बालविवाह र बालश्रम विरुद्ध लड्दै कर्णालीकी १७ वर्षीया प्रतिमा
जाजरकोटको कुशे गाउँपालिकाकी १७ वर्षीया प्रतिमा रोकाया बाल क्लबको माध्यमबाट गाउँमा रहेको बालविवाह र बालश्रम विरुद्ध लड्दै आएकी छन्।
कुशे गाउँपालिका-८ बिजुलीडाँडाकी १७ वर्षीया प्रतिमा रोकाया कक्षा १२ मा पढ्छिन्। बिजुलीडाँडास्थित जुरेली सामुदायिक बाल क्लबकी अध्यक्ष उनी त्यही क्लबबाट गाउँमा रहेको बालविवाह र बालश्रम जस्ता चलनको विरुद्ध लड्दै आएकी छन्।
जिल्ला सदरमुकाम खलंगाबाट टाढा रहेको बिजुलीडाँडाका अधिकांश बासिन्दाका पेशा पेशा कृषि हो। तर‚ खेतीपातीबाट अन्नपातले एक वर्ष खान पुग्दैन। त्यसैले यस गाउँका प्रायः पुरुष रोजगारीका लागि भारत जान्छन्। प्रतिमाका बुवा पनि त्यसरी नै भारत पुगेका छन्।
तीन दिदीबहिनी एक भाइमध्ये कान्छी प्रतिमालाई मजदूरी गरेरै भए पनि विद्यालय पठाएका छन्। आफूहरूले पढ्न लेख्न नपाउँदा दुःख पाएको भन्दै प्रतिमाका अभिभावकले आफ्ना सन्तानहरूलाई विद्यालय पठाएका रहेछन्।
लेखपढमा रुचि राख्ने प्रतिमा आफूले जाने-बुझेका कुरा अरूलाई बाँड्न चाहन्छिन्। त्यसैले उनी साथीसँगी जम्मा गर्दै जानेका कुरा सुनाउँथिन्। समाजमा भइरहेका अमानवीय र अनैतिक कामबारे खबरदारी गर्थिन्।
२०७६ सालमा उनी कक्षा १० पढ्दै थिइन्। त्यही समय सेभ द चिल्ड्रेन नामक गैरसरकारी संस्थाले गाउँमा बाल क्लबबारे जानकारी दिंदै क्लब गठन गर्न सुझायो। सामाजिक काममा रुचि राख्दै आएकी प्रतिमालाई यस कुराले छोयो। साथीहरूसँग बाल क्लब गठन गर्ने सल्लाह गरिन्। घरमा पनि यसबारे भनिन्। तर‚ परिवारका सदस्यले उनको कुरा पत्याएनन्। उनी भन्छिन्‚ “बाल क्लब गठनबारे घरमा कुरा राखें‚ कसैले पनि पत्याउनुभएन।”
तर‚ प्रतिमाले हिम्मत हारिनन्। त्यही हिम्मतले २०७६ सालमा २१ सदस्यीय जुरेली सामुदायिक बाल क्लब स्थापना भयो। बाल क्लब त निर्माण भयो तर यसैका अगुवा प्रतिमालाई परिवारले क्लबका कार्यक्रमा जान दिएन। “शुरुवातमा निकै गाह्रो भयो। किन जानुपर्यो, केटाकेटी बिग्रन्छन् भन्ने सोचाइ थियो,” उनी भन्छिन्‚ “तर‚ सम्झाएपछि मान्नुभयो। गाउँका सबैजना भेला गरेर सडक नाटक देखायौं। अहो! केटाकेटी त यति जान्ने भएछन् भनेर दंग पर्नुभयो।”
बालविवाह र बालश्रम विरुद्ध अभियान
प्रतिमाको गाउँमा बालविवाह गर्ने धेरै छन्। यस्तै‚ बालबालिकालाई श्रममा लगाउने चलन पनि छ। बालविवाह र बालश्रमकै कारण विद्यालय शिक्षा पूरा गर्न नपाउँदै गाउँका बालबालिका पढाइ छाड्न बाध्य हुन्छन्।
बालविवाह गरेकाहरूमा सम्बन्धविच्छेदको समस्या छ। यस्तै‚ महिलामा पाठेघरको क्यान्सर, पाठेघर खस्ने‚ अपांगता भएका बच्चा जन्मिने लगायतका समस्या छन्। यस्ता समस्याबारे सचेतना जगाउने काम गर्दै आएको छ प्रतिमा अध्यक्ष रहेको जुरेली सामुदायिक बाल क्लबले।
“मेरा तीन जना साथीले बालविवाह गरे, शिक्षाबाट पनि बञ्चित भए‚” प्रतिमा भन्छिन्‚ “उनीहरूले अहिले घरेलु समस्या झेल्नुपरेको छ। उनीहरूको मानसिक तथा शारीरिक अवस्था कमजोर छ।”
क्लब आफ्नो बलबुँताले भ्याएसम्म स्थानीय सरकारको ढोका ढकढकाउँदै आएको छ। जसको फलस्वरुप कुशे गाउँपालिकाले बालबालिकाबारे कार्ययोजना बनाएको छ। क्लबले १८ वर्षमुनिका बालबालिकालाई काम नलगाउने भनी गाउँपालिकासँग समन्वय गरेको छ। गाउँपालिकालाई बालमैत्री पालिका बनाउने योजना प्रतिमाको योजना छ। त्यसै योजनाको पहिलो पाइलाको रुपमा अहिले वडा नं ८ लाई बालमैत्री वडा घोषणा गरिएको छ। प्रतिमा भन्छिन्, “अभिभावकले विद्यालय जानुभन्दा मजदूरी गरे पैसा पाउने भन्दै मजदूरी गर्न पठाउने रहेछन्। त्यस विरुद्ध वडाध्यक्षसँग मिलेर काम गर्यौं। अहिले वडामा बालश्रम शून्य रहेको छ।” बालश्रम र बालविवाह न्यूनीकरणका लागि गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ मा दुई लाख रुपैयाँ विनियोजन गरेको थियो।
