‘बीपीको साहित्य उच्च कोटिको छ, राजनीति असफल’
![‘बीपीको साहित्य उच्च कोटिको छ, राजनीति असफल’](https://himal.softnep.website/uploads/posts/800X600/rpu_pokharel_main_1689948656.jpg)
‘साहित्यमा नवीन आन्दोलन ल्याए, नवीन धारा प्रवेश गराए। तर, राजनीतिक रूपमा उनको संलग्नता सैद्धान्तिक बढी र व्यावहारिक राजनीतिमा कमजोरी देखिन्छ।’
लेखक राप्रउ पोखरेल (रामजीप्रसाद उपाध्याय पोखरेल)ले ८१ वर्षको उमेरमा नयाँ पुस्तक ल्याएका छन्, मन्दोदरीदेखि मार्क्ससम्म। तीन दशक सरकारी सेवामा बिताएका उनी लामो समय राजनीतिमा पनि सक्रिय रहे।
साहित्य, दर्शन र इतिहासमा कलम चलाउने पोखरेलको सर्वधर्म समभाव (२०६३), विचार मीमांसा (२०७७) पुस्तक प्रकाशित छन्। हालै प्रकाशित पुस्तक मन्दोदरीदेखि मार्क्ससम्मको सेरोफेरोमा हिमालखबरको साप्ताहिक प्रस्तुति किताबका कुरामा लेखक पोखरेलसँग महेश्वर आचार्यले गरेको कुराकानी:
आज ‘किताबका कुरा’ शुरू गर्दा लेखक तथा साहित्यकारमाझ चर्चामा रहेको एउटा पुरानो प्रसङ्ग याद आयो। तपाईंको नाम लिएर ‘कुरा’ र ‘गफ’ फरक हुन् भन्ने गरिन्छ। खासमा त्यो प्रसङ्ग के थियो?
२०१८ सालतिर हो, कलेज पढ्दा बडो जोश र उमङ्ग थियो। उमेर पनि त्यस्तै १९ वर्ष हाराहारी थियो। त्यतिखेर जनकपुर बस्थें र बिजलपुरा गाउँमा आउजाउ गरिरहन्थें। एक दिन गौशाला बजारमा ‘बडाहाकिम आउने रे’ भन्ने सुनें। सोधखोज गर्दा जिल्लाकै ठूलो बजार गौशाला बजारमा बडाहाकिम आउने तय भएको रहेछ।
म पनि आफ्नो गाउँका समस्या लिएर भेट्न गएँ। केही बेर कुरेपछि भेट्ने पालो आयो। उनको कोठाभित्र गएँ।
त्यति खेर बडाहाकिम थिए, तेजबहादुर प्रसाईं। उनी बडो जाज्वल्यमान् व्यक्तित्व थिए, नाम उस्तै चलेका।
‘किन आउनुभयो?’ उनले सोधें।
‘बडाहाकिमसँग गफ गरौं भनेर आएको,’ मैले फ्याट्ट भनें।
मेरो कुरा सुनेर बडाहाकिम जङ्गिए। उनले भने, ‘के म यहाँ गफ गर्न आएको हुँ? कुरा के छ? त्यो बताउनुस्। गफ गर्ने होइन।’
त्यो सुनेर म पनि झसङ्ग भए। आफ्नो गल्ती सुधार्दै भने, ‘हैन, हैन, बडाहाकिमलाई केही समस्याहरू राख्न आएको।’
त्यसपछि उनी अलि शान्त भए। त्यो वेला मैले थाहा पाएँ, गफ र कुरामा धेरै भिन्नता रहेछ।
त्यसरी बडाहाकिमसँग कुरा गर्ने हिम्मत त पढाइलेखाइ गरेकैले आएको होला। त्यो कसरी भयो शिक्षादीक्षा?
मैले जलेश्वरमा स्कूले शिक्षा हासिल गरें। त्यहींबाट २०१७ सालमा एसएलसी गरें। त्यसपछि त्रिचन्द्र कलेज आएँ, चार-पाँच महीना बसें, पढें। कमर्श लिएको थिएँ।
त्यति खेर विद्यार्थी आन्दोलनमा संलग्न भएको सम्झन्छु। त्रिचन्द्र कलेजमा मासिक ट्यूसन शुल्क लागू भएको थियो। नत्र त पढाइ निःशुल्क थियो। पढाइ बापत पैसा तिर्नुपर्दैनथ्यो। दस्तुर लगाएपछि आन्दोलन भयो।
त्यति खेर हिरण्यलाल श्रेष्ठ पनि त्रिचन्द्रमा पढ्दै थिए। उनी विद्यार्थी नेता। तर, कालान्तरमा आन्दोलन तुहिएर गयो। मासिक शुल्क लागू भयो। महीनाको आठ रुपैयाँ तिर्नुपर्ने भयो।
मलाई कमर्श पढ्न मन भएन, फर्केर जनकपुर गएँ। त्यहाँको रामसागर-रामस्वरूप कलेजमा मानविकीमा भर्ना भए। त्यो कलेजलाई जनकपुर डिग्री कलेज भनिन्थ्यो। जनकपुरका दानी परिवारले स्थापना गरेको हो। जसको कतै पनि उल्लेख भएको देख्दिनँ। जनकपुरका जति पनि शिक्षण संस्था छन्, ती अधिकांश उनैले खडा गरेका थिए।
रामस्वरूप-रामसागर दाजुभाइ थिए। रामस्वरूप सर्पले टोकेर बिते। जनकपुरको गंगासागरमा रहेको भवन उनैले बनाएका थिए। २००४ सालमा खुलेको सरस्वती हाई स्कूल उनैले बनाएका हुन्। फेरि आफ्नो नाममा कुनै पनि राखेनन्। कन्या विद्यालय, जनकपुर इन्टरकलेज (पछि डिग्री कलेज) उनैले बनाएका हुन्।
त्यही कलेजमा पढें। राजनीतिक पृष्ठभूमिको मान्छे बीएमा पढ्दा एउटा संयोग भयो। मेरो राजनीतिक संलग्नताका कारण ‘फाइनल’ जाँच दिनबाट रोकिएँ। पछि ‘प्राइभेट’ बाट बीए उत्तीर्ण गरें।
फेरि पढ्न काठमाडौं आएँ। अर्थशास्त्र पढ्न नाम त लेखाएँ, तर पढिनँ। किनकि, घरबाट नियमित पैसा आउने अवस्था थिएन।
२०२६ सालमा बिजलपुरा नै फर्किएँ। गाउँमा निम्न माध्यमिक विद्यालय बनाउने भएपछि बीए उत्तीर्ण शिक्षक चाहियो। मैले पाएँ।
त्यति वेला साक्षरता तीन-चार प्रतिशत मात्र थियो। शिक्षक जति सबै भारतीय थिए। शिक्षक नियुक्त भएपछि जङ्गलबाट लकडी ल्याएर स्कूल भवन बनायौं। पढाउने काममा त मेरी पत्नी पनि संलग्न भइन्, एसएलसी गरेकी थिइन्।
![](https://www.himalkhabar.com/uploads/editor/himal_saptahant/rpu%20pokharel/rpu%20pokharel%20(6).jpg)
शिक्षक मान्छे, कसरी राजनीतिमा संलग्न हुनुभयो?
