किन आवश्यक छ पर्यावरण संरक्षणमा नारीवाद?
महिलाले प्रकृतिलाई बुझ्छन्। प्रकृतिमा नयाँ जीव र वनस्पतिको जन्म, हुर्काइ र हेरचाहलाई नजिकबाट महसूस गर्न सक्छन्। त्यसैले पुरुष सिर्जित जलवायु परिवर्तन समस्याको समाधानका लागि पनि नारीवादी पर्यावरणको अवधारणा आवश्यक छ।
महिला र प्रकृतिको सम्बन्ध, महिला, बालबालिका, जनजाति, अश्वेत, एलजीबीटीक्यू, अनि प्रकृतिमाथिको दमन, दोहनको विषयमा सम्बन्धित भएर सन् १९७० देखि (नारीवादको दोस्रो लहर) पर्यावरणीय नारीवादी आन्दोलन पनि जोडिन थाल्यो। पर्यावरणीय महिलावादको अवधारणा बाहिर ल्याउने श्रेय फ्रान्सेली नारीवादी अभियन्ता फ्रान्सोस द वोनलाई जान्छ। यी लगायत भेनेसा नकटे, ग्रेटा थनबर्ग, अलेक्जेन्ड्रिया ओकासियो, वन्दना शिवा जस्ता अभियन्ताले निरन्तर जलवायु परिवर्तनको विषयमा आवाज बुलन्द गरिरहेका छन्।
यी प्रसिद्ध पर्यावरणीय नारीवादी आन्दोलनका संस्थापक तथा अभियन्ताका मत उस्तै उस्तै छन्। पहिलो इको फेमिनिस्ट आन्दोलन ग्रीनबेल्ट मुभमेन्ट थियो। वृक्षरोपण गरेर पर्यावरणलाई मरुभूमीकरण हुनबाट रोक्ने उद्देश्यका साथ यो आन्दोलन छेडिएको थियो। केन्यामा यो आन्दोलन वंगारी माथेको नेतृत्वमा भएको थियो।
कैयौं मानिस पूँजीवादी विध्वंसको विरुद्ध मास मुभमेन्टको सख्त आन्दोलनमा छन्। प्रकृतिको बचाउ अभियानकै कारण अभियन्ता सिको मेन्डेसको अमेजनमा र केन सारो विवाको नाइजरमा दुःखद हत्या भएको थियो। यद्यपि, वर्तमान समयमा वातावरण बचाऊ अभियानकर्ता महिला नै हुन् र हुन सक्छन् भन्नेमा शङ्का छैन। पर्यावरणीय महिलावादको अवधारणा अनुसार महिला र प्रकृति दुइटै हेला गरिएका तथा शोषित भएका छन्।
महिलाले प्रकृतिलाई बुझ्छन्। किनकि, उनीहरू नयाँ जन्म दिन्छन्, हुर्काउँछन्, खान दिन्छन्, हेरविचार गर्छन्। उनीहरू यस्तै प्रकृतिमा हुने नयाँ जीव र वनस्पतिको जन्म, हुर्काइ र हेरचाहलाई नजिकबाट महसूस गर्न सक्छन्।
महिलाले प्रकृतिलाई बुझ्छन्। किनकि, उनीहरू नयाँ जन्म दिन्छन्, हुर्काउँछन्, खान दिन्छन्, हेरविचार गर्छन्। उनीहरू यस्तै प्रकृतिमा हुने नयाँ जीव र वनस्पतिको जन्म, हुर्काइ र हेरचाहलाई नजिकबाट महसूस गर्न सक्छन्। यसको बदलामा पुरुषसत्तावादी समाजमा पुरुष भने नियन्त्रण गर्छन् र ध्वंस गर्छन्। यसैले पनि यो जलवायु परिवर्तन अक्षरशः पुरुष सिर्जित समस्या हो जसको समाधानका लागि नारीवादी पर्यावरणको अवधारणा आवश्यक छ।
नारीवादी पर्यावरणका लागि धेरैभन्दा धेरै महिला आवाज शक्तिकेन्द्रमा हुनुपर्नेछ। जति धेरै महिलाको शक्ति क्षेत्रमा उपस्थिति भयो, त्यति नै धेरै पर्यावरणमा देखिएका समस्याबारे महिलाले छलफल गर्नेछन् र समाधानका निष्कर्ष निकाल्न मद्दत पुग्नेछ।
