691759772.jpg)
‘केही गर्न सक्छौं भन्ने मान्छेको आशा पनि गुम्दै गएको छ। युवा पुस्तालाई देश छोड्न हतारो छ।’
चिकित्सा शिक्षा सुधारको आन्दोलन संलग्न डा. गोविन्द केसीसँगै चर्चामा आएका अर्का चिकित्सक हुन् डा. जीवन क्षेत्री। यो आन्दोलनसँगै लेखनमा पनि सक्रिय डा. क्षेत्रीको भर्खरै नुन-तेल पुस्तक सार्वजनिक भएको छ।
चितवनमा बसेर सामाजिक न्याय तथा सामाजिक मुद्दामा बहस गर्दै र गराउँदै आएका डा. क्षेत्री समसामयिक विषयमा कलम पनि चलाउँदै आएका छन्। पछिल्लो पुस्तक नुन-तेलमा केन्द्रित भएर हिमालखबरको साप्ताहिक प्रस्तुति किताबका कुरामा डा. क्षेत्रीसँग शमशाद अहमदले गरेको कुराकानीः
तपाईंका लामा लामा आलेख त पाठकले रुचाइरहेका हुन्छन्। पुस्तकबारे कस्तो प्रतिक्रिया पाउनुभएको छ?
यसमा धेरै कोणबाट प्रतिक्रिया आएका छन्। केही असाध्यै रमाइला र रोचक पनि छन्।
मेरा लागि अनपेक्षित एउटा प्रतिक्रिया भनेको केही पाठकले ‘यो पढेर रोयौं’ भनेका छन्। म त छक्क परें। किनभने त्यस्तो धेरै भावनात्मक केही छैन। तैपनि हाम्रो पुस्ताको जुन कथा छ, त्यसले धेरैलाई छोएछ।
केही साथीभाइले पढ्न शुरू गर्दा पहिलो अनुच्छेदमा जुन विज्ञानको कुरा धेरै छ, त्यो छिचोल्न नसकेको कारणले अगाडि बढ्न सकेनौं पनि भनेका छन्। अलि गहन भएर तथा विज्ञानको पृष्ठभूमि नभएर होला बुझ्न गाह्रो भएछ।
यो किताब लेखनको शुरूआत कसरी भयो?
सानैदेखि लेखपढ गर्न मन पराउँथें। स्कूलमा जीवनको लक्ष्यबारे निबन्ध लेख्नुपर्दा ‘म लेखक अथवा दार्शनिक बन्छु’ लेख्थें। तर, किताब केले बन्छ भनेर थाहा पाउन निकै समय लाग्यो।
२०७३ सालमा पर्वतबाट शुरू गरेर बाग्लुङको मेरो गाउँ हुँदै गुल्मी, पाल्पाको उत्तर-दक्षिण पूरै पार गरी र रुपन्देहीको बुटवलसम्म पदयात्रा गरें। जहाँबाट हजुरबुबा र बुबाको पालासम्म नुन र मट्टीतेल बोक्ने गरिन्थ्यो।
यात्रा गरिसकेपछि त्यो बाटोको कथा, हजुरबुबा, बुबाको इतिहास अब सधैंका लागि मेटिएर जान्छ कि भन्ने जस्तो लाग्यो, दुई वटा कारणले। पहिलो त त्यो कथा भन्न सक्ने मान्छे ७०-८० वर्ष कटिसक्नुभयो। त्यो समयका मेरा बुबा लगायत तीन-चार जना मान्छे जीवित हुनुहुन्छ, गाउँमा।
दोस्रो, त्यो बाटो कहाँ थियो भन्ने नामोनिशान नै हराइसक्यो। वनमाराले ढाकेको छ। मान्छे हिंड्न छोडिसकेका छन्। किनभने अहिले सडक जता खन्यो, उतैबाट हिंड्न थालेपछि त्यो बाटो कुनै समय हिंडिन्थ्यो भन्ने इतिहास पनि मेटिन थालेको छ।
