विचाराधीन मुद्दामा सांसदको अमर्यादित टिप्पणी- मन मिल्यो लभ, स्वार्थ पूरा भएन बलात्कार
बलात्कार सम्बन्धी अदालतमा विचाराधीन मुद्दामा सांसदले अमर्यादित टिप्पणी गरेका छन्।
सोमबार प्रतिनिधि सभाको बैठकमा सांसद गंगा चौधरीले कलाकार पल शाह विरुद्धको बलात्कार मुद्दामा टिप्पणी गरेकी हुन्। एमाले सांसद चौधरीले भनिन्, “जबसम्म मन मिल्यो, तबसम्म उसलाई लभको संज्ञा दिने। आफ्नो स्वार्थ पूरा भएन भनेपछि बलात्कारको संज्ञा दिने!”
अदालतमा विचाराधीन मुद्दामा संसद्मा बोल्न मिल्दैन। अझ बलात्कार जस्तो संवेदनशील मुद्दामा उनले अमर्यादित टिप्पणी गरेकी हुन्।
नाबालिगलाई बलात्कार गरेको आरोपमा कलाकार शाह पुर्पक्षका लागि थुनामा छन्। जिल्ला अदालत, तनहुँको थुनामा राख्ने आदेशलाई उच्च अदालत, पोखराले पनि सदर गरेको छ।
सांसद चौधरीले पूर्व सभामुख कृष्णबहादुर महराको विषयमा पनि त्यस्तै टिप्पणी गरिन्। उनले भनिन्, “जबसम्म स्वार्थ मिल्यो तबसम्म कसैलाई केही थिएन, जब स्वार्थ मिलेन, तब बलात्कारको संज्ञा दिएर उहाँलाई जेलमा कोचियो। यो कुरा हामीले भुल्नु हुँदैन।”
बलात्कार मुद्दामा हदम्याद हटाउने विषयमा पनि उनले टिप्पणी गरेकी छन्। सांसद चौधरीले भनिन्, “यदि हदम्याद राखिएन भने मुद्दाको चाङ लाग्छ। अनि न्याय कसरी पाउँछन्?”
अहिले बलात्कारका घटनामा एक वर्षभित्र उजुरी दिनुपर्ने व्यवस्था छ। अधिकारकर्मी र नागरिक समाजका अगुवाले बलात्कार मुद्दामा हदम्याद हटाउन माग गर्दै आएका छन्।