पर्यावरणीय नारीवादलाई बहुक्षेत्रसँग अन्तरसम्बन्धित गर्नुपर्ने पक्षलाई पनि यस अवधारणाका अभियन्ताले जोड दिएका छन्। पर्यावरणीय नारीवादलाई पनि तीन समूहमा वर्गीकरण गरेर अध्ययन गरेको पाइन्छ। जस्तोः शाकाहारी पर्यावरणीय नारीवाद, आध्यात्मिक पर्यावरणीय नारीवाद र भौतिकवादी पर्यावरणीय नारीवाद। तर, यी सबै वर्गीकरणभित्र पनि जराका रूपमा पुरुषत्व, पुरुषवादी संरचना र अभ्यासले संस्कृति र प्रकृतिबीचको सामीप्यलाई छुट्याएको पर्यावरणीय नारीवादी आन्दोलनकर्मीहरूको धारणा छ।
लगभग ५० वर्षदेखि औपचारिक रूपमा इको–फेमिनिज्मको परिभाषा तथा आन्दोलन चलिरहे पनि यसको उद्देश्य भनेको वातावरण र मानिसको परिवर्तनको विषयमा र महिलाको समस्याको विषयमा वकालत गर्दछ।
अध्येता हाइडी हन्टरका अनुसार, जब हामी पृथ्वीलाई विषाक्त बनाउँछौं, हामी स्वयं पनि विषाक्त बन्छौं। यी सब कुराहरू इतिहास पितृसत्तात्मक समाज जसले बढीभन्दा बढी शक्ति सञ्चय गर्दछ र अधीनस्थ गर्ने, नियन्त्रण गर्ने र शोषण गर्ने अधिकार लिएर बस्दछ।
पर्यावरणीय नारीवादको प्रमुख लक्ष्य भनेको यस ग्रहमा प्रकृतिको स्वास्थ्यलाई पुनर्जीवित गर्नु नै हो। यसका लागि हामी दैनिक के खाइरहेका छौं देखि लिएर महिला सशक्तीकरण र सो मार्फत प्रकृति संरक्षणमा महिलाको भूमिकालाई समेत समेट्दै लैजान सकिन्छ।
साँच्चै नै सीमान्तीकृत समूह र प्रकृतिमाथिको दमनका कारण समाजमा दिन प्रतिदिन समस्या बढ्दै गएका छन्। विभेद, दमनको संस्कृतिलाई हेरचाह, रेखदेख र न्यायको मूल्यले प्रतिस्थापन गर्नुपर्छ भन्ने मान्यता नै पर्यावरणीय नारीवादले बोकेको छ। महिला, रङ्ग, जातीयता, एलजीबीटीक्यू समुदायले यसै पनि समाजमा अनेकन् चुनौतीको सामना गरिरहेका हुन्छन्।
मुख्यतः ती चुनौती भनेका स्वास्थ्य र असमानता नै हुन्। यी समस्यालाई जलवायु परिवर्तनले झनै गम्भीर बनाउन सहयोग गर्दछ। तापक्रमका कारण मृत्यु हुने अश्वेत मजदुर, किसानहरू हुन् या खराब वायुमा श्वास फेर्ने अन्य समुदाय, आखिर उनीहरू नै वातावरण सुधार नीति–नियम जस्ता राज्यका कार्यक्रममा छुटिरहेका हुन्छन्।
यसैले पनि यी तमाम विभेद र अमानवीय पक्षलाई समेट्न पनि यो पर्यावरणीय नारीवादले सहयोग पुर्याउनेछ। न्यायिक, समतामूलक परिवर्तनका लागि वातावरण र महिला, दलित, आदिवासी, बालबालिकाका प्रकृतिसँगको सम्बन्धबारे बुझाइ पनि जरुरी हुन्छ।
विद्यमान असमान व्यवस्था र अभ्यासलाई न्यूनीकरणका लागि राज्यसँग रणनीतिक योजना र पहलकदमीका साथै दृष्टिकोण, लचकता र गतिशीलता हुनुपर्नेछ। केही उदाहरणका रूपमा, जो समुदाय अत्यधिक वातावरणीय विनाशबाट प्रभावित छन्, उनीहरू नै इको–फेमिनिज्म आन्दोलनको नेतृत्वकर्ता हुन सक्छन्।