![](https://www.himalkhabar.com/uploads/editor/himal_saptahant/dr.%20jiwan%20chhetry/jiwan%20chhetry%20%283%29.jpg)
हाम्रै परिवारको इतिहास खोज्दा पनि हजुरबुबाको पालासम्म भन्न सक्ने मान्छे पाउँछु। त्योभन्दा पर जानकारी भएका मान्छे छैनन्। त्यो पनि मैले लेखिन भने त सधैंका लागि हराउँछ भन्ने लाग्यो। अनि किताब लेख्न शुरू गरें।
किताबमा कथा भन्दै गर्दा हजुरबुबा, हजुरआमा, बुबाआमा र सबैभन्दा बढी मेरो पुस्ताको बाल्यकालको कुरा छ। जब छोराको पुस्तामा पुगें अनि जलवायु सङ्कटको कुरा आयो।
मेरो गाउँको कथा लेख्ने भनेर शुरू गरेको थिएँ तर लेख्दै जाँदा सिङ्गो पृथ्वीको कथा आयो। सौर्यमण्डलको कथाबाट शुरू गरेर जलवायु परिवर्तनसम्म आइपुग्दा कसरी हाम्रो सभ्यतालाई सङ्कटको ढिकमा ल्याइपुर्याएको छ भन्नेसम्म पुर्याएको छु।
किताबसँगको सङ्गत कसरी शुरु भयो?
सानो छँदा रुसी साहित्यकार म्याक्सिम गोर्कीको आमा उपन्यासबाट पढ्न शुरू गरें। त्यो वेला कल्पनाशीलता पढाउनुपर्यो, मैले देखेको संसारभन्दा परको संसार बुझ्नुपर्यो भन्ने लाग्थ्यो। त्यसैले कहिले मागेर त कहिले चोरेर पनि किताब पढ्ने गर्थें।
किताब भनेको हाम्रा लागि निर्विकल्प ज्ञानको स्रोत थियो। त्यसैले राम्रो किताब निस्क्यो भने पढिहाल्ने गरिन्थ्यो।
अहिले प्रविधिले गर्दा पुस्तकसँग दूरी बढिरहेको जस्तो लाग्दैन?
आज युग भनेको श्रव्यदृश्य माध्यमको युग हो। भर्खरको बालबच्चादेखि वृद्धवृद्धासम्म सबैको हातमा लगभग स्मार्टफोन पुगिसकेको छ।
अब त श्रव्यदृश्य सामग्री उपभोग गर्ने मात्र होइन कि उत्पादन पनि गर्न थालिएको छ। यसले गर्दा एक हिसाबले मिडियाको लोकतन्त्रीकरण पनि भएको छ। मान्छेको सशक्तीकरण पनि गरेको छ। यसलाई मेडिकल भाषामा ‘सेन्सरी ओभरलोड’ पनि भन्ने गरिन्छ।
अहिले यति धेरै सूचना, यति धेरै सामग्री छन् कि त्योबीचबाट जीवन उपयोगी सिक्न सक्ने, चेतनालाई वृद्धि गर्ने, बोध बढाउने सामग्री पाउन, भेट्न र त्यसबाट लाभ लिन सजिलो छैन। एउटा उदाहरण दिन्छु। मैले यतिधेरै मेहनत गरेर नुन-तेल लेखें। मेरो किताब आउनुभन्दा अघि डा. नवराज केसीको शून्यको मूल्य किताब आएको थियो। त्यो किताबको कथा प्रस्तुति सशक्त छ। त्यो किताब कति मान्छेले पढ्नुभयो?
