भक्तपुरको पार्वतीको मूर्ति अमेरिकाबाट फिर्ता आउने
अमेरिकाको येल विश्वविद्यालय आर्ट ग्यालरीको स्थायी संग्रहमा रहेको भक्तपुरको गोलमाडीस्थित वीरभद्रेश्वर महादेव मन्दिरको पार्वती (तारा)को प्रस्तर मूर्ति फिर्ता आउने भएको छ।
आर्गिलाइट-ढुङ्गाबाट नवौं-दशौं शताब्दिमा बनेको यो मूर्ति येल युनिभर्सिटी ग्यालरीले सन् २०१५ मा एक दाताबाट प्राप्त गरेको थियो। यस मूर्तिका विषयमा नेपालको पुरातत्त्व विभाग र येल विश्वविद्यालय कला संग्रहबाट सन् २०२१ मा छुट्टाछुट्टै अनुसन्धान भएको थियो। जसबाट समभङ्ग मुद्रामा उभिएको, हातमा नाल र कमलको फूल लिएको र कलाशैलीका हिसाबले यो मूर्ति आरम्भिक मध्यकालको मानिएको छ।
२०३२ सालसम्म भक्तपुरको गोलमढी टोलस्थित वीरभद्रेश्वर महादेव मन्दिरभित्र रहेको थियो। त्यहाँबाट हराउनुअघि बौद्धदेवी पार्वतीको रूपमा दैनिक पूजाआजा हुने गरेको थियो।
मूर्ति फिर्ता घोषणाको अवसरमा बोल्दै कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतमले येल विश्वविद्यालय, येल विश्वविद्यालय आर्ट ग्यालेरी टोलीले सहयोग गरेको बताए। नेपाली महावाणिज्य दूतावास र येल विश्वविद्यालयले सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनका लागि निकटमा रहेर सहकार्य गर्ने प्रतिबद्धता पनि गरेका छन्।