पर्यावरणीय नारीवादको प्रमुख लक्ष्य भनेको यस ग्रहमा प्रकृतिको स्वास्थ्यलाई पुनर्जीवित गर्नु नै हो। यसका लागि हामी दैनिक के खाइरहेका छौं देखि लिएर महिला सशक्तीकरण र सो मार्फत प्रकृति संरक्षणमा महिलाको भूमिकालाई समेत समेट्दै लैजान सकिन्छ।
महिला शुद्ध पिउने पानी, हावा र जमीनका लागि सङ्घर्षरत छन्। यी समस्यामा केही कमी आए पनि अझै पनि विकट भौगोलिक क्षेत्र, समुदायका महिलाको दिनचर्या कष्टपूर्ण छ।
नेपालमा पर्यावरण र महिलावाद
प्रचण्ड गर्मीमा पनि तराईका समथर खेतमा किसान, अझ ज्येष्ठ महिला गोडमेल गरिरहेका हुन्छन्। घामको रापभन्दा पनि आफूले लगाएका फसल कस्तो मौलाउँछ र फैलिन्छ भन्ने ध्याउन्न किसानहरूलाई हुन्छ। अनि पहाडको काम पनि उस्तै हुन्छ, भौगोलिक रूपमा अझ कठिन। बिहान घाँस काट्न एउटा डाँडाबाट अर्को जङ्गल भएको डाँडामा जानुपर्ने। महिलाहरू नै बढी सक्रिय हुन्छन् घाँसपात मेलापर्ममा। कुनै पनि वेला पानी पर्ने, भेल बाढी आउने।
पहाडका महिलाहरूका अन्य गाह्रोसाह्रो भनेको टाढासम्म पानी बोक्न जानुपर्ने, पानीका मुहान कस्ता छन्, प्रदूषित छन् कि छैनन्, ती कुराभन्दा पनि सङ्लो पानी उठाएर ल्याई घरमा भातभान्सा र पिउने पानीको व्यवस्था गर्नुपर्ने। अनि महिनावारी हुँदाका बखत उचित सरसफाइ गर्न पर्याप्त पानी नहुनु, गर्भवती अवस्थामा पनि पानी लगायत घाँसदाउराका भारीहरूले अनेकन् स्वास्थ्य समस्या निम्तिने खालका समस्या अझै बाँकी छन्।
महिला शुद्ध पिउने पानी, हावा र जमीनका लागि सङ्घर्षरत छन्। यी समस्यामा केही कमी आए पनि अझै पनि विकट भौगोलिक क्षेत्र, समुदायका महिलाको दिनचर्या कष्टपूर्ण छ। महिलाहरू पशुपालन र घाँसदाउरा गर्छन्। यो उनीहरूको दिनचर्या र आर्थिक आर्जनको पाटो पनि हो। तर, अधिकांश महिला जो सम्बन्धित ठाउँबाट घाँसदाउरा गरिरहन्छन्, त्यहाँ नयाँ बोटबिरुवा नलगाउँदा त एक किसिमले जमीन उजाड हुँदै जाने नै हुन्छ।
यस्तै सानातिना लाग्ने तर एउटामा असर परेपछि सम्बन्धित भएर कैयौं प्राकृतिक विपत्ति त एक सामान्य परिवार, समाज अनि राज्यले नै भोग्नुपर्ने हुन्छ। यी कुरामा सचेतना, तालिम, पुरस्कार, उत्प्रेरणाबारे पनि हामीले कुरा गरिरहेको पर्यावरणीय नारीवादले सोच्दछ या सोच्नुपर्नेछ। महिलाहरू जो आर्थिक रूपले पछाडि छन् अनि सचेतनाको हिसाबले पनि पुरुषका तुलनामा पछाडि नै छन्।
