वामदेव गौतमविरुद्ध सर्वोच्चमा परेको रिट आनन्दमोहनको इजलासमा सुनुवाइ हुँदै
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा गरिएको मनोनयनविरूद्ध परेको रिटमा सर्वोच्च अदालतले सुनुवाइ गरिरहेको छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गौतमको मनोनयन संविधान विपरीत भएको भन्दै दायर गरेको रिटको पेशी न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासमा तोकिएको थियो।
रिट निवेदनकर्ता त्रिपाठीले सुनुवाइ भइरहेको जानकारी दिए। २९ भदौको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई १ असोजमा राष्ट्रिय सभा सदस्यमा मनोनीत गरेकी थिइन्।
गौतम २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा बर्दिया क्षेत्र नम्बर १ बाट पराजित भएका थिए। त्रिपाठीले रिटमा गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनयनका लागि सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय र त्यसबाट निसृत सम्पूर्ण प्रक्रिया बदर गर्न माग गरेका छन्।
त्यस्तै, कस्ता व्यक्तिलाई राष्ट्रिय सभा सदस्यमा मनोनयन गर्ने भन्नेबारे स्पष्ट मापदण्ड बनाउनका लागि परमादेश जारी गर्नसमेत उनले माग गरेका छन्।
यो पनि पढ्नुहोस्
वामदेव गौतमको मनोनयन बदर गर्न मागसहित सर्वोच्चमा रिट
नेकपालाई प्रश्न- जनमतको अर्थ नहुने भए निर्वाचन केका लागि ?