अनि एक जनाको टिकटक भिडिओ आयो, पुरुषको खुट्टा धोएर पानी खाइरहेको। त्यसलाई मन पराएर लाखौं मान्छेले हेरे र शेयर पनि भयो। आजको दिनमा किताबले टिकटक भिडिओसँग प्रतिस्पर्धा गर्नुपरेको छ।
झट्ट हेर्दा त त्यसको के नै अर्थ छ भन्ने लाग्ला तर समाजमा खास किसिमको धारणा बनाउन त्यसको त शक्तिशाली भूमिका छ। आजको दिनमा सामाजिक न्यायको मुद्दा, न्यायको लडाइँका पक्षमा आउने समाचार वा भिडिओको प्रतिस्पर्धा उत्तेजक सामग्रीसँग गर्नुपरेको छ।
किताबको पाठक त जन्मिँदै हुने होइन। पाठक त बन्ने हो। पाठक बन्ने भनेको विद्यार्थी जीवनबाट शुरू हुने हो। विद्यार्थी जीवनमा टिकटकको सामग्री उपलब्ध भइरहेको हुन्छ। कुन क्षेत्रको, कुन उमेरसमूहको, कुन पृष्ठभूमिको, बालबच्चा, विद्यार्थी, किशोरकिशोरीलाई कस्तो खालको सामग्री बढी मन पर्छ, कुन ठाउँमा भाइरल हुन्छ भन्ने सबै सूचना थाहा हुने प्रविधि विकास भइसकेको छ। त्यो शक्तिशाली ‘अल्गोरिदम’ ले जुन सामग्री दिन्छ, त्यही हेरिन्छ, सुनिन्छ। त्यससँग किताबले प्रतिस्पर्धा गर्नुपरेको छ। पुस्तकका लागि कठिन समय आएको छ।
![](https://www.himalkhabar.com/uploads/editor/himal_saptahant/dr.%20jiwan%20chhetry/jiwan%20chhetry%20(5).jpg)
चितवनमा बसेर लेखनसँगै समसामयिक विषयमा बहस गर्दै गराउँदै आउनुभएको छ। काठमाडौं बाहिर यस्ता काम गर्न कति चुनौतिपूर्ण हुँदो रहेछ?
मेरा लागि राजधानीभित्र र बाहिर उत्तिकै चुनौतीपूर्ण छ। त्यसमा केही पक्ष फरक होलान्। हालै एउटा कार्यशाला पनि गरेका थियौं। लेखक सञ्जीव उप्रेतीलाई कार्यशालामा बोलाएका थियौं। हामीले गरेको ‘लेखनका लागि चिन्तन र विचार निर्माण’ शीर्षकको कार्यशालामा सामाजिक न्यायका विषयमा सञ्जीव सरको प्रस्तुति थियो। त्यसमा सात घण्टासम्म ३५ जनाको समूहले चर्चा-विमर्श गरेको थियो।
जबकि अहिले सामाजिक सञ्जालले ध्यान तानिरहेको छ। छोटोभन्दा छोटो भिडिओतिर ध्यान गइरहेको छ। त्यस्तो वेला सात घण्टा विमर्श गर्नु कठिन काम थियो। यस्तो कार्यक्रमको महत्त्व जति समय बित्दै जान्छ, त्यति धेरै बढ्छ जस्तो लाग्छ।
चितवनमा २०७५ सालदेखि विभिन्न विषयमा विचारविमर्श गर्दै गराउँदै आएका छौं। अर्को उदाहरण केपी शर्मा ओली प्रधानमन्त्री हुँदाको पनि छ। त्यति वेला राम मन्दिरको विषय जोडतोडले उठाइएको थियो। त्योे विषयमा दोहोरो विमर्श हुन सकेको थिएन। कोभिड-१९ ले गर्दा बन्दाबन्दी थियो।
अलि अलि गरेर काम भइरहेको थियो। फाटफुट आलोचना भइरहेको थियो। भौतिक उपस्थिति गर्न नसके पनि जूमबाट राम मन्दिर त्यो ठाउँमा बन्नुपर्छ र बन्नु हुँदैन भन्ने तीन-तीन जनालाई ल्याएर बहस गराएका थियौं। त्यसरी दोहोरो बहस गरेको र गराएको पाइँदैन।
त्यसैले काठमाडौंभित्र वा बाहिर जहाँ भए पनि चुनौती छन्। चुनौती हुँदाहुँदै पनि बहस-विमर्शको जरुरी छ। जलवायु सङ्कटबारे प्रतिबद्ध भएर लागेको छु, कतिपय स्कूलमा गएर विद्यार्थीबीच छलफल गराउँछु। डा.गोविन्द केसीसँग लागेर सिकेको के हो भने आफ्नो उत्तरदायित्व पूरा गर्नुपर्छ। त्यसैले काठमाडौं वा बाहिर भए पनि सार्वजनिक चासोका विषयमा यस्ता काम, प्रयास भइरहनुपर्छ, गरिरहनुपर्छ।
किताबमा विद्यार्थी जीवनसँगै विद्यार्थी आन्दोलनको चर्चा गर्नुभएको छ। अहिलेका विद्यार्थी र आन्दोलनलाई कसरी हेर्नुहुन्छ?
