‘दाहालको आत्मालोचनाः ढाँटको निम्तो खाई पत्याउनु’
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालजीले आठौं महाधिवेशनमा पार्टी सञ्चालनका क्रममा कमीकमजोरी भएको भन्दै आत्मालोचना गर्नुभएको रहेछ। यो राम्रो कुरा हो। कम्युनिष्ट आन्दोलनमा आत्मालोचनालाई सकारात्मक रूपमै लिइन्छ।
महाधिवेशनमा प्रस्तुत दस्तावेजमा चार वटा बुँदामा कमजोरी भएको उल्लेख रहेछ। उहाँले आत्मालोचना गर्नुपर्ने धेरै विषय छन्। ढिलै भए पनि यस्तो सोच आउनु राम्रो कुरा हो, यसको प्रशंसा नै गर्न चाहन्छु।
तर, कागज वा शब्दमा आत्मालोचना गरेर पुग्दैन। त्यो व्यवहारमा देखिनुपर्दछ। विगतमा पनि माओवादीले मीठो कुरा गर्दै आएको हो। शान्ति प्रक्रियामा आएयता माओवादीको तलदेखि माथिसम्मका नेता-कार्यकर्ता धनाढ्य भइसकेका छन्। उनीहरूले सित्तैमा जनताको सेवा गर्लान् भन्ने विश्वास कम्तीमा मलाई छैन।
उहाँले गाउँ गाउँमा पुगेर जनताको सेवा गर्ने कुरा पनि गर्नुभएको रहेछ। युद्धकालदेखिको अनुभव हेर्दा गाउँमा गएर सेवा गर्छन् जस्तो लाग्दैन। गाउँमा गइहाले पनि डर, धम्की देखाउन र चन्दा असुल्ने काम नगर्लान् भन्न सकिंदैन।
दाहालजीलाई अहिले आएर जनताको सेवा गर्ने ब्रह्मज्ञान प्राप्त भएको कुरा पत्याउनै सकिरहेको छैन। उहाँको १०–१५ वर्षयताको गतिविधिलाई केलाउँदा यो पनि केवल सत्तामा पुग्ने भर्याङ बाहेक केही होइन जस्तो लाग्छ।
चुनावको मुखमा आएर यस्तो प्रतिबद्धता अक्सर नेताहरूले आफ्नो फाइदा हेरेर गरेका हुन्छन्। दाहालजी मात्रै होइन, प्रमुख दलका सबै प्रमुख नेताहरूले जनता होइन, आफ्नो भलाइ हेर्ने गरेको विगत छ।
दाहालजीलाई अहिले आएर जनताको सेवा गर्ने ब्रह्मज्ञान प्राप्त भएको कुरा पत्याउनै सकिरहेको छैन। उहाँको १०–१५ वर्षयताको गतिविधिलाई केलाउँदा यो पनि केवल सत्तामा पुग्ने भर्याङ बाहेक केही होइन जस्तो लाग्छ। उहाँले दस्तावेजमा भनेको कुरा पूरा गर्नुभयो भने राम्रो कुरा हो। त्यसका लागि म शुभकामना पनि दिन चाहन्छु। तर, व्यवहारमा कार्यान्वयन नभएसम्म मेरा लागि उहाँको आत्मालोचना भनेको ढाँटको निम्तो खाई पत्याउनु भने जस्तै हो।
(नेता मैनालीसँगकाे कुराकानीमा आधारित)