दाहालको प्रतिवेदनमा ‘प्रचण्डपथ’ देखि ‘वैज्ञानिक समाजवाद’को चर्चा
नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा ‘प्रचण्डपथ’ देखि ‘वैज्ञानिक समाजवाद’ को चर्चा गरेका छन्।
काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा चलिरहेको बन्दसत्रमा सोमबार अध्यक्ष दाहालले ‘२१औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्। दुई घण्टा लगाएर प्रस्तुत गरेको प्रतिवेदन बन्दसत्रमा सहभागी प्रतिनिधिलाई भने वितरण गरिएको छैन।
दाहालको राजनीतिक प्रतिवेदनमा ‘प्रचण्डपथ’ को पनि चर्चा गरिएको छ। कुनै छलफल नगरी ‘प्रचण्डपथ’ स्थगित गर्नु गलत भएको प्रतिवेदनमा उल्लेख गरिएको छ। एक प्रतिनिधिका अनुसार, प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष दाहालले भने, “व्यापक छलफल नगरी ‘प्रचण्डपथ’ स्थगित गर्नु कमजोरी थियो, तर यसलाई अब ब्युँताइँदैन।”
सशस्त्र विद्रोहको समयमा अध्यक्ष दाहालले ‘प्रचण्डपथ’ घोषणा गरेका थिए। माओवादी नेता तथा कार्यकर्तालाई नेपालमा क्रान्ति सफल पार्न त्यसैलाई मार्गदर्शक मान्ने गरेका थिए। शान्ति सम्झौतापछि माओवादीले ‘प्रचण्डपथ’ स्थगित गरेको थियो।
बन्दसत्रमा बोल्दै अध्यक्ष दाहालले लामो अनुभवबाट ‘प्रचण्डपथ’ विकास भएको जिकिर गरे। उनले राजनीतिक विकासका लागि सन्दर्भ बनेको भए पनि अब ब्युँताउन नहुने उनको भनाइ थियो।
दाहालले लोकतान्त्रिक प्रक्रियाबाटै समाजवादतर्फको यात्रा गर्न सकिने बताएका छन्। महाधिवेशन प्रतिनिधिहरूका अनुसार, उनले भनेका छन्, “शान्तिपूर्ण आन्दोलनका माध्यमबाट समाजवादमा पुग्न सकिन्छ। हाम्रो लक्ष्य समाजवाद मात्रै नभएर वैज्ञानिक समाजवाद हो।” वैज्ञानिक समाजवादबारे पनि दाहालले राजनीतिक प्रतिवेदनमा चर्चा गरेका छन्।
यससँगै दाहालले माओवादी सशस्त्र सङ्घर्ष र २०६२-६३ सालको जनआन्दोलनमा प्राप्त उपलब्धिको रक्षा गर्न सबै मिलेर अघि बढ्नुपर्ने बताएका छन्। त्यसका लागि वामपन्थी र लोकतान्त्रिक शक्तिबीच कार्यगत एकता जरुरी रहेको उनको भनाइ थियो।
अहिले प्राप्त उपलब्धिको रक्षा गर्दै जनतालाई थप अधिकार प्रदान गर्न संविधान संशोधन गर्नुपर्ने तर्क गरेका छन्। तराई–मधेशका जनताको माग सम्बोधन गर्न संविधान संशोधन गर्नुपर्ने उनको जिकिर थियो। त्यसका लागि माओवादीले सडक, सदन र सरकारबाट सङ्घर्ष गर्ने दाहालले बताएका छन्।
उनले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा विभिन्न समूहमा छलफल हुनेछ। हलबाट पारित भएपछि मात्रै राजनीतिक प्रतिवेदन सार्वजनिक गर्ने माओवादीको तयारी छ।
११ पुसमा शुरू भएको माओवादीको राष्ट्रिय महाधिवेशन १५ पुससम्म चल्नेछ। महाधिवेशनले १५ पदाधिकारी सहित २९९ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछ। माओवादीको महाधिवेशनमा देशभित्र र बाहिर गरी एक हजार ६३१ प्रतिनिधि सहभागी छन्।