अझ कतिपय सवालमा महिलाको सामाजिक स्थिति नाजुक नै छ। यो विकसितदेखि लिएर हाम्रो जस्तो गरीब राष्ट्रमा झन् बढी छ। हामीले गाउँघरमा खेती किसानी गर्ने महिलादेखि लिएर शहरमा घरका छतमै या गमलामै पनि प्रकृति उमार्ने, फलाउने र फुलाउने महिलालाई प्रोत्साहित र सम्बन्धित विषयमा सहभागी गराउँदै जान सकेमा पर्यावरण र महिलावादका सवाललाई अझ माथि उठाउन सहयोग नै पुग्ने देखिन्छ।
अध्ययनहरूले देखाए अनुसार, रेडिएसनबाट पुरुषको तुलनामा महिला नै बढी प्रभावित छन्। प्रकृतिलाई स्त्रीलिङ्गी सम्बोधन पनि गरिन्छ। यो मानव निर्मित भाष्य नै किन नहोस्। जब परिवार संस्थाको विकास हुँदै गयो, महिलाको भूमिका जीवन उन्मुख व्यक्तित्वमा परिवर्तन हुँदै गयो। हेरविचार गर्ने, सङ्ग्रह गर्ने, परिवारका सदस्यलाई खुवाउने, पिलाउने आदि। बाहिर जमीनमा फलाउने, फुलाउने अनि घरभित्र ती फलेका अन्न आदिले परिवारका सदस्यलाई भोक मेट्नका लागि खाद्यान्न तयार गर्ने। यो एउटा महिलाको पारिवारिक, सामाजिक र सांस्कृतिक भूमिका जस्तै नै भयो, लामो कालखण्डसम्म पनि। आज पर्यन्त महिलाको भूमिकामा यस्तै हेरचाहकर्मी नै हावी हुन्छ।
जब परिवार संस्थाको विकास हुँदै गयो, महिलाको भूमिका जीवन उन्मुख व्यक्तित्वमा परिवर्तन हुँदै गयो। हेरविचार गर्ने, सङ्ग्रह गर्ने, परिवारका सदस्यलाई खुवाउने, पिलाउने आदि।
महिला र प्रकृति भन्ने बित्तिकै महिलाले प्रकृतिमा बिताउने समय र गर्ने कामलाई नै बुझ्नु उचित हुन्छ। व्यावसायिक खेती प्रमुख रूपले पुरुषहरूले गर्दछन्। अझ भनौं, प्रायः पुरुषकै निगरानी र निर्देशनमा व्यावसायिक खेती हुने गरेको छ। नगरपालिकाको कृषि विभागमा गएर केही बेर अवलोकन गर्यौं भने पनि थाहा पाउन सक्छौं कि त्यहाँ पुरुष किसान नै मलखाद, बीउ, घाँस, कृषि ऋणको विषयमा कुरा गरिरहेको पाउँछौं।
किसानको सामूहिक तालीममा पनि पुरुष नै देखिन्छन्। तर, यसको तुलनामा महिला किसानले थोरै बस्तुभाउ पाल्छन्। अनि आफ्ना वरिपरि जे पाइन्छ, त्यही घाँसपात घरपालुवा बस्तुभाउलाई खुवाउँछन्। ती घाँस बढ्दा वातावरण परिवर्तनका कारण प्रदूषित या विषाक्त पनि भएका हुन सक्छन् र बस्तुभाउलाई विभिन्न रोगव्याधि लागिरहेको हुन्छ।
यो एउटा सानो उदाहरणले पनि महिला कसरी प्रत्यक्ष वातावरण परिवर्तनसँग सरोकार राख्छन् भन्ने प्रस्ट्याउँछ। नेपाल लेबर फोर्स सर्वे २०१७/१८ का अनुसार, ६१ प्रतिशत महिला गुजारा हुने खालको कृषिकार्यमा संलग्न छन् भने सोही कार्यमा पुरुषको ४७ प्रतिशत संलग्नता छ।
समयमै मौसम सम्बन्धी भविष्यवाणीको सूचनाबाट पनि महिला विमुख नै हुन्छन्। यसले उनीहरूलाई कृषिमा विकल्प अपनाउन पनि ढिलो गराउँछ। त्यस्तै, महिलासँग स्वतन्त्र आम्दानीको कमी हुन्छ र ऋण सुविधा प्राप्त गर्न पनि कठिन हुन्छ। यद्यपि, महिलाले कृषिका अधिकांश कार्य गर्दछन्। तीमध्ये धेरै कम महिलाले आफूले खेती गरेका जमीनको अपनत्व ग्रहण गरेका हुन्छन्। यावत् कारण महिलाका निर्णय क्षमतामा कमी आउन सक्छ।
हुन त लैङ्गिकताको अवधारणा सहित वन तथा वातावरण मन्त्रालयले सामाजिक समावेशिता, वातावरण परिवर्तनका विषयलाई राखेर रणनीति र कार्ययोजना पनि बनाएको छ। तर, अझै यो लागू हुन भने सकिरहेको छैन।
लैङ्गिक तथा अल्पसङ्ख्यकसँग काम गरिरहेका विभिन्न संघसंस्थाले नेपालमै पनि वातावरण परिवर्तन र महिलाका सवाललाई उठाउने काम गरिरहेका छन्। गरीबी, असमानता, जातीयता, विभेद, अन्धविश्वासी संस्कार, असचेतना भोगिरहेका नेपाली महिलाले वातावरणदेखिका विषय उठान गर्दै अगाडि बढ्नु आवश्यक छ।
महिलाका सन्दर्भमा सबैभन्दा ठूलो कुरा, महिला स्वतन्त्रता र आफ्नो शरीर तथा जीवनमाथि आफ्नो नियन्त्रण पनि हो। यो भनेको एक मानवले सार्वभौम रूपमा आफूलाई स्वतन्त्र महसूस गर्नु हो र स्वतन्त्र मानिसले स्वतन्त्र तवरले नै आफ्ना हक, अधिकार तथा कर्तव्यको पालना गर्दै अगाडि बढ्न सजिलो हुन्छ।
सामाजिक न्याय र महिला
सामाजिक विकासमा आधारित भएर गरीबी उन्मूलनका लागि समावेशी र दिगो आर्थिक वृद्धि र वातावरण संरक्षण पनि सँगसँगै लैजानुपर्ने हुन्छ। आर्थिक, राजनीतिक, सामाजिक तथा निर्णय तहमा महिलाको समान सहभागिताले नै वातावरण संरक्षणमा पनि सकारात्मक सहयोग पुर्याउनेछ।
महिलाका सन्दर्भमा सबैभन्दा ठूलो कुरा, महिला स्वतन्त्रता र आफ्नो शरीर तथा जीवनमाथि आफ्नो नियन्त्रण पनि हो। यो भनेको एक मानवले सार्वभौम रूपमा आफूलाई स्वतन्त्र महसूस गर्नु हो र स्वतन्त्र मानिसले स्वतन्त्र तवरले नै आफ्ना हक, अधिकार तथा कर्तव्यको पालना गर्दै अगाडि बढ्न सजिलो हुन्छ।
सामाजिक न्यायले निष्पक्षताको सवाललाई उजागर गर्दछ। सामान्य उदाहरणका रूपमा, स्वास्थ्य सेवा, रोजगारी, शिक्षा, राजनीति आदि। सन् १७८० तिरै सामाजिक न्याय अवधारणाको प्रादुर्भाव भएको थियो।
हाल यो अवधारणाले समाजका सबै पक्षलाई समेट्दै आएको छ। जसमा वर्ण, लिङ्ग, जाति समुदायका समस्या तथा अजेन्डाहरूलाई पनि समेट्नुपर्ने आवाज उठिरहेका छन्। सामाजिक न्याय सिद्धान्त प्रत्यक्ष रूपमा मानव अधिकारसँग सम्बन्धित पनि छ।
सामाजिक न्यायका प्रमुख आवश्यक लक्ष्य भनेका मानव अधिकार, सेवा, सुविधामा पहुँच, सहभागिता र समता हुन्। सामाजिक न्यायको सिद्धान्तले प्रत्येक व्यक्तिको मानव अधिकार सुनिश्चितता र सम्मान गर्दछ।
गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य त मानव जीवनका लागि अपरिहार्य छन्। यदि यी आवश्यकतामाथि नियन्त्रण गरिएमा या कुनै वर्ग, समुदायमा यस्ता आवश्यकताको परिपूर्ति नभएमा व्यक्ति, समुदाय र सिङ्गो समाजलाई नै असर गर्दछ। यसैले सामाजिक न्यायका हिमायतीले यो विषयको उठान, सहयोग र पहुँचबारे पनि बाटो देखाउनुपर्ने हुन्छ।
जो बढी विभेदित र अपहेलित छन्, उनीहरू नै सामाजिक न्यायका पक्षमा अगाडि बढ्नुपर्नेछ। यस्तोमा पक्कै पनि महिला, बालबालिका, अल्पसङ्ख्यक, दलित, जनजातिको अगुवाइको कुरा आई नै हाल्छ।
सीमित समूहका आवाज सुनिँदैमा मात्र पनि सामाजिक न्याय सम्भव हुँदैन। दुर्भाग्यवश, तिनै सीमान्तीकृत र जोखिममा रहेका समूह, समुदाय नै आवाजविहीन बनिरहेका हुन्छन्। त्यसैले यस्ता समुदायलाई बढीभन्दा बढी कार्यमा सहभागिता गराउनुपर्नेछ। यसका लागि प्रेरणा, पुरस्कार, सचेतना के के आवश्यक पर्छ, ती सबै उपाय सामाजिक न्यायकर्मीले अपनाउनुपर्ने हुन्छ।
सबैभन्दा मुख्य कुरो, पिंधमा रहेका या सामाजिक विभेदमा परेका समुदाय, लिङ्गका मानिसहरूलाई अगाडि ल्याउने, अवसर दिने, नेतृत्वका लागि तयार गराउने कार्य समतामलक समाजमा हुने गर्दछ। यो पक्ष पनि सामाजिक न्यायको सिद्धान्तभित्रै पर्दछ।
प्रकृतिमा रहने सम्पूर्ण प्राणी तथा जल–जङ्गलको उचित समन्वय र तालमेल नहुँदा देखिने विनाशबाट हामी अपरिचित छैनौं। पृथ्वीमा रहने प्राणीको असल समन्वयले नै एकअर्कालाई जीवन जिउन सजिलो हुन्छ। प्रकृतिमाथि गरिएका दोहन तथा मानवीय जीवनमा लिङ्ग, जात, वर्ण, वर्ग, कुनै समुदायमाथि गरिने दमन, विभेद र शोषणले पक्कै पनि हामीले सोचेका र राज्यले ल्याएका समानताका नीति–नियम अनि स्वच्छ वातावरणका कुरा नीति–नियम र विचारमा मात्रै समावेश हुनेछन्। यसका लागि सम्पूर्ण सचेत नागरिक आफ्नो समुदायमा रहेका मानिस र वातावरणप्रति सचेत हुनुपर्नेछ।
जो बढी विभेदित र अपहेलित छन्, उनीहरू नै सामाजिक न्यायका पक्षमा अगाडि बढ्नुपर्नेछ। यस्तोमा पक्कै पनि महिला, बालबालिका, अल्पसङ्ख्यक, दलित, जनजातिको अगुवाइको कुरा आई नै हाल्छ। साथ भने बहुसङ्ख्यक प्रतिनिधित्व गर्ने समुदाय, राज्यका संयन्त्र र पुरुषको पनि लिनुपर्नेछ। के हामी उल्लिखित पर्यावरणीय महिलावादको अवधारणालाई नयाँ ढङ्गले समतामूलक रूपमा अगाडि बढाउन सक्छौं?
नारीवादले पितृसत्ताको एकोहोरो विरोध मात्र गर्दैन, यस अवधारणाले पुरुषवादी संरचनामा भएका विभेद, असमानता, क्रूरतालाई हटाई न्यायपूर्ण समाज निर्माणको वकालत गर्दछ अनि शक्ति हातमा लिई समाजका सामान्य र अल्पसङ्ख्यक समुदाय, महिला तथा प्रकृतिको दोहनको विरोध गर्दछ। जोसुकै न्यायप्रेमी र प्रकृतिको बचावमा लागेका महिला तथा पुरुष यो अभियानमा सहभागी हुन सक्छन्।