नुन-तेल पुस्तकमा विद्यार्थी जीवनसँगै त्यति वेलाको आन्दोलनको पनि चर्चा गरेको छु। विशेष गरेर २०४६ सालको राजनीतिक चरित्रको राम्रो चित्र उतारेको छु जस्तो लाग्छ।
मैले बाग्लुङका तीन वटा स्कूलमा पढें। पुस्तकमा चर्चा गरेको हडतालको कथा निम्न माध्यमिक विद्यालयमा पढ्दाको हो। गाउँको राजनीति कस्तो थियो, त्यसको प्रतिनिधि घटना हो त्यो। साधारण माग राखेर शिक्षकहरूलाई दिनभरि कोठामा थुनेर राखेका थियौं, शौचालय पनि जान दिएका थिएनौं। त्यो विद्यार्थी आन्दोलनभन्दा पनि हाम्रो गाउँको कम्युनिस्ट राजनीति थियो।
त्यति वेलाका विद्यार्थी नेता एसएलसीमा पनि नपुग्दै भारतीय सेनामा भर्ती भए। जबकि भर्ती हुन जानुअघिल्लो दिनसम्म पनि भारतीय विस्तारवादले कसरी नेपाललाई बर्बाद पार्यो भनेर सिकाउँथे। चीनमा यस्तो प्रतिगमन भयो, सोभियत संघमा प्रतिक्रान्ति भयो भनेर सुनाउँथे।
त्यो गाउँको स्कूलमा हुने राजनीतिको कथा भयो। अहिले विश्वविद्यालयमा हुने राजनीति झन् पीडादायी छ। राजनीतिक पार्टीको दोहनतन्त्र र अपराधीकरण फस्टाउने प्रतिनिधि ठाउँ बनेका छन्, विश्वविद्यालय।
जलवायु सङ्कटको मुद्दा छ। काठमाडौंमै पनि वायु प्रदूषणको समस्या छ। सडकको हालत यस्तो छ, दुई किलोमिटर टाढाको ठाउँमा जान पनि एक घण्टा छुट्याउनुपर्छ। पार्किङ गर्ने ठाउँ छैन। वायु प्रदूषणका कारण वर्षमा ४० हजारभन्दा बढी नेपालीको ज्यान जाने गरेको तथ्याङ्क छ। यी पो राजनीतिक मुद्दा हुनुपर्ने हो, विद्यार्थी आन्दोलन, विश्वविद्यालयको अध्ययन-अनुसन्धानका विषय हुनुपर्ने हो।
त्यस्तै, अहिले समाज आर्थिक समस्याबाट गुज्रिरहेको छ। विश्वविद्यालयले त्यसको जरोसम्म पुगेर समाधान खोज्न सक्नुपर्ने हो। हाम्रा अनुसन्धानले यस्तो भन्छ- यसको कार्यान्वयन गरेको खोइ भनेर नेताहरूलाई जवाफदेही बनाउनुपर्ने हो। त्यो असल राजनीति हुन्थ्यो। तर, कहाँ, कसले, कति ठेक्कापट्टा गर्ने, कुन नेताले कति कमाउने अनि कुन विद्यार्थीले कुन प्राध्यापकलाई कुटपिट गर्ने भन्नेमै रुमल्लिएको छ।
![](https://www.himalkhabar.com/uploads/editor/himal_saptahant/dr.%20jiwan%20chhetry/jiwan%20chhetry%20(1).jpg)
अलि फरक प्रसङ्गमा कुरा गरौं। डा. गोविन्द केसीको आन्दोलनमा जोडिनुभयो। त्यो आन्दोलनले के प्राप्त भयो?