एक वर्ष जति पढाएपछि नेपाल राष्ट्र ब्यांकमा आबद्ध भएँ। मेरो एक जना साथी सीतानन्दन राय मार्फत जनकपुरकै सत्येन्द्रप्यारा श्रेष्ठसँगको चिनाजानीमा राष्ट्र ब्यांंक जाने मौका मिल्यो। त्यो वेला राष्ट्र ब्यांकले कुनै प्रोजेक्टमा आर्थिक सर्वेक्षण गर्ने मान्छे खोजेको रहेछ र म छनोट भएँ। जागीर त भयो, तर अस्थायी। पछि लोक सेवा दिएर शाखा अधिकृतमा नाम निकालें। त्यसपछि निर्वाचन आयोगमा गएँ।
२०३२ सालमा लोक सेवा आयोगको जाँच दिएको थिएँ, तर नतीजाबारे ख्यालै गरिनँ। नाम निस्केको मान्छेले सम्पर्क नगरेपछि गाउँको ठेगानामा पत्र पठाएछ। पत्र पाएपछि लोक सेवामा सम्पर्क गर्न जाँदा त १० महीना ढिला भइसकेछ।
अन्तिममा जानेले राम्रो ठाउँ कहाँ पाउनु निर्वाचन आयोगमा खटाइदिए। त्यो ठाउँमा कर्मचारी ६ महीना पनि टिक्दैनथे, म भने सात वर्ष बसें। मलाई जागीरको रजगज केही थाहा थिएन। बरु पार्टीको पनि काम गर्थें।
केशरजंग रायमाझी नेतृत्वको कम्युनिस्ट पार्टीको कर्मचारी संगठनमा आबद्ध थिएँ। पार्टीमा त २०१५ सालदेखि नै थिएँ। त्यति खेर कम्युनिस्ट पार्टी विभाजन भएको थिएन। २०१७ सालमा मात्रै पार्टीमा फाटो आयो भने २०१९ सालमा विभाजन भयो।
२०१७ सालको परिवर्तनपछि भएको दरभंगा प्लेनममा केन्द्रीय समिति, जिल्ला समितिको विस्तारित बैठक भएको थियो। त्यो प्लेनममा अल्पमत र बहुमतको कुरा आयो। पुष्पलाल श्रेष्ठ अल्पमतमा परे, डा. रायमाझी बहुमतमा। डा. रायमाझी फर्केर आए भने पुष्पलाल उतै बसे। पुष्पलालको साथमा तुलसीलाल पनि थिए। फेरि म त नेपालमै बस्नुपर्ने, बहुमत पक्षधर पनि परियो। त्यसो भएपछि रायमाझीको नेतृत्वमा कर्मचारी फोरममा काम गर्न थाले।
कर्मचारी, अझ राजनीतिमा आबद्ध। त्यो व्यस्तताबीच पढ्ने रुचि, लगाव कसरी विकास भयो?
म स्कूल पढ्न जलेश्वरमा दिदी-भिनाजुकहाँ बसें। भिनाजु धेरै पढेलेखेको हुनुहुन्नथ्यो। प्रहरीमा जागिर थियो। त्यति वेला प्रहरीमा पनि मुखिया, बैदार भन्थे। त्यसपछि सबइन्स्पेक्टर, इन्स्पेक्टर भन्थे। आईजीपी थिए, तर अहिले जस्तो बीचका डीआईजी लगायत पद थिएनन्।
भिनाजु खूब पढ्ने मान्छे। संस्कृत पढ्नुभएको थियो, कविता पनि रच्नुहुन्थ्यो। हिन्दीका कथा, उपन्यास पढ्नुहुन्थ्यो। त्यो प्रभाव ममा नजानिंदो गरी परेको छ।
हामीकहाँ एउटा पुस्तकालय थियो। त्यो वेला हिन्दी बाल पत्रिका चुन्नुमुन्नु र बालक मासिक पत्रिका घरमा आउँथ्यो। त्यहीबाट मेरो पढाइ शुरू भयो। कक्षा ६ मा पुगेपछि त उपन्यास पढ्ने भएँ। आठ-नौसम्म पुग्दा त पुस्तकालयमा भएका सबै किताब पढिसकेको थिएँ। पढ्ने अम्मल बस्यो, जेजस्तो किताब पाइयो, सबै पढियो।
पढ्ने बानी बसेपछि गैरआख्यानतिर लागियो। फेरि पार्टीमा लागेपछि गैरआख्यान पनि पढ्नुपर्ने बाध्यता जस्तो पनि भयो। अनि दर्शनका किताब पनि पढ्न थालियो। आईए, बीए पढ्दासम्म त जेजति भेटें, सबै पढें।
![](https://www.himalkhabar.com/uploads/editor/himal_saptahant/rpu%20pokharel/rpu%20pokharel%20(1).jpg)
भिनाजुको पढ्ने बानीले तपाईंलाई पनि पढ्न प्रेरित गर्यो?
