किन गरियो राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रूपान्तरण?
एक दिन अघिसम्म राष्ट्रिय सम्मेलन भनिरहेको नेकपा (माओवादी केन्द्र)ले एकाएक महाधिवेशनमा परिणत गर्ने निर्णय गर्यो। किन एकाएक यस्तो निर्णय भयो?
माओवादी अध्यक्ष पुष्पकमल दाहालले शनिबार मात्रै केही नेतासँग सल्लाह गरेका थिए। सबै प्रक्रिया पूरा भएकाले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय भयो।
स्थायी समितिको शनिबारको बैठकमा अध्यक्ष दाहालले नै राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय भएको जानकारी गराएका थिए। उनले पार्टी महाधिवेशनका सम्पूर्ण प्रक्रिया पूरा गरिएकाले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रूपान्तरण गर्न लागिएको आज बसेको केन्द्रीय समितिको बैठकमा पनि जानकारी गराए।
स्थानीय तहदेखि नै सबै प्रक्रिया पुर्याएकाले महाधिवेशन भन्न लायक र उपयुक्त छ भन्ने देखिएको र विधान पनि व्यवस्थित ढङ्गले संशोधन गरेर प्रस्तुत गर्न लागेकाले यसलाई सम्मेलन भन्नुभन्दा महाधिवेशन भन्न उचित देखिने अध्यक्ष दाहालको भनाइ थियो।
यसबारे माओवादीले वैधानिक र कानूनी रूपमा के हुन्छ भनेर केन्द्रीय सदस्य मुक्ति प्रधानलाई निर्वाचन आयोगसँग परामर्शका लागि खटाएको थियो। वैधानिक र कानूनी पाटो के हुन्छ भनेर आयोगसँग छलफल गरेपछि राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गरेको माओवादीले जनाएको छ।
नेता प्रधानले आयोगसँग बुझ्दा ‘भेला, सम्मेलन र महाधिवेशन जे भने पनि तपाईंहरूको कुरा हो, तर एउटै कुरा भेला, सम्मेलन वा महाधिवेशन जे भन्ने भए पनि केन्द्रीय समितिले औपचारिक निर्णय गरेर निर्वाचन आयोगलाई जानकारी दिए महाधिवेशन भन्दा केही आपत्ति हुँदैन’ भन्ने जवाफ प्राप्त भएको बताए।
पाँच वर्षमा केन्द्रीय समितिको नयाँ निर्वाचन गर्नुपर्ने कानूनी एवं संवैधानिक प्रावधान छ। २०७३ सालमा नेकपा (एमाले)सँग एकता भएकाले महाधिवेशन लगायत नियमित प्रक्रिया अगाडि बढेका थिएनन्।
गत २३ फागुनमा सर्वोच्च अदालतको फैसलापछि एमाले र माओवादी छुट्टाछुट्टै दलका रूपमा रहेका छन्। त्यसपछि साउनमा बसेको केन्द्रीय समितिको बैठकले राष्ट्रिय सम्मेलन आयोजना गर्ने निर्णय गरेको थियो।
माओवादी अध्यक्ष दाहालले भने, “महाधिवेशन गर्ने तर नाम चाहिं सम्मेलन राख्नुभन्दा महाधिवेशन नै भन्नु उचित हुन्छ, त्यसले दिने सन्देश नै बलियो हुन्छ र हामीले पारित गर्ने दस्तावेज र विधानको महत्त्वका साथै समावेशी, समानुपातिक सम्बोधन गर्दै छौं भन्ने भएपछि महाधिवेशनमा परिणत गरिएको हो।”
माओवादीको विधान अनुसार, सम्मेलनले गरेका सबै कुरा महाधिवेशनले अनुमोदन गर्नुपर्ने व्यवस्था छ। सो व्यवस्थाले गर्दा तुरुन्तै महाधिवेशनको आयोजना गर्नुपर्ने अवस्था आउनेछ। निर्वाचन आयोगले खोइ महाधिवेशन भनेर प्रश्न गरेको अवस्थामा दबाब हुने भएकाले पनि यस्तो निर्णय गरिएको अध्यक्ष दाहालले केन्द्रीय समितिमा बताएका थिए।
अध्यक्ष दाहालको भनाइ थियो, “हाम्रो अनुकूलतामा त महाधिवेशन गरी नै हाल्छौं, दुई वर्ष अढाइ वर्ष जहिले पनि गर्न सक्छौं, तर अहिले महाधिवेशन भनिएन भने त चाँडै गर्नुपर्ने हुन्छ, त्यो तनावमा हामी किन बस्ने? एकछिनलाई कसैले अस्तिसम्म सम्मेलन भन्ने आज महाधिवेशन भन्लान्, तर त्यसको हामी मजाले जवाफ दिन सक्छौं।”
सबै प्रक्रिया पुर्याइएकाले महाधिवेशन भन्न लायक र उपयुक्त रहेको तर्क गर्दै उनले व्यवस्थित ढङ्गले विधान संशोधन गर्न लागिएको तथा सम्मेलनलाई महाधिवेशनमा परिणत गरिएको बताए। पार्टीको सदस्यता नवीकरणदेखि वडामा सम्मेलन र त्यहाँ प्रतिनिधि चुन्नेदेखि प्रतिवेदन पारित गर्ने तथा नेतृत्व चयन गर्नेसम्मका काम नियमित रूपमा नै सम्पन्न भएका छन्।
यस्तै, स्थानीय तहको सम्मेलन, त्यहाँ प्रतिवेदन प्रस्तुत र नयाँ नेतृत्व चयनका लागि निर्वाचन पनि गरिएको छ। राष्ट्रिय रूपमा सहभागी हुने प्रतिनिधिको छनोट र कमिटीको निर्वाचन प्रक्रिया पनि पूरा भएको छ। केन्द्रीय समितिको पनि निर्वाचन हुँदै छ। त्यसका लागि निर्वाचन आयोगले काम गरेको छ। माओवादीले विष्णुपुकार श्रेष्ठको अध्यक्षतामा निर्वाचन आयोग गठन गरेको छ।
अन्य प्रमुख पार्टीले महाधिवेशन गर्दा सबै विधि नपुगे पनि महाधिवेशनका रूपमा नै स्थापित भएको माओवादीको तर्क छ। “राष्ट्रिय सम्मेलन भने पनि हामी यहाँ व्यवस्थित रूपमा नयाँ विचारको विकास गर्ने गरी महाधिवेशनमा गर्नुपर्ने कामै गर्दै छौं,” अध्यक्ष दाहालको भनाइ थियो। (रासस)