गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै
![गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै](https://himal.softnep.website/uploads/posts/800X600/gandaki-province_1618469681.jpeg)
गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै छ। प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेश सभा बैठकमा आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ।
प्रदेश सरकारले ल्याएको पाँचौं नीति तथा कार्यक्रम भए पनि मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वले सरकारको पहिलो हो। पोखरेलभन्दा अघि नेकपा (एमाले) का पृथ्वी सुब्बा गुरुङ मुख्यमन्त्री थिए। पोखरेल नेपाली कांग्रेसबाट मुख्यमन्त्री भएका हुन्।
प्रदेश प्रमुख पनि चार पटक फेरिएका छन्। पृथ्वीमान गुरुङ गण्डकीका चौथो प्रदेश प्रमुख हुन्। उनीअघि बाबुराम कुँवर, अमिक शेरचन र सीता पौडेल प्रदेश प्रमुख थिए।
नीति तथा कार्यक्रम प्रदेश र संघको निर्वाचनलाई मध्यनजर गर्दै ल्याउन लागिएको सत्तापक्षका सांसदहरूले बताएका छन्। प्रदेश सरकारले विगतमा दिंदै आएको कृषि अनुदान कटौती गरिएको प्रदेश सरकारका एक मन्त्रीले बताए।
नीति तथा कार्यक्रममा रोजगारी सिर्जना, दक्ष कामदार उत्पादन, कृषि उत्पादन, राजस्व वृद्धिलाई प्राथमिकतामा राखिएको प्रदेश नीति तथा योजना आयोगका एक कर्मचारीले बताए। उनका अनुसार‚ पुराना प्रदेश गौरवका योजनाहरूलाई निरन्तरता दिइएको छ। कतिपय योजना दोहोरिएका छन्।