घरमा पनि स्वतन्त्रता थियो। पढ्नका लागि चाहिने पूर्वाधार पनि थियो। कक्षा ६ मा पढ्न थालेपछि त मलाई एउटा छुट्टै कोठा नै उपलब्ध थियो। अर्को, भिनाजु भारतीय अखबार पनि पढनुहुन्थ्यो। त्यसको प्रभाव पनि पर्यो।
थोरै फरक प्रसङ्गमा कुरा गरौं। माधवी लेखनमा तपाईंको पनि भूमिका थियो भन्ने सुनिन्छ। खासमा के हो?
मैले भारतीय लेखक रांगेय राधवको महायात्रा गाथा पुस्तकका दुई वटा मोटा खण्ड पाएँ। त्यसबारे जनकपुरमै रहँदा छिमेकी मित्र मनु ब्राजाकीबाट सुनेको थिएँ। उनी पनि साह्रै पढ्ने मान्छे। प्राज्ञिक अध्ययन एसएलसीसम्म मात्र भए पनि साह्रै अध्ययनशील र बडो जेहेनदार थिए। चित्रकारिता पनि गर्थे, कविता पनि लेख्थे।
महायात्रा गाथाले साह्रै घत पर्यो। समाजशास्त्रीय सोच विकास गर्न त्यो पुस्तकले बडो सहयोग गर्यो। महायात्रा गाथा संसारको उत्पत्तिबारे इतिहास मात्र नभएर लोकधर्मी र सांस्कृतिक पुनर्व्याख्या गरिएको गजबको किताब हो।
मदनमणि (दीक्षित) माड्साबसँग पहिलेदेखि चिनजान थियो, दैनिकजसो भेट हुन्थ्यो। मैले पढिसकेर त्यो किताब माडसाबलाई दिएँ। उहाँ पनि त्यो किताबबाट प्रभावित हुनुभयो। उहाँलाई पूर्वीय दर्शनशास्त्र, सनातनी परम्पराका विषयमा रुचि थियो। त्यस्तै किताब लेख्न पाए हुन्थ्यो भनेर सुनाउनुभयो।
त्यसपछि मैले ‘तपाईंलाई पूर्वीय दर्शनको ज्ञान पनि छ, लेख्न पनि सक्नुहुन्छ लेख्नुहोस्’ भनें। यत्तिकैमा उहाँले नल-दमयन्तीको कथामाथि उपन्यास लेख्न शुरू गर्नुभयो।
त्यो वेला पञ्चायती प्रशासनले मदनमणि दीक्षितको सम्पादनमा निस्किने समीक्षा पत्रिका बन्द गरिदिएको थियो। त्यसबाट क्षुब्ध जस्तो हुनुहुन्थ्यो र केही गतिलो कृति लेखेर देखाऊँ भन्ने हुटहुटी उहाँलाई थियो, हैन?
त्यो हुन सक्छ। किनभने उहाँको त अर्को काम केही भएन। उहाँको आम्दानीको स्रोत पनि त्यही पत्रिका नै थियो। कति नै आम्दानी हुन्थ्यो, त्यो बेग्लै कुरा। त्यसले ‘फ्रस्टेशन’ भयो होला। तर, त्यहींबाट रांगेय राधवको महायात्रा गाथा जस्तै केही लेखौं भन्ने भयो। अनि नल-दमयन्तीमाथि लेख्न शुरू गर्नुभयो। लेख्न शुरू गरेको दोस्रो दिन भेट्न पुगें।
त्यो वेला महाभारत पढ्दै थियौं। उहाँले गीता प्रेसको ६ वटा ठेली ल्याउनुभएको थियो। मेरी श्रीमतीले महाभारतको माधवी-गालवको प्रसङ्ग पढेर त्यसबारे मलाई बताएकी थिइन्। अनि मैले पनि पढेपछि माड्साबलाई माधवी-गालवको कथा ‘तपाईंलाई उचित हुन्छ’ भने।
यसमा ‘सामाजिक-सांस्कृतिक पक्ष खडा गर्न सक्नुहुन्छ, क्षमता पनि छ’ भनें। त्यो कुरा जँच्यो। अनि लेख्न थाल्नुभयो। प्रत्येक दिन उहाँले लेख्ने र मैले सुन्ने क्रम चलिरह्यो। त्यसमा मैले आफूलाई लागेको कुरा पनि भनिरहें।
जनकपुर बस्दा समीक्षाको संवाददाता भएर पनि काम गर्नुभएको थियो नि, हैन?
त्यति वेला जनकपुरमा पढ्दै थिएँ। काठमाडौंमा आउँदा भेट्न गएँ। संवाददातामा नियुक्त गरेको पत्र दिनुभयो, समीक्षाको लेटरप्याडमा। धेरै त होइन, केही समाचार पठाएँ। एउटा समाचारले अप्ठ्यारो पनि पारेको अझै सम्झन्छु।
पुलिसको समाचार लेखेर पठाएको थिएँ। त्यो समाचार पुलिसको ज्यादतीसँग जोडिएको थियो। त्यसपछि त राति आएर एसपीले थर्काए। ‘यस्तो गर्दिन्छु, उस्तो गर्दिन्छु’ भन्दै मलाई समातेर लगे। चार-पाँच दिन थुनामा राखे अनि छोडिदिए। यसबारे माड्साबले कतै लेख्नु पनि भएको छ।
म राजनीतिक कारणले त्योभन्दा अघि तीन पटक थुनामा परिसकेको थिएँ। अनि त केही तलमाथि भयो कि समात्न आइहाल्थे।
![](https://www.himalkhabar.com/uploads/editor/himal_saptahant/rpu%20pokharel/rpu%20pokharel%20(2).jpg)
थोरै राजनीतिका कुरा गरौं। तपाईं कम्युनिस्ट पार्टीमा कसरी लाग्नुभयो?
