अख्तियारद्वारा सिंचाई विभाग ललितपुरका सिनियर इञ्जिनियरविरूद्ध रु. ३ करोडको मुद्दा
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिंचाई विभाग ललितपुरका सिनियर डिभिजनल इञ्जिनियर सुरेशकुमार शर्माविरूद्ध गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।
अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले शर्माविरूद्ध तीन करोड ६ लाख ५४ हजार ९३२ रूपैयाँ गैरकानूनी सम्पत्ति आर्जनमा मुद्दा दायर गरेको विज्ञप्तिमार्फत् जानकारी दिएका छन्। अख्तियारले १८ माघ २०५२ मा तृतीय श्रेणीको इञ्जिनियरमा अस्थायी निकुक्ति लिएर सेवा प्रवेश गरेका शर्माको आर्थिक वर्ष २०७६/७७ सम्मको आम्दानी र खर्चको हिसाब हेरेको थियो।
यसअविधमा शर्माले वैध रूपमा दुई करोड ३५ लाख ३१ हजार ६७४ रूपैयाँ आम्दानी गरेको देखिएको तर, उनले यही अविधमा पाँच करोड ४१ लाख ८६ हजार ६०६ रूपैयाँ बराबरको सम्पत्ति सिर्जना गरेको देखिएको अख्तियारले दावी गरेको छ।
यसहिसाबले शर्माले तीन करोड ६ लाख ५४ हजार ९३२ रूपैयाँ गैरकानूनी रूपमा आर्जन गरेको भन्दै अख्तियारले उनीविरूद्ध मुद्दा चलाएको हो। सार्वजनिक पद धारण गरे यता के- कस्तो स्रोतबाट सम्पत्ति आर्जन गरेको हो भन्ने कुराको स्रोत पुष्टि गर्न नसकेको र शर्माले अमिल्दो र अस्वाभाविक रूपमा, आफ्नो हैसियतभन्दा बढी रकमले आफू र श्रीमतीको नाममा जग्गा खरिद, घर निर्माण, विभिन्न बैंक तथा वित्तीय संस्था तथा कम्पनीका शेयर खरिद लगानी गरेको अख्तियारले दावी गरेको छ।
अख्तियारले भ्रष्टाचार निवारण ऐनको व्यवस्थाबमोजिम शर्माबाट स्रोत नखुलेको सम्पत्ति जफत गर्न, त्यति नै रकम जरिवाना गर्न र दुई वर्षसम्म कैद सजाय गर्न पनि माग गरेको छ।