जुरेली सामुदायिक बाल क्लबले रेड पान्डा संरक्षण, वृक्षारोपण, वडा तथा प्रहरीसँगको समन्वयमा कुरीति र कुसंस्कार विरुद्ध अभियान, किशोरकिशोरीसँग उपाध्यक्ष कार्यक्रम, महिनावारी विशेष कार्यक्रम सञ्चालन गरेको छ। महिनावारीका कारण कोही पनि विद्यालय जानबाट बञ्चित नहून् भनेर यस्तो कार्यक्रम चलाएको प्रतिमा बताउँछिन्। महिनावारी विशेष कार्यक्रमको प्रभावले पहिले विद्यालयमा प्याड वितरण गर्दा कागजमा बेरेर दिने गरे पनि अहिले खुला दिन थालिएको उनको भनाइ छ।
‘शहरमा ठूलो गाउँमा सानो अस्पताल’
बालबालिकाको अधिकारबारे काम गर्ने सिलसिलामा प्रतिमा केही समयअघि संघीय राजधानी रहेको काठमाडौं उपत्यकामा पहिलो पटक पुगिन्। सेभ द चिल्ड्रेनको सहयोगमा काठमाडौं पुगेकी उनले यहाँ रहेका ठूलठूला भवन, कालोपत्रे सडकमा सवारीसाधानको भीड, हतारमा हिंडिरहेका पैदलयात्रु देखिन्। यो दृश्य आफूलाई अनौठो लागेको उनले बताइन्। काठमाडौं उपत्यकामा रहेका मन्दिरहरूले पनि उनको ध्यान तान्यो।
राजधानीको अवलोकन भ्रमणमा प्रतिमा सहित कर्णाली र मधेश प्रदेशका १६ जना बालबालिका र उनीहरूका अभिभावक गरी ३२ जना थिए। प्रतिमा यसअघि पनि सेभ द चिल्ड्रेनले आयोजना गरेको जलवायु परिर्तन सम्बन्धी तालीममा सहभागी हुन कर्णाली प्रदेशको राजधानी सुर्खेत पुगेकी थिइन्। अहिले पनि त्यस्तै तालीम होला भनेर सोचेकी थिइन्। तर‚ यस पटकको भ्रमण भने भिन्न रहेको उनको अनुभव छ। उनले सर्वोच्च अदालत, संघीय संसद भवन, त्रिभुवन विश्वविद्यालय, नेपाल टेलिभिजनको अवलोकन गर्ने अवसर पाइन्। साथै‚ ऐतिहासिक तथा पर्यटकीय क्षेत्र हनुमानढोका दरबार, पाटन दरबार, सिंहदरबार लगायत स्थानमा पनि पुगिन्। सांस्कृतिक शहर भनेर पढ्दै र सुन्दै आएको काठमाडौं‚ पाटन पुग्न पाउँदा प्रफुल्ल भएको प्रतिमाले बताइन्। वकील बन्ने सपना बोकेकी प्रतिमाले सर्वोच्व अदालत पुग्दा न्यायाधीश हरिकृष्ण कार्कीसँग आफूलाई लागेको जिज्ञासा राखिन्। अदालतका काम कारबाहीबारे बुझिन्।
प्रतिमाको टोलीले काठमाडौंको ग्राण्डी इन्टरनेशनल अस्पातलको समेत अवलोकन गरेको थियो। यो अस्पताल देखेपछि गाउँमा साना र शहरमा ठूलो अस्पताल हुने रहेछ भन्ने आफूलाई लागेको उनले बताइन्। “गाउँमा सानो अस्पताल हुन्छ, शहरमा ठूला अस्पातल हुँदा रहेछन्। कुशे स्वास्थ्य चौकीमा त औषधि नै पाइँदैन। सिटामोल पनि आधा काटेर दिनुहुन्छ। अस्पातलमा औषधि र दक्ष जनशक्ति नहुँदा उपचारका लागि सुर्खेत, नेपालगञ्ज धाउनुपर्छ‚” प्रतिमा भन्छिन्‚ “कानको समस्या भएर म कुशे स्वास्थ्य चौकी गएकी थिएँ। स्वास्थ्य स्वयमसेविकाले टर्च बालेर हेर्नुभयो तर जाँच गर्ने सामाननै रहेनछ। नेपालगञ्ज जान भन्नुभयो। हाम्रो गाउँम यस्तो छ।”
परिवारको आर्थिक अवस्था कमजोर भए पनि प्रतिमा आफ्नो गाउँलाई नमूना गाउँ बनाउने अभियानमा जुटेकी छन्। पढाइसँगै उक्त योजनालाई जस्तोसुकै अवस्था आए पनि पूरा गरेरै छाड्ने उनको संकल्प छ। सर्वोच्च अदालत, सिंहदरबार, संसद भवनको अवलोकनले त्यो सपना पूरा गर्न थप ऊर्जा मिलेको उनले सुनाइन्। उनले भनिन्‚ “अब जाजरकोट फर्केर आफ्नो काममा थप सशक्त र ऊर्जाशी भएर लाग्छु।”