यसमा पनि भिनाजुको नाम लिनुपर्ने हुन्छ। भिनाजु प्रहरीमा जागीरे भए पनि व्यवहारमा कम्युनिस्ट। उहाँका विचार प्रगतिशील थिए। कम्युनिस्ट शब्द नै मैले आठ-दश वर्षको हुँदा भिनाजुबाट सुनेको थिएँ।
राजविराजमा सरुवा हुँदा कम्युनिस्ट पार्टीको नेतृत्वमा किसान आन्दोलन चलिरहेको थियो। भकारी फोर्ने, तमसुक च्यात्ने, चक्रवृद्धि ब्याज विरुद्धको आन्दोलन थियो। आन्दोलन गर्ने नेताहरू पक्राउ परे, जेल परे।
संयोग कस्तो परेछ भने तीमध्ये एक नेताको घरमा भिनाजु बस्न पुग्नुभएछ। उनी थिए, ठूला जमीनदार। गाउँमा बस्थे, यता राजविराजमा पनि डेढ बिघाको कम्पाउन्डको घर थियो जहाँ भिनाजुको डेरा रह्यो। उनी राजविराज आएका वेला हाम्रै भान्सामा खान्थे। मान्छे पनि बौद्धिक, राम्रा कुरा गर्ने, व्यवहार पनि राम्रो। त्यस हिसाबले भिनाजुको सहानुभूति उनीप्रति रह्यो र कम्युनिस्टप्रति झुकाव बढ्यो।
अर्को, म नजिकैको एउटा घरमा ट्यूसन पढ्न जान्थें। उनीहरू पनि प्रगतिशील विचारधाराका मान्छे थिए। पछि जलेश्वर आएपछि सङ्गत पनि कम्युनिस्टसँगै हुन पुग्यो। यी सबै कारणले गर्दा कम्युनिस्ट पार्टीमा लागियो। २०१५ सालमा चुनाव हुने भएपछि पार्टीको संगठन विस्तार गर्ने काममा पनि खटिएँ।
२०४६ सालमा प्रजातन्त्र पुन:स्थापनापछि किन पार्टी छोड्नुभयो?
कम्युनिस्ट पार्टीमा स्टालिन शैली हावी भयो। त्यो त ‘प्रोलिटेरियट’ होइन, त्यो ‘डिक्टेरशिप’ हो। केन्द्रले जे निर्णय गर्यो, त्यो पालना गर्नुपर्थ्यो। नयाँ चिन्तन आउनै नपाउने, अनुशासन पनि त्यस्तै। अझ पहिला पहिला त उपन्यास पनि पढ्न नहुने ‘ह्वीप’ थियो। मलाई पार्टी साँघुरो लाग्न थाल्यो।
पार्टीमा नवीन चिन्तन नभएपछि उसले नवीन समाज बनाउँछ कसरी? उही जडसूत्रलाई समातेर त भएन। अनि पार्टी छोडें।
२०४६ सालसम्म एउटा चासो थियो, बहुदल स्थापनापछि लाग्यो- यिनीहरूबाट नयाँ चिन्तन आउँदैन। समाजवादको कुरा गर्छन्, जनता भन्छन्, सबै ‘भेग’ कुरा। जनता भनेका पार्टीका ‘क्याडर’ मात्र हुँदा रहेछन्।
समाजवाद भन्छन्, त्यसलाई हासिल गर्ने कुनै योजना छैन। समाजवादको मोडेल के हुने, त्यसको प्रारम्भ कसरी हुन्छ, टुङ्गो के हुन्छ, केही थाहा छैन। ‘दलाल पूँजीवाद’, ‘दलाल पूँजीपति’ भन्छन्, त्यो के हो? बुझ्नै नसकिने।
नेपाल जस्तो उद्यमविहीन देशमा दलाल पूँजीवाद त हुन्छ नै। जहाँ उत्पादनमूलक आधार छैन, अर्थतन्त्र आयातमुखी छ भने त्यहाँ हुने नै दलाल पूँजीवाद त हो। यसो भएपछि दलाल पूँजीपति हुन्छन् नै। त्यो अपरिहार्य छ नत्र अर्थतन्त्र नै रहँदैन।
कम्युनिस्ट पार्टीको मान्छे, कांग्रेस नेता प्रदीप गिरिसँग पनि हिमचिम थियो। त्यो कसरी भयो?
शुरूमा प्रदीप गिरिका दाजुलाई चिनेको हुँ। उनीहरू सिरहाको बस्तीपुरका हुन्, तर पहिलो घर जनकपुर नै भन्दा हुन्छ। सबै नातेदार जनकपुरमै थिए। उनका दाजु प्रकाश जनकपुर आउँदा भेटघाट हुन्थ्यो। उनी ‘मेरो भाइ बडो प्रखर छ, भारतका समाजवादी नेता जयप्रकाश नारायणसँग उसको सङ्गत छ’ भन्थे।
हुन पनि प्रदीप गिरि बडो पढ्ने मान्छे। साहित्यमा पनि उत्तिकै रुचि थियो। २०२२ सालमा भेटेको हुँ। हामी जनकपुरको जुन घरमा बस्थ्यौं, त्यहाँ उनका फुपूहरू पनि बस्थे। उनैले मसँग प्रदीपको चिनजान गराइदिए। त्यो वेला उनले मोहन कोइरालाका कविता प्रकाशित भएको रूपरेखा लगायत पत्रिका मागे, मैले दिएँ। उनले कोइरालाको कविताको समालोचना लेख्न चाहेका रहेछन्। उनी धेरैजसो बनारस बस्थे, आउजाउ गरिरहन्थे।
पछि पनि भेट भइरहन्थ्यो। म पत्रकारिता पनि गर्ने हुँदा चिनजान रहिरह्यो। उति धेरै सङ्गत नभए पनि लेखपढको कुरा केही आदानप्रदान हुन्थ्यो। फेरि उनी कांग्रेस परे, म कम्युनिस्ट। त्यसले गर्दा पनि उति वेला हिमचिम हुने वातावरण भएन कि जस्तो लाग्छ।
म सम्झन्छु, एक पटक उनीसँग मार्क्सवाद र आजको राजनीतिका विषयमा छलफल गरेका थियौं। मनु ब्राजाकी, जगदीश घिमिरे र म थियौं। त्यो वेला २०२५ सालमा कांग्रेसका नेता सुर्वणशमशेरको विज्ञप्ति आएको थियो। विज्ञप्तिमा पञ्चायतलाई समर्थन गर्ने कांग्रेसको निर्णय थियो। त्यही समर्थनको आधारमा विश्वेश्वरहरू छुटेका हुन्।
![](https://www.himalkhabar.com/uploads/editor/himal_saptahant/rpu%20pokharel/rpu%20pokharel%20(5).jpg)
प्रदीप गिरीलाई पार्टीको त्यो निर्णय मन परेको थिएन, है?