यो पुस्तकमा जसरी अजेन्डा उठान गरेको छु, त्यसका लागि जुन रुझान चाहिन्छ, वैचारिक अडान चाहिन्छ, जुन ‘स्प्रिट’ चाहिन्छ, त्यो डा. गोविन्द केसीसँगै लागेर प्राप्त गरेको हुँ। म त मेडिकल डाक्टर। मैले जलवायु परिवर्तनका विषयमा चिन्ता नगर्दा, पैरवी नगर्दा पनि हुन्थ्यो।
डा. गोविन्द केसी एकदमै कुशल हाडजोर्नी चिकित्सक हुनुहुन्छ। एक समयमा असाध्यै जटिल शल्यक्रिया गर्नुहुन्थ्यो, जुन एक चरणको उपचारका क्रममा बिग्रिसकेका हुन्थे। उहाँको ठूलो योगदान थियो, तर उहाँलाई त्योभन्दा पनि चिकित्सक उत्पादन प्रक्रियामा हस्तक्षेप गर्नुपर्छ भन्ने लाग्यो। वर्षमा दुई हजार चिकित्सक निस्कन्छन्। उनीहरू निस्कनुअघिको प्रक्रियामा सुधार्न सकियो भने गुणस्तर कायम हुन्छ, शुल्क कम भयो भने सामान्य परिवारका विद्यार्थीले पनि पढ्न पाउँछन्, यो क्षेत्र नै सुध्रिन्छ भन्ने सोच्नुभयो।
त्यसो नगरेको भए अहिले एमबीबीएसको शुल्क करीब एक करोड रुपैयाँ पुग्थ्यो। अहिले ५० लाखको हराहारीमा छ। नेपालमा चिकित्सा शिक्षाको शुल्कदेखि योग्य विद्यार्थीले मात्र पढ्न पाउनेसम्मको व्यवस्था भएको छ। चिकित्सा शिक्षा ऐन आएको छ।
उहाँले शुरू गरेका सुधारका सबै काम सफल भएका छैनन्। सरकारले गर्नुपर्ने काम पनि पुगेको छैन। जति सुधार भएको छ, त्यो एउटा मान्छेले आफ्नो ज्यान जोखिममा राखेर गरेको आन्दोलनका कारण भएको हो।
अन्तिममा पुस्तकमै फर्किऔं। यसमा इतिहासदेखि जलवायु परिवर्तन र यसले निम्त्याउने सङ्कटका विषयमा चर्चा गर्नुभएको छ। विकास कस्तो हुनुपर्छ, जसले आउने पुस्ताको जीवन सुरक्षित रहोस्?
