संवैधानिक परिषद्ले गर्ने नियुक्ति संसदीय सुनुवाईबाट अस्वीकृत हुन सक्ने !
सरकारले मंगलबार संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीका निम्ति परिषद्को बैठक बस्न र निर्णय गर्न सहज भएको छ।
परिषद् सम्बन्धी ऐनमा परिषदका अध्यक्ष (प्रधानमन्त्री) र अन्य चार सदस्य उपस्थित भएमात्र बैठक बस्नका लागि आवश्यक कोरम पुगेको मानिने व्यवस्था थियो। परिषदमा प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधि सभाका उपसभामुख र विपक्षी दलका नेता सदस्य रहन्छन्। अहिले उपसभामुखको पद रिक्त रहेकाले प्रधानमन्त्री र बाँकी चार जना सदस्यकै उपस्थिति बैठकमा अनिवार्य हुन्थ्यो। यहीकारण मंगलबार बिहान सभामुख अग्निप्रसाद सापकोटा उपस्थित नभएपछि परिषदको पूर्वनिर्धारित बैठक बस्न सकेन।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र चुलिएको शक्ति संघर्षका कारण सभामुख नै परिषदको बैठकमा नजानेजस्तो अकल्पनीय घटना देखापरेको थियो।
यहीकारण हुनसक्छ, दिउँसो बसेको मन्त्रिपरिषद् बैठकलगत्तै सरकारले परिषद्को यस्तो व्यवस्था बदल्न अध्यादेश जारी गर्ने निर्णय गर्यो। र सरकारको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले तत्काल अध्यादेश जारी गरिन्।
अध्यादेशमार्फत सरकारले संवैधानिक परिषद्को बैठक बस्न तत्काल कायम संख्याको बहुमत सदस्य उपस्थित भए पुग्ने व्यवस्था गरेको छ। अर्थात अब प्रधानमन्त्री र बाँकी दुई सदस्य मात्र उपस्थित हुँदा पनि परिषदको बैठक बस्नेछ। त्यसैगरी परिषदको निर्णय पहिले सर्वसम्मतिबाट हुनुपर्ने, त्यसो नभएपछि अर्को बैठकमा बहुमतबाट गर्नुपर्ने व्यवस्थालाई फेरिएको छ र शुरुमै बहुमतबाट गर्न सकिने बनाइएको छ। अझ प्रष्टसँग भन्दा प्रधानमन्त्री, प्रधानन्यायाधीश र राष्ट्रिय सभाका अध्यक्ष मात्र उपस्थित बैठकबाट संवैधानिक नियुक्तिसम्बन्धी निर्णय हुन सक्नेछ।
त्यसो भए सभामुख र विपक्षी दलका नेता नै उपस्थित नहुने बैठकबाट भएको निर्णयअनुसार संवैधानिक निकायहरुमा नियुक्ति होला त?
संविधानले संवैधानिक पदहरुमा नियुक्तिका लागि परिषदले सिफारिस गर्ने र सिफारिस भएका नाम संसदीय सुनुवाई विशेष समितिबाट अनुमोदन गर्नुपर्ने व्यवस्था गरेको छ। संसदीय सुनुवाई विशेष समितिका दुई तिहाइ सदस्यले अस्वीकार नगरेमा सिफारिस भएका नाम अनुमोदन हुनेछन्।
अब संसदीय सुनुवाई विशेष समितिको वर्तमान संरचना हेरौं। समितिमा सभापति लक्ष्मणलाल कर्ण र अन्य १३ सदस्य छन्। समितिका १३ सदस्यमा ८ जना सत्तारुढ नेकपाका छन्, चारजना प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका छन् भने एकजना जनता समाजवादी पार्टीका छन्। सभापति कर्ण जनता समाजवादी पार्टीका हुन्।
संसदीय सुनुवाई विशेष समितिमा सिफारिस भएर आइपुगेका नाम दुईतिहाई बहुमतबाट अस्वीकृत नभएमा स्वतः अनुमोदन भएको मानिने व्यवस्था छ। यो व्यवस्थाअनुसार झट्ट हेर्दा नेकपाको प्रष्ट बहुमत भएकाले स्वतः अनुमोदन हुनसक्ने देखिन्छ। तर, मंगलबार जारी भएको अध्यादेशको विपक्षी नेपाली कांग्रेस मात्र होइन, सत्तारुढ नेकपामा पनि प्रधानमन्त्री ओलीइतर समूहले तीब्र बिरोध गरेकाले स्थिति भिन्न देखिन्छ। नेकपा स्रोतका अनुसार समितिमा रहेका सुमन प्याकुरेल र निरुदेवी पाल मात्र प्रधानमन्त्री ओलीनिकट मानिन्छन्।
नयाँ अध्यादेशको व्यवस्थाअनुसार संवैधानिक निकायहरुमा नियुक्तिको सिफारिस गर्न अहिले परिषद्को बैठक बसिरहेको छ। परिषद्ले गर्ने सिफारिस अनुमोदन हुन संसदीय सुनुवाई विशेष समितिका दुइतिहाई सदस्य विपक्षमा नउभिने सुनिश्चित हुनुपर्छ। कांग्रेस र जनता समाजवादीका सांसदहरु यसको विपक्षमा उभिन सक्छन्। तर, के नेकपाको ओलीइतर समूह पनि विपक्षमा मतदान गर्न तयार होला ? त्यसो भएमा भने परिषदले गर्ने नियुक्ति संसदीय सुनुवाई विशेष समितिबाट अस्वीकृत हुनसक्छ।