उनका बुबा नै पार्टीको स्थापनाकालका नेता थिए। २००९ सालमा पार्टी केन्द्रीय कार्यसमितिमा सदस्य चुनिएका थिए। आठ वर्ष भारत निर्वासनमा बसे। उनका काका रुद्रप्रसाद गिरि पछि मन्त्री पनि भए। यसरी उनी कांग्रेसमा लागेका हुन्, तर कांग्रेसमा लागे पनि उनी एक किसिमको अराजक व्यक्तित्व थिए। त्यसैले उनी पार्टीको विधिविधानमा नअटाउने खालका मान्छे थिए।
नेपाली समाजमा महाकवि लक्ष्मीप्रसाद देवकोटाबारे गलत बुझाइ व्याप्त भएको जिकिर गरिरहनुहुन्छ। देवकोटाबारे तपाईंको बुझाइ के हो?
देवकोटालाई देख्न पनि पाइनँ। उहाँ छउन्जेल काठमाडौं आउन पाइनँ, उहाँ पनि जनकपुर जानुभएन। देवकोटाबारे पनि भिनाजुको मुखबाट सुनेको हुँ। भिनाजुले मुनामदन, कुञ्जिनी पढ्नुभएको रहेछ।
स्कूलको पढाइ सकेपछि बिस्तारै देवकोटा पढ्न थालियो। भिनाजुले पत्रिका धेरै ल्याउनुहुन्थ्यो। नारायण बाँस्कोटाले निकाल्ने प्रगति, प्रज्ञा प्रतिष्ठानले निकाल्ने इन्द्रेणी जस्ता पत्रिका पनि पढ्न पाएकाले देवकोटाबारे बुझ्ने मौका पाएँ। वास्तवमा उहाँ असाधारण व्यक्तित्व नै हो। साहित्यमा मात्रै होइन, अरू विषयमा पनि ज्ञान थियो। अरूभन्दा अलग, बेग्लै खालको व्यक्तित्व थियोे। अंग्रेजीमा ‘जिनियस’ भन्छन् नि, त्यस्तै विलक्षण प्रतिभा थियो देवकोटामा।
देवकोटाबारे जुन चित्रण छ नि ‘लक्ष्मीप्रसाद’ नाम भए पनि कहिल्यै ‘लक्ष्मी’को आशिक नपाएको भन्ने। त्यो पनि अतिशयोक्ति होइन?
देवकोटा परिवारको पृष्ठभूमि थाहा नपाएकाले यस्तो टीकाटिप्पणी गर्ने गरेका हुन्। मध्यम वर्गको राम्रो र शिक्षित तथा सम्पन्न परिवार हो। उहाँका दाजुले कलकत्तामा बसेर अंग्रेजी पढ्नुभएको थियो। जेठा छोराले ट्यूसन पढाएर पैसा कमाएको देखेपछि आमाले देवकोटालाई पनि अंग्रेजी पढाउन दरबार हाई स्कूल पठाउनुभयो। देवकोटाका पिताजी पनि विद्वान् हुनुहुन्थ्यो। सबै भाइहरू पनि पढेलेखेका थिए।
अर्को, देवकोटा परिवारको राणाजीहरूकोमा पनि पहुँच थियो। त्यसैले उहाँको जुन आर्थिक विपन्नताको चित्रण गरिएको छ, त्यो सही होइन।
केही समय अप्ठ्यारो नपरेको होइन। मान्छेको जीवनमा उतारचढाव त हुन्छ नै। जब बनारस लगियो, भावुक मान्छे, बहकिनुभयो होला। त्यहाँ दुई वर्ष बस्दा भने साह्रै दुःख पाउनुभयो। कविता बेचेर काम चलाउनुभयो। केसम्म सुनिएको थियो भने देवकोटाले चार आनामा कविता बेच्न थाल्नुभयो। पछि त त्यही पनि नदिने भए।
उताबाट फर्केर आएपछि यहाँको जागीर छुट्यो। त्रिचन्द्रमा पढाउनुहुन्थ्यो, भाषा परिषद्मा जागीर थियो, दुवै छुट्यो।
त्यसपछि ट्यूसन पढाएर गुजारा गर्नुहुन्थ्यो। निकै कमाउनुहुन्थ्यो। महीनाको ६-७ सय कमाइ हुन्थ्यो। त्यो भनेको अहिलेको लाख बराबरको कमाइ हो। आम्दानी राम्रो थियो, तर आर्थिक व्यवस्थापनमा कमजोरी थियो। आम्दानी खूब गरे पनि खर्च कसरी गर्ने भन्ने दक्षता थिएन।
फेरि किताबमै फर्कौं। पाँच खण्डको किताबको एक खण्ड बीपी कोइरालामाथि नै केन्द्रित छ। अघिल्लो किताब विचार मीमांसामा पनि बीपीबारे दुई वटा लेख थिए। बीपीको व्यक्तित्व कस्तो थियो?
