निर्वाचन प्रक्रिया शुरू, १७४२ मतदाताको नामावली प्रकाशन
नेकपा (माओवादी केन्द्र)को नेतृत्व चयनका लागि निर्वाचन आयोगले मतदाता नामावली सार्वजनिक गरेको छ।
निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठका अनुसार, एक हजार ७४२ मतदाता रहेका छन्। उनीहरूको नामावली सार्वजनिक गरिएको छ।
नामावलीमा आयोजक समिति, विभिन्न विभाग, ज्येष्ठ कम्युनिष्ट मञ्च, सल्लाहकार समिति तथा पार्टी एकता प्रक्रियामा सहभागी भएका तथा मनोनीत प्रतिनिधि समेटिएका छन्।
माओवादीको नेतृत्व चयनका लागि आयोगका तर्फबाट मतदाता नामावली प्रकाशन गरिएसँगै निर्वाचन प्रक्रिया शुरू भएको छ। यसअघि आज मात्रै माओवादीको विधान सर्वसम्मतिले पारित गरेको थियो।
संशोधित विधान अनुसार, २९९ सदस्यीय केन्द्रीय समिति चयन हुनेछ। जसमा ५० प्रतिशत खुला र ५० प्रतिशत समानुपातिक प्रणालीका आधारमा नेतृत्व चयन गरिने भएको छ। यस्तै, केन्द्रीय समितिले १५ प्रतिशत मनोनयन गर्ने व्यवस्था गरिएको छ।
समानुपातिकको ५० प्रतिशतमा दलित, मुस्लिम, थारू, मधेशी, आदिवासी, जनजाति, खस आर्य, अपाङ्गता भएका, पिछडिएको क्षेत्र, महिला र युवाको क्लस्टर तय गरिएको छ। केन्द्रीय समितिमा सबै क्लस्टर र खुलाबाट गरी ३५ प्रतिशत महिला र २० प्रतिशत ४० वर्षभन्दा कम उमेरका युवाको प्रतिनिधित्व गराइने भएको छ।