राष्ट्रिय ट्रमा सेन्टर अब कोभिड-१९ डेडिकेटेड अस्पताल
काठमाडौंको महांकालस्थित राष्ट्रिय ट्रमा सेन्टरलाई अब कोभिड–१९ डेडिकेटेड अस्पतालका रूपमा सञ्चालन गरिएको छ।
सरकारको निर्णय अनुसार कोभिड–१९ संक्रमितको उपचारका लागि डेडिकेटेड अस्पतालका रूपमा सञ्चालन गरिएको ट्रमा सेन्टरका निर्देशक डा. सन्तोष पौडेलले बताए। “संक्रमितको उपचारका लागि अस्पताललाई कोभिड–१९ अस्पतालका रूपमा सञ्चालन गरेका छौं,” डा. पौडेलले भने।
अहिले ५० शय्यामा संक्रमितको उपचार गरिँदै आएको थियो। बुधबारसम्ममा पूर्ण रूपमा सञ्चालन हुने उनले बताए। “ट्रमा सेन्टरमा रहेका घाइते र बिरामीलाई अन्यत्र सारेर पूर्ण रूपमा कोभिड–१९ अस्पताल बनाउन थालेका हौं,” उनले भने।
ट्रमा सेन्टरमा १० सघन उपचार कक्ष र २०० शय्या छन्। अझ आईसीयू र भेन्टिलेटर थपेर अस्पताललाई व्यवस्थित बनाइने उनले बताए। अहिले सेन्टरमा ७० जना कोरोना संक्रमितको उपचार भइरहेको छ।
गत वर्ष पनि ट्रमा सेन्टरमा कोरोना संक्रमितको मात्रै उपचार गरिएको थियो।