बीपी नाम उनका भारतीय मित्रहरूले राखिदिएका हुन्। ब्रिटिश शासकबाट जे सिके त्यही अनुकरण गरे। विश्वेश्वर प्रसादलाई संक्षेपीकरण गर्ने हो भने विप्र भन्नुपर्यो। मलाई पत्र पढाउँदा विप्र कोइराला भनेर पठाउनू भन्थे।
अघिल्लो पुस्तकमा विश्वेश्वरको आर्थिक दृष्टिकोण र विचार तथा राजनीतिक यात्रा गरी दुई विषयमा विस्तारपूर्वक लेखेको छु। उनी निकै पढ्ने मान्छे हुन्। विश्वको राजनीतिक तथा साहित्यिक मामिलामा पनि उत्तिकै चासो राख्थे र ती विषयमा छलफल पनि गर्न सक्थे। उनको उठबस गर्ने मित्रहरू सबै भारतीय थिए, नेपाली त कोही पनि थिएनन्। किनभने उनको सम्पूर्ण जीवन नै भारतमै बित्यो। जीवनको ६८ वर्षमा १५-१६ वर्ष नेपालमा बसे। बाँकी सबै समय भारतमै बसे।
साथीभाइ, मित्रबन्धु भन्ने स्कूल, कलेज पढ्दा हुन्। उनको त्यो सबै उतै भयो। त्यसले गर्दा नेपालबारे उनको न्यून ज्ञान रह्यो। त्यसैले नेपाली समाजबारे उनको गहिरो अध्ययन भएन, यहाँको समाजसँग उनको तादात्म्य भएन। मेरो नेपाली कमजोर छ भनेर उनले आफैं स्वीकार गरेका छन्। म नेपालीसँग भिज्न पाइनँ पनि भनेका छन्।
राजनीतिक रूपमा उनको संलग्नता सैद्धान्तिक रूपमा बढी देखिन्छ। व्यावहारिक राजनीतिमा उनको कमजोरी देखिन्छ। मोटामोटी रूपमा उनको राजनीति असफल हो र उनमा राजनीतिक स्थिरता देखिंदैन।
उनी गान्धीवादी थिए। अहिंसाको वकालत गर्थे। पार्टी खडा गर्दा उनले त्यही भनेका छन्। वक्तव्यहरूमा त्यही कुरा देखिन्छ नि। सुवर्णशमसेरसँग भेट भएपछि उनको अहिंसाको नीति छेउ लाग्यो। सशस्त्र आन्दोलनको पक्षमा गए। यो परिवर्तन दुई-तीन महीनाबीचमा भएको देखिन्छ। भारतीयहरूले छिटै नेपालमा परिवर्तन होस्, त्यसका लागि हतियार सहितको आन्दोलन होस् भन्ने चाहेको देखिन्छ। किनभने जवाहरलाल नेहरूको सुवर्णशमशेरसँग हिमचिम थियो। उनको पार्टी नै नेहरूको परामर्शमा खोलिएको थियो।
२०१७ सालको परिवर्तनपछि पटनामा भएको सम्मेलनमा सुवर्णशमशेरलाई अध्यक्ष बनाइयो र सशस्त्र आन्दोलन गर्ने निर्णय गरियो। त्यसमा विश्वेश्वरको संलग्नता दखिंदैन किनभने उनी जेलमा थिए।
पछि २०२५ सालमा उनले पञ्चायतलाई समर्थन गर्ने वक्तव्य दिएर रिहा भए। २०२६ सालमा भारत गए। त्यहाँ गान्धीको जन्मशताब्दीको कार्यक्रममा लामो व्याख्यान दिंदै नेपाल जस्तो देशमा गान्धीको अंहिसा उपयोगी हुँदैन भनेका छन्।
२०२९/३० सालमा नेपाली कांग्रेसले क्याप्टेन यज्ञबहादुर थापाको अगुवाइमा सशस्त्र आन्दोलन नै गर्यो। कहाँ गान्धीवादबाट शुरू भएको कांग्रेस कहाँ सशस्त्र आन्दोलनमा पुग्यो। यस हिसाबले विश्वेश्वरमा विचारको अस्थिरता देखिन्छ।
सशस्त्र आन्दोलन गर्नुपर्ने त कम्युनिस्टहरूले हो। तर, अंहिसावादी कांग्रेसले तीन पटक सम्म सशस्त्र आन्दोलन गर्यो। कम्युनिस्टले एक पटक पनि गरेन, माओवादीलाई त म कम्युनिस्ट नै मान्दिनँ। आर्थिक नीतिमा पनि विश्वेश्वरको असङ्गति देखिन्छ।
![](https://www.himalkhabar.com/uploads/editor/himal_saptahant/rpu%20pokharel/rpu%20pokharel%20(3).jpg)
बीपीको आर्थिक नीतिमा पनि स्थिरता थिएन भन्ने आधार हो?
उनी क्षणमै गान्धी मोडेलको ग्रामीण विकासको कुरा गर्छन्। विकेन्द्रीकरणको कुरा गर्छन्। अर्को ठाउँमा दुई-चार महीनामा हामीलाई औद्योगिक विकास चाहिन्छ, औद्योगिक क्रान्ति गर्नुपर्छ भन्छन्।
बीपीको साहित्यिक योगदानलाई चाहिं कसरी हेर्नुहुन्छ?
साहित्यमा नवीन आन्दोलन ल्याए। नवीन धारा प्रवेश गराए। त्यसको श्रेय उनलाई जान्छ। मनोविश्लेषण र यौनमनोविज्ञान त्यसैमा पर्यो। हुन त गोविन्दबहादुर मल्ल ‘गोठाले’ ले त्यो धारामा नलेखेका होइनन्, तर उनीभन्दा धेरै अघि विश्वेश्वरले साहित्यमा भित्र्याएका हुन्। समग्रमा उनी उच्च कोटिका बौद्धिक हुन्, तर सिद्धान्त बढी, व्यवहार कम भयो।
वैचारिक अस्थिरता आउनु, व्यवहारवादी कम भएर सैद्धान्तिक बढी हुनुमा संवाद गर्ने वृत्त नभएका कारणले भएको हो कि?
