मंसिरमा मात्रै ३४७ पटक बत्ती गयो, प्राधिकरण भन्छ- लोडसेडिङ छैन
हिउँद लागेपछि पटकपटक विजुली काटिने समस्याले उपभोक्ता हैरान छन्। काठमाडौँ उपत्यकामा गएको मंसिरमा मात्र ३४७ पटक बत्ती गयो। तर, विद्युत् प्राधिकरणले लोडसेडिङ नभइ अन्य कारणले बत्ती गएको जनाएको छ।
उपभोक्तालाई गुणस्तरीय, भरपर्दो र पर्याप्त विद्युत् उपलब्ध गराउन प्रसारण तथा वितरण लाइन र सबस्टेसन सुदृढीकरणका लागि चालिएका कदमबाट विद्युत छिनछिनमा जाने (ट्रिपिङ)को समस्या घट्दै गएको प्राधिकरणले जानकारी दिएको छ। प्राधिकरणले लोडसेडिङ नगरेको बिहीबार प्रेस विज्ञप्ति जारी गरेर स्पष्ट पारेको छ।
प्राधिकरणका अनुसार, विद्युको माग सबैभन्दा बढी हुने काठमाडौं उपत्यकामा यस वर्षको मंसिरमा ३४७ पल्ट ट्रिपिङ भएको छ। काठमाडौं उपत्यका र यस आसपासका जिल्लामा विद्युत् आपूर्ति गर्ने १४ वटा सबस्टेसनमा ट्रिपिङ हुँदा २२ घण्टा विद्युत् अवरोध भएको छ। गत वर्षको मंसिरमा ५७७ पटक ट्रिपिङ हुँदा ६५ घण्टा विद्युत् आपूर्ति बन्द भएको थियो।
प्रणालीमा माग अनुसार आपूर्तिका लागि पर्याप्त विद्युत् रहेकाले घोषित/अघोषित रूपमा विद्युत् कटौती (लोडसेडिङ) नगरिएको प्राधिकरणका कायम मुकायम (कामु) कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य बताउँछन्। सडक तथा खानेपानी पाइप विस्तारका कारण भूमिगत केवलमा क्षति पुग्ने, केही स्थापनमा पोल तथा टान्सर्फमर सार्नु पर्र्नेलगायतका प्राविधिक कारणले त्यस आसपासका क्षेत्रमा केही समय विद्युत कटौती भएको हुनसक्ने उनको भनाइ छ।
शाक्य भन्छन्, ‘‘अहिलेसम्मको तथ्यांक हेर्दा गत वर्षको पुसमा भन्दा यस वर्ष ट्रिपिङ कम भएको देखिन्छ। उनी भन्छन्, ‘‘विगतमा चालिएका सुधारबाट यस वर्ष र यस वर्ष गरिएका कामबाट अर्को वर्ष नतिजा देखिन्छ।’’ प्रणालीमा आउने प्राविधिक गडबडीले केहीबेर झ्याप्प बत्ति जाँदैमा उपभोक्ताले त्यसलाई लोडशेडिङ भयो भनेर डराउनु नपर्ने पनि उनी बताउँछन्।
गत वर्षको मंसिरमा ४९१ पटक विद्युत आपूर्ति बन्द गरिएकोमा यस वर्ष भने मर्मतका लागि ३६२ पटक मात्रै विद्युत आपूर्ति बन्द गरिएकाे प्रधिकरणको भनाइ छ।
प्रणालीमा पर्याप्त विद्युत् भएको र लोडसेडिङ इतिहास बनिसकेको पनि प्राधिकरणको भनाइ छ। ट्रिपिङ बढी हुने सबस्टेसनको पहिचान गरी सुधार गर्न त्यहाँको 'लोड' अन्त सार्नेलगायतका काम निरन्तर भइरहेको शाक्य बताउँछन्।
स्थानीय रूपमा माग धान्न नसक्ने अवस्था (ओभरलोड) रहेका ट्रान्सफर्मर फेर्ने, बिदाको दिन लाइन सुधार गर्ने र त्यसका लागि लाग्ने समय घटाउनेलगायत काम भइरहेको प्राधिकरणले जनाएको छ। विद्युत् आपूर्तिमा सुधार गर्न अहोरात्र काम भइरहेको प्राधिकरणको दाबी छ।
सडक विस्तार, खानेपानीको पाइप जडान, विद्युतका पोल सार्न, ट्रान्सफर्मर बदल्न, वितरण प्रणालीेको मर्मत सम्भारलगायतका काम गर्न विद्युत् आपूर्ति बन्द गर्ने क्रम घटेको छ। गत वर्षको मंसिरमा यी काम गर्न ४९१ पटक विद्युत आपूर्ति बन्द (सट डाउन) गरिएकोमा यस वर्ष ३६२ पटक मात्रै बन्द गरिएको प्राधिकरणको भनाइ छ।
विद्युत् आपूर्तिलाई विश्वसनीय र भरपर्दो बनाउन कन्डक्टर फेर्ने, ट्रिपिङको समस्या समाधान गर्न विद्युतको मागलाई ध्यान दिएर फिडर तथा ट्रान्सफर्मरको क्षमता बढाउने कामलाई उच्च प्राथमिकतामा राखिएको शाक्य बताउँछन्। मर्मत सम्भारमा लाग्ने समयलाई घटाएर जतिसक्दो छिट्टो विद्युत् आपूर्ति नियमित गर्न प्राधिकरण क्रियाशील रहेको पनि उनले बताए।