एमालेसँगको एकता गलत थिएन, फेरि समीक्षा गरौं: दाहाल
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नेकपा (एमाले)सँग गरिएको एकता गलत नभएको र फेरि समीक्षा गर्न आग्रह गरेका छन्।
आइतबार माओवादीको आठौं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा बोल्दै अध्यक्ष दाहालले राम्रो उद्देश्यका साथ एमालेसँग एकता गरिएको बताए। “पार्टी एकता गरेर गल्ती गरेका थिएनौं। फेरि आत्मसमीक्षा गरौं,” दाहालले भने, “हाम्रो उद्देश्य गलत थिएन। यो देशलाई स्थायित्व र समृद्धितिर लग्ने थियो।”
उनले यस विषयमा समीक्षा गर्न एमाले नेताहरूलाई पनि आग्रह गरे। “एमाले नेता तथा कार्यकर्तालाई फेरि आत्मसमीक्षा गर्न आग्रह गर्दछु,” दाहालले भने।
उद्घाटन समारोहमा बोल्दै उनले आज बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीसँग फोनमा कुराकानी भएको पनि बताए। महाधिवेशन उद्घाटन समारोहमा आउन निम्ता गरेको तर काठमाडौं बाहिर रहेकाले एमाले अध्यक्ष ओली आउन नसकेको दाहालको भनाइ थियो।
महाधिवेशनबाट माओवादी नयाँ जोश र जाँगरका साथ आउने उनको विश्वास थियो। त्यसका लागि आफूले राजनीतिक दस्तावेजमा निर्मम ढङ्गले आत्मसमीक्षा गरेको उनले बताए। दाहालको राजनीतिक प्रतिवेदन माओवादीको बन्द सत्रमा प्रस्तुत गरिनेछ।
“शान्तिपूर्ण राजनीतिमा आएपछि विचार, सङ्गठन, संरचना निर्माण, रणनीति, कार्यनीतिका सम्बन्धमा हामी कहाँ चुक्यौं?” दाहालले भने, “राजनीतिक दस्तावेजमा मैले आत्मसमीक्षा गरेको छु, आफैंलाई चिरफार गरेको छु।”
महाधिवेशनमा सबैले आत्मसमीक्षा र आत्ममूल्याङ्कन गर्नुपर्ने उनको भनाइ थियो। “सबैलाई उत्प्ररेण देओस् भन्ने उद्देश्यले गम्भीर आत्मसमीक्षा सहित जनतामा प्रस्तुत हुने गरी महाधिवेशनमा प्रस्तुत हुनेछौं,” दाहालले भने।
आइतबार शुरू भएको माओवादीको आठौं राष्ट्रिय महाधिवेशन तीन दिनसम्म चल्नेछ। महाधिवेशनबाट नेतृत्व चयन हुनेछ।