सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत लिँदै, विपक्षमा मतदान गर्न एमालेको निर्देशन
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज प्रदेश सभामा विश्वासको मत लिँदै छन्। तर, नेकपा (एमाले) प्रदेश कमिटीले विपक्षमा मतदान गर्न निर्देशन दिएको छ।
नेकपा (माओवादी केन्द्र)का मुख्यमन्त्री भट्टलाई एमालेको माधवकुमार नेपाल पक्षले सघाइरहेका छ। एमाले स्थायी समिति र प्रदेश समितिले समर्थन फिर्ता लिने निर्णय गरे पनि नेपाल पक्षको बहुमत रहेको संसदीय दलले समर्थन यथवात राखेको छ।
एमालेको यहि विवादबीच मुख्यमन्त्री भट्टले विश्वासको मत लिन लागेका हुन्। तर, एमाले प्रदेश समितिले भने विपक्षमा मतदानका लागि ह्विप जारी गर्न निर्देशन दिएको छ।
प्रदेश संसदीय दलमा नेपाल पक्षका प्रकाशबहादुर शाह संसदीय दलको नेता र दुर्गा विक प्रमुख सचेतक रहेकी छिन्। संसदीय दलको निर्णयका आधारमा प्रमुख सचेतकले ह्विप जारी गर्ने व्यवस्था छ। संसदीय दलका नेता शाह प्रदेश सरकारमा अर्थमन्त्री छन्।
एमालेका प्रदेश अध्यक्ष कर्ण थापा र सचिव राजेन्द्र रावलले संसदीय दलका नेता शाह र प्रमुख सचेतक विकलाई विपक्षमा मतदान गर्नका लागि ह्विप जारी गर्न निर्देशन दिएका हुन्। उनीहरूले सोमबार पत्र नै पठाएका छन्।
तर, संसदीय दलका नेता शाह र प्रमुख सचेतक विक भने त्यसको विपक्षमा छन्। बरु एमाले निर्देशन विपरीत मुख्यमन्त्री भट्टको पक्षमा मतदान गर्न ह्विप जारी गर्ने तयारी भएको एक सांसदले बताए। त्यसो भएमा ओली पक्षका सांसद समस्यामा पर्नेछन्।
५३ सदस्यीय प्रदेश सभामा माओवादी सांसद झपट बोहरा कारबाहीमा परेका छन्। उनी एमालेमा प्रवेश गरेपछि कारबाहीमा परेका हुन्।
अहिले ५२ सदस्यीय प्रदेश सभामा एमालेका २५, माओवादीका १३, कांग्रेसका १२ र जनता समाजवादी पार्टीका दुई सांसद छन्। विश्वासको मत लिन मुख्यमन्त्री भट्टलाई २७ सांसद आवश्यक पर्नेछन्।
एमालेका २५ सांसदमध्ये १५ सांसद नेपाल पक्षका छन्। उनीहरूले मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिने जनाएका छन्।
कांग्रेसले भने अहिलेसम्म पक्ष वा विपक्षमा मतदान गर्ने भन्ने टुंगो लगाएको छैन। आज टुंगो लाग्ने कांग्रेस संसदीय दलले जनाएको छ।