नेपालमा विश्वेश्वरका मित्र थिएनन्। आफ्नो विचार आदानप्रदान गर्ने वृत्त थिएन। अरू सबै आफैं लघुताभासले ग्रसित थिए, उनीसँग बोल्नै सक्दैनथे। गणेशमानजी, किसुनजीले आफ्ना कुरा संक्षिप्त रूपमा राख्थे र विश्वेश्वरले जे बोल्थे, त्यसैमा ‘हुन्छ, हुन्छ, त्यसै गर्ने’ भन्थे।
कतिसम्म देखियो भने २०३३ सालपछि एक पटक कुनै निर्णय गर्नुपर्दा विश्वेश्वरले एउटा कुरा बोले गणेशमानजीले अर्कै कुरा। गणेशमानजीलाई सोधियो, ‘विश्वेश्वरबाबुले त यस्तो भन्नुभएको छ नि।’
अनि गणेशमानजीले भन्नुभयो, ‘ए त्यसो हो भने उहाँले भने जस्तै गर्ने।’
अवस्था यस्तो थियो। सबै उहाँसँग ‘डोमिनेटेड’ थिए, बौद्धिक रूपमा पनि। त्यसो हुँदा पार्टीमा संवाद नै हुन पाउँदैनथ्यो । त्यस हिसाबले हेर्दा उनी एक्ला थिए।
पृथ्वीनारायण शाहबारे पनि लेख्नुभएको छ। पृथ्वीनारायण शाहलाई अहिले कसरी सम्झनुपर्ने हो?
उनको पहिलो योगदान त राजनीतिक एकीकरण नै हो। राष्ट्रिय एकीकरण एकै पटक हुने कुरा होइन। एउटा क्रमिक विकासमा हुने हो। पृथ्वीनारायण शाहले राज्यलाई चाहिने सबै अङ्ग गृह प्रशासन, परराष्ट्र नीति, आर्थिक नीति, वाणिज्य नीति, संस्कृति नीति जुन दिए, यी सबै राष्ट्रिय हितमा आधारित छन्।
दोस्रो, १८औं शताब्दीको त्यो समयमा यूरोप पुनर्जागरणको युग आएको थियो। प्रजातान्त्रिक पद्धतिको भर्खर प्रारम्भ भएको थियो। हामीकहाँ शिक्षाको अवस्था के नै थियो? त्यो वेला प्रजातान्त्रिक अभ्यासका लागि उनले जुन नीति दिए र आफैं पनि संलग्न भए, त्यो अनुकरणीय छ। नेतृत्वमा कस्तो मान्छे लिने, सुरक्षामा कस्तो नेतृत्व लिने, भारदार कसरी चयन गर्ने भन्ने उनले अभ्यासमा देखाए।
उनी आफैंले निर्णय गरेनन्, बरु ‘मेरो सोच यस्तो छ। त्यो ठीक हो कि होइन’ भनेर पहिला आफ्नै परिवारमा अनि भारदारमा र छिमेकी राज्यसँग जनमत लिएर मात्र निर्णयमा पुगेको पाउँछौं। पुस्तकमा समावेश लेखमा ‘जनमतका प्रवर्तक पृथ्वीनारायण शाह’ शीर्षकमा उनको प्रजातान्त्रिक अभ्यासबारे लेखेको हुँ। शायद यस्तो नेतृत्व यूरोपमा पनि देखिएन। अमेरिकाको त जन्म नै भएको थिएन।
पुस्तकमा समावेश अर्को लेख राजा महेन्द्रमाथि छ। २०१५ जननिर्वाचित सरकारलाई २०१७ सालमा अपदस्थ गरेर शासन आफ्नो हातमा लिएर पञ्चायती व्यवस्था लागू गरेका राजा महेन्द्रको योगदान चाहिं के हो?
राजा महेन्द्रका कतिपय कुरा अहिले पनि सान्दर्भिक लाग्छन्। हामीले सैद्धान्तिक पक्षमा बढी जोड दियौं। प्रजातन्त्र निर्बाध अधिकार मात्र भनिरह्यौं। यसको प्रयोग के-कसरी गर्ने, के-कसरी भयो, त्यता गएनौं। विश्वेश्वरको समयमा साक्षरता चार प्रतिशत थियो। त्यो वेला प्रजातान्त्रिक मतदानको अभ्यास कसरी गर्ने? जबकि, यूरोप वा अमेरिकामा प्रजातान्त्रिक अभ्यास स्थापित गर्न लामो समय लाग्यो। मतदाता शिक्षित हुनुपर्यो, सचेत हुनुपर्यो, चेतना हुनुपर्यो। मतपत्रको चलन त धेरैपछि आएको हो।
आज हेर्नुहोस्, हामीले प्रजातान्त्रिक व्यवस्था भनेका छौं, अनि चुनिएर आएकाहरू को छन् भन्दा अपराधीहरू। मोहम्मद आफताब आलम चुनाव जितेर आएका होइनन्? त्यस्तो मान्छे जसले जिउँदै मान्छेलाई भट्टीमा हालिदियो। आलम, लक्ष्मी महतो जस्ता सांसद छन्। तिनलाई जनप्रतिनिधि भन्ने?
सैद्धान्तिक हिसाबले राजा महेन्द्रको कदम गलत थियो, ‘कू’ नै हो। सबैले यही भन्छन्, तर त्यो स्थितिमा उनले जुन कदम चाले र त्यसपछि जुन कार्यक्रम दिए, त्यो दूरदर्शी थियो। किनभने २०१७ सालको कदम चालेपछि आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक कार्यक्रम ल्याए। त्यो सब हेर्दा उनी दूरदर्शी देखिन्छन्।
अहिले ‘के नेपाल पहिला राम्रो थियो?’ भन्ने बहस चलिरहेको छ। २०४६ सालपछि हाम्रा नेताहरू अकर्मण्य देखिएकाले राजा महेन्द्र त्यसै सान्दर्भिक देखिएका हुन्?
