एमसीसी राष्ट्रघाती होइन, पारित गर्नुपर्छ : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना एमसीसी राष्ट्रघाती नभएको बताएका छन्।
आइतबार नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री देउवाले एमसीसीको विरोध गर्नुअघि पढ्न आग्रह गरे। “एमसीसी राष्ट्रघाती भन्नेले पढेको छ कि छैन? पढ्नुपर्यो। म पनि देशको प्रधानमन्त्री हुँ, प्रजातन्त्रका लागि लडेको हुँ। देशको हित नहुने काम किन गरुँला?” प्रधानमन्त्री देउवाले भने।
“विश्व ब्यांक, एशियाली विकास ब्यांकबाट ऋण लिने गरेका छौं, त्यसमा अन्तर्राष्ट्रिय कानून लाग्छ,” देउवाले भने, “एमसीसीले नेपालको कानून मान्छु भनेको छ। राष्ट्रघाती होइन, बुझ्नुपर्यो क्या।”
उनले एमसीसी राष्ट्रको हितमा रहेको जिकिर गरे। “एमसीसी नेपालको हितमा छ, सित्तै आएको पैसा हो,” प्रधानमन्त्री देउवाले भने, “सित्तैमा आएको पैसा चाहिंदैन भन्छन्!”
यस विषयमा छलफल भइरहेको उनको भनाइ थियो। एमसीसीको विरोध गर्नेहरूलाई पनि पढ्न उनले आग्रह गरे। “एमसीसीबारे छलफल चलिरहेको छ, यो छिटै संसद्बाट पारित हुन्छ,” उनले भने।
एक अर्को प्रसङ्गमा कांग्रेस सभापति देउवाले गठबन्धन कसैको विरुद्ध नभएको बताए। “गठबन्धन कसैको विरोधमा होइन। अहिलेको संविधानबाट संसद् पूरा चलोस्, संसद् भङ्ग नहोस् भन्ने पुनित उद्देश्यका साथ संविधान जोगाउन, संसद् जोगाउन गठबन्धन बनेको हो,” देउवाले भने।
उनले माओवादी अध्यक्ष पुष्पकमल दाहालको प्रशंसा गरे। “पुष्पकमल दाहालले नेपालको राजनीतिमा ठूलो योगदान दिनुभएको छ,” देउवाले भने, “उहाँकै जोडबलले हामी संविधानसभामा गएका हौं। पुष्पकमल दाहालजीकै अगुवाइमा संविधानसभाको चुनाव भएर संविधान बनेको छ।”
शान्ति प्रक्रियाका केही काम बाँकी रहेको उल्लेख गर्दै ती सबै पूरा गर्ने प्रधानमन्त्री देउवाले प्रतिबद्धता जनाए।