सबैले बुझ्ने भाषामा भन्दा काठमाडौंमा मेरो लागि विकास भनेको पाँच वर्षमा वायु प्रदुषण ठ्याक्कै आधा हुनु, १५ वर्षमा पूरै साइक्लिङको शहर हुनु, पाँच-सात वर्षमा पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनको विस्थापन, विद्युतीय सुविधायुक्त सार्वजनिक सवारी साधन हुनु हो। यस्तै, काठमाडौंमा सार्वजनिक ठाउँ, पार्क र पुस्तकालय धेरै हुनु हो।
जीविका चलाउन, आफ्ना बच्चाको उपचार, शिक्षादीक्षाका लागि व्यापार-व्यवसाय गर्दा अहिले जस्तो उनीहरूमाथि हिंसा नहुनु, उपचारका लागि निजी अस्पतालमा जानुनपर्ने अवस्था हुनु, उपचार गर्दा घर, खेत र बारी बेच्ननपर्नु, स्कूलमा जीवनोपयोगी कुरा सिकाउनु। यी सबै मेरा लागि विकासका आयाम हुन्।
काठमाडौं बाहिर चितवनकै कुरा गरौं। १० वर्षपछि चितवनमा ट्राफिक जाम हुन्छ कि हुँदैन त्यो मेरा लागि नाप हो। अहिले गाडी थप्ने, निजी गाडी चढ्ने, अग्ला अग्ला भवन बनाउने, बाटो फराकिलो बनाउने विकास हो भन्ने बुझाइ छ। त्यो विकास होइन।
काठमाडौंलाई साइकल सिटी बनाउन १० वर्ष लाग्छ, त्यति प्रयास गर्ने हो भने चितवन पाँच वर्षमै साइकल सिटी बन्छ। साइकलको शहर जस्तो आम्सटडम, कोपहेगन जस्तो यूरोपको मोडलमा गएर शुद्ध हावामा श्वास फेर्न सक्यौं भने मेरा लागि त्यो नै विकास हुन्छ।
काठमाडौंको जस्तो वर्षका आठ महीना दिनको २० खिल्ली चुरोट खाए बराबरको धूवाँ खाए जस्तो हावा हुनु हुँदैन। एकदम विषाक्त हावामा श्वास फेर्नुपर्ने, रोग लागेर अस्पताल जानुपर्ने र अस्पतालमा सुलभ उपचार नपाउने, उपचार गर्दागर्दै गरीबीमा धकेलिने यसलाई कसरी विकसित भन्ने?
त्यसैले मैले देखेको विकासमा पहिला मान्छे जिउँदो हुने अधिकार हुनुपर्यो। हामी त विकासको नाममा मान्छेको बाँच्ने अधिकार खोसिरहेका छौं। वायु प्रदूषणले ४० हजार मान्छेको अकालमै ज्यान गइरहेको छ। सडक दुर्घटनाले त्यसरी नै ज्यान लिन्छ। राज्य र जनप्रतिनिधिले गर्नुपर्ने काम नगरेकाले यति धेरै मान्छेको मृत्यु भइरहेको छ।
जो बाँचेको छ त्यो पनि शिक्षित हुन नसक्दा, स्वस्थ रहन नसक्दा आर्थिक स्तर उकासिन सकेको छैन। गरीब मान्छे निम्न वा मध्यम वर्गमा आउन सकेका छैनन्। मध्यम वर्ग पनि उच्च वर्गमा जान सकेको छैन। केही गर्न सक्छौं भन्ने मान्छेको आशा गुम्दै गएको छ। युवा पुस्तालाई देश छोड्न हतारो छ।
अहिले देशको विकास भनेको मान्छे तराईतिर झर्दै जाने र सडक पहाडको टुप्पो टुप्पोसम्म पुग्ने भयो। गाउँदेखि शहरसम्म विकासको मानक नै उल्टो भयो। हाम्रो विकासको मानक के हुने भन्नेमा बहस नै गरेनौं। त्यसैले विकास हावामा झुन्डिएको एउटा महलको कथा जस्तै भयो।
यदि सही र दिगो विकास गर्ने हो, पर्यावरण जोगाउने हो, जलवायु सङ्कटसँग जुध्ने हो भने विकासको वैकल्पिक मोडलमा जानुपर्छ। राचेल कार्सनले साइलेन्ट स्प्रिङ पुस्तकमा भनेकी छन्- हामी यस्तो चिप्लो गतिमा गइरहेका छौं कि त्यसको गन्तव्य भनेको विनाश हो। वेलैमा विकल्पतिर लाग्यो भने समाधान होला। विकल्प रोज्न जति ढिलो हुन्छ, हामी त्यति नै दुर्घटनाको नजिक हुन्छौं।
किताबका कुराका थप सामग्री: