बन्दसत्र चलाउन दाहाल बाहेकको अध्यक्षमण्डल गठन
नेकपा (माओवादी केन्द्र)ले आठौं राष्ट्रिय महाधिवेशनको बन्दसत्र सञ्चालन गर्न सात सदस्यीय अध्यक्षमण्डल गठन गरेको छ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल बाहेकको अध्यक्षमण्डलमा कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, गणेश शाह, पर्शुराम तामाङ, पर्शुराम रम्तेल, पूर्णकुमारी सुवेदी र रूपा श्रेष्ठ महर्जन छन्।
बन्दसत्रमा माओवादी नेता नारायणकाजी श्रेष्ठले अध्यक्षमण्डलका लागि नाम प्रस्तुत गरेका थिए। त्यसलाई हलले अनुमोदन गरेको छ।
काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा माओवादीको बन्दसत्र सञ्चालन भएको छ। बन्दसत्रमा अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदन, विधान लगायत दस्तावेज पेश हुनेछन्।
११ पुसमा शुरू भएको माओवादीको राष्ट्रिय महाधिवेशन १३ पुससम्म चल्नेछ। महाधिवेशनले केन्द्रीय नेतृत्व चयन गर्नेछ। महाधिवेशनमा एक हजार ६३१ प्रतिनिधि सहभागी छन्।