चीनलाई रोक्न विभिन्न देशसँग सैन्य साझेदारी बढाउँदै अमेरिका: दाहाल
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले चीनलाई रोक्न अमेरिकाले बेलायत र अस्ट्रेलियासँग सैन्य साझेदारी बढाएको दाबी गरेका छन्।
माओवादीको आठौं महाधिवेशनमा प्रस्तुत प्रतिवेदनमा दाहालले लेखेका छन्, ‘हिन्द प्रशान्त क्षेत्रमा चीनलाई रोक्नका लागि अमेरिकाले बेलायत र अस्ट्रेलियासँग विशेष सैन्य साझेदारी गर्नुका साथै विभिन्न देशमा सैन्य अड्डा बढाउने र सुदृढ गर्ने योजना बनाएको छ।’
अमेरिकाले भारतसँगको सम्बन्ध पनि चीनलाई रोक्ने रणनीति अनुसार नै अघि बढाएको दाहालको दाबी छ। अमेरिकाले आफू मात्रै होइन, साझेदार देशलाई समेत युद्धमा होम्ने तयारी गरिरहेको सङ्केत देखिएको प्रतिवेदनको नवौं पृष्ठमा उल्लेख छ।
‘नयाँ शीतयुद्धका रूपमा देखा परेको यो परिघटनाले नयाँ युद्धलाई जन्म दिएर साम्राज्यवादले आफ्नो सङ्कटमोचनको दिशामा अगाडि बढ्दैन भन्न सकिने स्थिति छैन,’ दाहालले प्रतिवेदनमा भनेका छन्।
अन्तर्राष्ट्रिय परिस्थितिको समीक्षा गर्दै उनले चीन र रूससँगको शीतयुद्धकालीन प्रतिस्पर्धालाई अमेरिकाले चर्काएर लान खोजेको दाबी समेत गरेका छन्। ‘रक्षा मन्त्रालयले दिएको जानकारी हेर्दा शीतयुद्धकालीन मानसिकताका साथ चीन र रूससँगको प्रतिस्पर्धालाई अमेरिकाले चर्काएर लान खोजेको छ,’ उनले लेखेका छन्, ‘बाइडेन प्रशासनले अमेरिका र चीनबीचको सङ्घर्षलाई लोकतन्त्र र निरङ्कुशताको लडाइँका रूपमा लिएको छ।’
अमेरिकी रक्षा मन्त्रालयको अभिव्यक्तिले अमेरिका थप युद्धमा संलग्न रहने स्पष्ट सङ्केत गरेको दाहालको जिकिर छ।
महाधिवेशनमा पुरक प्रतिवेदन प्रस्तुत गरेका माओवादी नेता राम कार्कीले पनि चीनलाई घेर्ने नीतिअन्तर्गत नै अमेरिकाले भारतसँग सहकार्य गरेको दाबी गरेका छन्। केही पुरक र केही नवीन धारणाहरू शीर्षकको प्रतिवेदनमा कार्की लेख्छन्, ‘उदाउँदो चीनलाई घेर्ने संयुक्त राज्य अमेरिकाको रणनीति अन्तर्गत उसले भारतसँग सबै प्रकारको गठबन्धन गरिरहेको छ।’