हामी कहाँ चुक्यौं समीक्षा गर्नुपर्छ : माधव नेपाल
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सबै राजनीतिक दलले समीक्षा गर्नुपर्ने वेला आएको बताएका छन्।
नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशनमा बोल्दै अध्यक्ष नेपालले अधिकारको लडाइँमा सफल भए पनि जनताका समस्या सम्बोधन गर्ने विषयमा चुकेको बताए। “जनताका समस्या सम्बोधन गर्न सकिएको छैन,” नेपालले भने, “हामी कहाँ चुक्यौं, समीक्षा गर्नुपर्छ।”
सबै मिलेर गणतन्त्र, संघीयता र समावेशी व्यवस्था ल्याएको बताए। अब समाज अघि बढिसकेकाले कुनै तानाशाह स्वीकार्य नहुने जिकिर गरे।
सबै राजनीतिक दलले नेपाल सुहाउँदो समाजवादका विषयमा छलफल चलाउनुपर्ने उनकाे भनाइ थियो। “जनताका समस्या सम्बोधन गर्ने, नयाँ नेपाल बनाउने समाजवाद कस्तो हुनुपर्छ, छलफल चलाउनु जरुरी छ,” नेपालले भने।
यसका लागि माओवादीको राष्ट्रिय महाधिवेशनमा पनि छलफल गर्न आग्रह गरे।