राष्ट्रिय सभाको सातौं अधिवेशन भोलिदेखि
राष्ट्रिय सभाको सातौं अधिवेशन भोलि शुक्रबारदेखि शुरु हुँदैछ। कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै राष्ट्रिय सभाका सबै सदस्यहरुको पीसीआर परीक्षणका लागि बिहीबार स्वाब संकलन गरिएको छ ।
पीसीआर रिपोर्ट शुक्रबार बिहानसम्म आउने र रिपोर्ट नेगेटिभ आएकाहरु मात्रै संसद अधिवेशनमा सहभागी हुन पाउने संघीय संसद सचिवालयले जनाएको छ ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपाध्यक्ष शशीकला दाहाललगायत सबै सदस्यहरुको आज पीसीआर परीक्षण गरिएको हो।कोरोनाको जोखिम कायमै रहेकाले बैठक हलमा पनि स्वास्थ्य मापदण्ड अपनाइएको जनाइएको छ ।
कार्यसूची प्रकाशित
संघीय संसद सचिवालयले राष्ट्रिय सभाको सातौं अधिवेशनको पहिलो दिन बस्ने बैठकको संभावित कार्यसूची प्रकाशित गरेको छ । जसअनुसार, राष्ट्रिय सभाका अध्यक्षले अधिवेशन आह्वान सम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्र पढेर सुनाउने र त्यसपछि मन्त्रिपरिषद पुनर्गठन सम्बन्धी राष्ट्रपति कार्यालयको पत्र पढेर सुनाउने छन् ।
त्यसैगरी अधिवेशन शुरु भएको अवसरमा दलका नेताहरुले मन्तव्य राख्ने कार्यसूची सचिवालयले प्रकाशित गरेको छ। राष्ट्रियसभाको बैठकबाटै प्रतिनिधिसभा विघटनको विरोध गर्ने तयारी नेकपा नेपाल समूहका सांसदहरुको तयारी छ।
दाहाल समूहका एक सांसदले प्रतिनिधिसभा नभए पनि राष्ट्रिय सभामा यो विषय उठाएर सरकारको असंवैधानिक कदमको विरोध गरिने बताए ।
भोलिकै बैठकमा सरकारले ल्याएका विभिन्न अध्यादेशहरु पनि पेश हुनेछ भने शोक प्रस्ताव पनि पारित गर्ने कार्यक्रम रहेको छ । बैठक अपरान्ह ४ बजे बस्ने गरी आह्वान गरिएको छ ।
संघीय संसद अधिवेशन १८ असारमा अन्त्य भएको थियो । ५ पुसमा प्रतिनिधि सभा विघटन भइसकेकाले राष्ट्रिय सभाको अधिवेशन मात्रै शुरु हुन लागेको हो ।