हो, त्यो पनि हो। तर, पहिलेको अवस्था राम्रो हो भन्ने पक्षमा म छैन। प्रजातन्त्र वा गणतन्त्रको नाममा जसरी हामी उत्ताउला देखिइरहेका छौं, समस्या त्यहाँ छ। प्रजातन्त्रमा हुनुपर्ने कानूनको शासन हो, त्यो नै छैन। पाँच वर्षमा बन्नुपर्ने पुल २० वर्षमा पनि बन्दैन। अनि कसरी विकास हुन्छ?
राजनीतिक अकर्मण्यताबारे टिप्पणी गर्ने क्रममा गान्धीको स्वराजको प्रसङ्ग उल्लेख गर्नुहुन्छ। हामीले आफूलाई राज गर्न नजानेसम्म त प्रगति उन्नति हुँदैन नि, हैन?
हाम्रो राजनीतिक चरित्रको कुनै आदर्श नै छैन। हाम्रो अन्तिम लक्ष्य यो हो भन्ने नै छैन। कम्युनिज्ममा जाने हो कि, समाजवादमा जाने हो कि, अथवा रामराज्य के हो? वा के नाम दिने हो, त्यो नाम राखौं। त्यो आदर्शमा पुग्ने प्रयास त हुनुपर्यो नि। तर, त्यो लामो यात्रा हो। त्यतातिर उन्मुख हुनुपर्यो नि। देशले एउटा निर्देशक सिद्धान्त त तय गर्नुपर्यो नि।
त्यस्तै, हाम्रो राज्यसंयन्त्रको राजनीतिक गति देखिएन। खालि कुर्सीको खेला मात्र भयो। त्यो बाहेक कुनै योजनामा छलफल गरेको, संवाद हुने गरेकै छैन।
जुन देशमा रोजगारी छैन, उद्योगधन्दा, कलकारखाना केही छैन। अनि बत्ती बेचेर धनी हुने कुरा गर्छौं। यो त वैदेशिक रोजगारले धानेको जस्तै अवस्था हो।
लोकतन्त्र, गणतन्त्र जे भन्नुस्, मूल कुरा कानूनको शासन हो। त्यो चाहिं फिटिक्कै छैन। पाँच वर्षमा बन्नुपर्ने आयोजना त्यो अवधिमा बन्नुपर्यो, नबने कारबाही गर्नुपर्यो। आयोजनाको म्याद थपेको थप्यै २० वर्ष पुग्छ।
त्यही भएर अहिले नयाँ पुस्ताका नेता एकाएक आएका हुन् जस्तो लाग्छ?
यसो हुनुमा पार्टीको भिजन नहुनु कारक हो। हाम्रा सबै राजनीतिक संयन्त्र सैद्धान्तिक भए, जडसूत्री बने, नारा तयार गरे, त्यत्तिमै रमाए। त्यसलाई कसरी योजना बनाएर अघि लान सकिन्छ भन्नेमा चासो, छलफल, संवाद भएन।
एउटा उदाहरण, २०४८ सालमा चुनाव भएर नेपाली कांग्रेसको सरकार बन्यो। गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बने। त्यो वेला प्रतिपक्षमा रहेका नेकपा (एमाले)का नेता मदन भण्डारीले टुँडिखेलबाट चुनौती दिंदै भने- यो सरकारलाई तीन महीनाभन्दा बढी चल्न दिन्नँ।
उनलाई त्यसो भन्ने अधिकार कसले दियो? कांग्रेसको सरकार गठन भएको एक महीना भएको थिएन, कर्मचारी आन्दोलन शुरू भयो। यसको आधार के हो?
यसबारे कुनै सैद्धान्तिक छलफल, यसको व्यावहारिक प्रयोजनबारे संवाद केही छैन। यो त प्रजातान्त्रिक संस्कृति हुँदै भएन नि। तानाशाही प्रवृत्ति भयो नि। जनताले त पाँच वर्षलाई भोट दिइसके नि। चाहे अपराधी नै किन नपरुन्?
जनताको म्यान्डेटलाई तीन महीनामै घुँडा टेकाइदिन्छु भनेर चुनौती दिने? त्यो गल्ती थियो। कर्मचारी आन्दोलन गल्ती हो। त्यो भनाइ पनि गल्ती हो। हाम्रो विकृतिको शुरूआत नै त्यहींदेखि भएको हो। अब मदन भण्डारी त महान् नेता भइगए।
अन्तिममा भविष्यको कुरा गरेर बिट मारौं। २००७ सालयताका राजनीतिक, सामाजिक, आर्थिक लगायत सबै गतिविधिसँग प्रत्यक्ष-अप्रत्यक्ष रूपमा जोडिनुभएको छ, नियालिराख्नुभएको छ। अब राम्रो होला भन्नेमा कति आशावादी हुनुहुन्छ?
हाम्रोमा परिवर्तन भयो, तर राजनीतिक मात्रै, सामाजिक परिवर्तन भएन। अहिलेसम्म भएका परिवर्तन पनि योजना मुताबिक, लक्ष्य हासिल गर्ने हिसाबले भएका होइनन्।
समाजले नराम्रो कुरा त्याग्दै, राम्रो कुरा अँगाल्दै जानुपर्छ। विकासको गति त्यही नै हो। यहाँसम्म आइपुग्दा पनि निकै उथलपुथल भएको छ। हाम्रो समाजले पनि उन्नति त गर्छ नै, कहिले गर्छ भन्न नसकिएला। यद्यपि, आशावादी नभए पनि हामी आशामुखी हुनुपर्छ।
किताबका कुराका थप सामग्री: