कहिले पढ्न पाउने नेपालमै राजनीतिक मनोविज्ञान?
सकारात्मक सोचले डोर्याउन र राजनीतिक विकृति कम गर्न पनि हाम्रा विश्वविद्यालयमा राजनीतिक मनोविज्ञानको अध्ययन-अध्यापन शुरू गर्न आवश्यक भइसकेको छ।
प्रायः ‘मनोविज्ञान’ शब्द सुन्ने बित्तिकै स्वास्थ्यसँग सम्बन्धित विषय भनेर अन्य क्षेत्रका व्यक्तिले वास्ता गर्दैनन्। यसलाई स्वास्थ्यसँग जोडेर हेर्नु त रामै्र हो, तर स्वास्थ्यसँग मात्र सम्बन्धित हो भनेर बुझ्नु यसको शैक्षिक, व्यवहारिक तथा वैचारिक पक्षलाई बेवास्ता गर्नु हो। अझ ‘राजनीति मनोविज्ञान’ त झन बेवास्तामा परेको छ।
राजनीति मानिससँगै जोडिएर आउँछ। त्यसैले राजनीतिज्ञहरूले एक असल तथा सफल नेतामा हुनु पर्ने गुणलाई धेरै महत्त्व दिएको पाइन्छ। प्लेटो, एरिस्टोटल, म्याकियाभेलि, जन लक, जिन ज्याक रुसो, चाणक्य लगायत थुप्रै व्यक्तित्वले एक असल शासक हुन चाहिने गुणबारे ब्याख्या गरेका छन्।
एउटा व्यक्तिको गुण, व्यवहार, आचरण सम्पूर्णलाई असर गर्ने धेरै आयाम छन्, जसमध्ये नकार्नै नसकिने एउटा आयाम हो मनोविज्ञान। एउटा व्यक्तिको कस्तो मनोविज्ञान छ, त्यसले उसलाई मात्र हैन, परिवार, आफन्त र समाजलाई समेत असर पारिरहेको हुन्छ। राजनीतिमा संलग्न मान्छे अझ समाजका अनेक पाटोसँग जोडिएको हुन्छ।
हिटलर किन र कसरी त्यति क्रुर भए? सुख-सयल र अवसर त्याग्न मोहनदास करमचन्द गान्धीलाई के ले बाध्य बनायो? एउटै समाज र परिस्थितिमा जन्मे-हुर्केका मानिसमा पनि कोहि सज्जन र कोहि दुर्जन कसरी हुन सक्छन्?
त्यसैले उसका हरेक क्रियाकलाल प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा समाजसँग जोडिएका छन्। उसको व्यक्तिगत स्वार्थ पनि समाजसँग जोडिन पुग्छ। ऊ कति सामाजिक छ, कति नैतिकवान र परोपकारी छ, समाजप्रति कति इमानदार छ भन्ने कुरा उसको मनोविज्ञानमा निर्भर हुन्छ। त्यसैले सामाजिक र राजनीतिक मनोविज्ञानको अध्ययन निकै महत्वपूर्ण हुन्छ।
विश्वविद्यालयहरूमा राजनीतिक मनोविज्ञानको अध्ययनको शुरुआत दोस्रो विश्व युद्धपछि भएको पाइन्छ। त्यसअघि अरू देशका शासक र हातहतियारबारे मात्र चासो राखिन्थ्यो। दोस्रो विश्व युद्ध लगत्तै जब शीत युद्ध शुरू भयो, त्यसपछि एउटा देशले अर्को देशको संस्कृति, परम्परा, आम नागरिकको रहनसहन, व्यवहार तथा मानसिकता लगायतका विषयमा अध्ययन गर्न थालियो।
यसलाई ‘शान्ति कायम गर्न’ भन्ने गरिन्थ्यो। तर, यी अध्ययन बौद्धिक र मानसिक अधिनायकत्व जमाउन निकै महत्वपूर्ण रहेका थिए। जस्तो हिटलर किन र कसरी त्यति क्रुर भए? सुख-सयल र अवसर त्याग्न मोहनदास करमचन्द गान्धीलाई के ले बाध्य बनायो? एउटै समाज र परिस्थितिमा जन्मे-हुर्केका मानिसमा पनि कोहि सज्जन र कोहि दुर्जन कसरी हुन सक्छन्? सत्ताको शक्तिले मानिसलाई किन, कसरी र कुन हदसम्म बदल्न सक्छ? यस्ता यावत् प्रश्नको उत्तर पाइने महत्वपूर्ण विषय हो, राजनीतिक मनोविज्ञान।
कार्ल मार्क्सका अनुसार समाजमा घट्ने हरेक घटनालाई अर्थ, राजनीति र संस्कृतिले असर पारेको हुन्छ। यसका साथै समाजको भविष्यलाई यी सबै तत्वको मिश्रणबाट तयार भएको मानिसको मनोविज्ञानले डोहोर्याएको हुन्छ। आर्थिक, राजनीतिक र सांस्कृतिक मनोविज्ञानले समाजलाई आकार दिइरहेको पाइन्छ। नेपालमा राजनीतिक परिवर्तनले जसरी फड्को मारेको छ, यहि गतिमा समाजले फड्को मार्न सकिरहेको छैन।
हाम्रा विश्वविद्यालयमा भइरहेको राजनीतिशास्त्रको अध्ययनलाई अझ बलियो, व्यापक र विश्लेषणात्मक बनाउने पनि राजनीतिक मनोविज्ञान समावेश गर्न जरुरी छ।
प्रा. चैतन्य मिश्रले ‘बदलिँदो नेपाली समाज’ पुस्तकमा समाज पुनर्गठित हुन विभिन्न आयामको भूमिकाबारे चर्चा गर्दा स्थानान्तरणलाई पनि प्रमुख कारकका रुपमा स्थापित गरेका छन्। स्थानान्तरणले एक व्यक्तिको आर्थिक, राजनीतिक र सांस्कृतिक बदलावसँगै मानसिकतामा असर परेको हुन्छ। जबसम्म यसको असर केलाउँदैनौं, तबसम्म उसको व्यवहार, सामाजिक विचार र चालचलनमा आउने परिवर्तनको कारणलाई बुझ्न सक्दैनौं। यसका लागि आवश्यक हुन्छ, राजनीतिक मनोविज्ञानको अध्ययन।
यो हाम्रा शैक्षिक संस्थासँगै जोडिन्छ। पछिल्लो समय शिक्षामा क्रमिक विकास भइरहेको छ। नयाँ विश्वविद्यालय खुल्दै छन्। शैक्षिक नीतिमा पनि फेरबदल हुँदै आएको छ। तर, संसारको तुलनामा धेरै कोष पछाडि नै छौं। कतिपय देशमा सन् १९७७ बाटै शुरूआत भइसकेको राजनीतिक मनोविज्ञानको पढाइमा हाम्रा विश्वविद्यालयसम्म पुग्न सकेको छैन।
हाम्रा विश्वविद्यालयमा भइरहेको राजनीतिशास्त्रको अध्ययनलाई अझ बलियो, व्यापक र विश्लेषणात्मक बनाउने पनि राजनीतिक मनोविज्ञान समावेश गर्न जरुरी छ। यसको अध्ययनले एकातिर राजनीतिलाई सकारात्मक सोचबाट हेर्ने संस्कृतिको विकास हुने छ भने अर्कोतिर नेपालसँगै दक्षिणएशियामा देखिएको राजनीतिक विकृति कम गर्न महत्वपूर्ण भूमिका खेल्नेछ। त्यसैले अब हाम्रा विश्वविद्यालयमा राजनीतिक मनोविज्ञानको अध्ययन जरुरी भइसकेको छ।
(लेखक राजनीतिशास्त्रकी विद्यार्थी हुन्।)