अमेरिकी डलर थप महँगिंदै, एक डलरको सटही दर १३२ रुपैयाँ
अमेरिकी डलर लगातार महँगो हुँदै गएको छ। आइतबार एक अमेरिकी डलरको सटही दर रु.१३२ नाघेको छ।
नेपाल राष्ट्र ब्यांकका अनुसार, एक डलर खरीद गर्न सर्वसाधारणले १३२ रुपैयाँ ०२ पैसा तिर्नुपर्ने भएको छ। अमेरिकी डलरसँगको तुलनामा भारतीय रुपैयाँ (भारु) लगातार कमजोर बनेपछि त्यसको प्रभाव नेपाली रुपैयाँमा पनि परेको हो।
पछिल्ला महीनाहरूमा अमेरिकी डलर लगातार बलियो बन्दै जाँदा भारु सहितका मुद्राहरू कमजोर बनिरहेका छन्। एक वर्ष अगाडिका तुलनामा अमेरिकी डलरको सटही दर झण्डै रु.१५ ले बढिसकेको छ। गत वर्षको यही अवधिमा अमेरिकी डलरको सटही दर प्रति डलर बराबर रु.११७ हाराहारी थियो।
अमेरिकी डलरको मूल्य बढ्दा नेपाल जस्ता आयातमा आधारित अर्थतन्त्र भएका देशले विभिन्न कठिनाइ बेहोर्नुपर्छ। डलरको मूल्य बढ्दा आयातीत वस्तु र सेवाको मूल्य बढ्छ। यसले गर्दा उपभोक्ता मूल्यवृद्धि बढाउँछ। वस्तु र सेवा आयात गर्न देशले चुक्ता गर्नुपर्ने रकम समेत बढ्न जान्छ।
यद्यपि, अमेरिकी डलरको मूल्य बढ्दा रेमिटेन्स पाउने परिवारले भने धेरै रकम पाउँछन्। त्यसै गरी, निर्यात हुने नेपाली वस्तु पनि अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी हुने सम्भावना हुन्छ।